मध्यरातमा रातो गुलाफ



 Youtube

राती १० बजेर चार मिनेट जाँदा एउटा नम्बरबाट मेरो मोबाइलमा मिस्ड कल आयो । मैले कल ब्याक गरिनँ । म किन कल व्याक गरुँ नचिनेको नम्बरमा, मेरो मनले भन्यो । बस् मैले मनको कुरा मानिदिएँ । आखिर आफ्नै मन न हो ।
फेरि, दश बजेर ३८ मिनेट जाँदा त्यही नम्बरबाट कल आयो । दश बजेपछिको फोन म सितिमिति उठाउँदिनँ । कि मलाई त्यो नजिकको, नाताको होइन, मनको नजिकको, मान्छे हो भन्ने लाग्नुपर्छ कि त इमर्जेन्सी कल हुनुपर्छ । इमर्जेन्सी हो भने दोहोर्याएर फोन आइहाल्छ, पहिलो चोटी त इमर्जेन्सी भनेर कसरी थाहा पाउनु ?
हिजोआज म पनि कम्ता मनमौजी भएको छैन । चिनेको होस् या नचिनेको मान्छेले गरेको, मन लागेमात्रै उठाइदिन्छु फोन । त्यसैले अक्सर साइलेन्समा राख्छु ।
तर आज केही फरक भएको छ । त्यही अघिको नम्बरबाट एघार बजेर ३५ मिनेट जाँदा म्यासेज आयो । म्यासेजको भाषामा कसैको सुवास नआएको त होइन, तर विश्वस्त हुने आधार त के छ र ? थोडी, सुवासको रंग हुन्छ र पहिचान गर्न ?
मैले नचिनेको व्यहोरा टाइप गरेर पठाइदिएँ त्यही नम्बरमा । त्यसको फिर्तामा पठाइएको म्यासेजको अन्तिममा क्यापिटल लेटरमा लेखिएको कोड अक्षरले सुवासलाई गाढा मात्रै बनाएन, हजारौं थुंगा गुलाफको बुके मेरो सामुन्ने ल्याइदियो ।
यो पटकथापछि उनीलाई ‘हजार थुंगा गुलाफको बुके’ भनेर सम्बोधन गर्न मन लाग्छ । किनकि ‘मन त मौजी छ नि ।’
अब एउटा पागल म्यासेज उनको इन्बक्समा प्रबेश गरेर मुस्कुराइरहेको छ –‘आइ लभ योर वाइल्ड थट एन्ड लभ यू सो मच । आई वान्ट मीट यू, हग यु एन्ड किस यु माई डियरेष्ट पर्सन ।’ यति राती एउटा पागलले मात्रै लेख्न सक्छ यस्तो पागल म्यासेज । र... र... र... एउटा पागललाई मात्र लेख्न सकिन्छ । ख्यालख्यालमै मैले उनीलाई पागल बनाएँ । र, त भन्दा रै’छन्, आफू जस्तो छ संसार त्यस्तै देख्छ भनेर ।
त्यसपछि मैले उनलाई कल गरें ।
‘त्यसैले त भन्न मन लाग्छ – आइ लभ यू’
यी शब्दहरु मेरो कानमा दृश्य बोकेर आइपुगे । यी शब्दहरु सँगै उनको हल्का थर्थराइरहेका पातला र मीठा ओठहरु, उनको हृदयको सितारको तारबाट निस्किएको मीठो तर अनौठो झंकार र त्यसले स्वरले उत्पन्न गराएको मीठो लयालुपनको चित्र मेरो हृदयमा प्रदर्शन भयो ।
‘आइ लभ यू टू’– उनले प्रतिउत्तर पाएकी थिइन् ।
आखिर यो सब के हो ? कसैले प्रश्न गर्यो नेपथ्यबाट मलाई ।
‘जब हृदयको आलीबाट भावनाको उत्ताल छाल समाहा नखोजीकनै गराहरुमा फाल हान्न थाल्छन्, तब सम्बन्ध परिभाषाको आली नाघेर, सम्बोधनको घेरा तोडेर, सिमाहरुको हदबन्दी उल्लंघन गरेर फरार हुन्छ । प्राचीन काव्यहरुमा वर्णन गरिएका शब्दहरु स्वर्गीय र अनुपम विशेषण मिसिएको प्रेम त्यहीँ जन्मन्छ ।’ उनले रातो गुलाफको घुम्टो हालिदिएको मेरो हृदयले नै जवाफ दियो, मैले केही बोल्नै परेन । ओ, मेरी रातो गुलाफ ! के तिमी मेरो हृदयले दिएको जवाफसँग सहमत छ्यौ ? यसो पनि भन्नै परेन ।
उनको सहमति या असहमति नकुरीकनै हृदयका शब्दहरु उनका सपना बोकेका आँखाका ढक्कनहरुमा, उनका सुन्दर र मीठा ओठहरुमा र उनका कानका कोमल लोतीहरुमा भावनात्मक काउकुती लगाउन पुगे ।
एक घन्टा सात मिनेट १३ सेकेन्डको डक्का र अरु १० मिनेटजतिको खुद्रा कुराकानीमा उनी धर्तीमा थिइनन् र म पनि ।
थाहा छ ? सवा एक घण्टा कसरी दुई मिनेटमा खुम्चिएछ, प्यासमा बुँद तप्किन नपाउँदै उनको मोबाइलमा चार्ज सकियो । र, यो कथा सुरु भयो ।
 Youtube

Comments