अभि सुवेदीसँग दसैँ-संवाद

अभि सुवेदी नेपाली साहित्यमा कुनै परिचय दिइरहनु पर्ने नाम होइन । साहित्य, समालोचना र रंगमञ्चका एक शिखर हुन् उनी । हरेक बिषयलाई काव्यिक र दार्शनिक अभिव्यक्ति दिने सुवेदीका हरेक भनाई सन्तका जस्ता लाग्छन् । पूर्वी नेपालमा जन्मेर विश्वका धेरै देश घुमिसकेका सुवेदीसँग दसैं-संवाद गरिएको छ:

🆀 तपाई साहित्यकार, त्यसमा पनि पश्चिमा दर्शनका गम्भीर अध्येता समालोचक । धार्मिक मिथकसँग जोडिएको दशैंलाई कसरी हेर्नुहुन्छ ? 
➲ संकट र प्रेमको संगम हो चाडपर्व । जब मान्छे चाडपर्व मान्दिनँ भन्छ नि, त्यसले एककिसिमको खतरा मोलिराखेको हुँदोरहेछ । मैले यूरोपमा पढें । क्याम्ब्रिज विश्वविद्यालयमा सन् १९७९को क्रिसमसमा मलाई निम्ता गरे लेखक कवि साथीहरुले । मैले सोचें– यस्ता नास्तिक छन् । स्वतन्त्र छन् । कसरी के मनाउलान् ? तर म जाँदाखेरी किङ्स कलेजको संसार प्रसिद्ध क्वायर गाउँदै रहेछन् (गाएर सुनाउँदै) । उनीहरुले एकदमै उदात्त भावना बनाउने गरी गाए । अर्धमुदित नयनमा ती पूरा आस्थावादी देखिए । त्यस्ता नास्तिक, स्वतन्त्र, फ्लानरले मनाएको देखेपछि मलाई महसुस भयो चाडपर्वको महत्व । अनि मैले आफ्ना चाडपर्व सम्झिएँ । त्यसले मलाई चाडपर्वप्रति निकै श्रद्धा उत्पन्न भयो । मलाई धर्मकर्ममा खासै केही गर्नु त छैन । तर चाड मान्छु । हामी वर्षभरि अनेकौं संकटको तीब्रताबीच गुज्रिराखेका हुन्छौ‘ । तर चाड त्यस्तो क्षण हो, जहाँ हामी अडिन्छौ, भेट्छौं, प्रेम, स्नेह र श्रद्धाको कुरा गर्छौ‘ । खासमा चाड पनि शिक्षाकै खण्ड रहेछ । दशैंलाई पनि म त्यसरी नै लिन्छु । 
उत्सवलाई जहिल्यै पनि धर्मसँग जोड्दा रहेछन् मान्छेले । कारण के हो भने चल्तीको धर्मले उत्सवको रचना गर्दो रहेछ । तर स्वतन्त्र मानिसको विश्वासले पनि चाडपर्ब वा उत्सव रचना गर्छ । नेवार संस्कृति र चाडपर्ब हेर्ने हो भने थाहा हुन्छ । नेवार संस्कृतिमा एकातिर स्थापित धार्मिक मानक भएका परम्परा छन् भने अर्कातिर स्वतन्त्र काव्यिक किसानको जीवनमा आधारित चाडपर्व छन् । लाखे, भैरव नृत्यदेखि देखि लिएर विभिन्न समयमा मनाइने उत्सव त्यसको प्रमाण हुन् । ग्रिसमा नित्सेले डाइनोसियन र एपोलोनीयन भनेका छन् । नेवार संस्कृतिमा डाइनोसियन प्रवृत्तिका उत्ताल नृत्य गरिने चाड छन् भने चट्ट मिलेको शान्त प्रकृतिका उत्सव पनि छन् । ती दुवैको संगमबाट नै जीवन बनिरहेको हुन्छ । त्यसैले म नेवार संस्कृतिको उपासक पनि हुँ । पश्चिमी संस्कृतिमा पनि त्यस्तै प्रकृतिका उत्सव हुन्छन् । 
खासमा, यो मानिसले धेरै महसुस गरेर आवश्यकताले नै रचना गरेको रहेछ । दैनिक दौडधूपको तनावबाट मुक्त हुन, दु:खबाट टाढिन र द्वन्द्व बिसर्जन गर्न मान्छेले यस्ता क्षण रचना गर्दारहेछन् । त्यसैले चाडपर्वमा मानिस खुशी हुन्छन् । त्यसको प्रतिकस्वरुप बत्ती बाल्छन् । त्यो चाहे क्रिसमसमा होस्, या दसैं तिहारमा । दसैंलाई पनि मैले त्यस्तै क्षण मान्छु । 

🆀 तपाईं पूर्वमा जन्मीहुर्केको, राइ लिम्बु समुदायको सरसंगत गर्नुभएको । राई लिम्बु समुदाय त दसैं नमनाउने अभियानमा छन् । तपाइलाई चाहिं कस्तो लाग्छ ? 
➲ गत बर्ष तेह्रथुम जाँदा धेरैले मानेकै पो देखे । केहीले बहिस्कार पनि गरे । नमनाउने भनेर विरोध गर्नुको चाहिं राजनीतिक अर्थ छ । समाजलाई दबाउने क्षेत्री, बाहुन र कति मात्रामा चाहि स्थानीय नेवारको संस्कृति भएकाले मान्दैनौं भन्ने अर्थमा लिइएको हो । यो सामाजिक र सांस्कृतिक विद्रोह पनि हो । त्यसलाई सकारात्मक रुपमै लिनुपर्छ । तर मान्नेको पनि अधिकार हुन्छ । हाम्रोतिर चाहिं क्षेत्री, बाहुन र नेवारले भन्दा राम्रो दशै‘ त लिम्बुहरूले मान्थे । रंगीन पोशाक लगाउथे । पिङ्ग खेल्थे । ख्याली गाउँथे । संस्कृति उनीहरुकै थियो, तर यो अवसरलाई उपयोग गर्थे । टिका लगाउन जाने, सुंगुर काट्ने लगायतका क्रियाकलाप हुन्थे । उनीहरूले जस्तो सुन्दर तरिकाले कसैले पनि दशै मनाएको देखेको नै छैन मैले आजसम्म । नमान्ने कुराचाहिं सामाजिक राजनीतिक छलफलको कुरा हो । 

🆀  दसैंको खास रोमाञ्च के हो ? 
➲ दसैंको खास रोमाञ्चक भनेको बिश्राम नै हो । हामी समय व्यवस्थापन गर्न जान्दैनौं । बिदाको बेलाचाहिं काम गर्छौ र काम गर्ने बेला मस्त बसिदिन्छौं । मुड छैन भनिदिन्छौं । यसले मानिस एकप्रकारको तनावमा हुन्छ । त्यो तनाव हटाउन सम्पूर्ण रुपले फुर्सदको क्षण रचना गर्नु नै यसको रोमाञ्च हो । 

🆀 दसैं र उमेरको सम्बन्ध हुन्छ कि हुँदैन ? एउटा मान्छे बच्चा, युवा र पाको उमेरमा दसैंमा उत्तिकै रमाउन सक्छ कि सक्दैन ? 
➲ सफल चाडपर्व हो भने एउटा पुस्ताको मात्रै हुदैन । दसैंमा पनि सबै खुशी हुन्छन् । खुशी हुने तरिका चाहिं फरक फरक होलान् । आजभोलि दसैंमा बुढाबुढी जति खुसी अरु कोही हुदैनन्जस्तो लाग्छ मलाई । किनभने छोराछोरीले छोडेर हिडेका हुन्छन् । दशैमा मात्रै फर्किन्छन् । त्यसैले बाबुआमा कहिले दशै आउला भनेर कुरेर बस्छन् । त्यो जति खुशी त फर्किने पनि हुदैन । 
पश्चिमा देशमा क्रिसमसलाई केटाकेटीको पर्व भनिन्छ । सजाइएका उपहार, शान्ता क्लज, सजाइएका रुखहरु तिनैलाई आकर्षण गर्ने किसिमका हुन्छन् । उनीहरु नाच्छन्, गाउँछन्, रमाइलो गर्छन् । तर तिनको खुसीलाई आफ्नो खुसीमा जोडेर बयस्कहरु पनि सहभागी हुन्छन् । त्यसो गर्दा चाड सबैको बन्छ । 
त्यसकारण उमेर अनुसार त्यसलाई भोग्ने र ‘रेस्पोन्स’ गर्ने तरिकाचाहिं फरक हुन्छ । तर पर्वको खुशीचाहिं खासै फरक हुँदैन । नेवार समुदायका हरेक पर्वमा बच्चादेखि बुढासम्म एकनासले उत्तेजित भइरहेका हुन्छन् । त्यो पर्वको शक्ति हो ।  

🆀  कुनै त्यस्ता घटना छन् जीवनमा, जसले सँधै तपाईलाई दसैं सम्झाउँछ ? 
➲ म आमासँग कहिल्यै टाढा हुन नचाहने दसैंमा । एकबर्ष पहिलो पल्ट आमाबाट टाढा भएँ, बिद्यार्थीकालमै । दसैंको बेला आसामतिर घुम्न निस्कें । सिलोङसम्म पुगें । त्यहाँ हरेक दिनजसो बडो पीडा भयो । सोचें– दसैंभन्दा ठूलो केही छैन ? 
त्यसैबेला म त्यहाँको एउटा ठूलो चर्चमा पुगेछु । त्यहाँ मरेको मान्छेको संस्कार गरिरहेका थिए । उनीहरुलाई दसैंको केही मतलब थिएन । त्यतिबेलासम्म मलाई धर्मको भेद पनि थाहा भएन । त्यसपछि मलाई यो पनि कुनै धर्म विशेष मान्नेको चाड रहेछ भन्ने अनुभूति भयो । अनि आफ्नो चाडमा आफू सहभागी हुन नपाएकोमा निकै पीडा भइरह्यो । 
त्यस्तै पीडा र शुन्यता आमा वितेको वर्ष अनुभव भयो । आमा बित्नु भएको सालको दशैंमा म विश्वयात्रा थिएँ, अन्तराष्ट्रिय थिएटरको काममा । त्यो बेला अन्तराष्ट्रिय हवाइजहाजमा, विदेशी भूमीमा खुब दशैं सम्झें । हुन त नेपाल बस्नुको पनि कुनै अर्थ थिएन । किनकि दसै मान्न सक्दैनथें । 
त्यसकारण पर्व बिशेष संगम रहेछजस्तो लाग्छ । दसै आउदा परिवारसँग छैन भने म भित्र एउटा खाली बसिरहन्छ, म चाहि त्यहाँ छैन भन्ने । दसैं एउटा ‘लिंक’ पनि रहेछ । त्यसो त जुनै पनि पर्व त्यस्तै हो । क्रिसमसका बेला कतिपय बाहिरका साथीहरु आउछन् । बडो एक्लो अनुभूत गर्छन् । त्यसैले भ्याएसम्म उनीहरुसँग बसेर उत्सव गरिदिन मन लाग्छ । 

🆀 दसैंसम्बन्धी रोमाञ्चक स्मरणहरू धेरै होलान् बाल्यकालका, युवाकालका । केही प्रतिनिधि सन्दर्भ सम्झनुस् न । 
➲ लिम्बु दाइहरूसँग मनाएको दशैंका रोमाञ्चक सम्झना छन् । उहाँहरूले बाँसाको लिंगे पिङ्ग बनाउनुहुन्थ्यो । रंगीन पोशाक लगाएर नाच्नुहुन्थ्यो । म पनि उहाँहरुसँगै हुन्थें । त्यो उत्सवको क्षण कहिल्यै बिर्सने छैन । उहाहरुले मनाउन छोड्नुहोला । तर पनि मेरो सम्झनामा भने बसिरहन्छ । 
एउटा दसैंमा चाहिं मैले नदेखेका तर अरुले भन्ने गरेको मेरो एक जना मामा अकस्मात आउनुभयो र टिका लगाइदिनुभयो । रोएको थिएँ त्यस दिन । भित्रदेखि पग्लिएर रोएँ । 

🆀 मान्छे केका लागि मनाउँछन् यस्ता पर्व ? 
➲ त्यसैले चाडपर्व मनाउनु चानचुन कुरा होइन, ठूलो कुरा हो जस्तो लाग्छ मान्छेको जीवनमा । जसले पर्व नै मनाउदैन । त्यो मान्छे स्वतन्त्र, फ्रिक मान्छे हो । कोही कोही हुन्छन्, त्यस्तो मतलबै नराख्ने । तर बिशेष जीवन हुन्छ तिनीहरुको । त्यस्ता मान्छे थोरै हुन्छन्, ‘लोन्ली’ हुन्छन् । त्यसो हुनाले पर्व सामाजिक बन्धन पनि हो । यसमा सामाजिक ‘सेयरिङ’ हुन्छ । ‘शेयर’ गर्न सजिलो होस् भनेर बिम्ब बनाउछन् मान्छेले चाडमा । लाखे बनाउनु,  दुर्गाको मूर्ति बनाउनु वा क्राइस्ट र मेरीको चित्र बनाउनु सेयर गर्नु हो । त्यसले भावनालाई साझा बनाइदिन्छ । सैद्धान्तिक रुपमा भन्दा ‘भिज्युअल शेयरिङ’ हो त्यो । यसैका लागि विम्बहरु बनाइन्छन् । जसको लेख्य संस्कृति छैन । अक्षर र लिपी छैन, त्यस्ता जाति धेरै घने नेपालमा । तिनीहरुले पनि भव्य रुपमा मनाउछन् चाड । त्यसमा ‘भिज्युअल शेयरिङ’ गर्छन् । नृत्य, गीत, रंग, विभिन्न प्रस्तुति, रंगीन पहिरन आदिले त्यो शेयरिङलाई जीवन्त बनाउँछ । 

🆀 दसैंमा तपाइले सँधै ‘मिस’ गर्ने कुरा के हो ?
➲ मेरा आफन्तहरु टाढा–टाढा पनि छन्, हुन्छन् स्वाभाविक हो । दसैंमा उनीहरुलाई खुव मिस गर्छु । उनीहरु घर आइ दिए हुन्थ्यो जस्तो लाग्छ । धेरै वर्षदेखि बाहिर बसिरहेकाहरु फर्किदिए हुन्थ्यो कि जस्तो लाग्छ । बुझ्छु, गाह्रो हुन्छ फर्किन तर मनमा त्यो लागिरहन्छ । त्यस कारण पर्व अपूर्णता पनि हो । मान्छेले यसमा पूर्णताको खोजी गर्छ । तर त्यही बेला अपूर्णता पनि महसुस गर्छ । 
मेरी दिदी डेढ वर्ष अघि वित्नुभयो । तिहार आउँछ, म अपूर्णता अनुभूति हुन्छ । दिदी नवित्नु भएको भए भन्ने लागिरहहन्छ । अरु दिदीहरू छन् तर त्यही दिदीको सम्झना आइरहन्छ । त्यस्तो पूर्णताको खोजी हुन्छ यस्ता चाडमा । 

🆀 तपाईंले बाल्यकालमा अनुभूत गरेको दसैं र अहिलेको दसैंमा के फरक अनुभूत गर्नुहुन्छ ?
➲ भिन्नता त हुने भइ गयो नि । म गाउँमा जन्मेको । मेलै भनिहाले अघि नै । लिम्बु संस्कृतिसहितको दशैं मनाएको ठाउँमा हुर्केको । आमासग आफ्नो जन्मथलोमा बसेर दशैं मनाएको मान्छे । हुँदा–हुँदा दाजिलिङ्ग गइयो । काठमाडौ,  धरान, विराटनगरमात्रै होइन, बेलायत गइयो । त्यहाँ पुग्नु भनेको अलग हुनु हो । त्यहाँ फरक अनुभूति भइहाल्छ । 
काठमाडौमा दशैं त मनाइन्छ नि । तर गाउँमा जस्तो हुँदैन । सबैलाई आफ्नै ठाउँमा मनाएको चाडपर्व सबैभन्दा उत्तम हो भन्ने मनमा बसिराखेको हुन्छ । मभित्र पनि त्यो छ । त्यसैले फरक हुन्छ । तर पनि खुशी हुन्छु । किनभने म स्वभावैले नकारात्मक मान्छे होइन । केही नकारात्मक कुरा आयो भने त्यसलाई काव्यिक भावनाले छोपिदिन्छु । त्यसलाई आवद्ध गर्छु, अंकमाल गर्छु । त्यसभित्रको काव्यिकता हेर्छु । त्यसैमा एकप्रकारको धून सुन्छु, सारंगी सुन्छु । मुरली सुन्छु । र, खुशी खोज्छु । 

🆀 दसैंको सबैभन्दा चित्त नबुझ्दो कुरा केही छ ? 
➲ मान्छेले नचाहिने खर्च गर्ने कुरा मन पर्दैन । धेरै पशु बलि गर्ने, लाइन लगाएर रगतको खोलो बगाउने कुरा पनि निको लाग्दैन । प्रेम प्रकट गर्नुपर्ने पर्वमा अनेक सन्दर्भ जुटाएर दुव्र्यवहार गर्ने, मान्छेको अपमान गर्ने, कसैले मनाएको पर्वलाई तिरस्कार गर्ने क्रियाकलाप भइरहन्छन्, त्यो पनि राम्रो लाग्दैन । म मनाउदिनँ भन्न र नमनाउन पाइन्छ । तर मैले अरुको सम्मान त गर्नुपर्छ नि भावना हराउँदै गएको चाहिं मलाई चित्त बुझ्दैन । सबैको अधिकारको सम्मान गर्नुपर्छ । 

🆀 दसैंजस्ता चाडपर्वले जीवनशैलीमा पार्ने प्रभाव चाहीं के हो ? 
➲ यसले मानिसलाई ताजगी दिन्छ । फुर्सदमा बसेर योजना बनाउँछन् । आफ्नो अन्तर्यको कुरा सुन्छन् । जसले त्यसमा आस्था राख्छ, राख्दैन । कसैले महिषमर्दिनी देवीले महिषासुर मारेकै कथामा विस्वास गर्छ कि गर्दैन अलग कुरा हो । तर कमसेकम भेटघाट गर्छन् । आपसमा संवाद गर्छन् । त्यसले मित्रता बढाउँछ । भेट नै नभएपनि पहिले चिठीमा शुभकामना आदानप्रदान हुन्थ्यो । अहिले इमेलमै भएपनि शुभकामना लेख्छन् । अहिले अलि भिज्युअल र भच्र्युअल भएको छ दसैं पनि । भर्चुयल दशैंमा ज्यान हुदैन तर पनि सम्झना त हुन्छ । 

🆀 आजभोलि यस्ता चाड भच्र्युअलमात्रै भएका हुन् ? 
➲ अलि बढी भच्र्युअलचाहिं भएकै हुन् । भच्र्युअलमा घटना हुन्छ, दृष्टि हुन्छ, इमेज हुन्छ तर ज्यान हुँदैन, श्पर्श हुदैन । श्पर्शबाट जति टाढा गयो, त्यो त्यति नै मृत हुन्छ । तर पहिले भेट नभए कुनै संवाद हुँदैनथ्यो । अहिले त भेटै नभएपनि त्यसैबाट भए पनि ‘विस’ गर्छन् । लेख्छन्, ‘के गर्नु भेटे जस्तो त हुदैन । तर पनि हार्दिक शुभकामना छ । यही मेलबाटै मात्रै भए पनि ।’ विदेशमा रहेका मेरो विद्यार्थी अझ, महिलाहरुले यस्तो भावनात्मक मेल गर्छन् । उनीहरु बढी संवेदनशील र स्नेहालु भएकाले पनि होला । लेख्छन्, ‘सर नै अगाडि भएजस्तो त हुँदैन । तर टाढैबाट भएपनि सम्झेका छौं ।’ जे भएपनि सम्झना त मर्दोरहेनछ नि । 
܀܀܀
प्रस्तुति : कला अनुरागी
साभार : नुवागी मासिक

Comments