साहित्यका निष्कण्टक यात्री

पाठकको हृदयमा विजय झण्डा गाडेपछि कृष्ण धरावासीको विजय–यात्रा निरन्तर रह्यो, जो जारी छ । उनले नेपाली साहित्यमा स्थापित र चर्चित मानिने अधिकांश पुरस्कार पाइसकेका छन् । ‘राधा’ उपन्यासका लागि मदन पुरस्कार पाए । महानन्द पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, उत्तम–शान्ति पुरस्कार, युवा वर्ष मोती पुरस्कारलगायतले उनको व्यक्तित्वमा चाँद लगाएको छ ।
साहित्यमा उनी आफूलाई ‘निष्कण्टक यात्री’ ठान्छन् । उनको जीवन संघर्षको कथा बेग्लै छ । ती दुःखले भरिएको छन्, आँसुले ओसिएका छन् । तर साहित्यमा भने उनको यात्रा सुमधुर छ, सरासर छ ।
झापाको शनिश्चरेमा हुर्केका उनले त्यहीँ साहित्यिक गतिविधि देखे, गरे । तीसको दशकमै उनको साहित्यिक यात्राको गति तीव्र भइसकेको थियो । तर त्यतिबेला काठमाडौ र मोफसल दूरी ज्यादा थियो । मिडियाको पहुँच पनि केन्द्रमै थियो । रेडियो नेपाल, गोरखापत्र र टेलिभिजन काठमाडौंमा थिए । ‘टाढा’का मान्छेले त्यहाँ प्रवेश पाउन गाह्रो थियो । जिल्लाकै पत्रिकाको भर हुन्थ्यो साहित्यिक रचना छाप्न पनि । जसको पाठकको न्यूनता सोचेभन्दा पनि कम थियो ।
धराबासी साहित्यिक संस्था खोल्न, गतिविधि गर्न र नयाँ प्रतिभालाई मञ्च दिन सक्रिय भए । त्यसैबाट जोडियो उनको काठमाडौंसँग सम्पर्क । विशेष गरी प्रजातन्त्र आएपछि । त्यसअघि चाहिँ ०३६ को विद्यार्थी आन्दोलनको पृष्ठभूमि भएका उनलाई काठमाडौं आउन पनि सहज थिएन । राज्यको आँखाले उनलाई नियालिरहेको हुन्थ्यो । विद्यार्थी आन्दोलन, लेखन र शिक्षणको त्रिवेणी राज्यको लागि खतराको ‘जिनिस’ थियो नै । प्रजातन्त्रपछि भने उनको काठमाडौमा सम्पर्क बाक्लियो । साहित्यिक यात्राको ‘माइलेज’ बढ्यो । 
मोफसलले उत्ति स्थान नपाउने त्यो समयमा पनि धराबासीले भने सम्पादकको मन जितिसकेका थिए । मन जितेरै उनी ०४० सालअघि नै गरिमामा छापिइसकेको थिए ‘माटोको माया’, ‘बालक हराएको सूचना’, ‘चंगा’जस्ता निबन्ध । 
उनले साहित्य जीवनको प्रारम्भिक कालदेखि नै तीन विधालाई समानान्तर रूपमा अघि बढाइरहेका थिए– कविता, समालोचना र निबन्ध । प्रजातन्त्र आउनेबित्तिकै ०४८ सालमा ‘बालक हराएको सूचना’ निबन्ध संग्रह छापियो । त्यसको एक हप्ता पछि नै समालोचना विधाको ‘विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासहरू’ छापियो । त्यसले उनलाई साहित्यिक वृत्तमा स्थापित गरायो । 

मिडियाको प्रेममा छिटो हुर्काइ
लेखनको कठिन बाटो आफूले सहजै पार गर्दै आउनुमा ‘मिडिया’को ठूला हात देख्छन् धराबासी । ‘म आफैं पत्रकारितामा पनि संलग्न भएकाले सजिलो भयो । साथीहरूको हमेशा सहयोग रह्यो’ उनी भन्छन्, ‘मेरो किताबसम्बन्धी समाचार र समीक्षा सजिलै आउँथ्यो । अरूले निकै मिहिनेत गरेर पुग्नुपर्ने मिडियामा पनि मेरो सहज पहुँच बनेको थियो ।’ 
साहित्यलाई निकास दिने नै मिडिया भएकाले यसको भूमिका महत्वपूर्ण हुने उनको ठहर छ । ‘उत्पादन गर्ने क्षमता त आफैँसँग हुनुपर्यो । तर उत्पादनमात्रै गरेर हुँदैन । त्यसको जानकारी सम्बन्धित क्षेत्रसम्म पुर्याउन मिडियाको भूमिका निकै महत्वपूर्ण हुन्छ । जसको साथ मैले पाइरहेँ, पाइरहेको छु,’ उनी सन्तुष्ट देखिए । 
त्यसो त उनलाई चर्चामा ल्याइरहने अर्को बिषय थियो– लीलालेखन । जसलाई उनी ‘फ्ठ्यारो बाटो’ भन्छन् । ‘त्यति अप्ठ्यारो हुन्छ भन्ने थाहा पाएको भए म हातै हाल्ने थिइनँ । जब त्यो बिषय बजारमा गयो, त्यसपछि पो थाहा पाएँ कि मैले त सम्हाल्ने नसकिने बिषयमा हात हालेको रहेछु । त्यसपछि म मैदानमा नउत्री धरै पाइनँ’, उनको कथन छ, ‘लीलालेखनको बहसकै लागि म सरलबाट गम्भीर पाठक बन्नुपर्यो । विदेशी भाषाका किताबदेखि साहित्य सिद्धान्त खार्न पर्यो । लेखकमात्रै होइन, प्रवचक पनि बन्नुपर्यो ।’
यो कुराले उनलाई अझ मिडियाको नजिक पुर्याइदियो । र, उनले अझ साथ पाउन थाले । उनको पुस्तकको थप चर्चा र समीक्षा हुन थाले ।
‘नारीभित्र के छ हजूर ?’ निबन्ध संग्रहसँगै धराबासीको चर्चा अझ चुलियो, जो ०५३ मा छापिएको थियो । त्यसै बर्ष छापिएको ‘लीलालेखन’ले उनलाई सिद्धान्तको बहसका लागि मैदानमा उतार्यो । त्यही सिद्धान्तलाई सिरानी हालेर लेखिएको उपन्यास ‘शरणार्थी’सँगै उनी नेपाली साहित्यमा छुटाउनै नसकिने अध्याय बने । अहिले नेपालको मात्रै होइन, विदेशी विश्वविद्यालयले पनि उनको उक्त उपन्यास पढाउँछ । 
०५९ सालमा उनको आत्मकथात्मक उपन्यास ‘आधा बाटो’ छापियो । त्यसको लोकप्रियता अहिले पनि उत्तिकै छ । जसमा उनले आफ्नो जीवनको यथार्थ र जीवन्त चित्रण गरेका छन् । त्यसपछि आयो ‘झोला’ कथा संग्रह । नेपाली साहित्यमा धेरै पढिएका कथामध्ये ‘झोला’ अगाडि नै उभिन आइपुग्छ । त्यसपछि उनी ‘राधा’तिर लागे, जसले मदन पुरस्कार पाएपछि उनको चर्चामा सघनता थपियो । त्यतिबेलासम्म उनी झापामै थिए । उनी फेरि मिडिया सम्झन्छन्, ‘मैले झापामै बसेर राजधानीमा हस्तक्षेप गर्न सकेँ । तर त्यो मेरो पहलमानी होइन, मिडियाको साथले सम्भव भएको हो । कृति त मैले नै लेखेँ, तर ती नछापिएको भए, छापिए पनि त्यसको गुण चर्चा मिडियाबाट नभएको भए के हुन्थ्यो होला र ? जुन कुरामा मान्छेका आँखा पर्दैन, त्यो जति नै गुणस्तरीय भए पनि के अर्थ हुन्छ र ?’

साहित्यको मोहनी र प्रेमैप्रैम
धराबासीलाई साहित्यको यो गोरेको मोहनी पैदा गरिदिने उनकी आमा हुन् । उनले सम्झे, ‘आमाले मलाई बच्चैदेखि लेख्न प्रेरित गर्नुभयो । उहाँलाई मुनामदन’ मन पथ्र्यो र भन्नुहुन्थ्यो– तँ पनि यस्तै लेख्नू नि ।’ त्यसले उनलाई लेख्न प्रोत्साहित गर्यो । ०४० सालमा विवाह भएपछि जीवनसाथी ‘सिताजी’ले उनलाई उत्प्रेरित गरिन् । उनले कृषि विकास बैंकमा जागिर खाए । जहाँका साथी, हाकिम र कर्मचारी सबैको उनलाई उत्प्रेरणा मिल्यो । उनीहरूको ‘आज के लेख्यौ ?’ भन्ने प्रश्नले उनलाई निरन्तर लेखाइरह्यो । कुनै पनि कार्यक्रममा जान हाकिमले रोकेनन्, अझ वातावरण मिलाइदिए । साथीहरूले पनि सहज वातावरण बनाइदिए । 
यहाँसम्म कि उनका बच्चाले पनि उनलाई उत्प्रेरित गरे । उनले सम्झे, ‘अरूका घरमा किताब च्यातेको देख्छु बच्चाले । तर मेरो घरमा कहिल्यै च्यातेनन् । कागत देखे भने पनि बुबाको किताब भनेर ल्याउँथे ।’
यसरी आमा, श्रीमती, बच्चा, कार्यालयका हाकिम, कर्मचारी र साथीका साथै मिडियाको साथ पाएर आफू पुल्पुलिँदै अघि बढेको उनी बताउँछन् । त्यसले उनलाई निरन्तर लेखनमै लागिरहन उत्प्रेरित गरिरह्यो । त्यस्तै प्रकाशकले पनि उनका बिताब छापिरहे । तर उनका बढी पुस्तक पैरवी बुक हाउसबाट आएको छ । ‘शरणार्थी’को दोस्रो संस्करणबाट पैरवीले उनलाई निरन्तर प्रस्तुत गरिरहेको छ । ‘पैरवीका खगेन्द्रजीले मेरा पुस्तक छापिएको मात्रै पढ्नुहुन्छ । यो मेरो लागि विश्वास र मायाको ठूलो भारी हो’, उनी मुस्कुराए । 

तथ्यपूर्ण लेखनको यात्रामा
‘गहनता’ धराबासीका रचनाको गुण हो । त्यसका लागि उनी अध्ययन र मिहिनेतमा समय त खर्चन्छन् । अनुसन्धानलाई सँगै लिएर जान्छन् । राधा लेख्न पुराण, गीता, उपनिषद्लगायतका धार्मिक ग्रन्थ पढिभ्याए । पढ्दा¬–पढ्दा धार्मिक पात्रको जस्तै दाह्रीजुँघा लामा–लामा भइसकेका थिए । तर ‘राधा’को सफलताको स्वादले अहिले पनि उनी रोमाञ्चित छन् । 
सिर्जनात्मक काममा पनि अनुसन्धानमा ध्यान दिँदा आफ्नै कामसँग आफैँले प्रतिष्पर्धा गर्ने गरेको उनको अनुभूति छ । ‘मेरो भावुकता, मुड, विचार भनेर लेख्ने चलन पनि छ । ती चाहिन्छन्, तर त्यसैलाई मात्र आधार बनाउनु हुँदैन । पाठकलाई अन्याय हुन्छ । लेखन त तथ्यपूर्ण हुनुपर्छ । त्यसो भयो भने जो पनि कन्भिन्स हुन सक्छ । यसो भनेर त्यो गणितीय हुनुपर्छ भन्ने होइन, तर लेखनको कुरा तथ्यसँग नजिकचाहिँ हुनुपर्छ’ उनको तर्क छ । 
उनी ‘गेस्टापो’को उदाहरण दिन्छन्, ‘त्यो उपन्यास १५ दिन जर्मनी घुमेर आएपछि लेखेको हो । त्यसबारे मैले विभिन्न माध्यमबाट अध्ययन गरेँ । त्यसैले लेख्न तीन बर्ष लाग्यो । अहिले जतिले पढेका छन्, राम्रो प्रतिक्रिया पाएको छु । म पनि सन्तुष्ट छु ।’
यी कामबाट उनी के निष्कर्ष निकाल्छन् भने राम्रो काम गर्ने हो भने हाम्रो देशमा स्थापित हुन धेरै गाह्रो छैन । ‘राम्रो काम छ भने तुरुन्तै आँखा परेन भने पनि कुनै न कुनै दिन आँखा पर्छ । कसैको आँखा परेपछि चर्चा सुरु भइहाल्छ । तर कामै नराम्रो भयो भने जति चर्चा भए पनि त्यो क्षणिक हुन्छ’ उनले निष्कर्ष सुनाए ।

राजनीतिक चेतनाले डोर्याएको लेखन
धराबासीको लेखनको अर्को शक्ति हो देखिने गरी प्रभाव छोड्नु । जस्तो कि झोला कथा अच्युत घिमिरेले रेडियोमा पढे र त्यो यूट्युबमा हाले । यूट्युबमार्फत प्लस टू विद्यार्थीका मोबाइलमा पुग्यो । उनीहरूले घरमा हजुरआमा र आमालाई सुनाए । जसले उनीहरूलाई रूवायो । उनीहरूले भन्न थालेछन्– म चन्द्रशमशेरको फोटो घरमा राख्छु । त्यो कुरा धराबासीले सुने र भावुक बने । 
झोला कथामाथि सिनेमा बनेपछि त अझ त्यो प्रभाव बढ्यो । अहिले पनि कथा पढ्ने पाठक बढि नै रहेका छन् । 
यता ‘शरणार्थी’ उपन्यास निस्केपछि भुटानी शरणार्थीमाथि धेरै अध्ययन भए । जात, भाषा वा धर्मका नाममा आफ्नो भूमिमै बस्नबाट बञ्चित गर्ने देशलाई उपन्यासले गरेको प्रश्नको प्रभाव अन्तराष्ट्रिय स्तरको छ । त्यसैले यो विदेशमा पनि पढाइन्छ ।
‘राधा’ उपन्यास पढेपछि धेरैले सोध्छन्, ‘त्यो जोगीचाहिँ कहाँ भेटिन्छ ?’ कोहीचाहिँ के सत्य हो, के भ्रम हो भन्ने प्रश्न गर्छन् । यसले धर्मग्रन्थलाई बुझ्ने तरिकामा नै फेरबदल आएको प्रतिक्रिया उनले पाएका छन् । ‘राधा’मा बलराम र कृष्णको भूमिका बाबुराम र प्रचण्डको जस्तो भएको बताउँछन् उनी । उनीहरू भूमिगत भएर हिँड्छन् र छापामार युद्ध गरे कंशलाई बध गर्छन् । उनी भन्छन्, ‘म माओवादी राजनीतिको पक्षधर होइन । तर मैले पूर्वाग्रह पनि राखिनँ । छापमार युद्ध, क्रान्ति वा आन्दोलन वैज्ञानिक ढंगले चलेका हुन्छन् । त्यसैले मैले नमाने पनि अघि बढ्छ नै ।’ पूर्वाग्रहविहिन लेखनले प्रभावलाई  सघन बनाउने उनको निष्कर्ष छ । 
‘तपाई’ भन्ने उपन्यासमा माओवादी जनयुद्धको बेला हुने गरेको अपहरणको कथा छ । त्यहाँ पनि आफूले पूर्वाग्रविहिन ढंगले लेखेको उनले बताए । ‘टुँडाल’ यौनमनोविज्ञानमा आधारित उपन्यास भए पनि आफूले राजनीतिक चेतनालाई भरपूर प्रयोग गरेको उनको दावी छ । 
गेस्टापो’को प्रभाव पनि उनी उत्तिकै परेको देख्छन् । उनको भनाइ छ, ‘यो नेपालको सन्दर्भमा पनि सामयिक छ । हिट्लरले होलोकास्टमा आमनरसंहार गर्नुको पछाडि जातीय साम्प्रदायिकता थियो । यहुदी जातिको चाहिँ बाँच्ने हक छैन भन्ने सोचले त्यस्तो नरसंहार भएको हो । तर यहुदी जातिमा धेरै प्रतिभाशाली व्यक्तित्व थिए । कार्ल माक्र्स हुन् या सिग्मण्ड फ्रायड, यशु ख्रिष्ट हुन् या काफ्का वा अल्बर्ट आइन्स्टाइन यहुदी थिए । त्यस्तो जातिलाई सखाप पार्ने घटनाबाट म संवेदित भएँ । नेपालमा पनि उठ्ने जातीय मुद्दाले उग्रस्वरूप त लिँदैन भन्ने आशंका जन्मिरहेको छ । त्यसैले यो बिषयलाई उठान गर्न सान्दर्भिक देखेँ ।’
एउटा चेतनाबाट निर्देशत भएर लेखेकै कारण पनि आफ्नो लेखनले समाजमा प्रभाव छोडिरहेको उनको ठहर छ । उनी भन्छन्, ‘त्यो राजनीतिक चेतना नै हो, तर दलीय राजनीति होइन । मैले ४० सालमा कविता लेखेको थिएँ– मेरो देशको घडीमा बाह्र बजेको छ भनेर । अहिले पनि अवस्था उस्तै छ, मेरो देशको घडीमा बाह्र नै बजिरहेको छ । काँटा अड्किरहेको छ ।’
उनको केही समयअघिमात्रै यात्रा संस्मरण ‘रेड स्क्वायर’ आएको छ । त्यसमा पनि उनले आफ्नो राजनीतिक चेतनाको प्रकटीकरण गरेका छन् । उनले भने, ‘मैले त्यसमा पहिलेका कम्युनिष्ट शासन र कम्युनिष्ट शासनपछिको रुस दुवैमाथि प्रश्न उठाएको छु ।’
अब उनको ‘ग्रेट फल्स’ उपन्यास आउँदैछ । त्यसमा पनि उनले कुनै पनि कारणले अमेरिका गएर बसेका मानिसको कथा छ । त्यो पनि कुनै न कुनै ढंगले राजनीतिक चेतनासँगै जोडिन्छ । 

निरन्तर सन्तुलन, अबको चुनौती
राष्ट्रिय रूपमा धराबासीले जति उचाइ लिनुपर्ने हो लिइसकेका छन् । अब उनको ध्येय त्यसलाई कसरी ‘मेन्टेन’ गरिराख्ने भन्नेमा छ । त्यसो त उनी आफूलाई त्यस्तो विशिष्ट ठान्दैनन् । ‘लीलालेखन’ले भन्छ, ‘अभिमान, अहम् वा म भन्ने कुरा केही होइन ।’ उनी त्यसैलाई पछ्याउँछन् । उनी भन्छन्, ‘त्यो चेतनाले मलाई आफूलाई सम्बोधन गर्दा म त भन्नै पर्यो । तर अरूले जे देखिरहेका, सोचिरहेका छन् । त्यो म होइन भन्ने पनि बोध छ । त्यो त समाजले मलाई दिएको महत्वमात्रै हो । मैले त समाजकै कुरा लेखेको हुँ । त्यसमा मैले कलामात्रै प्रयोग गरेको हुँ । त्यसैले म पनि सामान्य मान्छे हुँ ।’
आफूलाई सामान्य मान्छे हुँ भन्ने तर्कलाई अझ पुष्ट पार्न उनी भन्छन्, ‘मेरो पनि अरूको मनमा जस्तै इच्छा र लोभ छन्, पाप र अलिअलि षड्यन्त्र गर्ने, धोका दिने चरित्र पनि होला मेरो ।’ तर जब उनी लेखनको कुरा आउँछ, त्यसमा उनी विशेष हुन् नै । त्यसैले लेखनमा उनले साधारण मान्छेभन्दा माथि उठ्नुपर्छ । उनको अबको सपना पनि त्यही हो कि आफूलाई माया गर्ने मानिसले आफ्नो क्रियाकलापले दुःख नलागोस् । 
धराबासीले अहिले जुन उचाइ साहित्यमा प्राप्त गरेका छन्, त्यो उनको सपना कहिल्यै थिएन । यो उचाइको परिकल्पना गरेर उनले साहित्य सुरु गरेका पनि थिएनन् । त्यसैले उनलाई अहिलेको स्थानमा ‘थाहा नपाइकन दाह्रीजुँगा बढेजस्तो’ पुगेकोझैं लाग्छ । यसैमा उनी गौरव गर्छन् । ‘कहीँ पनि नेपाली भाषी व्यक्ति भएको स्थानमा अभर पर्दैन । त्यो साधारण मानिसले पाउँदैन । यो मेरो जीवनको ठूला उपलब्धी हो’, उनी भन्छन् ,‘त्यसैले अब मैले अहिलेसम्म पाएको इज्जतको स्तर धान्ने लेखन गर्नु जरुरी छ । त्यो मेरो लागि चुनौती हो । किनकि मैले पहिलेभन्दा कमजोर नलेखेरमात्रै त्यो स्तर सन्तुलन गर्न सक्छु । त्यसैका लागि प्रयत्नरत छु ।’
܀܀܀
✍ कला अनुरागी
साभार : रातोपाटी


Comments