म 'डिप लभर' हुँ- इन्दिरा जोशी



गायिका इन्दिरा जोशी केही बर्षदेखि भन्दै आएकी थिइन्, ‘प्रेममा पर्ने समय नै पाएकी छैन ।’ तर भोगाइ र अध्ययनले उनलाई लागेको छ, ‘विवाह उमेरमै गर्नुपर्छ । जैविक रूपमा पनि समयमै विवाह गर्नु उपयुक्त हुन्छ ।’ समयमै विवाह गर्ने ‘मुड’मा पुगेकी इन्दिराले प्रेम र विवाहबारे आफ्नो धारणा तथा योजना यसरी प्रस्तुत गरिन् :

मेरो हजुरआमा 'आमाको आमा' को स्वर असाध्यै मीठो थियो । उहाँले कतै सिक्नुभएको थिएन । तर, यति राम्रो गाउनुहुन्थ्यो कि ममात्रै होइन, सुन्नेहरू सबै दंग पर्थे । उहाँले गायिका बन्ने सपना पनि देख्न पाउनुभएन होला । त्यतिबेला गीत गाउने अनुमति नै थिएन । मेरो आमाबुबासम्म आइपुग्दा धेरै परिवर्तन भयो । उहाँहरूले पढ्न पाउनुभयो । त्यसले पनि सोच फेरियो । उहाँहरू मैले गीत गाउँदा गर्व गर्नुहुन्छ । समाजमा आइरहेको यो परिवर्तन प्रेम र विवाहको क्षेत्रमा पनि देखिएको छ ।

सबै दिदीको मागी विवाह, मेरोचाहिँ प्रेम !
हामी छ जना दिदीबहिनी । म पाचौं नम्बरकी हुँ । मभन्दा साना बहिनी र भाइ छन् । सबै दिदीको विवाह भइसक्यो । काइँली दिदी त केहीअघिमात्रै विवाह भएको हो । पालो मेरै आइपुगेको छ ।
जेठी दिदीको विवाह गर्दा उहाँ २२ बर्षको हुनुहुन्थ्यो । तर त्यसपछि सबै दिदीको २५ पुगिसकेपछिमात्रै भयो । हामी यस्तो समाजमा हुर्कियौं कि जहाँ प्रेम विवाह गर्ने कुरा सजिलै सोचिँदैन । त्यसैले सबै दिदीको मागी विवाह नै भयो । तर मैलेचाहिँ प्रेम विवाह गर्ने स्वतन्त्रता प्राप्त हुन्छ भन्ने विश्वास गरेकी छु । सामाजिक क्षेत्रमा मैले बनाएको पहिचानका कारण मलाई आफ्नो निर्णय आफैं लिनसक्ने बल प्राप्त भएको छ ।
मलाई विवाह गरिहाल्न परिवारले दवाव दिएको पनि छैन । परिवारमा व्यवसायिक रूपमा गायनमा आएको कोही हुनुहुन्न । मैले फरक क्षेत्र छनोट गरेका कारण सोच पनि फरक छ भन्ने छाप परिवारमा परेको छ । मैले सही समय आएपछि आफैं विवाह गर्छु भन्नेमा उहाँहरू ढुक्क पाएको छु ।

नेपाल आइडलकी निर्णायक
महिला अघि बढे, सोचमा परिवर्तन आयो
महिलाको जीवनबारे बढी र अनावश्यक चासो राख्ने प्रवृत्ति छ हाम्रो समाजमा । एउटा महिला घरबाट निस्केर कहाँ गई, कतिबेला आई, कसलाई भेटी भन्नेजस्ता प्रश्नका साथ समाज पछि लागिरहेको हुन्छ । त्यसैले कुनै पनि महिलाको उमेरमै विवाह भएन भने विभिन्न प्रश्नको सामना गर्नुपर्छ । त्यसको एउटा कारण हो, कुनै महिलाले केही फरक गर्न सक्छे, आफ्नो निर्णय आफैं लिन सक्छे भन्ने स्वीकार गर्नै सकेको छैन समाजले ।
तर समय परिवर्तन भइसकेको छ । हिजो जुन काम गर्दा महिला बदनाम बन्नुपथ्र्यो, आज त्यसको ढोका सम्मानपूर्वक खुलेको छ । नर्सिङ, एअर होस्टिङ, मोडलिङ, कल सेन्टर जब, गायन, अभिनय आदि क्षेत्रलाई नकारात्मक हिसाबले हेरिन्थ्यो । आज त्यही पेशामा संलग्न महिला नै आकर्षणको केन्द्र बनिरहेका छन् । विवाहपछि पनि दुवैजनाले काम नगरी जिविका चलाउन नसकिने अवस्था आएको छ । यस्ता पेशाबाट हुने आर्थिक उपार्जनले सम्मानलाई बढाएको छ । जसले सामाजिक सोचमा परिवर्तन ल्याउँदैछ ।

प्रेम अझै बर्जित छ, तर अनिवार्य छ
हाम्रो समाजमा प्रेम विवाह धेरैअघि देखि नै प्रचलनमा छ । भागेर गरिने विवाहलाई हाम्रा कतिपय जातजातिको संस्कृतिले स्वाभाविक मानेको छ । तर विशेष गरी ब्राम्हण, क्षेत्रीको परिवारमा चाहिँ अझै पनि यसलाई स्वाभाविक रूपमा स्वीकार गरेको देखिदैन । विकसित देशमा मागी विवाह लोप भइसकेको छ । हाम्रोमा भने विवाहको बाटो बुबाआमाले नै देखाइदिने चलन छँदै छ । यस क्रममा भावनालाई दबाएको पनि पाइन्छ ।
हाम्रो समाजको संरचनाको कारणले पनि विवाहको निर्णय लिन गाह्रो छ । एकातिर आफूले मन पराएको मान्छे हुन्छ, अर्कातिर परिवार । आफूले मन पराएको मानिसको पक्षमा उभिँदा आफू स्वार्थी भएको हो कि भन्ने अनुभूति पनि हुन्छ । किनभने परिवारसँग अरू नाता पनि जोडिएको हुन्छ । विवाह गरेर बस्ने समाज पनि उही हुन्छ । यस्तो अवस्थामा आफ्नो मन मारेर परिवारकै कुरा सुन्ने पनि धेरै हुन्छन् ।
मागी विवाहमा सफलता धेरै देखिन्छ । त्यसैले पनि हाम्रो समाजमा मागी विवाहको पक्षमा अझै बलियो मत छ । तर मागी विवाहमा सामाजिक बन्धन बढी हुने हुनाले सफलताजस्तो देखिएको हो । तर त्यहाँ खुशी पनि छ कि छैन, हाम्रो पुस्ताले राम्ररी परख गर्न सक्नुपर्छ ।
निश्चय नै खुशी त आफूले मन पराएको मानिससँग विवाह गर्दा नै हुन सकिन्छ, कसैले छानिदिएको मानिससँग होइन । हामी सानो सामान किन्दा त ‘ट्राइ’ गरेर किन्छौं । हेरेकै भरमा तिर्न तयार हुँदैनौं । त्यसैले कसैसँग जिन्दगी नै बिताउँदै हुनुहुन्छ भने उसलाई बुझ्नु अनिवार्य नै छ । उसप्रति प्रेम हुनु अनिवार्य छ । यदि विवाहपछि प्रेम भएन भने बुबाआमालाई पनि तनाव नै हुन्छ । सबै परिवारले दुःख पाउँछन् ।
मागी विवाह नै भए पनि तरिका केही परिवर्तन भएको छ । माग्नै गएपनि त्यसपछि भेट्ने, फोन नम्बर साटासाट गर्ने, सामाजिक सञ्जालमा कुराकानी गर्ने आदि हुने गरेको छ । त्यसले विस्तारै भावनात्मक निकटता भने पैदा हुन्छ । हाम्रो आमाहरूको पालामा त त्यो पनि थिएन । फोटो हेरेकै भरमा विवाह हुन्थ्यो । त्यस्तो अवस्था भने अहिले छैन । अहिलेका बुबाआमा पनि सचेत भइसक्नुभयो । कति अन्तरजातीय विवाह त बुबाआमाले नै गराइदिनुभएको पाएको छु ।

खराब मान्यता तोडिदिनुपर्छ
कलाकार, पत्रकार, चित्रकारजस्ता जति पनि ‘कार’ छौं हामी, सामाजिक सरोकारसँग बढी जोडिएका हुन्छौं । हामी परम्परावादी र नकारात्मक हुनुहुन्न भन्ने लाग्छ । सामाजिक क्षेत्रमा चिनिएका मानिसले गरेको व्यवहारमा परिवारको असन्तुष्टि त रहला तर समाजले साथ दिन्छ ।
विवाहबारे धेरै भावनात्मक हुनु पनि हुँदैन, आफूलाई नै नसुनिकन बन्धनलाई स्वीकार्नु पनि हुन्न भन्ने मेरो मत छ । आफ्नो जीवन हो, आफूले नै बाँच्नुपर्छ । बुबाआमाको रिस चार दिनको होला, आफन्तको रिस केही दिनको होला । तर भर जीवन भोग्ने त आफैंले हो । त्यसैले आफू सक्षम भएर निर्णय लिने हो भने निर्णय आफ्नै हातमा लिन सकिन्छ ।
नाजवाफी सुन्दरता
विवाहको सन्दर्भमा विशेषगरी जात र आर्थिक वर्गबारे परिवारको दवाव बढी हुन्छ । आफ्नै जातको, आफ्नै आर्थिक वर्गको भन्नेमा जोड हुन्छ । तर सबैभन्दा ठूलो कुरा प्रेम हो । यदि प्रेम हुन्छ भने जात वा आर्थिक वर्ग केही होइन । मैले नै फरक जात वा आर्थिक वर्गको व्यक्तिसँग विवाह गरें भने आमाबुबालाई लाग्न सक्छ– हाम्रो नाक काटी । तर समाजले म परिवर्तनको पक्षमा उभिएको स्पष्ट देख्नेछ । त्यो मेरो लागि झनै बल हुनेछ । आमाबुबाले पनि म खुशी देख्नुभयो भने अस्वीकार गर्नुहुन्छ भन्ने मलाई लाग्दैन । आफ्नो सन्तानको खुशीमा कुन बाबुआमा दुःखी होला र रु मलाई लाग्छ, मेरो विवाहको बिषयमा मैले जे निर्णय गर्छु, त्यसले सबैलाई खुशी पार्न सक्छु ।

भावना उमेरले पनि निर्धारण हुन्छ
विवाहको सन्दर्भमा हामीलाई एउटा ढर्रामा प्रशिक्षित गरिएको हुन्छ । अझ महिलाको सन्दर्भमा पुरुष भनेको ‘राजा, राजकुमार’जस्तो हुनुपर्छ भन्ने सिकाइएको हुन्छ । एउटा उमेरमा सबैले त्यही सिकाइलाई आफ्नो कल्पनामा बदल्छन् । म पनि त्यसैमध्येकी हुँ । मैले केही बर्षअघि विवाह गर्ने सोच बनाएको भए राम्रो कार, राम्रो फोन, म्युजिक सिस्टम भएको मान्छेलाई रोज्थेँ होला । त्यसभन्दा पनि अघि त अझ अग्लो, सुन्दर मान्छेको खोजी गर्थेँ होला । तर अब मेरो पहिलो प्राथमिकता प्रेम हो । मलाई हँसाउने खालको मान्छे मन पर्छ । बस्, अरू कुरा सबै प्रेमको गहिराइले निर्धारण गर्छ । राष्ट्रियता, जात वा रंगले फरक पार्दैन । मलाई लाग्दैन कि विवाह कसैसँग जुरेको हुन्छ । यो त आफूले निर्णय लिने कुरा हो । म त्यो निर्णय लिन परिपक्व भइसकेकी छु ।

मलाई भने माग्नै आएनन्
सबै दिदीको मागी विवाह भयो । तर मलाई चाहिँ माग्न कोही आएनन् । केही ठाउँमा ‘कुरा’ भने चलेको थियो । तर म तयार भइनँ । जहिले पनि आफ्नै खुट्टामा उभिने भएपछिमात्रै विवाह गर्छु भन्ने मेरो अडान थियो । जब म गायनमा चिनिन थालें, त्यसपछि त कुरा चल्न पनि छाड्यो । बरू केहीले चाहिँ साथीमार्फत प्रस्ताव राख्नुभएको थियो । तर सबै अस्वीकार गरिदिएँ । अहिले त त्यस्तो प्रस्ताव पनि आउँदैन । सार्वजनिक रूपमा चिनिएकीले कोही रोजिसकेकी होला भन्ने पर्दो हो ।
मलाई पनि कोही रोजेरै विवाह गर्न मन छ । कति बुबाआमाको देख्छु, बच्चाको विवाहको लागि भनेर आमाबुबाले मन काटी–काटी पैसा जोगाइरहेका हुन्छन् । त्यो मलाई ठीक लाग्दैन । आफ्नै निर्णयअनुसार तामझामरहित विवाह गर्नु नै ठीक हो । यसरी आफ्नोबारे आफैंले निर्णय लिन आर्थिक रूपमा बलियो हुनु आवश्यक छ । महिलाले यो कुरामा विशेष विचार गर्नुपर्छ भन्ने मेरो अनुभव हो । म आर्थिक रूपमा सक्षम हुन सकेको कारण नै आफ्नो निर्णय आफैंले लिन सक्ने कुरा खुलेर भन्न सकिरहेकी छु ।
जोशी : सुरकी कोशी

उमेरमै गर्नुपर्छ विवाह
जैविक रूपमा विवाह गर्ने उमेर निश्चित हुन्छ । मैले केहीअघि एउटा लेख पढेकी थिएँ । त्यहाँ एक महिलाले भन्नुभएको थियो, ‘म तीस बर्षकी भएँ । र, अब आमा बन्न निकै ढिला भइसक्यो ।’ ढिलो विवाहले प्रजननमा पनि समस्या हुन्छ । परिवारलाई पनि तनाव हुन्छ ।
म पनि समयमै विवाह गर्ने सोचमा छु । बच्चाबच्ची पनि जन्माउनुपर्छ । त्यसैले विवाह गर्ने बेला भएको छ । तर अहिलेसम्म कोही भेटिएको भने छैन । त्यसको कारण मेरो व्यवस्ता पनि हो । सन् २०१० देखि अहिलेसम्ममा सबैभन्दा फुर्सदिलो भएको अहिले नै हो । त्यसैले कुनै सम्बन्ध बनेन । मेरो दिदीहरूको चिन्ता पनि त्यही छ । भन्नुहुन्छ, ‘यसले कसैलाई पनि मन पराइनँ ।’ मलाई लाग्छ, अब केही बर्षमा बुबाआमा पनि पिरोलिन थाल्नुहुन्छ । आफ्नो लागि उपयुक्त मान्छे मैले नै छाने हुन्थ्यो भन्ने उहाँहरूको सोच छ । म जुन प्रोफेसनमा छु, त्यसलाई बुझ्ने मानिस चाहिन्छ भन्ने उहाँहरूले बुझ्नुभएको छ ।
मैले पनि उहाँहरूको भावना बुझेकी छु । त्यसैले विवाहलाई ‘सिरियस्ली’ लिएकी छु । के भन्छे भन्ने धक वा डरले पनि हो कि, कसैले ‘एप्रोच’ पनि गर्नुहुन्न आजभोलि । म पनि झ्वाट्टै कसैलाई मन पराइहाल्ने मान्छे होइन । निकै समय लाग्छ मान्छेसँग नजिक हुन । त्यसैले कहिले विवाह हुन्छ भन्नेचाहिँ भन्न सक्दिनँ । विवाह भने छिटै गर्ने सोचमा छु ।
 Youtube
(२५ नोभेम्बर, २०१५ का दिन कुपन्डोलस्थित होटल समिटमा कुराकानी गरेर तयार पारिएको यो सामग्री त्यसैबेला रातोपाटी अनलाइनमा प्रकाशित भएको थियो । त्यतिबेला पढ्न नपाउनुभएका र फेरी पढ्न चाहने पाठकका लागि यहाँ रिपोष्ट गरिएको हो । यसको भिडियो संरचना पनि हेर्न सक्नुहुन्छ ।)

Comments