मृत्युसाक्षी

© Kazuya Akimoto Art Museum
एकैपटक मरेको होइन ऊ
पटक–पटक, धेरैपटकमा
बल्ल मरिसकेको हो
तर, मरिसकेपछि पहिलो पटक
थाहा पाउने व्यक्ति मै हुँ ।

पहिलोपटक मरेको थियो
उसको हृदय
जहाँ म बेरिएकी थिएँ कुनैबेला ।

उसको हृदयको चिसो लास
आफ्नै हृदयको चिहानमा दफनाएर
निस्किएकी थिएँ म
त्यतिबेला अचिनारूका फूलमालाले
भरिएको थियो उसको घाँटी ।

हृदयसँगै विस्तारै मर्यो
उसको मस्तिष्क
मैले पनि थाहा पाइनँ
लामो समयसम्म
थाहा पाउँदा फैलिसकेको थियो दुर्गन्ध
त्यति बेलै हो मैले थाहा पाएको
मष्तिस्कबाट निस्केको दुर्गन्ध
निकै लामो–लामो समयसम्म
निकै लामो–लामो दूरीसम्म
फैलिँदोरहेछ
सार्वजनिक चिहानमा गाडिसकेपछि
मस्तिष्कको लास
सोच्दै–सोच्दै लामो समयसम्म हिडिरहें
‘मस्तिष्क मर्नु खतरनाक रहेछ’
त्यतिबेला ऊ
आफ्नै परिवार भेला गरेर
भोज खाइरहेको थियो ।

यसरी नै मर्दै गएको थियो ऊ
र, बल्ल मरिसकेको हो केहीबेरअघि ।

अघिसम्म भीडले घेरिएको थियो ऊ
थिए त्यसमा उसलाई प्रेम गर्नेहरु
रोइरहेका थिए अलाल्लिएर
र, थिए घृणा गर्नेहरु पनि
थिएनन् तिनका पनि आँखा ओभानो ।

तर भीडबाट टाढा
मजस्तै नरूने झन् धेरै थिए
कति थेत्तरो बनाई दिएछ यो हृदय
उसको मृत्युमा पनि रून सकेनौं ।

यसरी अवसान भयो
मेरो प्रिय नायकको बिस्तारै–बिस्तारै ।
܀܀܀
✍ कला अनुरागी
प्रकाशित : फरकपत्र

Comments