फूलमाया मुस्कुराउने दिन

इतिहास लेखिनु अघिकै दिनहरूदेखि
पर्खिरहेकी छ फूलमाया
ऊ साँच्चै मुस्कुराउने दिन ।

तिमी देख्न सक्छौे
मुस्कुराउँछे हिजो आज पनि फूलमाया
काँडाघारीको बिचमा मुस्कुराउने
सुन्दर जंगली फूल हो ऊ
जानेकी छे उसले सानैदेखि
दुःखको बिचमा पनि मुस्कुराउन
तर दुःखमा मुस्कुराउनु
र सुखमा मुस्कुराउनु बिच
क्षितिजमा जोडिएको आकास
र धर्तिको जस्तै छ नाता ।

शोषण नामको शितलहर
बाह्रै महिना चल्ने उसको पहाडी गाउँमा
तिमी भेट्न सक्छौ उसलाई
नुहाउँदै गरेकी तातो पसिनाले
ऊ बस्न चाहन्छे
आफ्नै हृदयजस्तै सफा र सुन्दर ।

दुःख नामको हिमपात
चौबिसै घन्टा भईरहने
ब्वाँसे हो उसको गाउँको नाउँ
जहाँ दर्ता बिना नै
हिमाल चढ्दा हिउँले पुरिएको
गुमनाम पर्यटक झैं
पुरिएका छन् उसका तन्नेरी सपना हिमपातले
तर फाल्न चाहन्छे ऊ
अक्षरहरूको सावेलले
सपनामाथि जमेका हिउँ
र जोर्न चाहन्छे
आफ्नो कटेरोको अँगेनुमा आगो ।

पाँच कोश टाढा छ स्वप्निल पाठशाला
र बाटाको हिउँ फाल्दा–फल्दै
पौने दश देखाउँछ उसको घाम घडी
ऊ यतिखेर आक्रामक छापामार हुन्छे
बाटैमा रोक्न सकिदैन उसलाई
खोतल्न सकिदैन उसको झोला
जसभित्र हुन्छन् खतरनाक मिसाइलहरू
जसभित्र खिपेकी छ उसले
अक्षरहरूको अणुबम सल्लाको दियालोमा ।

पाठशालामा उसका गुरूहरू
सवा दशबजे पाठशाला आएकोमा
खाली राख्छन् उसको हाजीरी
र सवा बाह्र बजे आएर
गर्छन् आफ्नो हाजिर
तर दिन सक्दैनन् उसको प्रश्नको उत्तर
‘किन पग्लन सकिरहेको छैन
उसको बाटो छेक्ने हिउँ
यो सबैभन्दा तातो मानिएको
गणतन्त्र नामको घामले ?’

ए ! कवि महोदय
तिमी दिन सक्छौ उत्तर
‘कहिले पग्लिन्छ हिउँ
र आउँछ फूलमाया साँच्चै मुस्कुराउने दिन ?’
܀܀܀
✍ कला अनुरागी
साभार : मूल्यांकन मासिक


Comments

Popular posts from this blog

नेपाल ओरियण्ड म्याग्नेसाइट: स्वार्थको सिकार