‘पहिचानबारे भ्रम चिर्न पुरस्कार’

नेपाली साहित्यमा दुई लाख रुपैयाँभन्दा बढी राशी भएको सीमित पुरस्कारमा यस बर्षदेखि ‘पहिचान पुरस्कार’ थपिएको छ । यो नेपाली साहित्यमा मुद्दालाई आधार बनाएर दिइनेगरी स्थापना भएको पहिलो पुरस्कार पनि हो । दुई लाख पाँच हजार राशीको यो पुरस्कार पहिलो पटक ‘फेरिँदो सौन्दर्य’ निबन्धकृतिका लागि राजन मुकारुङलाई प्रदान गरिँदैछ । राजधानीको मण्डला थिएटरमा आज (शनिबार) दिउँसो १ बजेपछि विशेष कार्यक्रमबीच प्रदान गर्न लागिएको पुरस्कारबारे पुरस्कार कोषका संस्थापकमध्येका एक, लेखक नरेश काङमाङ राईसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ -

🆀 यो कस्तो पुरस्कार हो ? 
🅰 हरेक व्यक्तिको आफ्नै भाषा, धर्म, संस्कार र उद्गम थलो हुन्छ । त्यसैको आधारमा उसको पहिचान निर्माण भएको हुन्छ । त्यो उसको एकल पहिचान हो । तर फरक–फरक पहिचान भएका मानिस मिलेर समाज बनेको हुन्छ, राष्ट्र बनेको हुन्छ । एकअर्काको एकल पहिचानको संयोजनबाट बहुल पहिचानसहितको समाज निर्माण हुन्छ । एउटा पहिचान कमजोर भयो भने उसले समाजमा अपनत्व अनुभूत गर्दैन । त्यसैले लेखनको माध्यमबाट सबैको एकल पहिचानलाई स्थापित गर्ने स्रष्टालाई पुरस्कृत गर्न ‘पहिचान पुरस्कार’ स्थापना गरिएको हो । 

🆀 नेपालमा पहिचान खोज्ने त जनजातिमात्रै हुन् भन्ने भ्रम छ नि, यो पुरस्कारबारे पनि त्यही कोणबाट आशंका गरिएला नि त ? 
🅰 हो, पहिचानबारे केही भ्रम छन् । तर भ्रममा पर्नुपर्ने कुनै कारण छैन । कुरा सामान्य छ । जब एउटा व्यक्ति सबल बन्छ, त्यो राष्ट्र नै सबल बन्छ । एउटा राष्ट्रमा विभिन्न भाषा, जाति, संस्कार र संस्कृति ग्रहण गर्ने मानिस बस्छन् । त्यसैले एउटाको मात्रै भाषा, जाति, संस्कार वा संस्कृति बलियो बनेर राष्ट्र बलियो बन्दैन । सबैले उत्तिकै बलियो बन्नुपर्छ । सबै बलियो बन्न आ–आफ्नो पहिचानलाई स्वतन्त्रतापूर्वक उजागर गर्न पाउनुपर्छ । त्यसो भयो भने सबैको पहिचानको आधारमा संस्कार र संस्कृतिको पनि बहुल मानक निर्माण हुन्छ । जस्तो कि,  नेल्सन मण्डेलाले रंगभेदविरुद्ध संघर्ष गरे । कठिन संघर्षपछि जब काला जातिले आफ्नो पहिचानको अधिकार प्राप्त गरे, तब संस्कृति र सौन्दर्यको मानक नै परिवर्तन भयो । कालाहरूले खेलकुदमा विश्वभर आफूलाई सिद्ध गरे । पहिले सेता छाला, सलक्क परेको पिडौंला, साना स्तन भएकालाई ‘ब्यूटी’ भनिन्थ्यो । तर पहिचानको अधिकारपछि कालाहरूको सुन्दरता पनि परिभाषित भयो र ‘ब्ल्याक ब्यूटी’ भनिन थाल्यो । पहिलेका सौन्दर्यमानक परिवर्तन भए र पहिले भनिएको ‘ब्यूटी’ले पनि ओठभन्दा तलसम्म लिपिस्टिक लगाएर ओठ ठूला बनाउन थाले । नक्कली प्याड हालेर स्तन ठूला बनाउन थाले । यो एउटा उदाहरण हो । त्यसैले पहिचानको अधिकार भनेको जनजातिको मात्रै होइन, सम्पूर्ण जातिको हो । सम्पूर्ण जातिको पहिचानले समान रूपमा अधिकार र स्थान पाउने हो भनेमात्रै राष्ट्र सबल बन्छ भन्ने भावना जगाउन नै यस पुरस्कारको स्थापना गरिएको हो । यसमा कसैले आशंका गर्नुपर्ने कारण नै छैन ।  

🆀 पुरस्कारको नाम ‘पहिचान’ नै चाहिँ किन राखिएको ? यसमा जनजाति समुदायको भावनात्मक सम्बन्धचाहिँ कत्तिको जोडिएको छ ? 
🅰 यो पहिचानकै मुद्दालाई आधार बनाएर दिइने पुरस्कार हो । साथै यसको सम्पूर्ण प्रक्रियालाई नै पहिचानसँग जोड्छौं । यस बर्ष हामीले ‘फेरिँदो सौन्दर्य’ कृतिका लागि राजन मुकारुङलाई पुरस्कृत गर्दैछौं । त्यस क्रममा उहाँलाई उहाँकै किराँत संस्कृतिअनुसार सम्मान गर्छौं । अरू संस्कृतिका स्रष्टा पुरस्कृत हुँदा त्यसैअनुसार सम्मान गर्छौं । हामीले यो पुरस्कारमार्फत पहिचान जडत्व होइन भनेर बुझाउन पनि खोजेका हौं । पहिचानबारे फैलाइएको भ्रम भत्काउन खोजेका हौं । त्यसैले पनि नाम पहिचान नै राख्नु आवश्यक लागेको हो ।
यसमा हाम्रो भावनात्मक सम्बन्ध पनि छ नै । यो कुरा हामीले स्पष्ट भन्नुपर्छ । हाम्रो संस्कृति, संस्कार र आवाज बोकेका कृति पुरस्कारमा पनि सिमान्तकृत भएको हामीले देखेका छौं, भोगेका छौं । त्यसैले हामीले ‘बल’लाई हावा भरेर मैदानमा निकालेका हौं । ‘हावा’ नहाल्ने हो भने सोकेसमा सजाउनेमात्रै काम हुने भयो । 

🆀 साहित्यमा स्थापित अरू पुरस्कार र यसमा के फरक छ ? 
🅰 यसको आधार पहिचानको मुद्दा भएकोले फरक त हुने नै भइहाल्यो । अर्कोचाहिँ यो नितान्त सर्वसाधारणबाट स्थापित पुरस्कार हो । यसका समाजमा विभिन्न पेशा, क्षेत्र र राजनीतिक सिद्धान्तमा सक्रिय व्यक्तिले आर्थिक योगदान गरेका छन् । अहिलेसम्म चालीसभन्दा बढीले पुरस्कार कोषमा आर्थिक योगदान गर्नुभएको छ । सहयोगको क्रम बढिरहेको छ । 

🆀 यस बर्ष ‘फेरिँदो सौन्दर्य’ नै पुरस्कृत हुनुको कारणचाहिँ के हो ? 
🅰 पहिचान पुरस्कार कृतिलाई दिइने पुरस्कार हो । सिमान्तकृत जाति र संस्कृतिको आवाज र अधिकारलाई मुखरित गरिरहेका कृतिलाई पुरस्कृत गर्दै जानुपर्छ भन्ने हाम्रो निष्कर्ष हो । त्यसैले पहिचानको बिषयमा लेखिएका दर्जनौं कृतिमध्येबाट जोडदार कृति ‘फेरिँदो सौन्दर्य’ छनोट भएको हो । 

🆀 राजन मुकारुङ त ‘सिर्जनशील अराजकता’ का अभियन्ता पनि हुन्, जसले पहिचानको आन्दोलनलाई प्रमुख मुद्दाको रूपमा अघि बढाएको छ । आन्दोलनसँगचाहिँ पुरस्कारको सँग कत्तिको सम्बन्ध छ ?
🅰 निश्चय नै पहिचानको आन्दोलनमा सिर्जनशील अराजकताको ठूलो योगदान छ । राजनका साथै उपेन्द्र सुब्बाको नेतृत्वमा चलेको यो अभियानले साहित्यमा मात्रै होइन, राजनीतिमा पनि उत्तिकै प्रभाव पार्यो । जसरी माओवादीले पहिचानको मुद्दा उठायो, यसले राजनीतिक रूपमा पनि ठूलो बहस पैदा गर्यो । त्यसैले यो साहित्यिक मुद्दामात्रै रहेन, राजनीतिक मुद्दा पनि बन्यो । हुन त अधिकारको कुरा गर्नु राजनीति होइन, तर नेपाली सन्दर्भमा यसलाई राजनीति मानिन्छ । त्यसैले पहिचान राजनीतिक सरोकारको विषय पनि हो । त्यसैले सिर्जनशील अराजकताजस्ता पहिचानसँग जोडिएका आन्दोलनसँग यो पुरस्कारको नजिकको सम्बन्ध त रहन्छ नै । 

🆀 ‘पहिचान’ पक्षधरलाई मात्रै पुरस्कृत गर्दा चुनौती पनि त महसुस गर्नुभएका होला नि ? 
🅰 एकल पहिचानलाई नस्वीकार्ने कतिपय ‘बौद्धिक सर्कल’ यसप्रति प्रश्न उठाउँछन् भन्ने कुरामा हामी पहिल्यैदेखि तयार छौं । उनीहरूले यो कुरालाई सहजै स्वकार्छन् भन्ने पनि लाग्दैन । तर जब हामी पहिचानको फराकिलो दृष्टिकोणका साथ कृति पुरस्कृत गर्दै जान्छौं, उहाँहरूले पनि अस्वीकार नगरी धरै छैन । हामीले कुनै निश्चित जाति वा संस्कृतिको मात्रै पहिचानको कुरा गरेकै छैनौं । नेपालमा रहेका सम्पूर्ण जाति वा संस्कृतिको पहिचानको कुरा गरेका हौं । त्यसैले यो कुरा बिस्तारै स्थापित हुनेमा हामी विस्वस्त पनि छौं । हामीले खाएको खाना पच्न त १०÷१२ घन्टा लाग्छ भने यस्ता कुरा पच्न पनि समय त लाग्छ नै । जसरी हिजो कांग्रेसको विचार समाजमा पचेको थिएन र सराप्दा ‘तेरा घरमा कांग्रेस पसोस्’ भन्थे, कम्युनिष्टलाई त अराष्ट्रय तत्व नै भनिन्थ्यो, माओवादीलाई रेड कर्नर नोटिस जारी गरिएको थियो । त्यसै गरी अहिले अहिले पहिचानको मुद्दा उठाउनेलाई जातिवादी भनिन्छ, तर यो बिस्तारै पच्दै जान्छ । अबको १५/२० बर्षमा त पहिचानको मुद्दा पनि पुरानो भइसक्छ र नयाँ मुद्दा आउँछ । 

🆀 पहिचान पुरस्कार बेलायतमै स्थापना गर्नुको कारणचाहिँ के हो ? 
🅰 यो नेपाली पुरस्कार हो र नेपालमै सञ्चालन हुने हो । तर यसको घोषणा बेलायतबाट भएको हो, यसको कोष निर्माणमा सहयोग गर्नेहरू पनि बेलायतमा बसिरहेका नेपाली बढी छन् । त्यसको केही कारण छ । पहिलो कुरा त बेलायतको शासन प्रणालीलाई आदर्श मान्ने राजनीतिक शक्ति नेपालमा धेरै छन् । बेलायत आफैंमा घोषित संघीय मुलुक होइन, तर पहिचानसहितको संघीय प्रकृतिका अधिकार दिनेमा सबैभन्दा अगाडि छ । इङ्लिस जाति सबैभन्दा पहिले बसेको कारण इङ्ल्याण्ड भनिएको छ, वेल्स जाति बसेकालाई वेल्स नै भनियो । आइरिस बसेकोलाई आयरल्याण्ड भनियो । स्टकिटस जाति बसिएकोलाई स्कटल्याण्ड भनियो । यसरी त्यहाँ पहिचानसहितको अधिकार प्रदान गरिएको छ । तर नेपालमा अहिले पहिचानको मुद्दालाई भ्रष्टिकरण गरिएको छ । त्यसैले त्यहाँबाट पहिचानको पुरस्कार घोषणा गर्दा बेलायतको इतिहास र वर्तमान अध्ययन गरिरहेका नेपालको बौद्धिक सर्कल र राजनीतिक पार्टीले पहिचानको मुद्दालाई सही रूपमा बुझ्न सक्छन् भनेर हामीले त्यहाँबाट पुरस्कार घोषणा गरेका हौं । 

🆀 तपाईंहरूको पुरस्कार कोषमा कतिपय ब्रिटिश गोर्खाहरूको पनि आर्थिक सहयोग रहेछ । त्यसै सन्दर्भमा कतिपयले ‘गोर्खा सैनिकको आन्दोलन’बारे ‘आलोचनात्मक’ दृष्टिकोणसमेत राख्ने राजन मुकारुङलाई पुरस्कृत गरियो भनेर सामाजिक सञ्जालमा कमेन्ट गरेको पनि देखियो ? खास कुरा के हो ? 
🅰 हामी कतिपय साना र अनावश्यक कुरालाई पनि सामाजिक सञ्जालमा ल्याइहाल्छौं । वैचारिक द्वन्द्व श्रीमानश्रीमतीमा पनि हुन्छ । यसलाई नकारात्मक रूपमा लिने गरिन्छ हाम्रो समाजमा । त्यो सही होइन । समाजिक सञ्जालमा त्यस्ता केही प्रतिक्रिया मैले पनि देखेको हुँ । राजन मुकारुङको यस विषयमा आफ्नो मत हुनु स्वाभाविक हो । त्यसमा वर्गसंघर्षलाई जोडेर बोल्नुभएको छ उहाँले । तर उहाँले गोर्खा आन्दोलनको कहिल्यै विरोध गर्नुभएको छैन । बरु ‘हारेका कथाबोध’ जस्ता निबन्धमार्फत गोर्खालीको इतिहास सच्याउनुभएको छ । उहाँले ‘सैनिक आवाज’मा लामो समय काम गर्नुभएको छ । अब आउन लागेको ‘अयोग्य’ उपन्यासमा पनि गोर्खालीको इतिहास खोतल्दै हुनुहन्छ । यो कुरा यस्तो टिप्पणी गर्ने बौद्धिक वर्गले बुझ्नु आवश्यक छ । बहस हुनु नकारात्मक होइन, तर त्यसको खोजचाहिँ सकारात्मक हुनुपर्छ । 

🆀 यो पुरस्कारको दायराभित्र पर्न कस्तो लेखन गर्नुपर्छ भन्ने जिज्ञासा पनि लेखकहरूमा होला ? 
🅰 नेपालमा अहिले पनि कतिपय साहित्यकार यथास्थितिवादी छन् । उनीहरू जे लेखिरहेका छन्, त्यो सयौं बर्षपहिले भारतमा लेखिइसकेको छ । त्यस्ता साहित्य हाम्रो दायरामा पर्दैनन् । पछिल्लो समय, अझ विशेष गरी सिर्जनशील अराजकताको आन्दोलन आएपछि मौलिक सांस्कृतिक लेखन अघि बढेको छ । जनजातिले पहिचानको मुद्दालाई बलियो गरी उठाएका छन् । दलित र मधेसीको मुद्दा पनि लेखनमा बलियो हुँदै आएका छ । गैरजनजाति र गैरदलितले पनि यो पहिचानको लेखन गरेका छन् । सिमान्तकृत जाति, वर्ग, भाषा र संस्कृतिबारे लेखिएका कुरालाई हामीले हाम्रो पुरस्कारको दायरामा ल्याउँछौं । किनकि यस्तो लेखन जनताको इतिहासको लेखन पनि हो । त्यसलाई प्रोत्साहित गर्न चाहन्छौं । 

🆀 पुरस्कारको प्रक्रिया कस्तो हुन्छ ? अबका बर्षमा कसरी अघि बढ्छ ? 
🅰 हामीले हरेक बर्ष पुरस्कारका लागि कृति छनोट गर्न ३ देखि ५ जनाको बोर्ड निर्माण गर्छौं । मूल्यांकनको क्रममा कुनै पनि कृतिहरू नछुटुन् भनेर सचेत हुन्छौं । यसको राशी पाँच–पाँच बर्षमा परिवर्तन हुन्छ । हामीले अहिलेको राशीलाई पाँच बर्षमा कम्तीमा ५५ प्रतिशत वृद्धि गर्ने सोच बनाएका छौं । 
܀܀܀
💧 कला अनुरागी
प्रकाशित : रातोपाटी

Comments