राजेशपायल राईलाई अनौठो प्रस्ताव - तपाइँको बच्च्चा जन्माएर हुर्काउँछु



मंसिर असाध्यै सुखद महिना लाग्छ मलाई । किसानले यही महिना घरमा धान भित्र्याउन पाउँछन् । विवाहको मौसम पनि हो । अविवाहितले जोडी भित्र्याउन पाउँछन् । वातावरण पनि सुन्दर हुन्छ । शुभचिन्तकले मेरो विवाहबारे आशा र चिन्ता व्यक्त गरिरहनुभएकाले मेरो लागि पनि यो महिना महत्वपूर्ण छ ।

बेहुलो हुने रहर
खोटाङको गाउँले परिवेशमा हुर्किएँ म । त्यहाँ तीन प्रकारको विवाह देखेँ मैले । हुने खानेको बेहुलाबेहुली घोडामा हुन्थे । मध्यम स्तरले डोली हुन्थ्यो । त्यसभन्दा कम स्तरका हिँडेरै जान्थ्यो । तर बेहुलो भएपछि सबैले चस्मा र टोपी लाउँथे । त्यो बेला बेहुलो बन्न निकै रहर लाग्थ्यो ।
हाम्रो घरमा सेतो घोडा थियो । टक्क कालो चश्मा लगाएर सेतो घोडामा चढेर बेहुलीको घर जाने सपना ममा पनि थियो । उमेरसँगै त्यो सपना बिलाउँदै गयो । अहिले त सपना पनि संगीतकै देखिन्छ । त्यही सपना पूरा गर्ने बाटोमा हिँडिरहेछु । विवाह पनि गाउँमा हुन्छझैं लाग्दैन । सहरमै होला ।

जन्ती जानुको मज्जा
विवाहको प्रसंगमा जन्ती जाँदाको सम्झना निकै यादगार छन् । धेरैजनाको जन्ती गइयो । तर, गाउँकै दाइ शुक्रको विवाहचाहिँ निकै सम्झन्छु । उहाँले विवाह गर्न लागेको अन्जना दिदी पनि मेरो साइनो नै पर्नुहुन्थ्यो ।
शुक्र दाइले मलाई लोकन्तीको रूपमा छान्नुभयो । अलि सानै थिएँ म । किन मलाई नै छान्नुभयो चाहिँ थाहा भएन । लोकन्ती पनि बेहुलाको पछि–पछि घोडामै चढेर जानुपथ्र्यो । चार वटा घोडा हुन्थ्यो । बेहुला, बेहुलाको साथी, बेहुली र बेहुलीको साथी चढ्ने । बेहुला–बेहुलीको घर नजिकै थियो । तर पनि घोडामै चढेर गएका थियौं । खुब, रमाइलो भएको थियो ।
रेयर भर्सटायल सिंगर

‘आइ लभ यू’ भन्नै सकिनँ
स्कूले उमेरमा केहीलाई मन पराइयो । केहीलाई चिठी पनि पठाइयो । तर ती पुगे कि पुगेनन्सम्म थाहा भएन । त्यसो त धेरै उत्ताउलो भएर प्रेम गर्ने वातावरण पनि थिएन । हाम्रो परिवारमा बुबाको अदब अर्कै थियो । त्यसैले त्यो इज्जत धान्न पनि हामीले उत्ताउलिने अवसर पाएनौं । बद्मासी भनेकै पौडी खेल्न जानेस्तरसम्मको हुन्थ्यो ।काठमाडौं आएपछि धरानबाट एक जनाले पत्र लेख्नुहुन्थ्यो । तर मैले त्यसको उत्तर फर्काउन सकिनँ । टेलिफोनमा कुरा हुने सम्भावना थिएन । त्यसैले त्यत्तिकै भइगयो । कतिलाई मैले मन पराएँ । काठमाडौंमै पनि मैले मन पराएका केटी साथी छन् । कतिको विवाह भइसक्यो, कतिको बाँकी छ । तर मैले कहिल्यै पनि ‘आइ लभ यू’ भन्न सकिनँ । किन भन्न सकिनँ भन्नेचाहिँ मलाई नै थाहा हुँदैन । अरूले कसरी भन्न सक्छन् होलाजस्तो लाग्छ । मैले प्रस्ताव गर्दा अस्वीकार होला भन्ने असाध्यै ठूलो डर लाग्छ । त्यस्तो भयो भने ‘म त केही होइन रहेछु’ भन्ने मनोविज्ञानलाई झेल्न सक्दिनँजस्तो लाग्छ ।
बरु, बिहे भइसकेपछिचाहिँ भनेको छु, तिमीलाई मन पराउँथे नि भनेर । त्यसमध्येकी एकजना त चर्चित व्यक्तित्व नै हुनुहुन्छ । त्यसरी भन्दा ‘किन नभनेको त रु’, भन्ने प्रतिक्रिया आउँछ । अरु कुरा त भन्ने कुरै भएन । आफ्नो संसारमा सबै रमाइसकेका हुन्छन् ।

एक्लै बाँच्न अभ्यस्त भएछु
आफ्नो करियरको क्रममा मलाई कहिल्यै पनि आफ्नो कुरा ‘शेयर’ गर्ने साथी चाहिन्छ भन्ने पनि लागेन । किनकि म संघर्षको अवधिदेखि नै एक्लो बाँच्न थालें । त्यसबेला बुबाआमाको साथ पनि बस्न पाइनँ, दाजुभाइ पनि सँगै थिएनन् । आफन्तकहाँ बसेँ । जब चर्चामा आएँ, त्यसपछि कार्यक्रमहरूमा एक्लै जान थालियो । विदेश पनि एक्लै गइयो । जीवनशैली नै त्यस्तो बनेछ । त्यसैले नजिकको साथी भइदिए हुन्थ्यो भन्ने कहिल्यै अनुभूति नै भएन ।

दौडेपछि दौडेको दौड्यै
मैले करियरमा संघर्ष गर्दा धेरै दुःख पाएँ । भरे के खाने भन्ने समस्या बोकेर हिँड्नुपर्यो । दुई बर्षको चरम संघर्षपछि मैले गाएको गीत ‘फैलियो माया दुबोसरी’ चर्चित भयो । त्यसपछि पछाडि फर्केर हेर्नैपरेन । विदेशको कार्यक्रममा पनि उत्तिकै माग हुन थाल्यो । त्यसबेलादेखिको दौडाहा अहिलेसम्म पनि उस्तै छ । अहिले पनि एक हप्ता नै भएको छैन नेपाल आएको । यूरोप टुर सकेर आएको, अब फेरि जाने तयारी हुँदैन । सोच्छु, यो जीवनमा कसैको आँखा नलागोस्, श्रोताको आशिर्वाद नघटोस् । बरु विवाह नै नहोस् ।
यस्तै दौहाडाको कारण पनि म कसैसँग नजिक हुन सकिनँ किजस्तो लाग्छ । कसैसँग अलि नजिक भइन्छ । फेरि अर्को देश हिड्यो । लामो समय सम्पर्क हुन्न । त्योसम्बन्ध टुट्छ । त्यस्तै नै चलिरहेको छ ।
सुमधुर स्वरको मानक 

दवाव पनि छ, उमेर पनि त छ !
विवाह गर्नका लागि मेरो उमेर त्यस्तो घर्किसकेको छजस्तो लाग्दैन । परिवारले पनि बुझ्नुभएको छ मेरो व्यस्तता । यो व्यवस्ता आफ्नो लागि होइन, नेपाली संगीतको लागि हो । नेपाली संगीतलाई अन्तराष्ट्रिय बजारमा पुर्याउनका लागि हो । त्यति हुँदा–हुँदै पनि दवाव त उत्तिकै आउँछ । त्यो नयाँ होइनजस्तो लाग्छ, सलमान खानको घरमा पनि उत्तिकै होला, राजेश हमालको घरमा पनि उत्तिकै थियो विवाह हुनुअघि ।
तर मैले सार्वजनिक रूपमै भनिरहेकै छु, गर्लफ्रेण्ड बनाउन सकेको छैन । भएको भए त भन्थें पनि हुँला, ‘ल दवाव पनि आइरहेको छ । यो महिना अनुकूल पनि हो । म पनि तयार छु । तिम्रो के विचार छ रु’ तर नभएकाले यो महिनाचाहिँ त्यत्तिकै हुने देखियो ।
त्यसो त विवाह गर्ने उमेर पहिलेको जस्तो छैन अहिले । मेरी आमाको विवाह आठ बर्षमै विवाह भएको थियो रे १ दिदीको २२ बर्षमा भयो । कतिले विवाह नै गरेका छैनन् । स्व। कृष्णप्रसाद भट्टराईको कुरा गरौं । विवाह गर्नु नै भएन । त्यसो भनेर म विवाह नै नगर्ने सोचको मान्छे होइन । गर्ने योजनामै छु ।

भव्य विवाहको योजना
मलाई थाहा छ, विवाह ढिलो गरिरहनुको कुनै तुक छैन । समय नै नमिलेको हो, बहाना बनाइरहेको पटक्कै होइन । मलाई आफ्नो विवाह निकै भव्य ढंगले गर्न मन छ । पाँच दाजुभाइमा म काइँलो छोरो । घरमा विवाह नभएको पनि धेरै भइसक्यो । साइँला दाजुको पाँच बर्ष अगाडि नै भएका हो । त्यसैले परिवार पनि मेरो विवाह भव्य होस् भन्ने चाहन्छ । परिवारको दवावले मात्रै होइन, प्राकृतिक आवश्यकता हिसाबले र वंशज विकासको लागि पनि विवाह आवश्यक छ । यो पनि मैले बुझेको छु । तर मितिमात्रै निश्चित भएको छैन । अर्को मंसिर नकटाऊँ भन्नेचाहिँ मनमा छ ।

मन खाने भेटिएको छैन
किन विवाह गर्नुभएन भन्ने प्रश्न धेरै सोधिन्छ । तर त्यसको वस्तुगत उत्तर छैन मसँग । व्यस्त छु । गर्लफ्रेण्ड पनि छैन । माग्नु हुन्थ्यो, त्यो पनि दिनुपर्यो । राजेशपायल भन्नेबित्तिकै पत्याइहाल्छन् भन्ने पनि छैन । उसो त म त्यति साह्रो ‘ह्याण्डसम’ पनि छैन ।
कोही आकर्षित त होलान् । वाह १ राजेशपायलसँग विवाह गर्न पाए त राजकुमारीजस्तो गरी बस्छु भन्ने सोचेर । तर त्यो पनि त सम्भव कुरा होइन । मसँग पनि पीडा छ, रिसराग र तनाव उत्तिकै छ । जतिबेला भेट्दा पनि हाँसिरहनुपर्ने, सेल्फी खिच्नुपर्ने भएकाले रिसराग र तनाव नभएको देखिएकोमात्रै हो ।
परिवार व्यवस्थापनको लागि घर छ, गाडी छ, बैंक ब्यालेन्स छ । तर पनि ठ्याक्कै भनेजस्तो साथी भेटिएको छैन । परिवारले पनि खोजिरहनुभएको छ । तर उहाँहरूले हेरेरमात्रै पनि भएन । विवाह मैले गर्ने हो, त्यसैले मलाई चित्त बुझ्नु पर्यो । पहिलेजस्तो विवाहको दिनमात्रै बेहुली हेर्ने समयको म रहिनँ । धनी गरिब भन्दिनँ, यो जात, ऊ जात भन्दिनँ । तर पनि हेर्नु त पर्यो । मन त पराउनुपर्यो । विवाह गरेको केही बर्षपछि नै समस्या देखा पर्यो भने राम्रो हुँदैन ।
मैले धेरैको दुई विवाह भएको देखेको छु । कसैको छुटेको देखेको छु । त्यसो नहोस् भन्ने चाहन्छु । म उदाहरणीय पारिवारिक जीवन बनाउन चाहन्छु । त्यस्तै जीवनसाथी खोजीरहेको छु ।
अहिलेसम्म मलाई बुबाआमाले पनि कुनै केटी देखाउनुभएको छैन । कोही देखाइहाल्दा मैले नमानुँला र आफ्नो मन दुख्ला भन्ने सोचेर पनि होला ।
बिन्दास !

आउन त यौन–सम्बन्धको प्रस्ताव पनि आउँछ
मलाई मन पराउने धेरै युवती हुनुहुन्छ । मेरो संगीतलाई मन पराउनेप्रति मेरो सधैँ सम्मान छ । तर जो मसँग व्यक्तिगत रूपमा नजिक हुन चाहनुहुन्छ, निरन्तर सम्पर्कमा रहन चाहनुहुन्छ, उहाँहरू भने निकै सानो उमेरको हुनुहुन्छ । १६–१७ बर्षको हुनुहुन्छ । त्यसैले विवाहको सम्भावना नै रहेन । ठूलो संयोग गरेर त्यस्तो भयो भने त भन्न सक्दिनँ । उमेर फरक हुँदा विवाह नै नहुने भन्ने पनि होइन । तर मलाई लाग्छ, त्यो उमेरमा आकर्षण बढी हुन्छ । राजेशपायल राईको गीत, विदेश यात्रा, पैसा आदिको आकर्षण होला । तर मलाई चाहिएको त बुझ्ने मानिस हो ।
विवाहको प्रस्ताव गर्ने पनि धेरै हुनुहुन्छ । अमेरिकाका डल्लासलगायत केही राज्यबाट प्रस्ताव आइरहेको छ । नेपालमै पनि फोन गरेर विवाहको प्रस्ताव राख्ने धेरै हुनुहुन्छ । कतिसम्म भने ‘यौन सम्बन्ध राखौं, मलाई नस्वीकारे पनि तपाईंको बच्चा हुर्काउन तयार छु’ भन्ने पनि छन् । ‘यौनसम्बन्ध राख्नमात्रै तयार छु’ भन्ने पनि छन् । तर यस्ता प्रस्तावलाई मैले ‘सिरियस्ली’ लिएको छैन । त्यसरी व्यक्त गरिएका कुरा आकर्षणमात्रै हो भन्ने बुझेको छु । एउटा तहको लोकप्रियता प्राप्त भइसकेपछि यस्तो कुरा आउँछ होलाजस्तो लाग्छ ।
विवाहको प्रस्ताव सजिलै स्वीकारिन्छजस्तो पनि लाग्दैन । पहिलो कुरा त मन मिल्नुपर्यो । त्यसपछि परिवारलाई पनि मनाउनुपर्यो । उहाँहरूको पनि चित्त दुखाउने कुरा हुँदैन । विश्वासमय वातावरण हुनुपर्छ । त्यस्ता कुरा म स्पष्ट छु । स्पष्ट बोल्नेलाई पनि मानिसले त्यति मन नपराउने रहेछन्जस्तो लाग्छ ।
अरू सम्बन्धका प्रस्तावबारे त सोच्ने कुरै भएन । म राजेशपायल राई हुँ । मेरो आफ्नै स्टाटस छ । मसँग सम्बन्ध राख्न चाहँदैमा म कहाँ तयार हुन्छु र रु त्यसलाई त म ठट्टाको रूपमा मात्रै लिन्छु ।
 Youtube
(७ नोभेम्बर, २०१५ का दिन दरबारमार्गस्थित एक थकाली खाना घरमा कुराकानी गरेर तयार पारिएको यो सामग्री त्यसैबेला रातोपाटी अनलाइनमा प्रकाशित भएको थियो । त्यतिबेला पढ्न नपाउनुभएका र फेरी पढ्न चाहने पाठकका लागि यहाँ रिपोष्ट गरिएको हो । यसको भिडियो संरचना तल हेर्न सक्नुहुन्छ ।)

Comments