विवाहपहिले नै बच्चाको कल्पना आउँछ- सिर्जना सुब्बा

मंसिरलाई विवाहको महिना मान्ने मानसिकता सम्पूर्ण नेपाली समाजमा छ । तर लिम्बूकोे जातिगत संस्कारमा त विवाह नहुने महिना हुँदैन । कार्तिक वा चैतमा पनि हुन्छ ।
लिम्बू समाजमा छोरी भएको परिवारलाई सम्मानित हुन्छ । छोरी हुर्किए पनि परिवारले केटाको खोजी गर्ने र कुरा चलाउने गर्दैन । त्यसो गर्नु लज्जाको बिषय मानिन्छ । दाइजोको पनि परिकल्पना हुँदैन । पहिले–पहिले त छोरीको परिवारले ‘मेरी छोरी माग्न आयौ, यति तोला सुन र यति पैसा देऊ’ भन्ने पनि चलन थियो । अहिले भने पहिले नै यतिभन्दा तल प्रस्ताव गर्दिनँ भन्ने तयारीसाथ केटा पक्ष जाने गर्छन् ।
विवाहमा पनि बेहुली पक्षको खर्च कम हुन्छ । पहिले बेहुला केही व्यक्ति लिएर जान्छ र बेहुली लिएर आउँछ । बेहुलीले भने लोकन्तीको रूपमा धेरै साथी बेहुलाको घर जान पाउँछे । फेरि फर्किएर आएर केटीको घरमा पनि विवाह गर्नुपर्ने हुन्छ । त्यसमा लाग्ने सामान र खर्चको निश्चित अंश केटा पक्षले व्यहोर्नुपर्ने हुन्छ । भागेरै विवाह गर्दा पनि खर्च त व्यहोर्नैपर्छ केटा पक्षले । अन्य जातसँग विवाह गरे पनि त्यो रीत पुर्याउनैपर्छ । यस हिसाबले लिम्बू संस्कारमा विवाहको सवालमा महिलाको शक्ति बढी देखिन्छ ।
हाम्रो संस्कृतिमा प्रेम विवाहलाई पनि उत्तिकै सम्मान गरिन्छ । बुबाआमाले चाहेको ठाउँमा विवाह नगरे नाकै काटिन्छ भन्ने छैन । विवाह गरिसकेपछि रीतचाहिँ पूरा गर्नुपर्छ ।
हाम्रो बुबाको पालासम्म अन्तरजातीय विवाह त्यति स्वीकार्य थिएन । अहिले त त्यस्तो छैन । मेरो घर मोरङ, राजघाट हो । त्यहाँ विभिन्न जातिको संयुक्त बसोबास छ । विभिन्न जातिबीच विवाह पनि भइरहेको हुन्छ । हाम्रै घरमा बिहाबारीका कारण तामाङ, शेर्पा, गिरीलगायतको नाता जोडिएको छ ।
सिर्जना सुब्बा

उमेर भएपछिको दबाब
विवाहको उमेरका बिषयमा भने हाम्रो समुदायमा पनि मानसिकता उस्तै छ । छोरीको विवाह गर्ने उमेर भइसकेको छ भने घरको मान्छेले केही नभने पनि अरूले विभिन्न प्रश्न सोधेर अप्ठ्यारोमा पारिदिन्छन् । सिधै ‘ज्वाईं कता छन् रु’ भनेर सोध्छन् । उत्तर दिन नसक्दा लाज मर्नु हुन्छ । बीस पार गरेपछि ‘किन विवाह गरिन रु’ भन्नेमा समाजले चासो दिएर दिक्क नै लगाउँछ ।
मैले पनि त्यस्तो दवाव झेलेकी छु । घरपरिवारमा नै बसिरहेको भए त दबाब अझ धेरै हुन्थ्यो होला । कति साथीका त बच्चाबच्ची ठूला भइसकेका छन् । अनि घर जाँदा आमाले पनि रेला गर्दागर्दै साथीको उदाहरण दिएर भन्नुहुन्छ, ‘उसको छोराको विवाह गर्ने बेलामा तिमी चाहिँ सानो बच्चा बोकेर जानू नि ?’ सिधैचाहिँ उहाँ भन्नुहुन्न, घुमाइ–घुमाइचाहिँ भन्नुहुन्छ । काकाका छोरीहरूको सानैमा विवाह भयो । उनीहरूको बच्चा छ । अनि यसो बच्चा बोक्दा भन्नुहुन्छ, ‘अब के गर्नू, आफ्नै घरको चाहिँ भएन । स–साना केटाकेटीको छोराछोरी बोक्नुपर्यो । आफ्नै नातानातिना त हेर्न पाइने हो कि होइन ?’
उहाँहरूको गुनासो पनि सही हो । सपना हुन्छ छोराछोरीप्रति । डर पनि होला, नराम्रोको हातमा पर्ने हो कि, विवाहै नहुने हो कि, बूढीकन्या नै बस्ने हो कि भन्ने । हामीलाई पो आत्मविश्वास छ । तर उहाँहरूले त त्यसरी बुझ्नुहुन्न नि ? त्यो हिसाबले उहाँहरूले हाम्रै लागि सोच्नुभएको हो ।
गाउँघरमा पनि ‘अझै विवाह भएको छैन रु अब त गर्ने होला नि ?’ भनेको सुन्नुपर्छ । चाडवाडतिर घर जाँदा त्यसको तयार भएर उत्तर सोचेर जानुपर्छ ।

माग्न आउनेको धुइरो
केही वर्ष भयो मलाई विवाहका लागि माग्न आउन छाडेको । नत्र त माग्न आउनेहरू हुन्थे । कतिपय आफन्तले कुरा चलाइदिन्थे भने कतिले घरमै पुर्याइदिन्थे । अनि मलाई विभिन्न बहानामा घरमा बोलाइन्थ्यो । तर विवाहको प्रस्तावको लागि भनेर थाहा पाएपछि मचाहिँ जाँदिनथेँ । तर म नगएपछि घर हेर्नमात्रै भए पनि धेरै आउँथे । दसैंतिर घर गएको बेला घरमा आमाले भन्नुहुन्थ्यो ।
अहिलेचाहिँ माग्न आएका छैनन् । सामान्यतः उमेर अलि बढी भएर हो कि । सामान्यतः केटाहरूले आफ्नोभन्दा कम उमेर र तहको केटी हेर्ने चलन छ । मभन्दा बढी उमेरका तर विवाह नगरेका केटा कम भएर पनि हुनसक्छ ।
सुब्बा हाइकिंगमा पनि रुची राख्छिन्

प्रश्नजति केटीलाई
म त ३० को हाराहारीमात्रै पुगेँ । अझ तीस वर्ष कटिसकेपछि त मानिसले बूढी भइछ भन्लान् भन्ने डर पनि परिवारमा हुन्छ । हाम्रै उमेरका केटालाई भने त्यस्तो प्रश्न सोधिँदैन । ‘ए उमेर छँदै छ नि । केटा मान्छेले त कमाउनुपर्छ’ भन्छन् । केटीको चाहिँ ‘यो कारणले विवाह नभएको होला’ भनेर लख काट्न थाल्छन् ।
४० वर्ष कटेपछि पनि केटाले सजिलै केटी पाउँछ । अझ भन्छन्, ‘केटा त कति राम्रो, अहिलेसम्म केटी रहेनछ ।’ केटीसँगको सम्बन्धमा भएकै थाहा पाए पनि भन्छन्, ‘जमानामा एउटा थियो । त्यो छुटिहाल्यो नि ।’ उसको सम्मानमा त्यस्ता कुराले कुनै असर पर्दैन । तर केटीको त्यस्तो थाहा भयो भने ‘ओहो, त्यसको त यस्तो थियो । त्यसैले पो विवाह नभएको रहेछ’ भन्न थाल्छन् । हेयको दृष्टिले हेर्छन् । समाजमा महिला र पुरुषलाई हेर्ने विभेदपूर्ण दृष्टिकोणको उपज हो यो ।
सामाजिक दृष्टिबाट हेर्ने हो भने मेरो पनि विवाह गर्ने उमेर घर्किंदैछ । तर विभिन्न कारणले अहिलेसम्म विवाहको मेसो मिलेको छैन । म कला क्षेत्रमा छु । यहाँ सँधै मानसिक रूपमा सक्रिय हुनुपर्छ । अरू पेशामा भएको भए निश्चित समय काममा बिताइसकेपछि आफ्नोबारे सोचिन्थ्यो होला । अनि ‘ला, विवाह भएको छैन । के गर्ने होला रु’ भन्ने अत्यास पनि हुन्थ्यो कि १ तर यहाँ त्यस्तो हुँदैन ।
त्यसो भनेर कला क्षेत्रमै भएका कारण विवाहमा ढिलाइ भएको हो भनेरचाहिँ भन्दिनँ म । पहिले–पहिले म पनि समयमै विवाह गर्नुपर्छ भन्ने सोच्थें । तर सबै आफूले सोचजस्तो हुने रहेनछ ।
त्यसो त, आजकाल ढिलो विवाह गर्नु सामान्य नै भइसक्यो । जतिसुकै भाषण गरेपनि आर्थिक रूपमा बलियो नभइकन महिला स्वतन्त्र हुन सक्दैनन । यो कुरा बुझेर अहिलेका महिला पनि पहिले आत्मनिर्भर हुन चाहन्छन् । त्यसको प्रभाव ममा पनि परेको हुनुपर्छ ।
सुब्बाको रंगकर्ममा अब्बल मानिन्छिन्

केटी सोच्छन् लङटर्म, केटा सोच्छन् सर्टटर्म
विवाह ढिलो भए पनि आजभोलि युवायुवती प्रेम सम्बन्धमा चाहिँ हुन्छन् । लामो समयसम्म प्रेम सम्बन्धमा रहँदाको नकारात्मक र सकारात्मक दुवै पाटा होलान् । तर मलाई धेरै हदसम्म यो ठिक लाग्छ । सामान्य चिनजान र आकर्षणका भरमा विवाह गरेर सम्बन्धविच्छेद गर्नुभन्दा सम्बन्धको राम्ररी विकास हुन दिनु नै उपयुक्त हो । त्यस क्रममा सम्बन्ध दिगो हुन्छ कि हुन्न थाहा हुन्छ । नहुने देखिए सम्बन्ध अन्त्य गर्न सकिन्छ ।
मानिस छोटो समयमा चिन्न सकिँदैन । आफ्नै परिवारको मान्छे त बर्षौंपछि चिनिन्छ भने बाहिरकोलाई चिन्न समय लाग्छ नै । त्यसैले निश्चित समयसम्म सम्बन्धमा रहेनु राम्रो हो । तर समस्या महिला र पुरुषलाई हेर्ने दृष्टिकोणबाटै छ । सम्बन्धबारे फराकिलो सोचलाई गलत तरिकाले प्रयोग गर्ने पनि हुन्छन् । त्यसबाटचाहिँ सचेत हुनु आवश्यक छ । किनकि सम्बन्ध टुट्नुमा जसको दोष भएपनि महिलालाई नै नकारात्मक रूपमै हेर्ने समाजिक दृष्टिकोण बदलिइसकेको छैन । त्यस्तै सम्बन्ध टुट्दा महिलाले आफूलाई बढी पीडित अनुभव पनि गर्छन् । पुरुषलाई पनि पीडा नहुने त होइन । तर पीडाको सघन अनुभूतिचाहिँ केटीले बढी गर्छन् ।
कुनै पनि सम्बन्धलाई महिलाले संवेदनशील ढंगले लिन्छन् । उनीहरूले ‘लङटर्म’ सोच्छन् । अपवादमा कसैले नसोच्ला, तर अधिकांशले सोच्छन् । कसैले भरजीवन साथ दिन्छ भन्ने लागेपछि उनीहरू समर्पित हुन हिच्किचाउँदैनन् । त्यसैले सम्बन्ध टुट्दा बढी पीडा पनि महसुस गर्छन् । पीडा लुकाउन पनि सक्दैनन् । त्यसैले महिला कमजोर हुन्छन्, रोएरै हिड्छन् भन्ने गरिन्छ । पुरुषले चाहिँ पीडा महसुस गरेपनि आँसु देखाउँदैनन् । त्यस्तै अधिकांश पुरुषले ‘सर्टटर्म’का लागि सोच्छन् । मेरो बुझाइको निष्कर्ष हो यो ।
सुब्बाको पहिलो रुची नृत्य थियो

जसलाई औधि मन पराएँ
म काठमाडौं आएदेखि थिएटरमै सक्रिय छु । तर मलाई यो क्षेत्रका केटासँग कहिल्यै आकर्षण भएन । मलाई कति केटा साथीले भनेका छन्, ‘अरूसँग त फरक खालको आकर्षण हुन्थ्यो । तर तिमीसँग त्यस्तो लागेन ।’
मलाई केटासँग फरक व्यवहार गर्नुपर्छ, नारीसुलभ गुण देखाउनुपर्छ जस्तो लाग्दैन । सामान्यतः राम्रो लाग्ने एउटा कुरा, तर ओहो १ योसँगचाहिँ जीवन नै बिताउनुपर्छ भन्नेजसरी आकर्षित भइनँ ।
जीवनमा मलाई कोही नै मन नपरेको भने होइन । स्कूल पढ्दा एकजनालाई असाध्यै मन पराउँथेँ । मेरो आफन्तकै साथीको भाइ थियो । गाउँ पनि नजिकै । घरमा पनि आइराख्थ्यो । तर मैले मन पराएको कुरा उसलाई कहिल्यै भन्न सकिनँ । मैले मन पराउँछ भन्ने उसलाई पनि थाहा भयो होला । उसले पनि मलाई प्रत्यक्ष केही भनेन । हामी जम्मा एकपटक बोलेका थियौं । उसले भन्यो, ‘म तिहारमा त्यता देउसी खेल्न आउँछु है ।’
मैले भनें, ‘हुन्छ, हामी पनि त्यता भैली खेल्न आउँछौं नि ।’
देउसी भैलीको अनौपचारिक भेटपछि हाम्रो भेटै भएन । स्कूलमा ऊ मभन्दा दुई ब्याच सिनियर थियो । त्यसैले मभन्दा अघि नै ‘पासआउट’ भयो ।
ऊ चाहिँ मलाई यति मन परेको थियो कि कुरा चलेको भए विवाह नै गर्थें हुँला । त्यसपछि कोही ज्यादै मन पर्ने मान्छे भेटिएन ।

प्रेम नगर्ने निर्णय !
स्कूलमा हाम्रो एउटा समूह थियो । मन परेको साथीले स्कूल छोडेको केही समयमै छ जनाको हाम्रो समूहले एउटा निर्णय गर्यो, कसैले पनि प्रेम नगर्ने । त्यस्तो निर्णय लिनुको पृष्ठकथामा थिए हामीभन्दा सिनियर दिदीहरू । उनीहरू राम्रा थिए नै, त्यतिबेला फिल्ममा चलेको फेसन गर्थे । उनीहरूमध्ये कोही पारिगाउँका केटाहरूसँग प्रेम गर्थे, कोही बजारमाथिका केटाहरूसँग । त्यो पनि समूह नै हुन्थ्यो । पारिका चारपाँचजना केटासँग प्रेम गर्ने यताका चारपाँचजना दिदीहरू हुन्थे । माथिका चारपाँचजना केटासँग प्रेम गर्ने यताका अरू चारपाँच जना दिदीहरू हुन्थे । उनीहरू कतै घुम्न गए भने पनि थाहा हुन्थ्यो । कुनै विवाह, चाडपर्वमा भेट गरे भने पनि हामीलाई थाहा हुन्थ्यो ।
हामीलाई उनीहरू ‘नक्कली’ लाग्थे । त्यसैले सामूहिक निर्णय गर्यौं, ‘हामी कसैलाई पनि मन नपराउने । चिठी आयो भने पनि अस्वीकार गर्ने । यदि कोही छुपारूस्तम् निस्कियो र कसैलाई मन परायो भने त्यसलाई समूहबाटै निकाल्ने ।’
स्कूलमा हुञ्जेल सबैले नियम पूर्ण रूपमा पालना गर्यौं नै । पछिसम्म पनि हामीमा त्यसको प्रभाव देखियो । समूहका प्रायःको मागी विवाह नै भयो । कसैले धेरैपछिमात्रै प्रेम गरे । त्यसको प्रभाव ममा पनि देखियो कि जस्तो लाग्छ ।
लूट सिनेमाको पुतली चरित्रले
उनीलाई सिल्भर स्क्रीनमा चर्चित बनायो

श्रीमानभन्दा पहिले बच्चाको कल्पना आउँछ
अहिले सम्झँदा त्यति साह्रो त नगरेका भए पनि हुन्थ्योजस्तो लाग्छ । हामीलाई कहिले केटीभन्दा केटासाथीको आवश्यकता बढी हुन्छ । अझ ब्वाइफ्रेण्ड हुँदा सजिलो पर्छ । तर हामीलाई त्यसबेला यस्तो कुराको आभास थिएन ।
त्यसो भनेर म कसैसँग पनि आकर्षित नभएको भने होइन । सामान्य ढंगले आकर्षित भइयो केहीसँग । तर विवाह नै गरूँ भन्नेचाहिँ भएन ।
मलाई मन पराउनेहरू पनि नभएका होइनन् । सिधै विवाहको प्रस्ताव पनि आएका छन् । दुई वर्षअघि विवाह नै गरौं भनेर प्रस्ताव आएको थियो विदेश बस्ने व्यक्तिबाट । उसलाई ढाँट्न मैले भनें, ‘मेरो त ब्वाइफ्रेण्ड छ नि ।’
उनको कुरा थियो, ‘ब्वाइफ्रेण्ड त जसको पनि हुन्छ । छोडिदेऊ । बरू म पनि नेपालमै बसूँला । विवाह गरौं ।’
काठमाडौं आएदेखि नै विवाहको प्रस्ताव गरेर कुर्नेहरू पनि नभएका होइनन् । तर मैले विवाहको कुरालाई कहिल्यै संवेदनशील रूपले लिइनँ । त्यसैले कुनै पनि प्रस्तावलाई अघि बढ्न दिइनँ ।
मलाई बच्चाचाहिँ एकदम मन पर्छ । कहिलेकाहीँ विवाहको कल्पना मनमा आउँदा पहिले श्रीमान आउँदैन । बच्चा नै आउँछ । मेरो पनि बच्चा हुन्छ, यसरी खेलाउँछु होला भन्ने आउँछ । तर श्रीमान हुन्छ, श्रीमानसँग यसरी हिँड्छु होला भन्ने कल्पनाचाहिँ आउँदैन । त्यसैले बच्चाकै लागि विवाह गर्छु होला ।

ऊबेला त हात समाएर हिँड्ने रहर हुन्थ्यो
उमेरअनुसार पनि विवाहलाई हेर्ने दृष्टिकोण फरक हुँदोरहेछ । स्कूलमा हुँदा जसलाई मन पराउँथे, अत्ति नै राम्रो लाग्थ्यो । उसले प्रस्ताव राखेको भए म काठमाडौं नै आउँदिनथेँ होला । यहाँ पनि मान्छे नभेटेको होइन, प्रस्ताव राख्ने र मन पराउने भेटेँ । तर त्योबेलाको जस्तो भावना मनमा आएन । त्यतिबेला त हात समातेर हिड्न मन लाग्थ्यो । भेटेपछि कसरी गफ गर्ने होला भन्ने धक लाग्थ्यो । उसले भने त जे पनि मान्थें भन्ने लाग्थ्यो । लाग्थ्यो, मेरो कुरा पनि उसले मान्छ होला ।
अहिले त युवायुवती हात समातेर हिँडेको, अँगालो मारिरहेको देख्दा पनि त्यस्तो रहर जाग्दैन । बरू उल्टै यो कति दिनको लागि होला र रु भन्ने प्रश्न पो जाग्छ ।
मैले त्यसरी मन पराएको मान्छेले केही वर्षअघि आएर विवाहको प्रस्ताव परिवारमा राखेको थियो । तर पनि मलाई उसँग पहिलेजस्तो रहर जागेन । मलाई उसँग विवाह गर्न मन नै लागेन । उमेरसँगै धेरै कुरा सोच्न थालिँदोरहेछ । त्यतिबेला मन मिलेपछि हुन्छ भन्ने लाग्थ्यो । अहिले सोचाइ, तह, आर्थिक अवस्था सबैबारे विचार गर्न थालिन्छ । त्यसैकारण पनि विवाह गर्न ढिलो गरिँदोरहेछ ।
Dying Candle सिनेमाले उनलाई
अन्तर्राष्ट्रिय पहिचान दिलायो

विवाह योजना यसैवर्ष
अबचाहिँ विवाह गर्न धेरै ढिला नगरौं भन्ने लागेको छ । सबै कुरा मिल्यो भने यसै वर्ष विवाह गर्ने योजनामा छु । तर विवाह, मृत्युजस्ता कुराको निश्चित योजनामा हुन्छ भन्नेजस्तो लाग्दैन । किनकि यतिबेलासम्म त दुई चारजना छोराछोरी जन्माउँछु भन्ने योजना थियो कुनै समय । अहिले त योजना र सोचाइ दुवै परिवर्तन भइसक्यो ।

प्रेमविवाह नै गर्नुपर्छ
म विशेषगरी केटीहरूलाई प्रेम गरेकैसँग विवाह गर्नुस् भन्छु । त्यसो गर्दा जीवन अघि बढाउन धेरै सजिलो हुन्छ । प्रेम गरेको व्यक्तिको कमजोरी र बलियो पक्ष दुवै थाहा भइसकेको हुन्छ । सम्बन्धलाई दिगो बनाउन आफूले खेल्न सक्ने भूमिकाबारे पनि स्पष्ट भइन्छ । अर्को कुरा, प्रेम सम्बन्धमा पुरुषले पनि सम्मान गर्छन् । महत्व पनि बुझेका हुन्छन् । तर मागी विवाहमा त्यस्तो हुँदैन । केटीहरूको लागि त यस्तो विवाह निकै पीडादायीजस्तो लाग्छ ।
कतिपयले मागी विवाह धेरै टिक्छ भन्ने गरेको पनि पाइन्छ । तर त्यहाँ केटालाई धेरै नै सम्मान गर्नुपर्छ । अरूको धेरै कुरा सुनिदिनुपर्छ, अरूका लागि धेरै सोचिदिनुपर्छ । बुबाआमा र परिवारको सम्बन्धबारे सोचेरमात्रै व्यवहार गर्नुपर्ने हुन्छ । तर प्रेम विवाहमा आफ्नो जीवनबारे पहिले सोचिन्छ । र, जीवनलाई सोचेजसरी अघि बढाउन सकिन्छ । त्यसैले सबैको प्रेम विवाह नै हुनुपर्छजस्तो लाग्छ मलाई ।
 Youtube
(३० नोभेम्बर, २०१५ का दिन मण्डला थिएटर, अनामनगरमा कुराकानी गरेर तयार पारिएको यो सामग्री त्यसैबेला रातोपाटी अनलाइनमा प्रकाशित भएको थियो । त्यतिबेला पढ्न नपाउनुभएका र फेरी पढ्न चाहने पाठकका लागि यहाँ रिपोष्ट गरिएको हो । यसको भिडियो संरचना पनि हेर्न सक्नुहुन्छ ।)
तस्विर: सिर्जना सुब्बाको फेसबुक

Comments