’विवाहको लागि प्रेम आवश्यक छ’
नेपाली संस्कृतिमा मंसिरलाई विबाहको सबैभन्दा उपयुक्त महिना मानिन्छ । सामान्यतः विबाहको उमेर भएका युवायुवतीप्रति यो महिनामा चासो बढ्नु स्वाभाविक हो । अझ उमेर पुगेका सेलिब्रेटीबारे त यो महिनाभर चर्चा भइ नै रहन्छ । मंसिर लाग्नेबित्तिकै इन्टरनेट अन्तरक्रियाको प्रचलित एप्स ‘भाइबर’को ‘पब्लिक च्याट’ मा उपलब्ध हुने पहिलो नेपाली सेलिब्रेटी बनेकी गायिका सुनिता दुलाल त्यस्तै चासोको केन्द्रमा छिन् । केही महिनाअघि नै आफूले उपयुक्त वर भेटिसकेको अभिव्यक्ति दिएकाले पनि यो मंसिरमा उनीबारे चासो स्वतः बढेको छ । यही चासोलाई केन्द्रमा राखेर कला अनुरागीले गरेको ‘मंसिर विशेष’ कुराकानीमा सुनिता यसरी प्रस्तुत भइन् : आउँदो शनिबार म सत्ताइस बर्ष पुग्छु । मलाई सम्झना छ, पहिलोचोटी ‘माग्न’ आउँदा म १७ बर्षकी थिएँ । हाम्रो परिवार काठमाडौं बस्न थालिसकेको थियो । एउटा परिवारबाट मलाई ‘माग्न’ आउने कुरा भएछ । मामाकी छोरीले माग्न आउने परिवार चिन्नुहुँदोरहेछ । उहाँमार्फत आमालाई कुरा आएको रहेछ । जब आमाले मलाई ‘माग्न’ आउन लागेको कुरा भन्नुभयो । म शितांग भएँ । मलाई त्यतिबेला नै आमाबाबाबाट टाढिएर त्यो घरमा गएको अनुभूति भयो ...