अलि धेरै पढ्यो भने मान्छेको दिमाग खराब हुँदोरहेछ– प्रचण्ड
[२०७४ माघ ६ गते एमाले-माओवादी एकताका विषयमा संस्कृतिकर्मीहरूसँग प्रचण्डले गरेको सम्बोधनको सम्पादित अंश।]
यहाँ जो साथीले ‘लौ, अब सिद्धान्त पनि छोड्यो, पार्टी एकता भइ नै सक्यो, एमालेमा गएर विलीन भयो, माओवादी सिद्धियो’ भन्नुभएको छ नि, मुख्य साथी तिनै हुन्, जसले मैले यही कोठामा सेक्रेटारियटको बैठकमा एकताको प्रस्ताव राख्दा ‘एकदम ठीक हो’ भन्नुभएको थियो। ‘माओवादी पार्टी अलग चलाउनुभन्दा अहिलेको परिस्थितिमा एउटै कम्युनिस्ट पार्टी बनाएर व्यापक बहस गर्नु सही हो’ भन्ने पहिलो मान्छे उहाँ (उहाँको भनाइ विश्वभक्त दुलाल आहुतिप्रति थियो) नै हो, (ठाउँ देखाउँदै ) यहाँनिर बस्नुभएको थियो। त्यसो भन्ने मान्छे उहाँ नै हो भनेपछि उहाँको के स्वार्थपूर्ति भएन के? अलि धेरै पढ्यो भने मान्छेको दिमाग खराब हुँदोरहेछ। बाबुराम (भट्टराई)जी देख्नुभएको छ नि, कहाँ पुग्नुपयो। बढी पढेर के, जान्ने भएर।
उहाँ (आहुति)ले भनेको त्यही हो। ‘एकदम ठीक हो, यो पार्टी एकता गर्ने’ भन्ने। तपाईंहरूले बुझ्नुहोला। अब तपाईंहरू यहाँ धेरैजसो सोझासोझा जस्तो देखेँ मैले। बाठाको अर्कै छ के, स्वार्थ। अनि त्यतिबेला ‘एकता एकदम ठीक हो’ भन्ने, ‘अलगै कम्युनिस्ट पार्टी चलाएर बस्नुभन्दा सबैलाई एक ठाउँमा बनाएर बहस गर्नु कैयौँ गुणा ठीक हुन्छ’ भन्ने पनि उहाँ नै हो। सोध्नुहोला, ‘के विचित्र हो। तपाईंले पो गर्नुभएछ नाटक त! पार्टीले त सीधासीधा कुरा गरेको रहेछ। ‘नौटंकी त तपाईंले गर्नुभएको छ’ भनेर सोधे हुन्छ।
अझ अनौठो कुरा के छ भने हामीले वाम गठबन्धनको साझा घोषणापत्र तयार गर्ने भनेर पार्टी एकता संयोजन समितिबाट कार्यदल बनायौँ। त्यो कार्यदलमा कमरेड नारायणकाजी श्रेष्ठ पनि एक जना मुख्य सदस्य हुनुहुन्थ्यो। उहाँले मलाई भन्नुभएको थियो, ‘यो लेख्ने काम चाहिँ मैले नभ्याउने भएँ। सबै ड्राफ्ट गर्ने जिम्मा म आहुतिलाई दिन्छु।’ मैले भनेँ, ‘हुन्छ, दिए हुन्छ। कुरो राम्रो आए त भयो।’ भनेँ मैले। र, त्यो धेरैजसो ड्राफ्ट गरेको आहुतिले हो। अब विचार गर्नुस् त, यस्तो बेइमानी गर्नुहुन्छ? यति अनैतिक हुनुहुन्छ मान्छे?
फेरि उहाँलाई यहाँ बहस गर्न कसले दिएको थिएन र? यहाँ आएर मजाले आफ्नो कुरा राखे नि हुन्छ। उहाँ त सेक्रेटारियटमै हुनुहुन्छ, पार्टीको सबैभन्दा माथिल्लो निकायमा। ‘मलाई यो–यो चित्त बुझेको छैन। यसलाई मिलाउनुपर्यो। यो आधारमा पार्टी एकता नगरियोस्’ भने पनि हुन्छ। भन्ने ठाउँ छ नि त। भन्न पाइन्छ नि त। भन्न छोडेर आफैँ एकताको स्वागत गर्ने, आफैँ वाम गठबन्धनको त्यही सिद्धान्त छोड्ने घोषणापत्र ड्राफ्ट गरेर बुझाउने अनि आफैँ अहिले चाहिँ ‘म छैन अब यो पार्टीमा’ भनेर हिँड्ने! यहाँ एकपटक पनि छलफल नगरीकन! भनेपछि सांस्कृतिक मोर्चाका इन्चार्जको नैतिक धरातल कति हो भन्ने प्रश्न उठ्यो कि उठेन त? तपाईंहरू सोझासिधाले चाहिँ सोध्नुपर्यो के यस्ता कुरा। नत्र चाहिँ लाटागाडा भइरहियो भने त हामीलाई ठग्याठग्यै गर्ने भए मान्छेले। यो कुरा बुझ्नुहोला।
मैले अब छोटोमा भन्दाखेरि यही हो कुरा। अहिले पनि पार्टी एकता भइसकेको छैन। कसले छोड्यो माओवाद? कसले स्वीकार्यो बहुदलीय जनवाद? कसले जनयुद्ध बेठीक भनेको पनि मान्यो? कसले यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रश्न उठायो? छ कहीँकतै? तपाईंहरूले सुन्नुभएको छ कहीँ यस्तो भयो भनेर? अनि हुनु–गर्नु केही छैन, हत्त न पत्त मान्छेको दिमाग खराब गर्दै हिँड्ने! कसले गरेका छन् यस्तो काम?
अहिले नेपालमा कम्युनिस्टहरूको एउटा बलियो केन्द्र बनाउने, बलियो सरकार बनाउने, आर्थिक विकास र समृद्धिको बाटोबाट समाजवादतिर जाने भन्ने कुरा मात्रै भनिएको छ। यत्ति कुरा। तपाईंले देख्नुभएको छ, यो कुराबाट सबैभन्दा बढी को आतङ्कित भएको छ? विश्वका तमाम प्रतिक्रियावादी पावर सेन्टरहरू चाहिँ आतङ्कित भएका छन्। २१औँ शताब्दीमा संसारभरि कम्युनिस्ट आन्दोलन सकाइयो भनेको त फेरि नेपालमा कम्युनिस्ट पार्टीको हातमा बहुमतसहित सत्ता आउने भयो भन्ने कुराले सबैभन्दा बढी छटपटी तिनीहरूमा छ। देशभित्र हेर्नुभयो भने यहाँका दलालहरू, सामन्तहरू, नोकरशाहहरू सबैभन्दा बढी छटपटिएका छन्। यो त तपाईं–हामी लाटाले पनि बुझ्ने कुरा छ नि त। हामीले देखेका छैनौँ? नाङ्गा आँखाले देखेका छैनौँ? को आत्तिएका छन्? यो कम्युनिस्टहरूको एकता हुने कुराले, वामपन्थीहरूको गठबन्धन हुने कुराले, बलियो सरकार बनाउने कुराले छटपटी कसलाई भएको छ? साम्राज्यवाद र उसका दलालहरू, प्रतिक्रियावादीहरूलाई भएको छ नि। खुसी को भएको छ? तपाईंले हेर्नुभयो भने चुनाव परिणामले देखायो, जनता चाहिँ खुसी छन्। कार्यकर्ताको विशाल पङ्क्ति खुसी छ। श्रमजीवीहरू सबैभन्दा खुसी छन्। अब चाहिँ केही हुन्छ कि भन्ने आशा पलाएको छ।
निराश को छन् त? प्रतिक्रियावादीहरू निराश छन्। दलालहरू निराश छन्। भ्रष्ट आचरण भएका भ्रष्टाचारीहरू निराश छन्। कम्युनिस्टहरू बलियो भएर आएर हामी सबैलाई कारबाही पो गर्ने हुन् कि भनेर त तिनको सातोपुत्लो गएको छ। अनि यस्तो बेलामा हाम्रो साथी भाग्नुहुन्छ उनीहरू सँगसँगै?
माओले के भन्नुभएको छ भने प्रतिक्रियावादीले जे राम्रो मान्छन्, त्यो नराम्रो हो। जे नराम्रो मान्छन्, त्यो राम्रो हो भनेर भन्नुभएको छ नि। तपाईंहरूले पनि पढ्नुभएको होला। अहिले फटाहाहरू, जालीहरू, भ्रष्टाचारीहरू बेखुसी छन्। जनता खुसी छन्। अनि जनता खुसी भएर हाम्रा दुई–चार जना साथीहरू बेखुसी भएर! अहिले यही पनि भन्नुभयो विष्णु (भण्डारी) जीले। के भन्न सक्नुभएको हो? मलाई अचम्म लागेको छ उहाँले बोलेको देखेर। कहाँ जान मन लाग्यो तपाईंलाई? कहाँ जानुहुन्छ? साम्राज्यवादीसँग, उसका दलालहरूसँग? क्रान्ति गर्नुहुन्छ गएर? त्यो होइन कुरा। त्यो हुँदै होइन कुरा।
लेनिनले मेन्सेभिकहरूसँग एकता गर्दा के भन्नुभएको थियो, पढ्नुभएको होला नि तपाईंहरूले। भर्खरै भयंकर ठूलो वैचारिक लडाइँ पर्यो। एकले अर्कालाई दक्षिणपन्थी, के–के पन्थी भनेर लडाइँ गरे। पार्टी फुट्यो। तर जनताले पार्टी फुटेको मन पराएनन्। र, मजदुरहरूले भने, ‘तिमीहरू मिल्नुपर्छ।’ लेनिनले अरू केही तर्कै गर्नुभएन एकता अधिवेशन गर्दा, पार्टी एकता गर्दा। ‘मजदुरहरूले भनेका छन्, मिल। त्यसकारण मिल्नुपर्छ अहिले। जनताले मिल भनेपछि अब कहाँ हामी झगडा गरेर बस्नु?’ भनेर एकता गरेको हो, एकता अधिवेशन। त्यो पनि हेर्न जरुरी छ।
अहिले अब छोडिसकेको भए त छोडिसक्यो भने पनि हुन्थ्यो। बिग्रिसकेको भए बिग्रिसक्यो, जनयुद्धको विरोध गरे भने पनि हुन्थ्यो। त्यो त केही पनि होइन। भने यस्तो बेलामा राष्ट्रको एकताको पक्षमा, जनताको एकताको पक्षमा, समाजवादको पक्षमा जानका लागि हामी कम्युनिस्टहरू जति सबैलाई एक ठाउँमा पार्छौँ भन्ने उद्देश्यप्रति शङ्का किन गर्नुपर्यो? आफ्नो कुरा भन्न किन डराउनुपर्यो?
मलाई के लाग्यो भने केही–केही साथीहरू जसरी जानुभयो नि, गइ नै सक्नुभएको छ। यहाँ हुने साथीहरूलाई भनेको होइन है, विष्णुजी। फेरि मेरो भनाइलाई बढी नठान्नुहोला। जो गइ नै सक्नुभएको छ नि, मेरो भनाइ के छ भने उहाँहरू डराएर भाग्नुभयो। आफूप्रति विश्वास रहेनछ भन्ने परेको छ मलाई।
यो त अवसर पाइएको थियो नि। आफूप्रति, आफ्नो विचारप्रति, आफ्नो नैतिकताप्रति, आफ्नो मान्यताप्रति दृढ विश्वास छ भने त लाखौँको बीचमा बहस गरेर प्रभाव पार्ने अवसर पो हो यो। यस्तो क्षमता भएका साथीले त क्षमता देखाउने अवसर पो हो यो। अनि दुई–तीन जना मान्छे! ती मान्छे पनि म चिन्छु नि राम्रोसँग, को–कोले के गरेका थिए हिजो भन्ने। तपाईंहरू पनि चिन्नुहुन्छ। यसो हेर्नुभयो भने साह्रै ठूलो टेलिस्कोप र माइक्रोस्कोप लगाउन पनि पर्दैन। यसो हेरे थाहा पाइन्छ तिनीहरू को हुन् भनेर।
अनि यस्तो अवसर आएको बेलामा बौद्धिक ज्ञान, क्षमता भएको, क्रान्ति, पार्टी र सिद्धान्तप्रति प्रतिबद्ध मान्छेले त लाखौँलाई प्रभाव पारेर जाने सङ्घर्षमा पो भाग लिनुपर्छ र। यो सब छोडेर अब यही पनि, महासङ्घ पनि छोडेर, हुटिट्याउँले अब स्वर्ग थाम्छु! यो हुने कुरा हो? नहुने नहुने कुरा।
त्यसकारण यो होइन, हामीले केही पनि छोडेको छैन। तपाईंहरूले सुन्नुभयो, अहिले हिजोदेखि बल्ल छलफल सुरु भयो माओवादबारे, जनयुद्धबारे। माओवाद र जनयुद्धका मूल्यमान्यता छोडेर चाहिँ तपाईंहरूलाई मात्रै माया छ माओवाद र जनयुद्धको? मलाई चाहिँ छैन? अझ हिजो माओवादको विरोध गर्ने, जनयुद्धको पनि विरोध गरेका साथीहरू अहिले फेरि आएर दुनियाँ कुरा गर्ने, मिल्छ? त्यसकारण केही पनि छोडिँदैन। तपाईंहरू ढुक्क भए हुन्छ। छलफल भएको छ।
(जनसांस्कृतिक महासङ्घ नेपालको आयोजनामा पेरिसडाँडा, कोटेश्वरमा २०७४ माघ ६ गते भएको ‘वर्तमान राजनीतिक परिस्थिति तथा एमालेसँगको पार्टी एकता’ विषयक अन्तरक्रियामा तत्कालीन नेकपा (माओवादी केन्द्र)सम्बद्ध संस्कृतिकर्मीहरूलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको सम्बोधनको अंश।)
Comments
Post a Comment