उपन्यासकारका योजना

विश्व साहित्यमा उपन्यास सबैभन्दा मन पराइने विधा हो । साहित्यका पाठक भन्छन्, ‘जीवन र लेखकको तत्कालीन समाजको विविध आयामहरू समेटिएको र त्यसलाई रोचक भाषामा रमाइलो वा गहन कथामा डुब्दै पढ्नुको मजा नै बेग्लै हुन्छ ।’ त्यही भएर पनि होला, पछिल्लो समय नेपाली साहित्यमा पनि उपन्यासले हाइहाई पाउन थालेको छ । अरू विधामा त्यति धेरै पाठक भुल्न सकेका छैनन् । अहिले प्रकाशकहरू पनि नयाँ उपन्यास छाप्न हानाथाप गर्छन् ।

पाठकको यो मनोविज्ञान बुझेर पनि हुनुपर्छ, चर्चामा आएका कतिपय उपन्यासकार उपन्यास लेखनलाई तीव्रता दिइरहेका छन्, कतिपय लेख्ने तयारीमा छन् । त्यस्तै, कतिपय उपन्यासकार भने पाठकलाई फरक स्वाद दिन अन्य विधाको लेखनतिर पनि लागेका छन् । 

‘सेतो धरती’ उपन्यासका लागि ०६८ को मदन पुरस्कार पाएर चर्चामा रहेका युवा उपन्यासकार अमर न्यौपाने आजभोलि नयाँ उपन्यास लेख्ने तयारीमा त छन् । तर, ‘सेतो धरती’को लोकप्रियताका कारण विभिन्न कार्यक्रममा उपस्थित हुनुपर्ने बाध्यता उनको योजनाको बाधक बनिरहेको छ । ‘अर्को उपन्यासको तयारीमा छु । तर, सेतो धरतीसँग सम्बन्धित विभिन्न कार्यक्रम र भेटघाटमा व्यस्त भएकाले लेखन धेरै गतिमा बढेको भने छैन,’ उनले भने। 

स्थलगत अनुसन्धान गरेर लेख्ने गरेका न्यौपानेले नयाँ उपन्यासका लागि हुम्लामा तीन महिना बसेर अनुसन्धान गरेका छन् । ‘पोहोर साल असार, साउन र भदौ तीन महिना हुम्लाका स्थानीय गाउँको अध्ययन गरेर ‘टिपोट’ तयार पारेको छु,’ उनले भने, ‘अब त्यसकै आधारमा मेरो लेखन अघि बढ्नेछ ।’

आफूले अध्ययन गरेको विषय सांस्कृतिक रूपले पनि फरक भएका कारण अझै पनि अध्ययन गर्नुपर्ने हुनसक्ने उनी बताउँछन् । ‘सेतो धरती हाम्रै संस्कृतिअनुसार भएकाले अलि सजिलो भएको थियो । तर, अहिलेको विषय सांस्कृतिक रूपमा पनि फरक छ । यसमा हुम्ला तथा तिब्बतको संस्कृति छ, त्यस कारण पनि यसमा राम्ररी अध्ययन गर्नुपर्छ । एक हिसाबले भन्ने हो भने मैले रिक्स पनि मोलेको छु, यो लेखनमा,’ उनले भने । 
त्यसो त उनी सेतो धरतीको लेखनलाई पनि जोखिम मोलेकै मान्छन्, ‘एउटा पुरुषले महिलाको अनुभूतिलाई उतार्नु पनि जोखिम नै थियो, तर जोखिममै मजा पनि छ ।’

यो मतमा विवाद छ, तर पनि नेपाली साहित्यमा मदन पुरस्कार प्राप्त लेखकलाई सफल साहित्यकारको रूपमा लिइने गरिन्छ । मदन पुरस्कारप्राप्त लेखक न्यौपाने भने उनले अब लेख्न लागेको उपन्यास आफ्नो ड्रिम प्रोजेक्ट भएको बताउँछन् ।

त्यसैले उनले विषयलाई पनि आफ्नो मान्यताअनुसार नै छानेका छन् । ‘मेरो विचारमा अबको लेखन सांस्कृतिक लेखन हुनुपर्छ । मेरो अबको उपन्यासमा त्यो अझ राम्ररी प्रतिविम्बित हुनेछ,’ उनले भने ।
उनको उपन्यासको एउटा विषयवस्तु भने उनले सार्वजनिक गरेका छन् । उपन्यासमा हुम्लाको बहुपतिप्रथाको संस्कृति समेटिनेछ । ‘तर यसमा अन्य धेरै विषय हुनेछन् । मेरो विचारमा यसका विषयवस्तु विश्वलाई नै चकित पार्ने खालका छन्,’ उनको दाबी छ । 

ठूलो आकारको उपन्यास लेखेको भनेर आलोचनासमेत खेपेका न्यौपानेले अर्को उपन्यास पनि मोटो नै लेख्दै छन् । उनी जीवन बृहत् भएको कारण बृहत् जीवनलाई समेट्ने उपन्यास लामो नै हुने उनको धारणा छ । उनको विश्लेषण छ, ‘कविता भए मन्त्रजसरी लेख्न सकिन्थ्यो, तर उपन्यास त लामै हुन्छ । अर्को उपन्यास पनि सेतो धरतीकै आकारको हुन्छ होला ।’ उनी पाठकलाई ०७० सालभरिमा नयाँ उपन्यास दिने सोचमा छन् । 

त्यस्तै, सहरी जीवनको कथालाई केन्द्रमा राखेर उपन्यास लेख्न रुचाउने पत्रकार किशोर नेपाल पनि नयाँ उपन्यासमा तल्लिन छन् । नेपालका उपन्यास ‘सहरको कथा’ र ‘पाताल’ले पछिल्लो समय राम्रै प्रशंसा बटुलेका थिए । उनले जानकारी दिए, ‘कार्यालयमा धेरै समय बिताउनुपर्ने भएकाले धेरै समय दिन सकेको छैन । तर, पनि अर्को उपन्यास र जीवनका अनुभव लेख्दै छु ।’

उनी पनि अर्को वर्ष नयाँ उपन्यास ल्याउने तयारीमा छन् । ‘निश्चित त गर्न सकिन्न, तर अर्को वर्ष उपन्यास प्रकाशन गर्ने विचार छ,’ उनले भने, ‘मलाई लेख्न भने समय लाग्छ । एकपटक लेखेर मात्रै चित्त बुझ्दैन । लेखेपछि फेरि हेर्छु र सम्पादकलाई सम्पादन गर्न लगाउँछु ।’

आफैँ दैनिक पत्रिकाका सम्पादक नेपालको उपन्यास अर्का सम्पादकले सम्पादन गरेपछि ०७० को अन्त्यसम्म पाठकले पढ्न पाउने आशा राख्दा हुन्छ । उनले लेख्न थालेको नयाँ उपन्यासमा आफ्नो महत्त्वकांक्षा पूरा गर्न संघर्ष गर्ने पात्रको कथा छ । ‘प्रमुख पात्र पहिले हङकङमा हुन्छ, त्यो पोखरामा हुुर्कन्छ । त्यसपछि फेरि हङकङ जान्छ र घुम्दै फेरि नेपाल नै फर्कन्छ,’ उनले पात्रबारे जानकारी दिए, ‘त्यो पात्र बेग्लै किसिमको हुन्छ, जसले आफ्नो फरक पहिचानका लागि धेरै संघर्ष गर्छ ।’

यो उपन्यासमा पनि उनले युवाकै विषयलाई समातेका छन् । ‘म आजका युवापुस्ताको गतिविधिमा रुचि राख्छु । त्यसैले उनीहरूको बदलिँदो जीवन शैलीलाई नियाल्न मन लाग्छ,’ उनले भने । 
‘उलार’बाट पाठकको माया पाएका अर्का उपन्यासकार नयनराज पाण्डेको ‘लू’ उपन्यास अहिले चर्चामा छ । अहिले भने उनी उपन्यास लेखिरहेका छैनन् । पाण्डे आफ्ना युवावस्थाका संस्मरणमा आधारित कृतिको तयारीमा छन् । तर, त्यो संस्मरण मात्र भने हुनेछैन । उनले बताए, ‘यो गैरआख्यान प्रकृतिको हुनेछ । तर पनि यसमा आख्यानका गुण भने हुनेछन् ।’ पाठकलाई फरक स्वाद दिन आफूले यस्तो कृतिको तयारी गरिरहेको उनको दाबी छ ।

अभिभावक, शिक्षक, समाज, प्रेम आदिलाई एउटा युवाले कसरी हेरिरहेको हुन्छ, भोगिरहेको हुन्छ भन्ने विषय उनको यो कृतिमा समेटिनेछ । ‘टिनएजरको प्रेम, उनीहरूको अभिभावक, समाजलाई हेर्ने दृष्टिकोण आदिलाई सकारात्मक रूपमा अभिव्यक्त गर्ने प्रयत्न गरिरहेको छु । युवाको प्रेमलाई अझै पनि समाजमा बर्जित विषयजस्तो गरी हेरिने गरेको छ । त्यो धारणामा परिवर्तन आवश्यक छ भन्ने पनि सन्देश हुन्छ,’ उनले भने ।
आफूले भोगेर आएको जीवनबारे लेख्न लागेको भएर लेखन रुचिपूर्ण भइरहेको बताए । उनका अनुसार कृतिमा हास्य चेतना र स्वैरकल्पनाको पनि प्रयोग भएको छ । ‘त्यसो भनेर यथार्थलाई पनि छोडेको छैन । मैले दु:खी–गरिबको अवस्था, प्रेम र त्यसलाई समाजले हेर्ने दृष्टिकोणलाई पनि समेटेको छु,’ उनले प्रस्ट्याए । 
त्यस्तै, उपन्यास ‘लिलाम’बाट औपन्यासिक यात्रा थालेका उपन्यासकार जगदीश घिमिरेको पछिल्लो उपन्यास ‘सकस’ यतिखेर चर्चामा छ । ‘अन्तरमनको यात्रा’का लागि मदन पुरस्कार प्राप्त घिमिरे शारीरिक अस्वस्थताका बाबजुद निरन्तर लेखनमा लागिरहेका छन् । 
उनी अहिले नयाँ उपन्यास लेख्दै छन् । ‘मैले सकसमा घटनाक्रमलाई तीन चरणमा विभाजन गरेर लेखेँ । त्यसमा पृथ्वीनारायण शाहको पालादेखि संविधानसभा विघटनसम्मका घटनाक्रमलाई समेटिएको छ । अहिले संविधानसभा विघटनपछिका घटनालाई लिएर ‘चौथो चरण’ नामको आख्यान लेख्दै छु ।’
सकसमा जस्तो अबको कृतिमा ऐतिहासिक घटनाक्रम समेटिनेछैनन् । ‘यसको विषयवस्तु सामयिक हुनेछ । राजनीति त त्यसमा जोडिन्छ नै, किनकि समाजमा राजनीति छ नि,’ उनले भने ।
यो कृति कहिले पाठकले पढ्न पाउँछन् ? उनी भन्छन्, ‘भर्खर लेख्न थालेको छु । कल्पना गर्दै छु । स्वास्थ्यका कारणले सोचे जति लेख्न सकिरहेको छैन ।’ उनले भने, ‘पहिले १०/१५ घन्टासम्म पनि लेख्न सकिन्थ्यो । अहिले सकिँदैन । फेरि ‘मुड’को पनि कुरा हुन्छ ।’

पछिल्लो उपन्यास ‘चुली’को प्रकाशनपछि कविता–काव्य, गजल, विज्ञानकथा आदिको लेखन र प्रकाशनमा व्यस्त रहेका सरुभक्त पनि नयाँ उपन्यास लेख्ने तयारीमा छन् । अहिलेसम्म भने उनी आफ्ना संस्मरण लेखिरहेका थिए । उनले जानकारी दिए, ‘अहिले लेखिएका संस्मरणलाई समेटेर कृति निकाल्ने तयारीमा छु । यसको नाम ‘प्रसंगवश’ हुन्छ होला । त्यसपछि एउटा उपन्यास लेख्ने सोचमा छु । विषय छनोट र तयारी गर्दै छु ।’ सरुभक्त नेपाली डायस्पोराका विषयमा उपन्यास लेख्दै छन् । समयले साथ दियो भने उनको उपन्यास पाठकले आउने नयाँ वर्ष पढ्न पाउनेछन् । 

पहिलो उपन्यास कर्णाली ब्लुजबाट नै नेपाली उपन्यासमा प्रभावशाली उपस्थिति जनाउन सफल युवा उपन्यासकार बुद्धिसागर तत्काल उपन्यास लेख्ने योजनामा छैनन् । उनले पहिलो उपन्यासको चर्चासँगै दोस्रो उपन्यास लेख्न त थालेका थिए, पूरा गरेका छैनन् । उनले भने, ‘उपन्यास आधा लेखिसकेपछि थप अध्ययनका लागि रोकिएँ । त्यसपछि संस्मरण कृति निकाल्ने तयारीमा लागेको थिएँ । त्यो पनि अहिले रोकेको छु । अर्को कृतिको तयारीमा छु, यसबारे सार्वजनिक गर्ने वेला भएको छैन ।’ 

एउटै उपन्यास उर्गेनको घोडा निकालेर चर्चाको चुलीमा पुगेका युग पाठक पनि आफू दोस्रो उपन्यासको तयारीमा भएको बताउँछन् । केही समयदेखि पुनर्लेखन थालेका उनी दोस्रो उपन्यासको प्रकाशन गर्ने अन्तिम चरणमा छन् । 
܀܀܀
✍ कला अनुरागी
साभार : नयाँ पत्रिका

Comments