प्रियतमालाई प्रेमपत्र-२



 Youtube

प्रियतमा,

हृदयको उदासीलाई शब्दहरूमा बेह्री पठाएको छु, खोलेर हेर ।
आज धेरै दिनपछि तिमीलाई पत्र लेख्न बसेको छु । मलाई थाहा छ, धेरै लेख्नु अहिले मेरो वशको कुरा होइन । मसँग लेख्नका लागि त्यस्ता अनुभूति नै कहाँ छन् र ? सबै कोमामा गइसकेका छन् । जीवनका उदास क्षणहरूलाई शब्दमा उतार्नु पनि त निकै गाह्रो कुरा रहेछ । तर पनि तिमीलाई पत्र नलेखेका दिनमा, मेरो मनमा तैरिएका भावनाको खात, कतै पानीको फिंजझैं आकार ग्रहण गर्दै शून्यमा बिलाएका छन् । यो कुराको पीडा मलाई जीवनभर कतै न कतै त दुख्छ नि ।  त्यसैले सम्झिएको छु ।
आखिर, अनेक झमेलाका बीच, अनेक सम्बन्धका बीच, अनेक आशा र निराशाको बीच तिमी पनि त मलाई सम्झिरहेकी हुन्छ्यौ । मैले कुनै दिन भनेको थिएँ, कसैको अँगालोमा रून मन लाग्छ भने त्यो नै सबैभन्दा प्रिय साथी हो । र, त्यो तिम्रो लागि म र मेरो लागि तिमी हौ । शायद, यो जीवनमा अब त्यस्तो साथी खोज्न हामी जति भौंतारिए पनि पाउन सक्दैनौं । यो भावनाको लागि तिम्रो र मेरो भोगाइ उस्तै उस्तै पाउँछु । तिमीलाई भेटेपछि कति आँसु कसरी–कसरी आँखाबाटै बिलाउँछ । यो पनि त पीडा कम हुनुको उदाहरण हो । यदि आँसु उर्लिएरै आए पनि तिम्रो अँगालोमा आँसु बगाउनमलाई कुनै दकस लाग्दैन । सायद, तिमीलाई पनि । यही अनाम सम्बन्धको धागोले ततिमी र मलाई जति टाढा–टाढा हुन खोजे पनिबाँधेर ठेगानामै ल्याइपु-याउँछ । जति तर्की–तर्की हिँडे पनि तानी–तानी ल्याउँछ । जतिसुकै फासलाको अनुभूति गरेर भेटिए पनि, जतिसुकै टाढापनको बरफ जमे पनिभेटेपछि बरफ पग्लिन्छ हाम्रो हृदयसँगै । एउटा अनुपम न्यानोपनले हामीलाई बाँधिदिन्छ र मुहारमा जतिसुकै कठोरताको अभिनय गरे पनिमनको मैन यसरी पग्लिन्छ कि छुट्टिने बेलासम्ममा त्यसले हाम्रो मुहारमा केही न केही उज्यालोको प्रदिप्ति छोडेर गइजान्छ । यस्तो अनुपम अनुभूति जो कोहीसँग महसुस कसरी होस् ?
तिमीलाई हेर्छु, तिमीले आँखामा सपनालाई उसैगरी जोगाइरहेकी छौ । सपनाको यो चरम खँडेरीमा तत्यही सपनाको गुल्जार हेर्नका लागि पनि तिमीलाई भेट्न लालायित भइदिन्छ मन । निश्चलता त तिम्रो अनुपम सम्पत्ति नै भइरह्यो ।
तिमी भौतिक सम्पत्तिहीन छौं, म पनि उस्तै छु । तर यो निश्चलताको सम्पत्ति त हामीले जोगाइराखेका हुँदारहेछौं । जतिसुकै खर्च गर्न खोजे पनिनसकिने सम्पत्ति यही नै त रहेछ हाम्रो । त्यही सम्पत्तिमा धनी महसुस गरेर म तिम्रा कोमल औंला सुम्सुम्याउँछु । चुम्बन गर्छु र आफूलाई कतै न कतै जीवित पाउँछु । सायद, यो पनि हाम्रो साझा भावना हो ।
मैले पहिले नै भनिसकेको छु कि धेरै लेख्न सक्ने अवस्थामा छैन । तर पनि केही न केही लेख्नुको उत्प्रेरणामभित्र जागेको छ । त्यसैले लेखें । यसले कुनै पज भएको संगीत फेरि रिज्युम हुनेछ । तिम्रो पत्रको हरदम अपेक्षा गरिरहेको हुन्छु । र, अन्तिममा, तिमीलाई एउटा गाढा चुम्बन पठाइदिएको छु । अब फेरि हाम्रो सम्बन्धको नयाँ आयाम सुरु भएको छ, पुग्नु त धेरै पर छ नि है !

उही तिम्रो

Comments