'कविताका नाममा भ्रम लेख्ने दिन इतिहास भए'

कवि सरिता तिवारीलाई चिनाउन कुनै ‘इन्ट्रोडक्टरी लाइन’ आवश्यक छैन । र, उनी त्यो अपेक्षा गर्दिनन् पनि । उनका तीन कविता संग्रह ‘बुद्ध र लाभाहरू’, ‘अस्तित्वको घोषणापत्र’ र ‘प्रश्नहरूको कारखाना’का कविताले नै सरिताको परिचय जोड–जोडले दिइसकेका छन् । अझ अखबारमा आउने स्मृति र निबन्धले त उनका जीवनका अनेक पाना पल्टाइसकेका छन् । ‘प्रश्नहरूको कारखाना’ उनको ताजा कविता संग्रह हो । 

🅠 ‘प्रश्नहरूको कारखाना’को अवस्था कस्तो छ ? कति प्रश्नहरू उत्पादन भइरहेका छन् ? प्रश्नका प्रकृति कस्ता छन् 
?
➲ एकदमै उत्साहबद्र्धक छ । काठमाडौंमा विमोचनपछि हेटौंडा र चितवनमा विमर्श कार्यक्रमहरू सम्पन्न भएका छन् । फागुनमा पोखरा र चैतमा नुवाकोटमा किताबमाथि छलफलको कार्यक्रम तय भएको छ । व्यक्तिगत अनुभवको कुरा गर्नुहुन्छ भने प्रश्नहरूको कारखानाले आजको नेपाली कविताको निबमा केही गम्भीर प्रश्नहरू खडा गरिदिएको छ । कविताले राजनीतिक भाषा समात्नु किन जरुरी छ भन्ने विषयमा समेत यसले केही फरक रुपकहरूका बारे विमर्श गर्न उत्प्रेरित गरेको छ भन्ने लागेको छ । सामाजिक र मनोसांस्कृतिक बिम्बका रूपमा मानिसका रौं–रौंमा कुँदिएर बसेका आम धारणाबारे एकैछिन भए पनि घोरिएर सोच्न बाध्य पार्ने प्रश्नहरू उठाएको छ । यिनै प्रश्नबारे प्रतिप्रश्न आएका छन् । अधिकांश सहजरूपमा आएका छन् भने केही मेरो काव्यिक ‘करिअर’माथि नै चिन्ता प्रकट गर्दै पनि आएका छन् । म यिनको ध्वनी र प्रकृति नियालिरहेकी छु ।  

🅠 तपाईंको कविता कृतिले भन्दा त्यसमा लेखिएका समीक्षाले बढी चर्चा पाए भन्ने हल्ला सुन्नुभयो ?
➲ मैले त त्यस्तो सुनिनँ ।  म बजारसित वा बजारजन्य हल्लासित त्यति ‘अपडेट’ हुन नसकेर पनि त्यसो भयो कि ? तर एउटा कुरा के निश्चित हो भने यो समीक्षायोग्य कृति रहेछ । साहित्यको बजारमा हप्तैपिच्छे किताबहरू आइरहेका छन् । तीमध्ये कतिपय त कहिले आए, कहिले गए पत्तै हुँदैन । यसले त्यस्तो कोपको अवस्था झेल्नुपरेन । समीक्षाकै कारण सही, किताबको चर्चा भएको हो भने पनि नराम्रो कुरा के भयो र ?

🅠 आफ्नो कृतिको समीक्षा आइसकेपछि तपाईंले सामाजिक सञ्जालमा ‘खुर्पाले अपरेसन भयो’ जस्ता ‘कडा’ प्रतिक्रिया जनाउनुभयो ।  आफ्नो कृतिलाई राम्रो भन्ने समालोचकलाई ‘महान्’ भन्ने र आलोचना गर्नेलाई ‘झूर’ भन्ने प्रवृत्ति रहेछ सरितामा भनेको सुनेँ । तपाईंले सुन्नुभयो ?
➲ हो, मैले पनि सुनें । मैले यो पनि सुनेको छु कि किताब सार्वजनिक भैसकेपछि पुस्तकबारे कसले समीक्षा लेख्ने भन्ने पहिले नै तय हुन्छ रे । लेखक र अझ कतिपय अवस्थामा त प्रकाशक समेतसँगको ‘अण्डरस्ट्याण्डिङ्’मा किताबबारे प्रशंसा र फूलबुट्टासहित समीक्षा तयार गरिन्छन् रे । मैले बडो धैर्यतासाथ यस पुस्तकबारे स्वस्फूर्त आउने समीक्षाहरू पर्खिएँ । मैले कसैलाई अनुरोध गरिनँ । कसैसँग अनुचित सम्झौता गरिनँ । ती स्वभाविकरूपले नै आफ्नै बाटो आए । तर जसरी आए तिनले मेरो आलोचना सहने धैर्यताको परीक्षा लिए । कारण, यो तहको आलोचना र प्रहारको अपेक्षा शायद मैले गरेकी थिइनँ । मैले कसैलाई महान् र कसैलाई झूर भनेकी छैन । सबै समीक्षकहरूले आ–आफ्ना वैचारिक आग्रह राखेका छन् ।  मैले समीक्षालाई समीक्षाको अर्थमै लिनुपथ्र्यो । यसले मलाई पनि गम्भीर पाठ सिकाएको छ । 

🅠 तपाईंका कवितालाई समीक्षकहरूले किन ‘कलाको उल्टो यात्रा’ भनिरहेका छन् ? तपाईंको अनुभूति के हो ?
➲ यो उहाँहरूको बुझाइ होला । तर म त बिल्कुल सुल्टो र सही यात्रामा छु । मेरा कविताका विषय सामग्री र तिनले बोकेका बिम्बभित्र गम्भीरतासाथ प्रवेश गर्दा यो जोकसैले सहजै अनुभव गर्छ । कलाको निरपेक्ष प्रकारको यात्रामा त म कहिल्यै पनि थिइनँ । नजानी–नजानी लेखेका सिकारु कवितामा पनि मेरो सामाजिक सरोकार प्रस्टै थियो ।  अब आएर यो बढ्ता मुखर भएको छ ।  कुरा यत्ति हो । कलाको प्रयोजन स्वैरकल्पनाको जङ्गलमा विचरण गर्नुमात्र हो भन्ने निष्कर्षमा पुगिसकेका मानिसहरू कवितालाई व्यक्तिकेन्द्रबाट निस्केर त्यहीँ लुप्त हुने जिनिस ठान्छन् । कविता वैयक्तिक कर्म हो र यसको वैयक्तिक मूल्य पनि हुन्छ नै । तर कविता कति व्यक्तिगत वस्तु हो र कति सामाजिक ? यसको सामाजिक महत्ता हुनुपर्छ भने यो समाजको आवश्यकतालाई सम्बोधन गर्ने हुनुपर्छ कि पर्दैन ? कविता कुनै मजाक होइन ।  कविताका नाममा भ्रम लेख्ने दिन इतिहास भए । कवि आफैँले नबुझ्ने कविता लेखेर दङ्ग पर्ने दिन पनि गए । कविता ‘इमोसनल’ कुरा हो तर म कविताले ‘सोसियोकल्चरल इमोसन’ पनि बोक्नु पर्छ भन्ने ठान्छु ।  बाँकी कुरा भाँडमा गए पनि जाऊन् भनेर भ्रमको बाँसुरी बजाउँदै बस्ने कवि केही उस्तै स्वभावका व्यक्तिहरूको कवि हुनसक्छ तर समाजको कवि हुन कदापि सक्तैन । यस अर्थमा यो यात्रा कुनै निरर्थक र निरपेक्ष आवेगको यात्रा होइन । सही र लक्ष्यभेदक यात्रा हो । 

🅠 संग्रहका कवितामा आक्रोश र नारा धेरै भए, कविताको आफ्नै भाषा खोज्ने कुरामा सचेतता देखिएन भनेर पनि समीक्षकले भनिरहेका छन् । कविको मत के हो ?
➲ कवितामा आक्रोशको मात्रा ज्यादा छ । यो सत्य हो ।  तर यहाँ असाध्यै शालीन कविताहरू पनि छन् । अत्यन्तै नरम र विनयी कविता पनि छन् । तर समीक्षकका आँखा नरम कुरामा कम गयो कि ? अथवा ‘दुर्भाग्यवश्’ जाँदै गएन कि ? जहाँसम्म कवितामा नारा धेरै भएको कुरा छ, म त आजकल बजारले खुब राम्रा भनेर ‘वान्स मोर, ट्वाइस मोर’ गरेका कविताभन्दा त नारामै दम देख्छु । ढंग पु¥याएर भन्ने हो भने नारा पनि सबैभन्दा मीठो र कलात्मक कविता बन्नसक्छ । तपाईले सोधिहाल्नु भयो, त्यसैले मैले भन्नैपर्छ । म सोच्दिनँ, कवि पट्टुको जस्तो भाषा बोलोस् वा जुँगामा ताउ मल्दै दम्भको भाषा बोलोस् । मेरा कवितामा अकिञ्चन रोइरहेको हरुवा भाषा छैन, बरु स्मृतिको भाषा छ, आत्मविश्लेषणको भाषा छ । चेपारो र चिप्लोबाट मुक्तप्रायः प्रत्यक्ष बिम्बको भाषा छ । मलाई जिब्रो चपाएर बोल्नुसँग सख्त घृणा छ, त्यसैले मेरो काव्यभाषामा रुखोपन पनि भेटिएला । लोकले उतिसारो पचाउन नसकेको खरोपन भेटिएला । म यही हुँ । कविको भाषा सायद स्वभावजन्य पनि हुँदो हो । मेरा कविता ‘ब्रिदिङ् स्पेस’ खोजिरहेकी एक अर्ध स्वतन्त्र महिलाका पूर्ण मानिस बन्ने छट्पटीका अभिव्यक्ति हुन् । यसको भाषा ठम्याउन समीक्षकहरूले नसकेका हुन् कि नचाहेका, म आफैं छक्क परिरहेकी छु । 

🅠 तपाईंका कविता पुरुषविरुद्ध ‘ज्यादै निर्मम’ भयो भनेर महिलाले नै पनि भनेको सुनें, तपाईंलाई कत्तिको सही लाग्छ ? 
➲ हेर्नुस्, महिला यस्तो समुदाय हो जो समाजका अन्य समुदायभन्दा बढ्ता उलझन र विरोधाभाष बोकेर हिँडिरहेको छ ।  कसले कुन अर्थमा भन्यो त्यो थाहा भएन । म ठान्छु ,महिलाको (हाम्रो) लडार्इं कुनै पुरुषविरुद्ध वैयक्तिक स्तरको होइन । यो सयौं–हजारौं वर्षदेखि स्थापित चिन्तनविरुद्धको संघर्ष हो । परम्परा र प्रवृत्तिविरुद्धको संघर्ष हो । जरुरी छैन पुरुषकेन्द्रवादी सोच कुनै पुरुषले मात्रै बोकेर हिँडेको होस् । लिङ्गकेन्द्रवाद आफैंमा एक पेचिलो राजनीति हो । यो राजनीतिको जरो कहाँ छ ? खोज्ने उदारता र इच्छाशक्ति देखाउने हो भने न पुरुष न महिला सबै यसको विरुद्ध उभिन्छन् । आँखा चिम्लेर बसुन्जेल सबै सही नै लाग्छ ।  हाम्रा घरका पुरुष वा हाम्रो मित्रमण्डली तुलनात्मकरूपले असल होलान् तर लैङ्गिक विभेदको राजनीति महिलामाथि भयानकरूपले निर्मम छ । यसले क्षति गराएको मानवीय गरिमाको हिसाब–किताब लगाउने हो भने त्यसका अगाडि मेरा कविताको निर्ममता अत्यन्तै सानो प्रतिरोध मात्र लाग्छ । निर्मम भनिएका यी कविताले इतिहासको वैयक्तिकरणको ‘टुल’का आधारमा पढिनुपर्ने धैर्य र विवेकको माग गर्छन् । तर त्यो धैर्य को–कोसित अपेक्षा गर्ने ? सबैलाई बिल्ला भिराउनुकै हतारो छ ! हज्जारौं वर्षदेखि भाषा गुमाएको, अस्मिता बन्धक परेको वर्गको प्रतिनिधि हुँ । कविताजस्तो विधामा पनि मौन भएँ भने धिक्कार छ मलाई ! त्यसैले बोलेको हो । असह्य भएपछि जे त होला भनेरै हो बोलेको । अब कविता मेरो लागि इतिहासको हिसाब माग्ने बहीखाता हो । यहाँ भूलचूक लिनेदिने भन्ने ‘टर्म’ छैन । यो हिसाबमा कसैलाई माफी छैन । कुनै उधारो कारोबारको गुन्जायस पनि छैन ।  
मलाई लाग्दैन महिला अबपनि प्रेम र स्नेहको अवैतनिक दूतजस्तो भएर चूपचाप बसिरहनुपर्छ । हामी प्रतिरोधी हुन, निर्मम हुन सकेनौं भने मायालु आमा, पत्नी वा प्रेमिका बनिरहन त सकौंला तर एक स्वस्थ र न्यायदायी समाजनिर्माणको हिस्सेदार बन्न सक्दैनौं । हामी समयको बलियो निर्णायक बन्ने बाटोमा हिँड्ने कि एक कमजोर सहायक ? प्रश्न यो हो ।  

🅠 तपाईंले जुन वर्ग र विचारलाई कविताको बीज मान्नुभएको छ, त्यही वर्ग र विचारका हिमायती ठान्ने साहित्कार, समीक्षक, समालोचक कम बोलिरहेका हुन् ? 
➲ को–को मेरो पक्षमा बोलिरहेको छ र को छैन ? यसको लेखाजोखा आजै, अहिल्यै नगरौं कि भन्ठान्छु । सायद उनीहरू उपयुक्त समय पर्खेर बसेका होलान् । व्यक्तिगतरूपमा भने उनीहरूले मेरा कविताबारे आफ्ना प्रतिक्रिया दिइरहेका छन् । कतिपय साथीहरू किताबमाथि भैरहेका विमर्शहरूमा क्रियात्मकरूपले सहभागीसमेत भैरहेका छन् । । मैले इमानपूर्वक आफ्नो काम गरेकी छु । पछि फर्केर हेर्दा आफैंप्रति घृणा जाग्ने कुरा गरेकी छैन । तब कस्ले कतिखेर के भन्दै छ भनेर टाउको गनेर रोमाञ्चित हुनुपर्ने वा दुःखी हुनुपर्ने केही देख्दिनँ । 

🅠 कवितामा पौराणिक मिथक पनि प्रयोग गर्नुभएको छ, पुरानै मिथकको मोहचाहिँ किन भयो ? यो ‘मिथकको दुरुपयोग’ होइन ?
➲ ‘हे देवी’ कवितातर्फ संकेत गर्नुभएको हो भने यो एउटा काव्यिक यात्राका दौरान लेखिएको हो । मन्दिरमा प्रतिष्ठा गरिएको कालीको मूर्ति देखेपछि त्यसैबाट कविताको बिउ स्फूरण भयो । कवितामा अवश्यै पौराणिक मिथकको प्रयोग छ तर त्यसैको महिमामण्डनमा कविता सीमित छैन । यसले सफलतापूर्वक समाज विकासको ऐतिहासिक चरणमा ‘ल्याण्डिङ्’ गरेको छ । महिलाको युगीन विश्लेषणतर्फ केन्द्रित यो कवितालाई अनावश्यकरूपले घिच्याइ–घिच्याइ कसाइखानामै पु¥याउन खोजिएको छ । आग्रहको चश्मा फुकालेर ‘कुल’ मुडमा पढ्दा यो त्यस्तो जटिल कवितै होइन । यसले धूपअक्षता छरेर एउटी देवीको आह्वान र अर्चना गरेको होइन, कोटी–कोटी देवीहरूले गर्न सक्ने सामूहिक आन्दोलनका लागि अपिल गरेको छ ।  शक्ति भनेको पशुबल मात्रै होइन भने हरेक महिलामा प्राकृतिक शक्ति विद्यमान छ । यो शक्ति भनेको आत्मिक बल हो । मनोबल हो । हाम्रो संस्कृतिमा शक्ति अर्थात् देवीको उपासना गरिन्छ । पूजा गरिन्छ । तर हाम्रै समाजमा महिलाहरू जिउँदै जलाइन्छन् । शारीरिक भोक मेट्ने परम्परागत सेक्स टोयका रूपमा प्रयोग गरिन्छन् । एकातिर आद्यशक्ति भनेर पुज्ने अनि अर्कोतिर कठोर दमनचक्र चलाइरहने । तर देवी ठ्याक्कै पुराणले व्याख्या गरेजस्तै कुनै कपोलकल्पित स्वैरनायिका मात्र थिइनन् । प्राचीन समाजकी आत्मशक्तिधारी मातृसत्ताकी बहुत बलियो बिम्ब थिइन् । तर बिस्तारै–बिस्तारै पितृसत्तात्मक साम्राज्यवादले तिनलाई समाजिक भूमिकाबाट अपदस्थ गर्दै भोग्या र भान्से बनाइदियो । प्रतिरोधविहीन मौन श्रोताका रूपमा निम्छरो तुल्याइदियो । र, आफू ‘हाइरार्की’को उपल्लो पिर्कामा बसेर उपदेश फलाकिरह्यो । आजसम्मको सांस्कृतिक भाष्यले महिलालाई प्रेम र वात्सल्यकी चल्ताफिरता मूर्ति नै बनाइदिएको छ । उसलाई पुरुष–संरक्षकत्वको निरीह वस्तु बनाइदिएको छ । त्यसैको ‘फ्रेम’भित्र अटाएर बाँच्नु नै आदर्श बनिदिएको छ । महिला आफैँ संकल्पबद्ध नभई यो ‘फ्रेम’ भत्किँदैन । यसलाई निर्ममतापूर्वक भत्काउनु आजको अति आवश्यकता हो । 
देवीलाई निश्चित आस्थाको प्रतीक मात्र मान्ने अवस्थामा मिथकको दुरुपयोग भएको लाग्न सक्छ ।  तर देवी एकवचन  होइन, यहाँ कोटी–कोटी याने करोडौं करोडमा रूपायित गरिएको छ । सामान्यीकरण गरेर नबुझ्ने हो भने त समस्या भैगो नि !

🅠 आफ्नो सिर्जनालाई पाठककहाँ पठाइसकेपछि श्रष्टाले ‘डिफेन्स’ गर्नु कत्तिको जरुरी हुन्छ ? तपाईंले के गरिरहनुभएको छ ?
➲ हाम्रो परिप्रेक्ष्यमा कविताका पाठक को हुन् ? यो प्रश्नले बारम्बार घचेटिरहन्छ मलाई । अधिकांश पाठक ‘रेडीमेड’ छन् । कविको स्वभाव, उसको राजनीतिक पक्षधरता वा संलग्नता इत्यादिका आधारमा कविताको कदकाँटी ठम्याउने काम हुन्छ । आजभोलि त सामाजिक सन्जालमा कविको उपस्थिति पनि कविताको नियामक बनिदिएको छ । कविताको ‘कन्टेन्ट’सँग, त्यसले बोक्ने विवेकसम्मत तर्कसँग कम चासो छ । समय भूपि वा मोहन कोइरालाकालीन जस्तो रहेन । कविलाई मन परेर ‘लभ यू’ भन्न र मन नपरेर क्या झूर ! भन्न कवि हमेशै पाठकका लागि उपलब्ध छ ।  अखबारमा, सामाजिक सन्जालमा, ट्वीटरमा जहीँकहीँ । यतिबेला जे बोल्छ, मेरो कविताले नै बोल्छ भनेर चूप लाग्नु पनि कविका लागि त्यति असल होइन जस्तो लाग्छ ।  

🅠 तपाईंले फुटकर रचना लेख्दा, प्रकाशित गर्दा र कृतिकै रूपमा आउँदाको मिडिया, समालोचक र सहयात्रीहरूले दिने प्रतिक्रियामा केही फरक पाउनुभयो ? किन यस्तो हुन्छ होला ?
➲ खास फरक छैन । मिडियाले यथोचित स्थान दिइरहेकै छन् । म मिडियासँगको प्राकृतिक र सहज सम्बन्ध मन पराउने मानिस हुँ । मिडियाबाट पहिले र पछि (किताब छापिएपछि) पाएको ‘स्पेश’मा कुनै कमी छैन । उल्लेख्यरूपले बढी पनि छैन । उस्तै हो । म कसैले बलैसित जुरुक्क उचालेको होइन, लेखनले उचालिएको वा त्यसैको शक्तिले फैलिएको लेखक हुन चाहन्छु । समालोचकहरूसँग मेरो नियमित उठबस र चिनजान छैन । जो जससँग भेट भएको छ, उनीहरूले मौखिकरूपमा राम्रै ‘रेस्पोन्स’ प्रकट गरेका छन् । फरक विचार राख्ने समालोचकबाट समेत उल्लेख्य प्रतिक्रियाहरू प्राप्त भएका छन् । 
व्यक्तिगत स्तरका कतिपय प्रतिक्रिया नियतवस् र इबी साँध्ने मनसायले पनि आएका छन् । मेरो किताबसँग अनावश्यकरूपले टाउको दुखाउँदै हिँडिरहेका मानिसहरूबारे अहिल्यै नबोलूँ होला ।  
अधिकांश प्रतिक्रियाहरू सिर्जनात्मकरूपले आएका छन् । आलोचनाको सकारात्मक या नकारात्मक दुवै कोणबाट तिनको ठूलो मूल्य छ । सायद, वास्तविक प्रतिक्रिया तिनै हुन् । म सामान्य मान्छे, सामान्य कवि । घर व्यवहार, छोराछोरी जागिर र जीवनका अनेक अप्ठेराबीच हिँडेकी । तर यो कृति निस्कँदा–ननिस्कँदै म असामान्य भएकी छु ।  यो असामान्यता अरू कसैले सिर्जना गरिदिएको होइन, मैले आफैँ रोजेको हो । बिस्तारै यसमा बानी पर्नैपर्छ । हामी ‘बिचरा’ भइन्जेल दुनियाँले सहानुभूति राख्ने हो, विचारको बलमा उभिन खोज्दा अब सहानुभूति होइन असामान्य स्तरको वैचारिक लडाईं र्नििर्वकल्प छ । यसको लागि म तयार छु । 

🅠 तपाईं आख्यान पनि लेखिरहनुभएको थियो ? त्यसबारे त आजकाल कुरा गर्नै छाड्नुभयो त ?
➲ हा..हा.. ! आख्यान लेख्नु ‘जोक’ रैनछ कलाजी । यो काम मेरो निकट तालिकामा छ । हेरौँ कहिलेसम्ममा ‘मुड’ बन्छ । अहिले त सन्दर्भ सामग्रीहरू बटुल्दै छु । 

🅠 अब कवि संगीत श्रोताले कवितामार्फत सोध्ने गरेको प्रश्न सोध्छु, लेखनमा ‘महिलाहरू कहाँ छन् ?’
➲ समाजका हरेकजसो घरका भान्सामा महिलाहरू छन् । घरका भान्सा महिलाले समाएका डाडू पन्यूले चलेका छन् । तर लेखनको भान्सामा पुरुषहरूकै ढलीमली छ ।  लेखनका सारा मानक यिनीहरूकै हातबाट बनेका छन् । नियामक, परीषक, निर्धारक सब पुरुषहरू नै छन् ।  आजसम्म महिलाहरूले आँशुको भाषामा लेखे । विवशता र दुःखको भाषामा लेखे । संघर्षका बाछिटा लेखे तर इतिहासका रगत कट्कटिएका घाउहरू साक्षी राखेर कठोरतापूर्वक आफैँलाई लेख्ने दुस्साहस गरेनन् । कहाँबाट केले जुटाइरहेको छ थाहा छैन तर नेपाली महिला लेखन एउटा महत्वपूर्ण संक्रमणको हिम्मत लिएर प्रकट हुन खोजिरहेको अनुभव भैरहेको छ । साहित्यका इतिहासकार हिपोलिट टेन रचनाकर्ममा तीन प्रमुख तत्वमा ध्यान दिन सुझाव दिन्छन् । जैवीक ,पर्यावरणीय र युगजन्य । साहित्यको समाजपरक अध्ययनका लागि यिनले प्रस्तुत गरेको सिद्धान्तले वैयक्तिक र सामूहिक अद्भूत समयबिन्दुलाई संकेत गर्छ । सारा परिस्थितिहरू एक ठाउँमा मिलेर बनेको युग अर्थात् भउयअज ।  यसरी निर्मित युगले ढोका ढक्ढक्याइसकेपछि कुनै तागतले त्यसको गति रोक्न सक्दैन । नेपाली महिलाहरू लेखनका मानकहरू निर्माण गर्ने एउटा यस्तै अपूर्व समयमा उभिएका छन् । म आफ्ना समकालीनहरूमा यस्ता प्रशस्त संकेतहरू देखिरहेकी छु । उपेक्षा, तिरस्कार, हिंसा र लान्छनाको भाषालाई कुल्चिँदै ती मझेरीसम्म उक्लिसकेका छन् । अब जुँगादार भाषाले ताउ लगाउँदै अमूक निर्धारक सत्ताले एकोहोरो फलाक्ने युगको अन्त्य हुनैपर्छ । समग्र महिला लेखनको कुरा गरौं या लेखकको वैयक्तिक इतिहासको, हामी यतिबेला अद्भूत युगसन्धीमा छौं । म आफैंप्रति पनि यति विश्वास त जरुर छ कि नेपाली साहित्यमा महिलाहरूले इतिहास रच्ने दिन धेरै टाढा छैन भन्नका लागि कुनै द्विविधा छैन । 
܀܀܀
💧 कला अनुरागी
प्रकाशित : रातोपाटी
तस्बिरहरू : सरिता तिवारीको फेसबुकबाट

Comments