अर्ती


आफ्नै हृदयको मसीले
आफ्नो हक लेख्न
संविधानसभामा पुगेपछि
गर्वले कोटको खल्तीमाथि खिलेको
सभासद्को फुली झर्ने गरी
जब सोठ्यायो सत्ताको लौरोले
छिनमै रिसले फुल्दै
छिनमै निराशाले खुम्चदै
डेरा फर्केको सभासद् नातिलाई
हजुरबा लालविर विश्वकर्माले काँधमा थपथपाए
र, भने–
‘हेर् नाति !
यिनीहरुको खप्परभित्र
जुन सिनो गिदी छ
त्यसको कुहिगन्ध मैलेजति
कसले सहेको होला र ?

दिनदिनै बढिरहेको दुःखको घारी
उस्सै छोडेर
हामी जिन्दगीभर हिड्यौं
सालघारीमा गोल पोल्न
र, सुकाएर आफ्नो रगत गोलको रापमा
पगालीरह्यौं यिनीहरुकै हृदयजत्तिकै कठोर फलाम
बजारिरह्यौं घन
र, बनाइदियौं यिनीहरुकै लागि हतियार
आफ्नै भविष्यको धार भुत्ते छोडेर
अर्चापिरह्यौं तिनै हतियार ।

हतियारको बलमा भए शक्तिशाली
र, घन बजारीरहेछन् हाम्रो टाउकोमा,
हतियारकै धारले धारिला भए
र, रेटिरहेका छन् मानवताको घाँटी ।

राम्ररी थाहा छ यिनीहरुलाई
हामीले छोएपछि पानी
कसरी पाइन बनेर चढ्छ हतियारमा
र, बन्छ धारिलो
त्यसैले दिदैनन् पानी छुन ।

यिनीहरुले देखेका छन्
हामीले चलाएपछि खलाँती
कसरी पाउँछ कोइलाले आगोको जीवन
पग्लन्छ फलाम,
र, बन्छ हतियार
जसलाई चलाउने पहिलो शिल्पी
हामी नै हौं
हामीसँगमात्रै छ त्यसलाई चलाउने अब्बल सीप
त्यसैले पस्न नदिएका हुन्
हतियार लुकाइएका यिनका चोटाकोठा ।

तेरो बा बुझ्दै थियो यो कुरा
तर, के सहन्थे
सिध्याइदिए उसलाई हामीले नै बनाएको हतियारले
अब तैंले कुरा बुझेको
पटक्कै चित्त परेको छैन यिनीहरुलाई
अझ तेरो कुरा दुनियाँले बुझेको त
किन पो सहन्थे र ?
होस गर्नुपर्छ है नाति
हामीले अब खुब होस गर्नुपर्छ ।

तँलाई हुर्काउन मलाई
कम्ति सकस परेन
अब त तैंले पनि हुर्काउनुपर्नेछ
एउटा कलिलो भविष्यलाई ।

पुरानो आरन
जिजुबाजेकै पालादेखिको छँदैछ
जसले गालिहाल्छ फलाम
नयाँ आरन
तैंले आर्जेको छँदैछस्
जसले बालिहाल्छ विचारको आगो ।

सुन् नाति,
हामीले हाम्रै लागि हतियार बनाउने बेला भइसक्यो
अब त अबेर पो भइसक्यो’

हजुरबाको अर्ति सुनेको भोलिपल्टैदेखि
नाति सडकमा कोट फुकालेर आएको छ
हजुरबा आरनमा व्यस्त छन् ।
܀܀܀
✍ कला अनुरागी
साभार: शुक्रबार (१८ भदौ, २०७२)



Comments