मदिराको साथ प्रियतमा




 Youtube
भोलि अंग्रेजी नयाँ बर्ष सुरु हुँदै थियो । त्यसको अघिल्लो साँझ । साथीहरू न्यू इयर इभको तयारीमा थिए । उनीहरूको छट्पटाहट हेर्दा लाग्थ्यो, कतिबेला साँझ पर्ला भनेर कुरिरहेका छन् । म पनि उत्तिकै छट्पटाइरहेको थिएँ, तर कुनै साँझको पर्खाइमा होइन । म त जूनको पर्खाइमा थिएँ । त्यो पनि धर्तीको जून । मेरी प्रियतमाको ।
सहर बसेको तीन बर्ष भइसकेको थियो । उनी भने गाउँमै थिइन् । गाउँको प्लसटुमा पढ्दै थिइन् । यसपालीबाट उनको गाउँको पढाइयात्रा सकिएको थियो । त्यसैले गाउँ गएको बेला उनीलाई भनेको थिएँ– अब काठमाडौंमा सँगै बस्ने गरी आए भइहाल्यो नि ।
उनी लाजले रातो भएकी थिइन् र मलाई त्यो लाजको लाली खुप मन परेको थियो । उनले हुन्छ या हुन्न केही भनिनन् त्यतिबेला । यत्ति भनेकी थिइन्– घरमा सल्लाह गर्नुपर्छ ।
उनी मेरी सानैदेखिको सहेली । तर उनको र मेरो बोलचाल हुन थालेको धेरै भएको थिएन । तर जति पनि बोलेको सम्झना छ, ती काफी छन् । भेटका फेहरिस्त त झन् अचम्म हुने खालका छन् । जस्तो कि, तिहारमा आयोजना गरेको देउसीभैलो कार्यक्रममा मैले भनेपछि उनी रातभरि नाचिदिइन् । सबैजना छक्क परे । अनि, हामी पधेंराबाट लुगा धोएर फर्किंदा अँगालाभरि लुगा लिएर घन्टौं गफिएको देखेर गाउँले छक्क पर्थे ।
त्यत्रो शक्ति कहाँबाट आउँदो हो ? तर जहाँबाट आएको थियो, त्यो हामीलाई थाहा भइसकेको थियो । हामी त्यही धागोमा जोडिएर आत्मीय भएका थियौं । त्यही प्रेमको धागोले । मलाई पछि थाहा भयो– यसरी केही नभनी, प्रस्ताव र स्वीकृतिको खेल नखेली पनि प्रेम त हुँदोरहेछ ।
त्यो साँझ उनी सँधैको लागि काठमाडौं आउने भएकी थिइन् । त्यो पनि मसँगै बस्ने गरी । परिवारले उनको लागि मात्रै एउटा सर्त राखिदिएका थिए, त्यसो भए बहिनीको पनि पढाइ बिग्रिएको छ, उसलाई पनि काठमाडौंमा सँगै राख् । उनले सहर्ष स्वीकारेकी थिइन् । उनको मनमा फुलेको खुशीको त्यो फूल संसारकै सबैभन्दा ठूलो थियो होला ।
साँझ पर्नै लाग्दा उनी आइपुगेको अनुमानमा म बसपार्क पुगेँ । उनी आइसकेकी रहिछिन् । भर्खरै मोबाइल सर्वसुलभ भएको थियो, मेरो मोबाइल आएपछि । पति त्यही कम्पनी एनसेल भयो । त्यसैले मसँगमात्रै थियो मोबाइल । उनीसँग थिएन । बसपार्क पुग्दा उनी अलपत्र परेर मलाई नै कुरिरहेकी रहिछिन् । मलाई देख्नेबित्तिकै उनी खुशीले दुई बित्ता उफ्रिन् । गम्लंगै अँगालो हालुँझैं भएको थियो होला उनलाई, मलाई पनि । तर छेउमै उभिएर चाउचाउ खाइरहेकी बहिनीको अगाडि हामीले त्यसो गर्न सकेनौं । आँखालाई मात्रै अँगालो हाल्न दियौं । उनको गह्रुँगो झोला बोकेर बहिनीलाई अघि लगाएर छास्स छुस्स जिस्किँदै उनलाई सँगसँगै हिँडाएर कोठामा पुग्दा झमक्क साँझ परिसकेको थियो ।
साथीहरूको फोन निकैचोटी आइसकेछ । उनलाई भेटेपछि मैले जिन्सको खल्तीमा घुसारिएको मोबाइलको धून सुन्नै छाडेछु । घर आएर हेर्दा पो थाहा भयो बाह्र जति मिसकल आएको थियो ।
मैले कल ब्याक गरेँ । अरुले सुन्नै नहुने गाली गरेर मलाई साथीले थर्कायो । मैले पचाएँ । र, भनें, ‘यसपालीलाई यस्तै भयो । मेरो साथी आएको छ घरबाट । आउन नमिल्ने भयो ।’
केटाहरूले माने पो । मैले फोन राखि त दिएँ । तर केही छिनमै केटाहरूको हुल घरमा आइपुग्यो । मेरो कोठामा दुई दिदीबहिनी देखेर उनीहरू पनि झस्किए । मेरो अफ्ठ्यारो उनीहरूलाई पनि महसुस भयो होलाझैं लाग्यो । तर एकैछिनमा केटाहरू आफ्नो स्वरूपमा आइहाले । वाइन पिउँदै नयाँ बर्षलाई स्वागत गर्ने उनीहरूकोे योजनामा मेरो कारण पानी खन्याइने कुरा उनीहरूलाई स्वीकार्य थिएन । त्यसैले उनीहरूले नै उपाय निकाले, त्यसो भए यसपालीको नयाँ बर्ष तेरै कोठामा मनाउने । मैले नाइँ गर्न नै सकिनँ ।
केटाहरू हुरुरु निस्केर केही समयमै बोतलहरू भेला पारे । मैले लजाउँदै किचनमा साथ दिएँ । मेरी प्रियतमा नयाँ ठाउँको नयाँ चालढाल देखेर छक्क परेर बसेकी थिइन् । बहिनी भने मेरो एउटा साथीको बहिनीसँग नाम मिलेछ, मितदादा भनेर गफ गर्न थालेकी थिइन् । तर त्यो अन्योलको वातावरणमा पनि उनी खुशी नै देखिएकी थिइन् । बेला–बेला हामी आँखाले चोरेर कुरा गर्दा त्यही लाग्थ्यो । लाग्थ्यो, मसँग उनी यति ढुक्क थिइन् कि सबै कुरा पचाउन सक्छिन् ।
अब बेला भयो मदिरापानको । मलाई ठूलो संकट पर्यो। मचाहिँ पिउँदिन है भनेको, केटाहरूले छोडे पो । उल्टै उनीलाई पनि साथ दिन आग्रह गर्न थाले । उनी उपाध्याय बाहुन परिवारकी छोरी । मदिरा पिउने कल्पनासमेत कहिल्यै गरेकी थिइनन् होला । तर उनले फ्याट्ट भनिदिइन्, ‘साथीहरूले, दाइहरूले यति कर गरेपछि चाख्नलाई के आपत्ति छ र ?’
ओहो ! उनको कुरा सुनेर म तीन छक परेँ । बहिनीले पनि जिब्रो टोकिन् । ‘ओए’ भनेर दिदीलाई भन्दै थिइन् । उनले चोरी औंला ओठमा लगेर राखेपछि चुप भइन् ।
र, त्यसपछि हाम्रो अंग्रेजी बर्षलाई स्वागत गर्ने साँझ रंगीन बन्यो । त्यही साँझ थाहा भयो, मदिरा र प्रिय मान्छेको साथको मात उत्तिकै लाग्दोरहेछ । हरेक अंग्रेजी बर्ष आउँदा मलाई डेढ दशकअघिको त्यो साँझ गाढा रूपमा याद आइरहन्छ ।
 Youtube


Comments