प्रचण्डलाई प्रेमपत्र

 Youtube


यतिबेला मलाई तिमीसँग पहिलो पटक हात मिलाएको गहिरो याद आइरहेको छ । मेरा मसिना हातलाई तिमीले यसरी पक्रेका थियौ कि मैले मेरो नौनाडीमै झड्का महसुस गरेकी थिएँ । तिमी आफ्नो सम्पूर्ण बल हातमै बोकेर हिँड्छौ, मलाई त्यतिबेला त्यस्तै लागेको थियो । 
तिम्रा हात पनि मुलायम थिएनन् । ती हात मेरा बाका जस्तै खस्रा त थिएनन् । तर तिमी मेरा बाभन्दा धेरै सौखिन खानदानका थिएनौ भन्ने संकेत तिम्रा हातले दिन्थे । तिम्रो दाह्रीले तिमीलाई निकै चिन्तनशील देखाएको थियो, अनि तिम्रा आँखाहरू निकै गम्भीर थिए । तिमीलाई देख्दा लागेको थियो, कृषि विज्ञान पढेका तिमी मेरा बाजस्तै किसानका लागि जन्मिएका देवदूत हौ । जसले सदियौंदेखिको दुःखको जरो पत्ता लगाएर त्यसलाई निमिट्यान्न पार्न धर्तीमा आएका हौ । तिम्रा चम्किरहेका आँखा हेरेर म निकै रोमाञ्चित भएकी थिएँ । निश्चय पनि मलाई तिम्रो प्रेममा पर्नका लागि यति नै काफी थिए त्यतिबेला । 
म तिमीलाई त्यतिबेलै प्रेमपत्र दिन चाहन्थेँ । तर मैले तिम्रो आँखामा मप्रति पनि उत्तिकै प्रेम देखेँ । शायद, प्रेमको अघि त प्रेम झन् लल्याकलुलुक पर्दोरहेछ । मैले प्रेम देखाएँ हुँला, तर प्रेमपत्र दिने आँट गरिनँ । मात्र प्रेम गरिरहेँ ।
त्यसो त मेरो बुबाले आमाको गुन्यू ओडेर रात बिताउँथे, जब तिमी मेरो घरमा आउँथ्यौ । अनि तिमीलाई चाहिँ प्रेमपत्रझैं जतन गरेर न्यानो सिरकमा गुटुमुट पारेर लुकाउँथे । अनि मलाई मैले पोख्न चाहेको सारा प्यार तिमीलाई मेरै बामार्फत प्रवाह भइरहेको छ भन्ने आभाष हुन्थ्यो । अनि रोमाञ्चित हुँदै एउटा सुन्दर संसारको कल्पनामा हराउन पुग्थेँ ।
तिमी पनि त मेरो बा–आमालाई बख्खुजस्तै न्यानो सपना बाँड्थ्यौ र भोग्दै आएको पुख्र्यौली दुःखलाई पातपतिंगर बनाएर उडाउने आँधीको कथा सुनाउँथ्यौ । त्यो कथा सुनेर बा कति मख्ख पर्थे, मैले कम अनुमान लगाएँ । तर म भने उधुमै मख्ख पर्थें । मेरा बाका चिम्सिएका आँखा र चाउरिएको निधारमा सुखको फूल ढपक्क फुलेको कल्पन्थेँ । तिमी र बा कुराकानी गर्दा कहिलेकाहीँ यसरी हाँसिदिन्थ्यौ कि मलाई मेरो सपनाको संसार कतै परिलोकबाट वायुयान चढेर धर्तीतिर विस्तारै झरिरहेको छ किजस्तो भान हुन्थ्यो । जहाँ मेरा बा सुखको मखमली ज्वारिकोट लगाएर हाँसिरहेका हुन्थे, आमा छेवैमा आनन्दको गुलाफी पछ्यौरा ओढेर मुस्कुराइरहेकी हुन्थिन् ।तर, सपना र सुखको आयु त्यति लामो हुँदैन भन्छन् । मेरा सपना र सुखको आयु पनि उति लामा हुँदैनथे । तिमी रातमा आउँथ्यौ र भन्यौ– यो रात हाम्रो विरुद्धमा छ । यसले हामीलाई प्रगतितिर जान दिँदैन, हाम्रोबीच नाता कायम हुन पनि दिँदैन ।
बा र बाका साथीहरू तिमीसँगै मिलेर दाउरा चिर्थे र चिता बनाउँथे रातको अन्येष्टि गर्न । म पनि सघाउँथे सकेको । त्यसपछि रात जलेर खरानी भइरहेको र आफ्नो भाग्य ध्रुवताराजस्तै चम्किरहेको सपना देख्थ्यौं हामी । 
त्यति नै बेला काला सर्पहरू रातको रक्षा कवच भएर डस्न आइपुग्थे फुँकार छोड्दै । तिमी र तिम्रा साथीहरूसँग त हतियार थियो । त्यसैको बलमा कसो–कसो उम्किहाल्थ्यौ । तिम्रा साथीहरू पनि घानमा नपरेका त होइनन् । तर हामीहरू निशस्त्र थियौं । बा र बाका साथीहरू रातभर सर्पहरूसँग लुकामारी खेल्थे । दाह्रेगौंडाका ओढार र केराबारीका गुफाहरूमा उनीहरूको रात बित्थ्यो । म र आमा घरकै कुनामा गुँडुल्किएर एक शताब्दी लामो रात सास पनि जतनले फेर्दै बिताउँथ्यौं । 
तर अहिले समय बदलियो । तिमी हाम्रो आँखाबाट ओझेल परेको धेरै भयो । केही समयअघि तिमीलाई जोबाट जोगाएका थिए बाले, उसैले करङमै दखल पर्ने गरी मुक्का हानेछ बालाई । त्यो पनि तिम्रै नाम लिएर । त्यतिबेला बाले निकै नराम्ररी चित्त दुखाएका थिए । तर बाले तिम्रो नाममा त्यस्तो घटना त कति भोगे–भोगे । 
तिमीले भने हामीलाई आफ्नो ठान्नै छाड्यौ । मलाई त चटक्कै भुलिगयौ । बाले गरेको विश्वास र आस्थाले पनि रत्तिभर तिमीलाई तान्दैन आजकाल । 
जति चित्त दुखाए पनि बा तिमीलाई सम्झिरहन्छन् । भन्छन्, ‘ती अनेकौं रात अनिँदा आँखाले कोरलेका दुःखमुक्त जिन्दगीको सपनालाई कसरी चटक्कै भुलेर बस्न सकेको होला त्यो मान्छे !’ म बरू तिमीसँग रिसाएर बसेकी छु । भुलिदिन्छु अब, कोही देवदूत जस्तो मेरो प्रेमी थियो भनेर जस्तो लाग्छ । तर बालाई तिमीप्रति अगाध प्रेम छ । तिम्रोबारे कसैले नराम्रो भन्यो भने अझै नराम्ररी रिसाउँछन्, झगडै गर्न तम्सिन्छन् । मलाई मेरो प्रेमले भन्दा पनि बाको तिमीप्रतिको अगाध आशा र श्रद्धाले मुटु टोक्छ । के तिमी पनि मेरा बालाई सम्झन्छौ ? कि मलाई पनि सम्झिन्छौ निष्ठुरी ? 
तिम्रो पत्रको आशा त छैन, तर पनि कहिँ–कतै दूर क्षितिजमा अझै तिमीले भनेजस्तो सुन्दर बिहानीको लाली चढ्दै छ कि भनेर हेरिबसेकी छु । 
उही तिम्रो 

Comments