‘कतिले भने– पोर्न नाटक गर्न लागे’

महिला रंगकर्मीहरूको समूह ‘मडलेनाज नेपाल’को अग्रसरतामा ‘भि डे’को सन्दर्भ पारेर मण्डला थिएटरमा तीन दिन अमेरिकी नाटककार इभ एन्सलरको नाटक ‘द भजाइना मोनोलग’को नेपाली संस्करण ‘योनीका कथाहरू’ मञ्चन भयो । त्यसैगरी अन्तराष्ट्रिय नारी दिवसको सन्दर्भमा रातो बंगला स्कुलमा पनि नाटक मञ्चन गरियो । नाटकले परम्परागत निषेधलाई तोड्दै महिला हिंसाको बहस अघि बढाएको चर्चा भइरहेको छ । तर यो नाटक गर्न सजिलो भने थिएन । कला अनुरागीसँग कुराकानी गर्दै कलाकार सिर्जना सुब्बाले नाटक गर्दाको चुनौति र अनुभवबारे यसो भनिन् :

अमेरिकी नाटककार इभ एन्सलरको नाटक ‘द भजाइना मोनोलग’को नेपालीकरण हो– ‘योनीका कथाहरू’ । यो नाटक अर्कै नाममा पहिले पनि देखाइएको थियो भन्ने त सुनेकी हुँ । तर हेर्ने अवसर भने पाइनँ । एकैचोटी यसमा भूमिका निर्वाह नै गरियो ।
यो नाटकको पछिल्लो मञ्चनको कथा भने ‘मडलेनाज नेपाल’सँग जोडिएको छ । ‘जिआइजेड’मा थिएटर हेर्ने जिम्मा लिएकी जुलिया विगत एक वर्षदेखि मण्डला थिएटरमै छिन् । उनी ‘मडलेनाज’ भन्ने समूहसँग आबद्ध रहिछन् । उनीसँगको सहकार्यको क्रममा नेपालमा पनि रंगमञ्चमा सक्रिय महिलाहरूको समूह बनाउनुपर्छ भन्ने छलफल भयो । त्यसै क्रममा उनकै सक्रियतामा विदेशमा तालिमका लागि पनि साथीहरू जानुभयो । नेपालमा पनि कार्यशाला गरियो । सँगै मलडेनाज नेपाल पनि निर्माण भयो । यसको औपचारिक संरचना त छैन, तर सबै रंगमञ्चमा सक्रिय महिलाको ‘सेयरिङ प्लेटफर्म’को रूपमा यसलाई विकास गर्ने कोशिस भइरहेको छ । 
मडलेनाज नेपालको समूह बनेपछि ‘यो त खतरा होला’ भन्ने प्रतिक्रिया आउन थाल्यो । तर यो त्यस्तो ‘खतरा’ केही होइन, ‘सेयरिङ प्लेटफर्म’ हो । जति नै मिल्ने साथी भए पनि कतिपय कुरा केटाहरूलाई सेयर गर्न सकिँदैन । ती कुरा सानाजस्ता लागे पनि भित्रभित्रै पीडा दिइरहेको हुन्छ । त्यसैले हामीले यसलाई आफूबीच सेयर गर्ने थलोको रूपमा विकास गर्न खोजेका हौं । 
हामीले हिउँदमा महिला हिंसाविरुद्धको नाटक पनि गर्यौं । सँगै महिलाले मात्रै नाटक गर्न सकिन्छ कि सकिन्न भनेर छलफल थाल्यौं । हामी समाजलाई केही सन्देश दिने र परिवर्तनको बहस चलाउने ‘कन्टेन्ट’को खोजीमा थियौं । त्यसै क्रममा महिला हिंसाविरुद्ध एन्सलरले चलाएको अभियान ‘भि डे’को सन्दर्भ आयो । भ्यालेन्टाइन दिवसकै सन्दर्भ पारेर यो दिवस मनाइन्छ । यस सन्दर्भमा विश्वका विभिन्न देशमा ‘द भजाइना मोनोलग’ मञ्चन गरिन्छ । त्यसैले हामी पनि यो नाटक मञ्चनको निर्णयमा पुग्यौं । हामीसँग हल पनि थियो, समय र समूह पनि । त्यसमाथि नाटककै अध्ययन सन्दर्भमा भारत रहँदा आकांक्षा कार्की यसको मञ्चनमा निकै पटक सहभागी भइसक्नुभएको थियो । त्यसैले नेपालका सन्दर्भमा यसलाई नयाँ र फरक ढंगले प्रस्तुत गर्न सकिन्छ भन्न सल्लाह भयो । 
यो नाटकको प्रक्रिया निकै लामो थियो । झण्डै एक महिनाजति समय लाग्यो, हामीलाई काम गर्न तयार हुन नै । किनकि यसको ‘कन्टेन्ट’ निकै फरक र सामाजिक कोणबाट असहज थियो । पहिले त ‘योनी’ भन्ने शब्द बोल्न नै गाह्रो थियो । त्यसमाथि अझ यसका पर्यायवाची शब्द बोल्न र अझ त्यसलाई नाटककै रूपमा प्रस्तुत गर्न निकै समस्या थियो । तर हामीले महिला हिंसाविरुद्धको चेतनालाई यसमा जोड्यौं र प्रक्रियामा सहभागी भयौं । महिला कसरी हिंसामा पर्छिन् र कस्तो प्रकारको हिंसा भोगिरहेकी हुन्छिन् भन्ने कुरा आफ्नै जीवनका विविध घटनाप्रक्रियासँग ‘लिंक’ गरेर छलफल र सेयरिङ गरियो । त्यसरी ‘फ्यामिलियर’ भएपछि मात्रै हामी यो नाटक खुलेर गर्न तयार भएका हौं । 
०००

यो नाटकले पहिलो कुरा त हाम्रै मानसिकतामा पनि परिवर्तन ल्याउन सहयोग पुर्यायो । पहिले हामी योनी र यससँग सम्बन्धित विषयमा केटीलाई नै पनि भन्न सक्दैनथ्यौं । केही समस्या देखियो भने त्यसबारे खुलेर कुरा गर्न सक्दैनथ्यौ । अहिले त्यसबाट मुक्त भएका छौं । अझै पनि हामी यौनका विषयमा खुलेर कुरा गर्न सक्दैनौं । तर पनि दृष्टिकोणमा परिवर्तन आएको छ । हामीले विभिन्न ‘क्यारेक्टर’मार्फत कतिपय कुरालाई अभिव्यक्त गरेका छौं । मैले प्रस्तुत गरेको चरित्रले यौनले दिएको खुसीलाई खुलेर अभिव्यक्त गरेको छ । यस्ता कुराले व्यवहारिक जीवनमा पनि कतिपय कुरालाई सहज बनाइदिन्छ ।  
०००

यो नाटक हिंसाविरोधी नाटक हो । विभिन्न महिलासँग गरेको अन्तरवार्ताका आधारमा बनाइएको हो । त्यसैले विश्वभरका महिलाका साझा समस्या र पीडा यसमा अभिव्यक्त भएको छ । त्यसमा हाम्रा अनभूतिको पनि सादृश्यता छ । 
नाटक हेरेपछि कतिपय दर्शकले हामीलाई नेपालीकै अनुभवलाई नाटकमा समावेश गर्न सकेको भए हुन्थ्यो भन्ने पनि सुझाव दिए । तर हामीले देखाएको नाटकमा धेरै फेरबदल गर्ने कुरा भएन । तर पनि त्यसलाई नेपालीकरण गर्दा मौलिक अनुभूत गराउने प्रयास गरिएको हो । केही दृश्य अंग्रेजी नै पनि समावेश छ । यो चाहिँ विदेशीलाई पनि लक्षित गरिएको हो । हामी अर्को वर्षचाहिँ नेपाली पनि गर्ने कि भन्ने सोचमा छौं ।
०००

हामीले नाटकको सुरुको प्रोसेसदेखि नाटक मञ्चनको केही दिनअघिसम्म कतिपय भित्री कुरा सेयर गर्नुपर्दा केटाहरूलाई नआऊ भनिरहेका थियौं । तर पछि लाग्यो– हामीले देखाउनुपर्ने उनीहरूलाई नै हो । अहिले नै नआउ भन्यौं भने त सोच नै नकारात्मक हुनसक्छ । 
त्यसैले हामीले पछिल्लो चरणमा केटाहरूलाई पनि आउन दियौं । तर उनीहरू आफैं पनि हच्किन्थे । ‘ए ! भजाइना ग्रुप पो हो ?’ भन्थे । थिएटरमा दिदी–बहिनी भनिरहेका हुन्छन् केटाहरूले । नाटकमा जोडी बन्नुपर्दा पनि हच्किने सोसाइटीमा त यस्तो कुरा बोल्न सक्ने स्थिति हुँदैनथ्यो । 
तर नाटक हेरिसकेपछि यस विषयमा खुलेर बोल्न नसके पनि सम्मान गर्नुपर्छ भन्ने धारणाचाहिँ थिएटरमा अझ प्रभावशाली भएको पाएको छु । हिंसा होला भन्ने कुरामा सचेत पनि भएको पाएको छु । कतिपयले ‘इन्टेन्सन’ नहुँदा पनि हिंसा भइरहेको हुन्छ, त्यस्ता कुरामा सचेतता देखिएको छ । 
०००

नाटक सुरु गर्दा नै मलाई लागेको थियो कि युवाहरूले चाहिँ कम्तिमा यो काम मन पराउँछन् । अरूचाहिँ नाम सुनेरै डराउँछन् कि भन्नेचाहिँ लागेको थियो । तर पनि यसप्रति जिज्ञासा त हुन्छ नै भन्नेचाहिँ लागेको थियो । हामीले नाटकअघि नै सल्लाह गरेका थियौं कि गाली पनि सुन्न तयार भएर बस्नुचाहिँ आवश्यक छ । 
त्यसैले हामीले मञ्चन हुनुभन्दा केही अघिदेखि नै नाटकका विभिन्न सन्दर्भलाई फेसबुकमा पोष्ट गरिरहेका थियौं । त्यसमा कतिपयले नकारात्मक ‘कमेन्ट’ गरिरहेका थिए । म्यासेजमा पनि किन यति धेरै ‘एक्स्ट्रििम’ भएको, यति धेरै फेमिनिस्ट भएको ? भनिरहेका थिए कतिले । कतिले त ‘पोर्न’ नाटक नै गर्न लागे भन्नेजस्तो प्रतिक्रिया पनि आएको थियो । त्यसैले हामीलाई अलि डर लागिरहेको थियो । निर्देशकहरू पनि त्यसरी नै डराएका थिए । किनकि पहिलोपटक यसरी ‘रिस्क’ लिएर नेपालमा काम गर्दै हुनुहुन्थ्यो उहाँहरू पनि । त्यसैले त्यो नाटक नै नगर्ने कि भनेर भावुक पनि भएका थियौं । तर त्यसलाई सामान्य रूपमा लिएर हामी अगाडि बढायौं ।
०००

जब हामीले नाटक सफलतापूर्वक मञ्चन गर्यौं, त्यसले हामीलाई बैग्लै आनन्द आयो । हामीलाई नाटकको प्रक्रियामा नकारात्मक प्रतिक्रिया दिने पुरुष थिए, तर नाटक हेर्न आउने ७५ प्रतिशतभन्दा बढी पुरुष थिए । यो कुराले हामीलाई खुसी दिलायो । अर्को चाहिँ, जो हाम्रा नियमित नाटकका दर्शक थिए, तीभन्दा फरक दर्शक आए । हेरिसकेपछि पनि हामीलाई नराम्रो कसैले भनेनन् । हाम्रो पछाडि कति भने थाहा भएन, तर अगाडि भने हाम्रो कामको प्रशंसा नै गरे ।
कतिपय महिलाकै क्षेत्रमा काम गरिरहेकाहरूले हामी पनि साथै छौं भन्नुभएको छ । थिएटरका साथीहरूबाट पनि राम्रो प्रतिक्रिया आएको छ ।
०००

नाटक मञ्चन र त्यसपछि आएका प्रतिक्रियाबाट हामी उत्साहित छौं, त्यत्तिकै जिम्मेवारीबोध पनि गरिरहेका छौं । तर यसैबीच मलाई खट्किरहेको कुराचाहिँ यो हो कि हामीले यसलाई आवश्यक बहसमा लैजान सकेका छैनौं । एउटा नाटक गर्दैमा परिवर्तन हुन्छ भन्ने हुँदैन । त्यसैले हामीले यस विषयमा अभियान नै सुरु गर्नुपर्छ । त्यसको लागि हामी केही तयारी पनि गरिरहेका छौं । अहिले हामीले गरेको यही नाटकलाई उपत्यकाबाहिर प्रदर्शन गर्ने सोचमा छौं । मण्डला थिएटरले ‘मोबाइल थिएटर’को अवधारणासहित गाडी बनाउँदैछ । त्यसैबाट यसलाई विभिन्न सहरमा लैजाने सोचमा छौं । त्यसको प्रतिक्रिया हेरेर नेपाली महिलाकै भोगाइ समेटिएको ‘भजाइना मोनोलग’ पनि बनाउन सकिन्छ कि भन्ने हामी छलफलमा छौं ।
हामीले अहिले कोही पीडित भयो भने उसलाई न्याय दिलाउन लड्ने तरिकाको होइन कि हिंसा नै हुन नदिन के गर्ने भन्ने तरिकाबारे बहस गर्नु आवश्यक छ । त्यसैले हाम्रो ध्यान त्यही कुरामा हुन्छ । त्यसको लागि टिनेजर र कलेज स्कुलका विद्यार्थीसँग अन्तरक्रिया बढाउनुपर्छ भन्ने पनि छलफल भइरहेको छ । यो सबै काम गर्नका लागि पहिलो सर्त भनेको महिला रंगकर्मी पनि एकजुट हुनु आवश्यक छ । अहिले जसरी यो नाटक मञ्चनको क्रममा फ्रिलान्सरको रूपमा सक्रिय आकांक्षा, गुञ्जनलगायतका साथीहरू जोडियौं, त्यसैगरी जोडिँदै जान सक्छौं । हामीले मडलेनाजको कार्यशालामा पनि उपत्यकाबाहिरका विभिन्न जिल्लाबाट रंगकर्ममा सक्रिय साथीहरूलाई ल्याएका थियौं । त्यसको अर्थ हो, हामीले यसलाई महिला रंककर्मीको सामूहिक अभियानको रूपमा विकास गर्न खोजिरहेका छौं । त्यसो गर्न चुनौति छ, यही नाटक गर्न पनि हामीले थुप्रै चुनौति सामना गरेकै हो । तर त्यसलाई सामना गरेर अघि बढ्न सकिन्छ । त्यस क्रममा कसैले नकारात्मक टिप्पणी पनि गर्न सक्छन् । त्यसलाई सुन्नु पनि पर्छ । त्यसको ‘डिफेन्स’ गरेर अघि बढ्नु पनि पर्छ ।
܀܀܀
तस्विर : अजय रानाभाट/सिर्जनाको फेसबुक
प्रकाशित : रातोपाटी

Comments