तीन पुस्ता : केही प्रवृत्ति
पहिलो पुस्ता ...जवानीमा निकै क्रान्तिकारी । ज–जसले क्रान्तिको फललाई समयमा आफ्नो झोलीमा झार्न सके, उनीहरू उग्राउँदै बसिरहेका । फल झार्ने हाँपझाँपमा पछि पर्नेहरू तिनैलाई सराप्दै रिसाइरहेका । कहिले फलाहर गर्नेहरूतिर आशामुखी अनुहारले हेरिरहेका, कहिले आफ्नो मनको पीडा पोख्न दोस्रो पुस्तालाई लखेटिरहेका, दिक्क पारिरहेका । आफैंले केही गर्न सक्ने हुती हराएका, दोस्रो पुस्तालाई उपयोग गर्न पाए आत्मप्रकाशनमा केही सघाउ हुन्थ्यो कि भन्ने आशामुखी ।... दोस्रो पुस्ता ...सानै उमेरमा क्रान्तिमा होमिएको । जसको आह्वानमा क्रान्तिमा होमिएको हो, उसले धोका दिएको निष्कर्षले आक्रोशित । तर बिस्तारै व्यवहारिक जीवनले किचिँदै जाँदा आक्रोश मत्थर हुँदै गएको । दैनिक रोजीरोटीको चपेटामा संघर्ष गर्दा–गर्दै निराश हुने । सक्नेले फलाहार गरिरहेको पहिलो पुस्तालाई गणेश भजन गर्दै आफूलाई सुरक्षित बनाउने प्रयत्न गरिरहेको । नसक्नेले फलाहार गरिरहेकाहरूलाई सरापिरहेका पहिलो पुस्ताकासँग नजिक भएर सँगै गाली गरिररहेका, गुनासो साटासाट गरिरहेका । कहिले चिया पसलमा, कहिले अनेक जमघट गरेर मनको अमिलो पोखिरहेका । तर दिनदिनैै मुख बाइरहेक...