आमा

आमा
आमाको भौतिक उपस्थिति अन्त्य भएको छ बर्ष पुगेको छ आज । धेरै बोल्न सक्दिनँ आमाबारे, आफ्नो अभिव्यक्ति क्षमताभन्दा पर लाग्छ । बरू, शक्तिशाली अभिव्यक्ति क्षमता भएकाले आमाबारे बोलेको सुन्छु र सम्झनाको फेर समात्छु । भावनामा डुब्छु, मस्तिष्कलाई झक्झक्याउँछु, वैचारिक उपस्थितिको बोध गर्छु । 

पत्रकारिता यात्रामा रातोपाटी डटकममा काम गर्दा मैले ध्रुवसत्य परियारले सुरु गरेको स्तम्भ ‘मेरी आमा’का केही श्रृंखला तयार पारें। त्यस क्रममा कवि श्यामल, नेता पम्फा भुसाल र शशी श्रेष्ठको आमाबारे शक्तिशाली अभिव्यक्ति सुन्ने मौका पाएँ । त्यसबखत उहाँहरूको अनुहारमा फर्किएको निर्दोष बालापन र हृदयमा उर्लिएको कोमलताको अभिव्यक्ति सम्झँदा अहिले पनि म उद्वेलित हुन्छु । उहाँहरूको अभिव्यक्तिमा आफूलाई समाहित गर्छु ।
त्यस्तै, मैले रातोपाटीकै जिन्दगानी डटकम स्तम्भका लागि समाजसेवी मेनुका थापासँग कुरा गर्ने मौका पाएको थिएँ । आमाबारे उहाँको अभिव्यक्ति जति प्रभावशाली थियो, त्यति नै उहाँ आमा बन्नुको यात्रा उदाहरणीय थियो । आमा  जैविक रूपमा मात्रै बनिन्छ भन्ने कुरालाई उहाँले कर्मले खण्डन गर्नुभएको छ । 
आज म तिनै अभिव्यक्तिहरूलाई फेरि पढिरहेको छु । र, सँगै सोह्र बर्ष लाग्नेबित्तिकै सिन्धुपाल्चोकबाट जीवनको नयाँ बाटो खोज्दै काठमाडौं आउँदा किनेको पहिलो किताब अर्थात मेक्सिम गोर्कीको उपन्यास ‘आमा’ पनि पल्टाइरहेको छु ।
܀܀܀ 
✍ कला अनुरागी

Comments