यादको सहर







जीवन एउटा कथा हो, खासगरी प्रेमकथा । यसको म पात्र हुँ, एउटा प्रतिनिधि पात्र । मबारे कसैले लेखिरहेको छ । यो मसिनो कथा त्यही विशाल कथाको अंश हो ।
पछिल्लो पटक हामी जहाँबाट छुट्टिएका थियौं, म अहिले त्यही छु । मलाई नै थाहा छैन, तिमीसँग छुटेपछि म यो सहरको कुन–कुन गल्लीमा भौतारिएँ । कुन–कुन चोक चहारेँ ।
अब त यो सहर यादहरुको सहर बनिसकेछ । यहाँका सडकमा गाडीहरू होइनन्, हामीले अनेक पटक गरेका अनगिन्ती यात्राका याद गुड्छन् । बसपार्क पुग्छु, त्यहाँ हाम्रा भेटका यादहरु उत्साहपूर्वक ओर्लिन्छन् बसबाट । फेरि अनेकन यादहरू बसमा उक्लिन्छन् । तिमीलाई पर्खिरहेको याद कतै उभिइरहेको छ । तिमीलाई भेटेर चङ्गा भएको मन हात उठाएर मुस्कुराउँदै छ । ओहो, त्यो मिलनको न्यानो याद गलबन्दी बनेर झुण्डिरहेको छ गलाहरुमा ।
पार्कतिर पुग्छु, बेन्चमा तिम्रो पहिलो श्पर्शको याद रातोपिरो भइरहेको छ । त्यहीँ बसिरहेको छ, तिम्रो पहिलो चुम्बनको याद ।
एक–अर्काको हात चपक्क समातेपछि मन नलागी–नलागी छुटेका यादहरु चोक–चोकमा उभिएका छन् । गल्लीगल्लीमा तिम्रो हात समाउँदै हिँडेका याद हिडिरहेछन् । अनि कति ठाउँमा त हामीले गरेका अपारका झगडाका याद उभिरहेका भेटिन्छन् । कतै रुँदै हिँडेका, कतै कुद्दै हिँडेका, कतै गाली गर्दै हिँडेका, अनि कतै मायाको आवेश पोखेका यादहरू । कता पो छैनन् र तिम्रो याद ? प्रियतमा, यो सहर त यादहरूको सहर बनिसकेछ ।
Comments
Post a Comment