अन्तिम प्रेमपत्र


बस्, सोचिरहन्छौ हरपल
के के सकिन्छ बेच्न
र, सकिन्छ किन्न कृतिम सुख ।

क्रुर बुल्डोजरले
विवेक खँडेरी परेको मस्तिष्कको आदेशमा
नलीहाड, मेरुदण्ड र टाउकै खल्बल्याएपछि
पहाडमा होस् या जीवनमा
बर्षा हुँदा होस् या घाम चर्किदा
जान सक्छ भयानक पहिरो
पुरिन्छन् त्यसभित्र
सपना गोडमेल गरिरहेका
सयौं हात
रोकिन्छ गति
नदीको होस् या जीवनको ।

तिमी सोचिबस्छौ
त्यही पहिरो पनि सकिन्छ बेच्न ।

पहिरोले गति रोकेको
नदीतालको किनारमा उभिदा
खोसिदिन्छ तिम्रो दृष्टि
आफ्नै सोचको कुरुप भुँइकुहिरोले
र, तिमी देख्दैनौ
मिसिएको छ त्यहाँ
अत्यासको क्रुर हातले
सग्ला जीवनबाट निचोरेको रगत,
न देख्छौ मिसिएको
बालक उज्यालोको हाडमासु
र, सपनाको अनुवाद पर्खेर
क्षितिजतिर हेरिरहेका आँखाका आँशु ।

नाफाको चर्को तापले
सुकाइसक्यो तिमीभित्र संवेदनाको मूल ।

ताललाई पृष्ठभूमीमा पार्दै
मुस्कराइरहेको ‘सेल्फी’ खिचेर
‘अपलोड’ गरिसक्यौ ‘फेसबुक’मा
डुंगा चढेर लियौ खुब आनन्दस
नभेटिएपछि पहिरोले पुरिएका सयौं मान्छे
कुशको शव बनाएर
अन्तिम संस्कार गर्नुअघि नै
गरिसक्यौ आफ्नै मुटुको दाहसंस्कार
आफ्नै मस्तिष्कको शबदहन ।

गरिबस्छौ परिकल्पना
खुब भीड लाग्नेछ त्यहाँ पर्यटकको ।

तिमीलाई बनाउनु छ अब
तालको डिलैडिल फूलबारी
वारि र पारी खोल्नु छ
‘लेक भ्यू रिसोर्ट’
र, बेच्नु छ सबथोक ।

त्यसबेला म तिम्रो प्रेमिका होइन
हुनेछु केवल बेचिने एउटा बस्तु ।

जहाँ पुरिएका छन् नि सयौं मानिस
त्यसको ठिकमाथि
निर्माण गर्नु छ तिमीलाई
आफ्नो बिशेष च्याम्बरस
जहाँबाट बत्तिदै आएको विचार
सवार छ तिम्रो मस्तिष्कमा
त्यतैबाट आएकी गोरीलाई
बनाउनु छ नयाँ प्रेमिका
र, लिनु छ सयौं मान्छेको कंकालमाथि
सम्भोगको ‘एड्भेन्चरस्’ चरमआनन्द ।

उफ्, तिमी मान्छे नै रहेनौ
म मान्छेलाई मात्र प्रेम गर्न सक्छु ।
܀܀܀
 कला अनुरागी
साभार: शुक्रबार

Comments

Popular posts from this blog

'राजनीतिमा महिलामाथि ‘इमोसनल ब्ल्याकमेल’ गरिन्छ'

Philosophy of Fearism