योनीका कथा अर्थात साहसको कथा !

आइतबार ‘भ्यालेन्टाइन्स डे’मा मस्त थियो सहर । गुलाबी रंगमा पोतिएर ‘माया’को सरगर्मीमा असिनपसिन थियो । म पनि उस्तै असिनपसिन थिएँ, तर मायाको गर्मीले होइन । मण्डला थिएटर, अनामनगरमा नाटक भ्याउन समयमै पुग्नु थियो, त्यसैले हिँडाइको गति बढाएको थिएँ । मञ्चन समयभन्दा १० मिनेट अघि त पुगेँ तर त्यसअघि नै टिकट नपाएर काउन्टरअघि छट्पटाइरहेका बीसभन्दा बढी व्यक्ति देखिए । मानिसहरू थपिँदै थिए, टिकट पाउने सम्भावना घटिरहेको थियो । धन्न, रंगकर्मी जीवेश रायमाझीले अनेक चाँजोपाँचो मिलाएर नाटक हेर्ने अवसर जुटाइदिए । 
नाटक निर्धारित समयभन्दा झण्डै आधा घन्टा ढिलो सुरु भयो । अन्तिम ‘शो’ थियो, नाटक हेरेरै छाड्ने दर्शक–जिद्दी स्वाभाविक भियो । र, सकेसम्म ठाउँ मिलाउने प्रयत्नमा समय खर्च भएको थियो । अन्ततः बस्न मिल्नेजति ठाउँ  भरिएपछि रंगकर्मी सोमनाथ खनालले नाटक ‘अनाउन्स’ गरे – ‘योनीका कथाहरू’ । 
झण्डै पौने दुई घन्टा लामो नाटकको अन्तिममा भनिएको छ, ‘जाऊ, माया गर ।’ त्यो माया भ्यालेन्टाइन डेको चल्तीको सन्देश थिएन, बरु महिला हिंसा विरुद्ध मनाइने ‘भि–डे’ लागि सन्देश थिया– योनीलाई माया गर । 
योनी शब्द नै सहजताका साथ उच्चारण गर्न हिच्किचाउँछ हाम्रो समाज । मैले केही साथीलाई भनेको थिएँ, ‘नाटक योनीका कथाहरू हेर्न जाउँ ।’ त्यसो भन्दा केटा साथीहरू असहजतापूर्वक हाँसेका थिए, केटी साथीहरू रातो न पीरो भएर शीर निहुराएका थिए । र, म एक्लै नाटकघर पुगेको थिएँ ।
त्यसो त, नाटककी लेखक एभ एन्सलरले ‘द भजाइना मोनोलग’को मूल स्क्रिप्टमा नै यस्तै प्रसंग समावेश गरेकी छिन् । प्रसंगमा उल्लेख छ, ‘जब नाटकको पहिलो शो गरियो, त्यसबेला पुरुषहरूले सोध्थे– द भजाइना डाइलग्सको टिकट दिनुस् न ? महिलाहरूले सोध्थे– द मोनोलग्सको टिकट दिनुस् न ? कतिले त नाटकको नाम नै अर्को बनाइदिए– द भियाग्रा क्रोनिकल्स ।’ 
नाटकको नेपाली रूपान्तरणमा भने यो प्रसंग समावेश छैन । हाम्रो समाजमा योनीका पर्यायवाची शब्द त शब्दकोष वा ‘प्राइभेट अफेयर’मा मात्रै सीमित छ । तर नाटकले बर्जनाको त्यो पर्खाल पूरै भत्काइदिन्छ, ‘खासखुस’मा उच्चारण हुने योनीका पर्यायवाची शब्दमा दर्शकलाई नारा नै लगाउन लगाउँछ । उसो त नाटकभर योनी र योनीसँग सम्बन्धित कथा छन् । जसले सामान्य सामाजिक मनोदशामा नाटक हेर्न पुग्नेको मस्तिष्कमा हज्जारौं छिना प्रयोग गर्छन् । उसलाई लाग्छ कि मेरो मस्तिष्क कि त भत्किँदैछ, कि त आकार बदलिँदै छ, जे होस् सहन गाह्रो भइरहेको छ । 
नाटकमा योनी, यसको आकार, स्वरूप र स्वभावको काव्यिक वर्णन छ । त्यसो गर्न ‘हाइपोथेटिक फ्यान्टासी’को पनि प्रयोग गरिएको छ । नाटकमा प्रश्नोत्तर हुन्छ, जस्तो कि, योनीले लगाउन पायो भने के लगाउला ? उत्तरहरू ‘फ्यान्टास्टिक’ छन्, जस्तो कि चस्मा, रातो फ्रक आदि । सोधिन्छ– योनीले बोल्न पायो भने के भन्ला ? उत्तरहरू उत्तिकै उत्तेजक र रमाइला छन् । 
नाटकको केन्द्र भने योनीसँग जोडिएको उत्तेजना र रमाइलोमात्रै होइन । यसले उठाउन खोजेको मुद्दा गम्भीर, संवेदनशील र महत्वपूर्ण छ । नाटककार एन्सलर भन्छिन्, ‘महिलामाथि गरिने अधिकांश हिंसा यौनिकतासँग सम्बन्धित छ । यौनिकता योनीसँग सम्बन्धित छ । त्यसैले महिला हिंसा योनीसँग सम्बन्धित छ ।’ उनको आशय हो– त्यसैले नाटक योनीलाई केन्द्रमा राखेर लेखिएको हो । 
०००

‘हामी योनीहरूका बारेमा साहै्र नै चिन्तित थियौं ।’ नाटक यही संवादबाट सुरु हुन्छ । एन्सलरले अमेरिकाका वृद्धा, तन्नेरी, विवाहित, अविवाहित, कलेजका प्राध्यापक यौनकर्मी र कलाकार गरी २०० महिलासँगको अन्तरवार्तापछि नाटक लेखेकी हुन् । ‘पहिले त बोल्न लजाउँथे र हिच्किचाउँथे । बोल्न थालेपछि त उनीहरूलाई रोक्नै सकिँदैनथ्यो । महिलाहरू गोप्य रूपमा योनीका कुरा गर्न खुप रूचाउँछन् । सायद यो विषयमा पहिले कसैले कुरै नगरेर हो कि ?’ नाटककारको अन्तरवार्ताकालीन अनुभव पनि स्क्रिप्टमै समावेश छ । 
योनीवरिपरिका रौं काट्न श्रीमानले बाध्य पारेपछि श्रीमतीले भोगेका पीडा अभिव्यक्त गर्दै नाटक घटनाहरूमा प्रवेश गर्छ । उनको श्रीमानलाई रौं मन पर्दैन । तर रौं काट्दा उनी यौनसम्बन्धका बेला असह्य पीडा महसुस गर्छिन् । त्यसैले श्रीमती रौं नकाट्ने निर्णय गर्छिन् । त्यसैलाई निहुँ बनाएर श्रीमान परस्त्रीतिर लाग्छ । र, अन्ततः सम्बन्ध विच्छेदसम्म पुग्छ । 
अर्को कथा ७२ बर्षीया वृद्धाले भनेकी छिन् । जसमा उनले आफ्नो योनीरस धेरै आउने भएकाले कसरी जीवनभर अपहेलित हुनुपर्यो र यौनआनन्दबाट वञ्चित हुनुपर्यो भन्ने कथा भन्छिन् । नाटकमा कहिल्यै ‘क्लिटोरिस’ र चरमआनन्दबारे थाहा नपाएकी युवतीको भोगाइ छ । समाजले गर्ने अवहेलनाका कारण आफूलाई दबाएर राख्नुपर्दा तेस्रोलिंगीले भोग्नुपरेको असीम उकुसमुकुसको पीडा–वर्णन छ । योनीको ‘क्लिटोरिस’ काट्ने क्रुर चलनबाट उत्पीडितको कथा होस् या बोस्नियाको शरणार्थी शिविरमा बलात्कृत युवतीको चित्कार, दुवैले संवेदनाको सागरमा डुबाउँछन् । सानै उमेरमा आफ्नै बाबुको साथीबाट बलात्कृत किशोरीको कथाले बर्बरताविरुद्धको आक्रोस उर्लिन्छ । छोटो ‘स्कर्ट’लाई बलात्कारको कारण मान्ने ‘परम्परागत’ सोचमाथि नाटकमा प्रहार गरिएको छ । नाटकको अन्तिम घटनामा बच्चा जन्माइरहेकी महिलाको योनीवर्णन छ । जसले हरेक मानिसको जीवन योनीद्वार हुँदै सुरु हुने कुराको बोध गराउँछ । 
नाटक एउटा क्रान्तिको शंखघोश गर्दै सकिन्छ । त्यस्तो क्रान्ति, जसले महिलामाथि हुने हिंसाको अन्त्य गर्नेछ ।
०००

अन्तिम ‘शो’मा सकिएलगत्तै छोटो अनौपचारिक कार्यक्रम पनि थियो । जहाँ मण्डलाका निर्देशक राजन खतिवडाले मञ्चमा उभिएर भने, ‘यो नाटकमात्रै होइन, आन्दोलन हो । र, यो आन्दोलन पुरुषलाई अलग्याएर वा तिरस्कार गरेर अघि बढ्ने होइन । त्यसैले हामी पनि सँगै छौं ।’ उनले लेखन र रंगकर्ममा सक्रिय जोडी अर्चना थापा र सञ्जीव उप्रेतीलाई मञ्चमा बोलाए । सञ्जीवले कलाकारलाई खादा लगादिए, अर्चनाले निर्देशकद्वयलाई फूलको बुके दिइन् । उनले भनिन्, ‘तपाईंहरूले एउटा जादूमयी कार्य गर्नुभएको छ । बधाई !’
सञ्जीवले भने, ‘हाम्रो समाजमा यौन र यौनांगबारे कुरा गर्नु बर्जित मानिन्छ । त्यसले विभिन्न मनोवैज्ञानिक समस्या पैदा गरेको छ । जीवन असहज बनिरहेका छ । त्यसैले यसबारे कुरा गर्नु आवश्यक छ । नाटकमार्फत यो कुरा सुरु भएकोमा खुशी लागेको छ ।’ उनले खुसी व्यक्त गर्दा दर्शकदीर्घाले तालीले खुसी व्यक्त गर्यो । त्यसपछि जब नाटकमा अभिनय गरेकी रंगकर्मी सुम्निमा साम्पाङले भनिन्, ‘मेरो केही भन्नु छ ।’ तब माहोल एका–एक भावुक बन्यो । नाटक गर्न उत्प्रेरित गरेकोमा निर्देशकद्वय आकांक्षा कार्की र गुञ्जन दिक्षितका साथै नेपालमा मडलेनाज सुरु गर्न मिहिनेत गर्ने जुलिया सारिंगरप्रति कृतज्ञता व्यक्त गरिसक्दा सुम्निमा भावुक भइसकेकी थिइन् । उनका आँखाबाट आँसु बग्न थालेका थिए । उनको अभिव्यक्तिसँगै रंगकर्मी विजया कार्की पनि थामिन सकिनन्, निर्देशक आकांक्षालाई अँगालो मार्दै सुँकसुकाउन थालिन् । आकांक्षाले पनि धन्यवादमात्रै भन्न सकिन्, गला अवरुद्ध भएर अरू बोल्न सकिनन् । गुञ्जनको हाल पनि उस्तै थियो । मञ्चमा उभिएका सबै कलाकारको अनुहारमा सघन भावुकता पोतिएको थियो । सबैको अनुहार बोलिरहेको थियो, ‘यति धेरै नकारात्मकता र तिरस्कारको बीचबाट हामीले यो प्रस्तुति गरेका थियौं । यसरी दर्शकको साथ र माया पाउँछौं भन्ने सोचेकै थिएनौं ।’ सम्पूर्ण माहोल भावुक बन्यो, दर्शकदीर्घामा लगातार ताली बजिरह्यो । कतिका आँखा रसाइरहेका थिए । नाटकको बीचमा ‘छ्या !’ भनिरहेकाहरूले पनि भनेको सुनियो, ‘साँच्चै, राम्रो है !’
हलबाट दर्शक निस्किरहँदा पनि मञ्चमा भावुकताको माहोल उस्तै थियो, कलाकारहरू एकअर्कालाई अँगालेर सुँकसुकाइरहेका थिए, साथै मुस्कुराइरहेका थिए । वास्तवमा त्यो खुसीको आँसु थियो । र, त्यो सफलताले उत्पन्न गराएको भावुकता तत्कालको परिणाम थिएन, लामो समयको उकुसमुकुसको परिणाम थियो । नाटक सकिएपछि निर्देशक आकांक्षाले भन्दै थिइन्, ‘हामीले यसलाई नाटकमात्रै सोच्दैसोचेनौं । यो त प्रक्रिया थियो । आफैंलाई आत्मनिरीक्षण गर्ने, आत्मपरीक्षण गर्ने । यति धेरै नकारात्मक प्रतिक्रिया र तिरस्कारबीचबाट यहाँ आइपुग्छौं भन्ने सायदै सोचेका थियौं ।’ गुञ्जन थप्दै थिइन्, ‘नाटक तयारीका लागि तीन महिने कार्यशालामा हामीले जम्मा १५ दिन नाटकको तयारी गर्यौं होला । अरू दिन हामीबीचकै सेयरिङमा बित्यो । हाम्रा आफ्नै भोगाइ, देखाइ र बुझाइ सयौं नाटक थिए ।’
नाटकले त्यस्तो दर्शक पाउला भनेर न आकांक्षा र गुञ्जनले सोचेका थिए, न नाटकको सम्पूर्ण प्रक्रियाको संयोजन गरेको मण्डला थिएटरले नै । रंगकर्मी सोमनाथ खनाल भन्दै थिए, ‘हामीले यति दर्शक हुन्छन् भन्ने सोचेकै थिएनौं । अझ हामी त डराएका थियौं । ६ बर्षअघि प्रज्ञा प्रतिष्ठानमा यही नाटक देखाउँदा ढुंगामुढा नै भएको सुनेका थियौं । मण्डलामा त्यसै त हुँदैन कि भन्ने थियो, तर विश्वस्त थिएनौं । कलाकार पनि त्यसका लागि तयार थिए । पहिलो शोमा त मञ्चवरिपरि हेलमेट राखिएको थियो । यदि त्यस्तै भयो भने हेलमेट लगाएर पनि शो गर्ने सोच थियो ।’
त्यस्तो त्रासदीसहित तयारी गरिएको नाटकमा विनाअवरोध उत्साहजनकरूपमा दर्शकको उपस्थिति हुँदा कलाकार भावुक नहुने कुरै भएन । त्यसमाथि पनि उनीहरूले दर्शकको मनोविज्ञानमा नाटकले देखाएको प्रभाव पनि नजिकबाट आँकलन गर्न पाएका थिए । आकांक्षा भन्दै थिइन्, ‘पहिलो चरणमा दर्शकले नाटकको बिषयलाई स्वीकार गर्न सकिरहेका हुँदैनथे । तर बिस्तारै उनीहरू त्यसमा डुब्दै जान्थे ।’ आकांक्षाको बुझाइलाई सोमनाथले पनि पुष्टि गरे, ‘पहिले शोमा दुई जना महिला नाटक हेर्दाहेर्दै निस्किए । त्यसपछिका शोमा भने त्यस्तो भएन ।’ दर्शकमा पर्ने त्यही प्रभावलाई आँकलन गरेर नै नाटकको पोस्टरमा नै योनीको चित्र राखेको सोमनाथले खुलाए । ‘त्यस्तो चित्र राखेपछि दर्शक पहिले नै केही तयार भएर आएका हुन्छन् भन्ने हामीले सोच्यौं ।’ त्यसो त नाटकको ‘अनाउन्स’ गर्ने बेलामा नै सोमनाथले पृष्ठभूमि बाँधेर भनेकै थिए, ‘यदि यो नाटक म हेर्न सक्दिनँ भन्ने लाग्छ भने हल्ला नगरी निस्केर जान सक्नुहुन्छ । कुनै बिषयमा असहमति छ भने नाटकपछि जति पनि बाझ्न सकिन्छ । तर नाटककै क्रममा हो–हल्ला नगरिदिनुहोला ।’ खुसीको कुरा त्यस्तो हो–हल्लाविनै नाटकको चार ‘शो’ सकियो । बरु, अन्तिम शोमा तीसभन्दा बढी दर्शकलाई ठाउँ नपुगेर त्यत्तिकै फर्काउनुपरेको थियो । उनीहरूलाई मार्चमा फेरि ‘शो’ हुन्छ भन्ने आश्वासन दिइएको थियो । 
नाटकको प्रभाव दर्शकमा मात्रै होइन, रंगकर्मीमा पनि उत्तिकै परेको थियो । सोमनाथले खुलाए, ‘रंगमञ्चमै पनि यो नाटकको प्रक्रियाले प्रभाव पारेको छ । हामीले थाहै नपाई कति विभेद गरिरहेका हुँदारहेछौं । तर त्यो कुरा महिलाहरूले भन्न सकिरहेका हुँदारहेनछन् । र,  विभेद संस्थागत भइरहेको हुँदोरहेछ । नाटकको कार्यशालाले रंगकर्मी महिलामै पनि विभेदबारे तुरुन्त प्रतिक्रिया जनाउन सक्ने क्षमता विकास भएको छ ।’
नाटकको सार्थक र सकारात्मक प्रभावका सन्दर्भमा यो बलियो उदाहरण हो ।
०००  

२५ मे, १९५३ मा अमेरिकाको न्यूयोर्कको काँठमा जन्मिएकी इभ एन्सलरले सन् १९९६ यो नाटक लेखेकी हुन् । उनी सानै उमेरमा आफ्नै बाबुबाट यौनहिंसाको सिकार भएकी थिइन् । हिंसाको असामान्य प्रभावबाट उम्कन कुलतमा फसेर किशोर र यौवनकाल बिताएकी उनको वैवाहिक जीवन पनि एक दशकभन्दा लामो हुन सकेन । जीवनका तिनै संघर्षले उनलाई महिला हिंसाविरुद्ध जुध्न सिकायो । बलात्कारजस्ता यौनअपराधको अन्त्य र महिलामाथि हुने शारीरिक हिंसाको अन्त्यको सपना बोकेर उनी हिँडिरहेकी छिन् । त्यसैले सन् १९९८ को भ्यालेन्टाइन डेको अवसर पारेर हिंसाको अन्त्यको लागि ‘भि–डे’ अभियान सुरु गरिन् । जसको छेको पारेर संसारका विभिन्न देशमा उनको नाटक ‘द भजाइना मोनोलग’ मञ्चन हुने गर्छ । करिब चार दर्जन भाषामा रूपान्तरित उनको नाटक डेढ सयभन्दा बढी देशमा देखाइसकिएको छ । त्यो सूचीमा नेपाल पनि थपिएको छ ।
नेपालमा महिला रंगकर्मीको समूह ‘मडलेनाज नेपाल’ले अभियानको अवधारणालाई स्वीकार्दै नाटक मञ्चन गरेको हो । नाटकलाई प्रतीक्षा कट्टेल, सभ्यता तिम्सिना, गुञ्जन दिक्षित र आकांक्षा कार्कीले नेपालीकरण गरेका हुन् । नाटकमा आकांक्षा कार्की, बिनिता गुरुङ, गुञ्जन दिक्षित, जुलिया सारिंगर, परीक्षा लामिछाने, निशा कार्की, पशुपति राई, रन्जना ओली, सिर्जना सुब्बा, सिर्जना अधिकारी, सुम्निमा साम्पाङ र विजया कार्कीले आफ्नो अब्बल अभिनय कलाका साथ योनीका कथाहरू भने । सरस्वती चौधरी, केनिपा सिंह, सन्जिता सन्जी, मीरा गुरुङलगायत महिला रंगकर्मीले प्रकाश, ध्वनी, व्यवस्थापन लगायतमा प्राविधिक पक्षमा सहयोग गरे । नाटकलाई नेपालीकरण गर्न अनुवादक र निर्देशकको समूहले गरेको मिहिनेत प्रष्टै देखिन्छ । नाटकका हरेक कलाकार जसरी सामाजिक ‘माखेसाङ्लो’लाई चुँडाएर जीवन्त अभिनय र अभिव्यक्तिमा उत्रिएका छन्, त्यो कलाकारिताबाटमात्रै सम्भव थिएन, कलाकारभित्रको रूपान्तरणबाटमात्रै सम्भव भएको हो । त्यसैले यो नाटक प्रस्तुत गर्ने कलाकारको अभिनयकलाको मात्रै तारिफ गरेर पुग्दैन, बर्जना भत्काएर अघि बढ्ने साहसप्रति सलाम पनि गर्नुपर्छ । यो साहसको कथा पनि हो । 
०००

‘द भजाइना मोनोलग’ मञ्चन गर्दा परिमार्जन गर्ने अधिकार दिइएको छ । त्यसैले हरेक देशको सापेक्षतामा यसमा कथा थपिन्छ । आकांक्षा र गुञ्जनले नेपालमा यसलाई एउटा क्रान्तिकारी कदमको रूपमा परिभाषित गरेर अन्तिम कथा टुंग्याएका छन् । यसले निर्देशकीय सिर्जनशीलता प्रमाणित गरेको छ । नाटकका दृष्टिकोणबाट ‘योनीका कथाहरू’ सफलतापूर्वक मञ्चन भएको छ । तर नाटकको अन्त्य जसरी गरिएको छ, त्यसले पनि बोल्ने कुरा यो हो कि नाटकको मञ्चन सफलतामात्रै पर्याप्त छैन । नाटकमै भनिएको छ– नाटकको मञ्चन महिला हिंसा अन्त्यको सपनासहितकोे क्रान्तिसँग जोडिएको छ ।
क्रान्ति स्वाभाविक रूपमा आमसँग जोडिने विषय हो । सीमित वृत्तमा देखिएको परिवर्तन क्रान्ति होइन, समग्र संस्कार र व्यवस्था परिवर्तन आवश्यक छ । त्यसैले ‘थिएटर अफ अप्रेस्ड’को विश्वव्यापी अभियानसँग जोडिएको ‘मडलेनाज नेपाल’का लागि आफैंले घोषणा गरेको अबको यात्रा चुनौतिपूर्ण छ ।  
पहिलो चुनौति हो– नाटक मञ्चनपछि आउने प्रतिक्रिया, समीक्षा वा आलोचनाको सही आँकलन । नाटक र यसको ‘कन्टेन्ट’ले समाज र महिलामा पार्ने प्रभावको सही आँकलन हुनु आवश्यक छ । नाटकको नेपाली समाजमा सान्र्दभिकतासँग जोडेर पनि त्यो बहस हुन सक्छ । त्यसको लागि नाटकले पाएका दर्शकबाट अध्ययन सुरु गर्नु आवश्यक छ । स्वाभाविक हो, नाटकले थुप्रै दर्शक पायो । भीड नै पायो । तर नाटक हेर्न आफ्नो डिभाइसमा पासकोड प्रोटेक्टेड ‘पोर्न कन्टेन्ट’ बोकेर हिँडिरहेकाहरूको समूह आयो कि मुद्दालाई सचेततापूर्वक ग्रहण गर्ने जमात आयो ? यो प्रश्नमा घोत्लिन जरूरी छ । अर्को कुरा, जति पनि जानेमानेका महिला वा पुरुष व्यक्तित्व नाटक हेर्न आए, तिनले नाटकको मुद्दामा खुलेर लेख्ने, बोल्ने र बहस गर्ने सामथ्र्य जुटाउँछन् कि योनी र यौनबारे ‘आकर्षक’ युवतीहरूले ‘लाइभ’ बोलेको संवादको रोमाञ्चमात्रै ‘सेलिब्रेट’ गर्छन् ? यो पनि गम्भीरतापूर्वक नियाल्नुपर्छ । आफ्नो व्यक्तिगत जिन्दगीमा केही असर नपारिकन ‘एक्ट्रिम फेनिनिस्ट’ हुन पाउने स्वतन्त्रता उपभोग गरिरहेकाहरूले मात्रै अभियानको प्रशंसा गर्छन् कि आफ्नो व्यक्तिगत जीवनलाई दाउमा राखेर अधिकारका लागि लडिरहेकाहरूले पनि चासो राख्छन् ? यो अर्को गम्भीर प्रश्न हो । यी र यस्ता सारा प्रश्नलाई गम्भीरतापूर्वक नियालेरमात्रै ‘मडलेनाज नेपाल’ले आगामी यात्राको चुनौतिको आँकलन गर्न सक्छ । 
अर्को त नाटकबारे नै भएका आलोचनालाई पनि गम्भीरतापूर्वक लिनुपर्छ । ‘द भजाइना मोनोलग’माथि आरोप छ कि यसले पहिलो विश्वको विकृत पुँजीवाद र त्यसले पैदा गरेको चरम व्यक्तिवादले उत्पादन गरेको विचारलाई प्रवाह गरिरहेका छ । त्यसैले नेपालजस्ता विकासशील र ग्रामीण संरचना भएको देशमा योनी र यसबारे खुलेर बोलेरमात्रै यौनहिंसा र शारीरिक हिंसाको अन्त्यको परिकल्पना कत्तिको सम्भव छ भन्ने बहस यसले आमन्त्रण गर्छ । 
त्यस्तै नाटकका कथामाथि पनि प्रश्नहरू गरिएकै छन् । जस्तो कि ६ बर्षिया बालिकालाई योनीको रहस्य र वासना सोध्नुको अर्थ र सन्देश के हो ? आफ्नै बाबुको साथीद्वारा बलात्कृत बालिका किशोरी हुँदा महिलाद्वारा बलात्कृत हुनुमा किन खुशी हुन्छे ? नाटकलाई नेपाली सन्दर्भमा प्रस्तुत गर्दा र अझ महिला हिंसामुक्त समाजको परिकल्पनाको अभियानको ‘टुल्स’का रूपमा प्रस्तुत गर्दा यस्ता प्रश्नमा पनि घोत्लिन जरुरी हुन्छ । 
त्यस्तै अर्को महत्वपूर्ण कुरा ‘मडलेनाज नेपाल’ले नाटकमार्फत गरेको क्रान्तिको परिकल्पनासँग सम्बन्धित छ । ‘मडलेनाज, नेपाल’ले नाटकमार्फत सुरु गरेको साहसयात्रा साँच्चै ‘क्रान्ति’मा परिणत हुन सक्छ कि सक्दैन भनेर सोचिरहँदा मैले रातोपाटीका लागि अन्तर्वार्ता गरेका केही महिला अभियन्ता सम्झें । जस्तो कि, आख्यानकार तथा कवि प्रगति राई । जो, महिलालाई सम्पूर्ण विभेदबाट मुक्त गर्न बंशाधिकार आवश्यक छ भन्ने कुरा पैरवी गरिरहेकी छिन् । उनले ‘लेखककी स्वास्नी’ उपन्यासमार्फत थालेको बहस अहिले पनि जारी छ । अर्को, चरिमाया तामाङ, जसले साहसपूर्वक आफू बम्बईमा बेचिएको कुरा स्वीकार गरिन् । र, चेलीबेटी बेचबिखनविरुद्धको अभियानमा सामेल भइन् । त्यस्तै मेनुका थापा, जो बलात्कारमुक्त समाजको परिकल्पनाको सपना बोकेर अभियानमा छिन् । नाटककार इभ एन्सलरले कंगोमा ‘सिटी अफ जोय’ निर्माण गरेर यौनहिंसापीडित महिलालाई आश्रय र जीवनको सपना दिएझैं उनी पनि नेपालमा यौनहिंसा पीडितलाई आश्रय दिन सक्रिय छिन् । उनले एउटा प्रसंगमा भनेकी थिइन्, ‘नेपालमा लैंगिक विभेद संस्कारमै छ । सुशिक्षित नै दाजुबहिनी हिँडिरहेका छन् र बहिनीलाई पेन्टी किन्नु छ भने दाइ त्यो पसलमा जाँदैन । यस्तो संस्कारले लैंगिक विभेदलाई संस्थागत गर्छ र यौनहिंसाको मनोविज्ञान जन्माउँछ ।’ त्यस्तै, राधा पौडेल, जो महिनावारी बार्ने चलनले भइरहेको महिला हिंसाको विरुद्ध पैरवी गरिरहेकी छिन् । त्यस्तै, माओवादी सशश्त्र आन्दोलनमा सहभागी भएका धेरै महिला छन्, जसले महिलामाथिको सम्पूर्ण विभेदको अन्त्य वर्गसंघर्षबाट मात्रै सम्भव छ भनेर आफ्नो जीवन दाउमा राखेर लडेका थिए । ‘मडलेनाज, नेपाल’ले जसरी अहिले साहसका साथ योनी र यौनसम्बन्धी नेपाली समाजमा रहेको ‘ट्याबू’ भत्काएर महिलामाथि हुने यौनहिंसाविरुद्ध पैरवी गर्ने रंगमञ्चीय साहस देखाएको छ । त्यसअघिदेखि नै यी र यस्तै अरू महिलाहरूले साहस देखाइसकेको थिए, त्यसैमा आफ्नो जीवन खर्चिरहेका छन् । ‘मडलेनाज’ले आफ्नो साहसको कथामा ती साहसका कथालाई समायोजन गर्न सक्छ कि सक्दैन भन्ने कुरामा अबको यात्राको गति निर्धारण हुन्छ । त्यसमा नेपाली समाजकै महिलाले भोगेको हिंसालाई मुद्दाको रूपमा उठाउन सक्छ कि सक्दैन भन्ने प्रश्न अर्को निर्धारक हो । किनकि क्रान्तिका लागि एक चरणको साहसमात्रै पर्याप्त हुँदैन, आम सरोकारवालाको साथ र निरन्तर साहस आवश्यक पर्छ । त्यो जुटाउँदै सचेततापूर्वक अघि बढ्ने हो भने जीत कुनै अभेद्य गन्तव्य पनि होइन । मलाई लाग्छ, ‘मडलेनाज नेपाल’ले यसरी पनि सोचिरहेकै होला । 
܀܀܀
✍ कला अनुरागी
प्रकाशित : रातोपाटी
तस्बिरहरू : मडलेनाज नेपालको फेसबुक पेज

Comments