'धेरै बस्नै पाइएन आमासँग'

शशी श्रेष्ठ, नेता, माओवादी केन्द्र
निजी स्वार्थ त्यागेर, सारा दुःख–कष्ट सहेर सन्तानको खुसी र सफलतालाई नै आफ्नो खुसी र सफलता ठान्ने आमा । आफूलाई बिर्सेर सन्तानलाई अगाडि बढ्ने बाटो देखाउने शक्तिपुञ्ज आमा । आमा शब्द आफैंमा ओझपूर्ण र विशाल छ । मेरी आमालाई सम्झँदा त्यसको अर्थ अझ ओझपूर्ण र विशाल भएको पाउँछु ।
शालीन र विशाल हृदयकी मेरी आमासँग मैले जीवनको धेरै लामो समय बिताउन पाइनँ । नौ बर्ष लागेपछि मैले पढाइको लागि घरबाट टाढा जानुपर्यो । त्यसपछिका दिनमा आमासँग लगातार बस्ने मौका कमै पाएँ । कहिलेकाहीँ महिना दिन सँगै भइयो होला, नत्र त दुईचार दिन–दुईचार दिन मात्रै हो । तर त्यही अवधिमा पनि मैले आमाबाट प्राप्त गर्नुपर्ने शिक्षा प्राप्त गरेँ । कुनै पनि बच्चाले पहिलो शिक्षा परिवार, त्यसमा पनि आमाबाटै पाउँछ भन्ने कुरा मेरो जीवनमा चरितार्थ भएको छ । आम मानिसको सेवा गर्न सके नै जीवन सार्थक हुन्छ भन्ने आमाले सिकाएको नैतिक शिक्षालाई आज पनि ग्रहण गरेर हिँडिरहेकी छु ।
हरेक आमा महान हुन्छन् । तथापि कहिलेकाहीँ समाजमा आमा शब्दलाई नै कलंकित गर्ने ‘आमा’ पनि भेटिन्छन् । त्यसबेला म सन्तानका लागि कुनै पनि त्याग र बलिदान गर्न पछि नपर्ने मेरी आमा सम्झन्छु । आमाले हाम्रो लागि के गर्नुभयो होइन, के गर्नुभएन भनेर घोत्लिनुपर्ने हुन्छ । उहाँ विश्वकै उत्कृष्ट आमामध्येकी एक हुनुहुन्थ्यो भन्ने लाग्छ ।

सन्तानकै लागि थातथलो त्याग
हाम्रो पुख्र्यौली घर ललितपुरको महापालमा हो । तर हामी भने बनेपालाई पनि पुख्र्यौली मान्छौं । किनकि बुबा बनेपामै जन्मनुभएको थियो, मेरो जेठो दाइ पनि त्यहीँ जन्मनुभएको हो ।
आमाबुबाको पहिलो सन्तान भने दिदी हुनुहुन्थ्यो, उहाँ जन्मेको केही महिनामै बित्नुभएछ । उहाँलाई के रोग लागेको हो भन्ने नै पत्ता लाग्न सकेनछ । त्यसपछि दोस्रो सन्तानका रूपमा जेठो दाइ जन्मनुभएछ । उहाँलाई पनि सात–आठ महिना भएपछि त्यस्तै रोग देखिएछ । अस्पतालको सुविधा नभएको त्यो बेला झारफुक, धामी– झाँक्रीकै भर हुन्थ्यो । धेरै ठाउँमा देखाउँदा उनीहरूले निष्कर्ष दिएछन्– पहिलो सन्तान पनि बितिसकेको रहेछ । ठाउँ नफेर्ने हो भने यो सन्तान पनि बाँच्न गाह्रो छ ।
त्यसपछि उहाँहरू सन्तानलाई बचाउनकै लागि बनेपा छाडेर काभ्रे जिल्लाकै मंगलटार जानुभयो । उहाँहरूले सुनाउनुहुन्थ्यो– दाइको शरीरभरि खटिरा आएर पाकेको थियो । लुगा लगाउँदा जीउमा लुगै टाँसिन्थ्यो, त्यसैले केराको पातमा बेरेर लगेका थियौं ।
मंगलटार, रोशीखोलाको छेउ । पहिले त त्यहाँ बयर र खयरघारीमात्रै थियो रे ! हाम्रो जेठाबाजे डिट्ठा हुनुहुन्थ्यो । उहाँले घारीफाँडेर त्यहाँ वस्ती बसाउनुभएको थियो । त्यो ठाउँ लुटपाटका लागि बदनाम थियो त्यसबेला । अन्त जाने ठाउँ नभएकाले बुबाआमा त्यतै जानुभएछ । ठाउँ सरेको प्रभाव हो या अन्य कुनै कारणले हो, त्यहाँ गएको केही समयपछि दाइ निको हुुनुभएछ । त्यहीँ अरू चार दाइ जन्मनुभयो । म सबैभन्दा कान्छी, ०१८ सालमा जन्मिएँ ।
एउटा सन्तानको लागि आमाबुबाले कतिसम्म गर्न सक्छन् भन्ने कुराको उदाहरण थियो त्यो बसाँइसराइ । पुर्खादेखि बस्दै आएको थातथलो नै छोडेर अनजान ठाउँमा गएर व्यवहार चलाउनु आमाको लागि त झन् दुसाध्य कुरा थियो । तर त्यो चुनौती उहाँहरूले सन्तानका लागि सामना गर्नुभयो ।

आमाको नामै फेरियो
मंगलटारमा बुबाआमाले व्यापार र खेती दुवै सुरु गर्नुभयो । मेरी आमा त्यहाँको समाजमा छिट्टै घुलमिल हुनुभयो । आमाले गाउँघरमा चाहिने कुनै पनि आवश्यक कुराको जोहो गरिराख्नुभएको हुन्थ्यो । ब्राम्हणहरूको घरमा बरु गाईको दूध, घ्यू, मह, कुश आदिजस्ता विशेष कार्यमा अत्यावश्यक चिज हुन मुश्किल हुन्थ्यो, आमाले चाहिँ सबै जोहो गरेर राख्नुहुन्थ्यो । कहीँ कुश सकिए मान्छेहरू भन्थे– लक्ष्मीको घरमा छ । गाईको दूध चाहिए, भन्थे– लक्ष्मीको घरमा छ । जे चाहिए पनि भन्थे– लक्ष्मीको घरमा त पक्कै होला । उहाँको नाम गणेशमाया हो, तर जे पनि जोहो गरेर राख्ने उहाँको क्षमता हेरेर गाउँलेले नामै लक्ष्मी राखिदिएका थिए ।
मेरी आमालाई चारैतिर काम गरिरहेको देख्थेँ म । खै कसरी भ्याउनुहुन्थ्यो कुन्नि ! गाई, बाख्रा र कुखुरा थिए, तिनलाई हेर्न पनि भ्याउनुहुन्थ्यो । सँगै पसलमा पनि काम गर्नुहुन्थ्यो । त्यसबेला अन्नको कारोबार बढी हुन्थ्यो । गाउँबाट ल्याएका अन्न, घ्यू आदि भर्नुपथ्यो । पसलमा त्यसरी अन्नपात बेच्न वा किन्न आउनेले उहाँलाई नै खोज्थे । हरेकलाई उहाँले आफन्ती व्यवहार गर्नुहुन्थ्यो । बस, पानी खाऊ भन्नुहुन्थ्यो । बिँडी खानेलाई बिँडी खाऊ भन्नुहुन्थ्यो । उहाँको बोलीवचन र व्यवहारले सबैलाई प्रभावित पाथ्र्यो ।
बुबाचाहिँ गफ गर्न रुचाउने, उहाँलाई चाणक्यनीति, महाभारत, रामायण आदि सबै कण्ठ थियो । धेरै मान्छे उहाँको गफ सुन्न आउँथे । त्यसैले घरव्यवहारको चाप आमालाई नै बढी थियो । केही सहयोगी थिए, तर सबै काममा आफैं अघि सर्नुहुन्थ्यो । आमाको व्यवहारबाट उनीहरू पनि प्रभावित थिए ।
अहिले मलाई दाइहरूले भन्नुहुन्छ, ‘तिमीमा पनि आमाको गुण सरेको छ । थोरै चीजले पनि राम्रो व्यवस्थापन गर्न सक्छौ ।’ आमाले जत्तिको त मैले के गर्न सक्थें र, तर केही न केही मातृगुण भने ममा पनि सरेको छ जस्तो लाग्छ ।
निकै दुःखका बेलामा पनि मैले आमाको अनुहार कहिल्यै अँध्यारो देखिनँ । बुबा अलिक रिसाहा हुनुहुन्थ्यो, तर उहाँको रिसाएको बेला पनि आमाको अनुहारमा चमक हटेको पाइनँ । जहिले पनि हाँसिदिनुहुन्थ्यो, उहाँको अनुहार हेरेरै आनन्द लाग्थ्यो । भन्नुहुन्थ्यो, ‘मिहिनेत गर्ने मान्छेले कहिले पनि दुःख पाउँदैन ।’ बुबाआमा दुवै धार्मिक प्रकृतिको हुनुहुन्थ्यो, त्यसैले इमान्दार मानिसलाई ईश्वरले आशिर्वाद दिन्छन् भन्नुहुन्थ्यो । पछि हामीले ईश्वर भन्ने कुरा हुँदैन, यो त मान्छेले बनाएको हो भनेर विवाद गथ्यौं । उहाँहरू हाम्रो तर्कलाई पनि स्वीकार्दै भन्नुहुन्थ्यो, ‘जे होस्, राम्रो कामको फल राम्रै हुन्छ ।’

निरक्षर तर शिक्षित
हाम्रो बुबाको अध्ययन राम्रो थियो । उहाँ हामीलाई गाली गर्नुपरे पनि श्लोक सुनाउनुहुन्थ्यो । आमा भने सामान्य साक्षरमात्रै, त्यही पनि हामीले नै सिकाएको । तर बुबाले श्लोकमा भनेको कुरा हामीले बुझ्ने गरी व्याख्या भने उहाँले नै गरिदिनुहुन्थ्यो । १९७९ सालमा सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिनुभएको उहाँले औपचारिक शिक्षाको अवसर पाउने कुरा त थिएन, तर सुसंस्कृत परिवारको वातावरणचाहिँ पाउनुभएको थियो । बुबासँगको विवाहपछि त्यसले अझ विस्तारको मौका पाएको थियो । त्यसैले उहाँको व्यवहार शिक्षित र सुसंस्कृत थियो ।
बुबाआमा दुवै शिक्षाप्रेमी भएकाले उहाँहरूले मंगलटारमा बनारसबाट शिक्षक ल्याएर हामीलाई पढ्ने व्यवस्था गरिदिनुभयो । त्यसको लाभ छिमेकीहरूले पनि पाए । औपचारिक अध्ययनको लागि भने स्कुल निकै टाढा थियो । दाइहरूले दुःखै गरेर पढ्नुभयो । मैले औपचारिक अध्ययन थाल्नेबेलासम्ममा त जेठो दाइले सिन्धुलीमा जागीर खाइसक्नुभएको थियो । माइलो दाइ त्यतै व्यापारमा लाग्नुभएको थियो । त्यसैले मलाई टाढाको स्कुल पठाउनुको साटो सिन्धुलीमै पढाउन पठाउने बुबाआमाले निर्णय गर्नुभयो ।
त्यसबेला म बल्ल नौ बर्ष लागेकी थिएँ । एक रात पनि आमाको काख छोडेकी थिइनँ । छोरा पर्खने त्यो बेलाको समाजमा मेरो बुबाआमाले भने छोरी पर्खेर म जन्मिएकी रहेछु । म जन्मँदा बुबा निकै खुसी हुनुभएको थियो रे ! त्यस्ती चहेती छोरी, पुल्पुल्याएर राखिएकी । हात–गोडा–मुख बुबाले धोइदिने, आमाले खुवाइदिने गर्नुहुन्थ्यो । आफैंले त केही पनि नगर्ने, वरको सिन्को पर पनि सार्न नपर्ने । त्यसैले सिन्धुली जानुअघि आमाले मलाई धेरै सम्झाइ–बुझाइ गर्नुभएको थियो । सिन्धुली जानेबित्तिकै त मैले आमालाई धेरै ‘मिस’ गरिनँ । त्यहाँ जेठी भाउजू हुनुहुन्थ्यो । उहाँले मलाई आमाकै व्यवहार गर्नुभयो । त्यसैले म उहाँलाई आमापछिको आमा मान्छु । उहाँका सन्तान थिएनन्, त्यसैले आमाले नै गर्नेजस्तो परिपक्व व्यवहारमा केही खड्किए भए पनि कमीको महसुस भएन ।
दुई भाउजूहरू पालै–पालो छ महिना सिन्धुली, छ महिना मंगलटार बस्नुहुन्थ्यो । म गएको झण्डै छ महिनामा जेठी भाउजू मंगलटार फर्कनुभयो । त्यसपछिचाहिँ मैले आमालाई खुब ‘मिस’ गरेँ । लुगा धुन पनि जाँन्दिनथेँ, कट्कटिएको मैलो जाँदैनथ्यो । साुबन निखारेर नुहाउन पनि जान्दैनथेँ । टाउकोभरि जुम्रा पर्न थाल्यो, लिखा देखिन थाल्यो । त्यो सबै भोग्दा आमालाई धेरै सम्झिएँ । तर आमाले नै सम्झाउनुभएको थियो कि मिहिनेतको फल पछि पाइन्छ तर मिठो हुन्छ भनेर । त्यसले ममा अठोट जगाएको थियो । आमाकै वचन सम्झेर सारा दुःख झेलें । पढेँ । त्यहीँबाट मैले जीवन बुझ्ने, समाज बुझ्ने शिक्षा सुरु भएको थियो ।

सेवा नै जीवनको अर्थ
मेरी आमाको व्यवहारदेखि दाइका साथीहरू पनि निकै प्रभावित हुनुहुन्थ्यो । साइँलो दाइबाहेक हामी पाँच सन्तान बाहिर–बाहिरै भयौं । त्यसैले आमाले नचिनेका हाम्रा धेरै साथी थिए । तर हाम्रो नाम लिएर कोही घरमा पुग्यो भने आफ्नै छोराछोरी आएको जस्तो व्यवहार गर्नुहुन्थ्यो । दाइका साथीहरू प्रभावित भएर यस विषयमा कुरा गर्नुहुन्थ्यो ।
आमाको राम्रो व्यवहारबाट हामीकहाँ बास बस्नेहरू पनि प्रभावित हुन्थे । रुखोमिठो जो पाक्छ, खान पाइने, सुकुल मान्द्रो जे छ, त्यो ओछ्याउन पाइने, सुरक्षा र सत्कार राम्रो हुने भएकाले हाम्रो घरमा बास बस्नेको संख्या बढी नै हुन्थ्यो । कतिपय कांग्रेस, एमालेका नेताले अहिले पनि भन्नुहुन्छ, ‘हामी टाढाबाट छिटो–छिटो हिँडेर पनि तपाईंको बास बस्न आइपुग्थ्यौं ।’
आमा भन्नुहुन्थ्यो, ‘चिनेको मान्छेलाई मात्रै होइन, नचिनेको मान्छेलाई पनि उस्तै सेवा गर्नुपर्छ ।’ उहाँको त्यही आदर्शवाक्यले जनताको सेवामा उत्प्रेरित गरिरहन्छ अहिले पनि ।

आमाको चिन्ता
सिन्धुलीमा पढ्दा–पढ्दै ममा राजनीतिक चेतना पैदा भइसकेको थियो । सिन्धुली कम्युनिष्टको गढ थियो । चौथो महाधिवेशनको राम्रो प्रभाव थियो । सिपी गजुरेल, उहाँको भाइ मेघराजलगायत म पढिरहेको कमलामाई स्कुलमा शिक्षक हुनुहुन्थ्यो । त्यहाँको माहोलले मलाई कम्युनिष्ट बन्न उत्प्रेरित गरिरहेको थियो । साथै त्यहाँ गएपछि मैले दलितहरूलाई गरिने विभेद देखेँ, महिलालाई गरिने विभेद त भोगेँ नै पनि । त्यसले पनि मलाई विद्रोही स्वाभावको बनायो ।
मेरी आमाले सँधै दलितको पक्ष लिनुहुन्थ्यो । घरमै त पसाउनुभएन, तर उहाँले कहिल्यै छिःछि दूरदूर गर्नुभएन । अरूले आँगनको डीलबाट नजिक आउन नदिने त्यो समयमा उहाँ दलितहरूलाई पिंढीमा बसाउनुहुन्थ्यो । भन्नुहुन्थ्यो, ‘दुःख पाएको देखेर बाहुनहरूले धेरै हेप्छन् यिनीहरूलाई । हामीले माया गर्नुपर्छ ।’
त्यसैको प्रभावले म विभेदविरोधी बनेको थिएँ । त्यसले मलाई राजनीतिमा तान्यो । सिन्धुलीमा मैले नौ कक्षासम्म पढेँ । एसएलसी भने बनेपाको आजाद स्कुलबाट दिएँ । एसएलसीपछि पद्मकन्या क्याम्पस पढ्न थालेपछि मेरो राजनीतिक सक्रियता सुरु भयो ।
आमाले म राजनीतिमा सक्रिय भएकोचाहिँ ०३६ सालमा पहिलोपटक थाहा पाउनुभयो । ललितपुरको ठैबमा विद्यार्थी संगठनको छैठौं राष्ट्रिय सम्मेलन भएको थियो । सम्मेलन सफल भएपछि हामीले अलिक बढी उत्साहित भएर जुलुस निकाल्यौं । नारा भट्याउनेमा म अगाडि थिएँ । हामीलाई त्यहाँको भूगोल पनि उतिसारो थाहा थिएन, हाम्रो जुलुस त प्रहरीचौकी भएतिरै पो गइरहेको रहेछ । त्यो क्षेत्रमा संगठित किसानहरू भएकाले हामीलाई चौकी नै पुग्नबाट त रोके, तर प्रहरीले सूचना त पाइहाल्यो ।
किसानहरूले हामीलाई भगाए, तर वारेन्ट भने काटिएको थियो । त्यसैले लुकेरै बस्यौं । त्यतिबेलै मलाई ज्वरोले गाँग्यो थियो । त्यो कुरा थाहा पाएर काइँलो दाइ श्याम श्रेष्ठ लिन आउनुभयो । उहाँ त्यतिबेला काभ्रेको फलाँटेमा पढाउनुहुन्थ्यो । त्यहीँ लैजानुभयो । केही समय फलाँटे बसेर घर पुर्याइदिनुभयो । त्यहाँ दाइले धेरै बाहिरफेर ननिस्कनू भनेर भनेको आमाले थाहा पाउनुभयो र सोध्नुभयो । दाइले वारेन्ट काटेकै कुरा त गर्नुभएन, तर विद्यार्थीको जुलुुसमा हिँडेकाले प्रहरीले खोज्न सक्छ भन्ने कुरा भनिदिनुभयो । त्यसपछि आमाले राजनीतिमा निकै सक्रिय भइसकेको कुरा थाहा पाइहाल्नुभयो । आमाबुबा कोइराला परिवारसँग जानकार हुनुहुन्थ्यो । कोइराला परिवारले राजनीतिमा लागेर दुःख पाएको कुराले उहाँहरूलाई राजनीति गरेपछि दुःख पाइन्छ भन्ने परेको थियो । छोरीले त्यस्तो दुःख नपाओस् भन्ने चाहनुहुन्नथ्यो । राजनीतिमा काइँलो दाइ पहिल्यैदेखि सक्रिय हुनुहुन्थ्यो, तर उहाँ भूमिगत क्रियाकलापमा मात्रै संलग्न हुनुहुन्थ्यो । खुल्ला रूपमा लाग्नेचाहिँ म र कान्छो दाइ थियौं । त्यसैले आमाले धेरै चिन्ता व्यक्त गर्नुभयो ।
पछि सातौं राष्ट्रिय सम्मेलनमा त म जेल नै परेँ । त्यसबेला आमा धेरै रुनुभएको थियो रे ! जेलबाट छुटेपछि म घर गएँ । त्योबेला उहाँको चिन्ता झन् बढेको थियो ।
म उहाँकै वचन शिरोधार्य गरेर हिँडिरहेको थिएँ । उहाँको भन्नुहुन्थ्यो, ‘जस्तै दुःख कष्ट भएपनि अविचलित भएर काम गर्नुपर्छ । दुःखदेखि भाग्नुहुँदैन । आफ्नो दृढ संकल्प र इच्छाशक्ति भयो भने असम्भव भन्ने कुरा केही छैन । हामीले गर्न सक्छौं । त्यसको लागि इमान्दार हुनुपर्छ । नैतिकता नै बल हो ।’ उहाँको भाषा त यस्तो थिएन, तर भाव यस्तै हुन्थ्यो । मैले यही भनेर आमालाई सम्झाएँ । मसँगै जेल परेकी साथी ईश्वरी कार्कीले पनि धेरै सम्झाउनुभयो । तर छोरीप्रतिको मायालाई सम्झाएर घट्ने कुरा थिएन । उहाँलाई छोरीले गलत गरी भन्ने त लागेको होइन, तर छोरीले दुःख पाई भन्ने चिन्ताले सताएको थियो । अर्कातिर जेल पर्नेको परिवारलाई समाजले हेर्ने दृष्टिकोण नराम्रो हुन्थ्यो । त्यो आमाले भोग्नुभएको थियो । छोरीको विवाह गर्न गाह्रो होला भन्ने चिन्ताले पनि उहाँलाई त्यत्तिकै सताएको थियो । त्यसैले धेरै रुनुभयो र अन्तमा हिँड्ने बेला भन्नुभयो, ‘सधैं आशिर्वाद छ । कतै गलत नगरेस् । जेल पर्नबाट बँचेस् ।’
राजनीतिमा सक्रिय भएपछि आमासँगको भेटघाट कम भयो । तर मसँग उहाँले दिएको प्रेरणा साथै हुन्थ्यो । जब ०४२ सालमा लिलामणि पोखरेलसँग विवाहको कुरा भयो, आमाको चिन्ता उत्कर्षमै पुग्यो । हाम्रो अन्तरजातीय विवाह त्यसबेलाको समाजले पनि पचाउने कुरा थिएन । आमाको चिन्ता भने जातिमा थिएन, राजनीतिमा लागेको, केही नभएको मान्छेसँग बिहे गर्न लागी भन्नेमा थियो । उहाँले मुखै फोरेर भन्नुभएको थियो, ‘जोगीसँग बिहे गर्न लागिस्’ भनेर । उहाँ विवाहमा आउनुभएन । बुबा र दाइहरू भने आउनुभयो । म्हेपीस्थित पारिजातको घरमा उहाँकै अध्यक्षतामा मेरो विवाह भयो । विवाहपछि दुई बर्षजसो त आमासँग भेटै भएन ।
पछि फेरि म जेल परेँ, त्यहाँबाट निस्केपछि आमाले नै बोलाएर हामी दुवैजना गयौं । पछि त ज्वाईंको व्यवहार देखेर आमा निकै प्रभावित हुनुभयो । यसरी व्यवहारको कसीमा मानिसलाई हेर्ने र त्यसआधारमा सही गलत छुट्याउनुहुन्थ्यो उहाँ ।

पहाडभन्दा गह्रुँगो मृत्यु
०४६ सालमा आमा र बुबा दुवैको निधन भयो । बुबा भदौमा बित्नुभयो, आमा कात्तिकमा । आमाबुबाकैको मृत्युमा हामीले चिनेजति नरुने कोही थिएनन् । उहाँहरूको व्यवहारले त्यस्तो बनाएको थियो । पछिसम्म पनि उहाँहरूको कुरा गरिरहन्थे मानिसहरू । उहाँहरूको मृत्यु मलाई पहाडभन्दा पनि गह्रुँगो र हिमालभन्दापनि उँचो लाग्छ ।
हामीले उहाँहरूको नाममा स्मृति कोष बनाएका छौं मंगलटारमै, जहाँ उहाँहरूले जीवनको उर्वर समय बिताउनुभएको थियो । त्यहीँ हामी, विशेषगरी श्यामदाइको नेतृत्वमा मंगल जनविजय स्कूल स्थापना गरेका छौं । त्यो अहिले उमावि भइसकेको छ । त्यही स्कुलमा मावि तहमा पढ्ने एक छात्र एक छात्रा र प्लस टु तहमा पढ्ने एक छात्र एक छात्रालाई छात्रवृत्ति दिने गरेका छौं कोषबाट । छात्रवृत्ति वितरण गर्ने बेला र अन्य समयमा मंगलटार पुग्दा आमाको सम्झना अझ गाढा भएर आउँछ ।

आमाको सम्झना
आमाले मेरो राजनीतिक जीवनको दुःखै–दुःखमात्रै देख्नुभयो, सन्तोषको पाटो खासै देख्न पाउनुभएन । तर संकेतचाहिँ पाउनुभएको थियो । चालिसको दशकमा आमा विरामी भएर उपचारका लागि आउँदा म इटुम्बहाल बस्थेँ । त्यसबेला त्यहाँ किसानहरूले गरेको सम्मानले उहाँलाई राजनीति पनि राम्रो कुरा रहेछ भन्ने अनुभूति भएको थियो । उहाँ भन्नुहुन्थ्यो, ‘बूढीले समेत आएर मलाई आमा पो भनिन् ।’ आफ्नो छोरीलाई गरेको सम्मानबाट उहाँ छक्क पर्नुभएको थियो । तर पनि हामी केका लागि लडेका थियौं भनेरचाहिँ देख्न पाउनुभएन । त्यसैले ०४६ सालदेखि त्यसपछिका हरेक महत्वपूर्ण राजनीतिक घटनाक्रमका बेला म आमालाई सम्झन्छु ।

०४६ सालको आन्दोलनमा सहभागी भएर मेरो चर्चा भएको बेला आमा हुनुभएको भए कति खुसी हुनुहुन्थ्यो भन्ने लाग्यो । त्यस्तै आन्दोलनपछि खुल्लामञ्चमा जनसभा हुँदा म गणेशमान सिंहसँगै मञ्चमा थिएँ । त्यसबेलाका चर्चित नेता सिंहसँगै मञ्चमा मलाई पनि देख्न पाएको भए आमा कति गर्व महसुस गर्नुहुन्थ्यो होला भन्ने लाग्यो ।

त्यस्तै ०६२/६३ को गणतन्त्रको आन्दोलनमा चैत्र २४ गते जनमोर्चाको नेतृत्व मैले गरेर सडकमा गएको थिएँ । सिंगो पार्टीको नेतृत्व गरेर आन्दोलनमा गएको कुराको चर्चा सञ्चारमाध्यममा भएको थियो । त्यो आमाले सुन्न पाउनुभएको भएको भए उहाँको मनमा कस्तो उभार आउँथ्यो होला भन्ने लाग्यो । त्यस्तै विस्तृत शान्ति सम्झौता ड्राफ्ट गने बेलामा दश पार्टीका प्रतिनिधिमा म एकजनामात्रै महिला थिएँ, त्यसबेला पनि आमालाई सम्झिएँ । राज्यमन्त्री भएको बेला पनि आमालाई सम्झिएँ ।

आमाको मृत्यु हुने बेला म साथमा थिइनँ, बाथको कारण आफैं बिरामी थिएँ । शिक्षण अस्पतालमा राखिएको बेला उहाँले दाइहरूसँग भन्नुभएको थियो रे, ‘नानीले साह्रै दुःख भोगी । बुबा पनि बितिहाल्नु भयो । अब अभिभावक भनेकै तिमीहरू हौ । राम्ररी हेरविचार गर है । म पनि आज हो कि भोलि हो !’ त्यसरी आमाले अन्तिमसम्म पनि मेरो चिन्ता गरिरहनुभएको थियो । त्यसैले मैले आफूलाई प्रमाणित गर्न पाएका अवसरमा आमालाई धेरै सम्झन्छु ।

त्यसो त आमाले सिकाउनुभएको नैतिक मूल्य र मान्यतामा टिकेर राजनीति गर्दा अहिले उपेक्षा र अवमूल्यन हुने स्थिति छ । तर पनि हामीले राजनीतिलाई कहिल्यै पनि फाइदाको खेल ठानेनौं, सेवा नै ठान्यौं । यो कुरा जनताले मूल्यांकन गरिरहेका छन् भन्ने विश्वास छ । देशभित्र होस् या बाहिर हामीले जनताबीच जाँदा त्यो विस्वास प्रकट पनि हुन्छ ।

आमा भन्नुहुन्थ्यो, ‘नैतिकता भनेको सबैभन्दा ठूलो सम्पत्ति हो । सबै कुरा गुमेको फिर्ता ल्याउन सकिन्छ, नैतिकता सकिँदैन ।’ सबैमा नैतिकताप्रति त्यस्तै आस्था भइदिएको भए यो देशकै स्थिति कति कायापलट हुन्थ्यो होलाजस्तो लाग्छ । तर आफूचाहिँ अहिलेसम्म इमान्दारिताको पथबाट विचलित नभइकन अघि बढ्न सकिएको छ भन्ने सम्झँदा गर्व लाग्छ ।

आमाले भन्नुहुन्थ्यो, ‘भुइँमै बसेर सेवा गर्नुपर्छ । भुईंको मानिसलाई माथि चढ्ने जति पनि अवसर हुन्छ, तर माथिबाट खसेको मान्छे कहिल्यै उठ्न सक्दैन ।’ त्यसैले हामीले ‘लो प्रोफाइल’मा रहन सिक्यौं । हुन त अहिले तलै बसेर सेवा गर्ने मानिसलाई कुहिनोले घुच्याएर अघि बढ्नेहरूको बोलवाला बढेको छ । तर त्यो नैतिक तरिका होइन, सही तरिका होइन । अझ कम्युनिष्ट राजनीतिमा त त्यो नैतिक हुँदै होइन । त्यसैले यस्तो बेला म आँखा चिम्लेर आमाको आकृति सम्झन्छु, व्यवहार सम्झन्छु । अनि अझ नैतिकता र इमान्दारिताको बाटोमा दृढ बन्न प्रेरणा प्राप्त गर्छु ।
܀܀܀
प्रस्तुति : कला अनुरागी
साभार : राटोपाटी डटकम 

Comments