‘नेपालमा कसलाई कम्युनिष्ट देख्नुभएको छ ?’

चार दशकदेखि लेखनका क्रियाशील रेशम विरहीको पहिलो निबन्ध संग्रह ‘देब्रे आँखा’ शिखा बुक्सले प्रकाशित गरेको छ । त्यसो त उनको कवि, पत्रकार र राजनीतिक अभियन्ताको छवि पनि छ । यसअघि नै उनको चार कविता संग्रह प्रकाशित भइसकेको छ । प्रस्तुत छ निबन्ध संग्रह वरिपरि रहेर उनीसँग गरेको बातचित- 

🆀 लेख्न थालेको चार दशकपछि तपाईंको पहिलो निबन्ध कृति प्रकाशित भएको छ । चार दशक भनेका चानचुन समय होइन । किन यति लामो समय पर्खाउनुभएको पाठकलाई ? 
➲ म फाट्टफुट्ट निबन्ध लेखेर साहित्यिक पत्रिकाहरूमा प्रकाशन गर्ने कार्यमा त क्रियाशील नै थिएँ । लेखिरहेको थिएँ, छापिरहेको थिएँ, पाठकहरूले पढिरहेका थिए । तर, पुस्तकको रूपमा ल्याउन किन हो किन प्रकाशकले पत्याएनन् । यसपाली पत्याए, प्रकाशित गरिदिए । मैले अब पाठकहरूसँग कसरी आफ्नो स्पष्टीकरण दिऊँ ।

🆀कृतिमै समेटिएको एउटा निबन्धबाट फुत्त नाम झिकेर किताबको नाम राख्ने सजिलो ‘काइदा’ पछ्याउनुभएन । र, कृतिको नाम राख्नुभयो ‘देब्रे आँखा’ । यही नाम रहनुको कथा भनिदिनुस् न । 
नाम रहनुको कुनै कथा छैन । आस्थाको दंश र त्यसले गरेको वैचारिक ध्वंसको जगबाट नाम उत्खनन गरेको हुँ । 

🆀 तपाईंको नाम ‘रेशम विरही’कै पनि त कथा होला । यही बेला थाहा होस् न पाठकलाई । 
रेशम विरहीको पनि कुनै कथा छैन । एक्लो, सोझो र एक प्रकारले एकलव्यजस्तो देखेर स्कुल पढाउने गुरुले विरही भनिदिएछन् । मैले त्यसलाई टिपेर रेशम राजको पछाडि ‘राज’ काटेर विरही थपेँ । वश ! यही हो रेशम विरहीको कथा ।

🆀निबन्धहरूमा प्रवेश गर्नुअघि तपाईंले साहित्यबारे आफ्नो धारणालाई शंकर लामिछानेको विचारमार्फत प्रस्तुत गर्नुभएको छ । लामिछानेको प्रसंग निबन्धभित्र पनि छन् । तपाईंको निबन्ध यात्रामा लामिछानेको स्थान के हो ? 
मेरो निबन्ध यात्रामा शंकर लामिछानेको कुनै स्थान छैन र म उनीबाट प्रभावित पनि होइन । उनी मेरा दृष्टिका सुन्दर निबन्धकार हुन् । मेरो पुस्तकको अगाडि उद्धृत अंशलाई स्थान दिनुको तात्पर्य शंकर लामिछाने र म दुवै आ–आफ्ना निबन्धप्रति संदीग्ध छौँ र जीवनप्रति पनि संदीग्ध छौँ । जीवन भोगाइका कतिपय चरणहरूमा तादाम्य पनि पाएको छु । यसभित्र कुनै उदेकलाग्दो रहस्य र विचारोत्तेजक तात्पर्य छैन । निबन्धको वैचारिक जग र यसले उत्पन्न गर्ने झिल्काको प्रतिविम्बन पनि मान्दा हुन्छ ।

🆀 तपाईंले पुस्तक आँतका माइल्दाइ पुष्पराज र आस्थाका माइल्दाइ पुष्पलाल दुवैलाई समर्पण गर्नुभएको छ । आस्थाका माइल्दाइबारे त तपाईंले निबन्ध लेख्नुभएको छ, आँतका माइल्दाइबारे पनि त निबन्ध हुँदा हुन् ?
मेरा सहोदर माल्दाइ पुष्पराजको देहान्त भएको १५ वर्ष भयो । उहाँको स्मरणमा लेखेको लामो निबन्ध मसँग थियो तर कतै हराएछु । खोज्दा भेटिनँ र खेदका साथ समर्पणमा राखेर चित्त बुझाएँ । सम्भवतः दोस्रो संस्करणमा समावेश गर्न सक्छु ।

🆀 तपाईंको निबन्ध कृति आउँदा सबैभन्दा बढी खुशी को के कारणले भयो ? 
यो मैले भन्न सक्ने कुरा होइन । अरू को कति खुशी भए तर शिखा बुक्सले मेरो निबन्ध प्रकाशित गरिदिएपछि सबभन्दा खुसी हुने म नै हुँ र कारण पनि निबन्ध प्रकाशित हुनु नै हो । 

🆀 पाठकहरूसँग कत्तिको अन्तरसंवाद गर्ने मौका पाउनुभएको छ किताब आएपछि ? पाठकसँग अन्तरसंवाद गर्न मनचाहिँ कत्तिको लाग्दो रहेछ ? 

खास पाठकसँग अन्तरसंवाद हुने समय नै भएको छैन । भर्खरै त प्रकाशित भएको छ नि । तर अहिलेसम्म परिचित मित्रहरूले पढेर सुझाव दिएका छन् । म मख्ख परिरहेको छु । खास पाठकको सामना गर्न सक्छु कि सक्दिनँ थाहा छैन । तर सक्छु, किन नसक्ने ? मैले इमान्दारितापूर्वक निबन्ध लेखेको छु र आफूलाई सर्वाङ्ग पोखिदिएको छु ।

🆀 मेरो निबन्धलाई यसरी पढिदिए हुन्थ्यो अथवा मलाई पाठकले यसरी बुझिदिए हुन्थ्यो भन्ने भावना पनि मनमा छ ? 
नेपाली पाठकहरूले मेरा निबन्ध मैले जसरी लेखेँ त्यसरी बुझ्ने क्षमता राख्छन् । तर साहित्य लेखनले सम्प्रेषण गरेको सन्देश जसले बुझ्नु पर्ने हो त्यो त कहाँ, कहिले, कसले बुझेको छ र ?

🆀 तपाईं कवि, एउटा कविलाई निबन्धकारको जरुरत किन परेको हो ? 
कविलाई निबन्धकार, निबन्धलाई कथाकार, अथवा कथाकारलाई उपन्यासकारको जरुरत किन पर्यो भन्ने प्रश्न नै त्यति व्यवहारिक लाग्दैन । एउटा  जिम्मेवार स्रष्टाले आफूले भन्न चाहेको कुरा कुन विधाबाट भन्ने मन गर्छ र उदात्त किसिमले अभिव्यक्त हुन सक्छ, त्यसै विधामा लेख्ने हो । मैले कवितामा भनेर नभ्याएका कतिपय कुराहरू निबन्धमा भनेको छु र भोलि उपन्यास, नाटक वा कथामा पनि भनूँला– त्यो अर्कै कुरा हो ।

🆀 तपाईंले कृतिमा माक्र्सवादी र कम्युनिष्टबीच रेखा कोर्नुभएको छ । आफूलाई माक्र्सवादी भए पनि कम्युनिष्ट नबनेको पनि भन्नुभएको छ । यो विरोधाभासको दर्शन के हो ?
माक्र्सवाद एउटा भौतिकवादी दर्शन हो । यसको दार्शनिकतासँग कम्युनिज्मको हुबहु परिकल्पनाले नै कम्युनिस्ट सत्ता समाप्त भएका हुन् । माक्र्सवादी हुनु वा कम्युनिष्ट हुनु एकदम फरक कुरा हो । नेपालमा कसलाई कम्युनिष्ट देख्नुभएको छ तपाईँले ? मैले त कतै देखेको छैन र यसमा विरोधाभाष देख्नु पनि हुन्न ।

🆀 पाठकलाई दिन अझै धेरै निबन्धहरू छन् तपाईंसँग । तिनको पालोचाहिँ कहिले आउँछ ?
म २० वर्षदेखि लगातार निबन्ध र कविता लेखिरहेको छु । यसबीच लेखिएका कतिपयलाई च्यातेर पनि फालिसकेँ । यसपटक प्रकाशितमध्ये केही बाँकी छन् । आफ्नै माइल्दाइमाथि लेखेको पनि हरायो । त्यसलाई पुनः लेख्नु छ । अर्कोको पालो पनि यसको प्रभाव र व्यापारका आधारमा प्रकाशकले पत्याउनेबित्तिकै आइहाल्छ । 

🆀 कवि रेशम विरहीलाई माया गर्नेहरूलाई चाहिँ केही तयारी गर्नुभएको छ ? 
कवि रेशम विरहीलाई माया गर्नेहरू पनि रहेछन् भन्ने थाहा पाएँ । ‘माया’कै तयारीमा सधैं रहने गरेको छु । 
܀܀܀
💧 कला अनुरागी
साभार : रातोपाटी

Comments