'अब यस्तो प्रेमिकाको सपना छ, जसको प्रेममा बर्बाद होइजाऊँ'

उपेन्द्र सुब्बा नेपाली साहित्य र सिनेमामा प्रिय नाम हो । जीवनलाई नजिकैबाट छोएर लेखिएका उनका कविताले पाठकको हृदय र मस्तिष्क दुवै झंकृत पार्छन् । पछिल्लो कविता संग्रह ‘खोलाको गीत’ त्यसकै नमूना हो । कथामा आफ्नै भूगोल र संस्कृतिको जीवनलाई खिच्छन् र पाठकलाई हसाउँदै–हँसाउँदै संवेदित पार्छन्, आन्दोलित गर्छन् । उनको पहिलो कथा संग्रह ‘लाटो पहाड’ले यस बर्ष (२०७२)को ‘पद्मश्री पुरस्कार’ प्राप्त गरेको छ । उनको लेखकीय क्षमता सिनेमाले पनि देखिसकेको छ । उनले ‘कबड्डी’ सिनेमाबाट उत्कृष्ट स्क्रिप्टको राष्ट्रिय अवार्ड प्राप्त गरे । जसको सिक्वेल ‘कबड्डी कबड्डी’को सफलताले त नेपाली सिनेजगतलाई नै सोचको सागरमा धकेलिदिएको छ । नेपाली साहित्य र सिनेमामा आफ्नो विजय–यात्राबारे सुब्बा यसरी प्रस्तुत भए :

पुरस्कार र अनुभूति
मैले नसोचेकै पुरस्कार पाएँ । न त साहित्यमा पद्मश्री पुरस्कार आस गरेको थिएँ, न ‘सिनेमा स्क्रिप्ट’मा ‘नेसनल अवार्ड’को नै । तर पनि मैले पुरस्कारलाई ‘सेलेब्रेट’ गर्नै सकिनँ । पुरस्कारबाट उत्साहित हुने पनि एउटा उमेर हुँदो हो । त्यो उमेर पार गरेपछि यस्ता कुरा सामान्य र स्वाभाविक लाग्दो रहेछ कि के हो ? मैले त्यस्तो विशिष्ट अनुभूत केही पनि गरिनँ ।

पाठक मन
मलाई गाली गर्ने पाठकसँग अहिलेसम्म भेट भएको छैन । साहित्यिक वृत्तमा नराम्रो नभन्दिँदा रहेछन् । नेपाली समाज नै यस्तो रहेछ कि ! आफूलाई नराम्रो लागे पनि श्रष्टा नै भेट्दा चाहिँ बडा राम्रो भनिदिने गर्दा रहेछन् ।
‘लाटो पहाड’ राम्रो त सबैले भने । तर पुस्तकको बिक्रि हेर्ने हो भने राम्रो लागेछ भन्ने लाग्दैन । करिब ३५ सय किताब बिक्रि भएको छ । अहिले सामान्य चर्चा भएको किताब नै १०–१५ हजार बिक्रि भयो भन्छन् । यो हिसाबले पाठकले त्यस्तोविधि रुचाए भन्नेचाहिँ लागिरहेको छैन । सामान्य नामचाहिँ लिए । ‘लाटो पहाड’भित्रका कथाको समाज र संस्कृति फरक थियो । त्यसैले पढ्नेलाई नयाँ लाग्यो होला । यसरी नाम लिएको हो कि ? तर कथा राम्रै भएर नाम लिएको हो भन्नेमा चाहिँ शंका नै छ है ।

सिर्जनशील अराजकता
पछिल्लो समय जनजातिमा नयाँ चेतना आयो । जागरण पैदा भयो । राजनीतिक परिवर्तनसँगै जनजातिले आफ्ना कुरा बोल्न थाले । हामी भने अलि अगाडिदेखि नै यही बिषयमा लेखिरहेका थियौं, बोलिरहेका थियौं । त्यसैले हाम्रो ‘स्पेस’ अलि फराकिलो भयो ।
पहिलो चरणमा हामी कवितामात्रै लेख्थ्यौं । राजन मुकारुङ आख्यानमा आउनुभयो । उहाँको दुई उपन्यास आइसक्दा हाम्रा बिषय र मुद्दा निकै फराकिलो बनिसकेको थियो । त्यही फराकिलो मैदानमा मैले सहज रूपमा उपस्थिति जानाउन सकें । तर राजन मुकारुङलाई निकै कठिन भएको थियो । उहाँको पहिलो उपन्यास ‘हेच्छाकुप्पा’ निस्कँदासम्म मुद्दालाई हेर्नेे सामाजिक र राजनीतिक दृष्टिकोण खराब नै थियो । संकीर्ण थियो । ‘लाटो पहाड’ आउँदाचाहिँ उहाँले मदन पुरस्कार पाइसक्नुभएको थियो। मुद्दा राजनीतिक रूपमा पनि सतहमा आइपुगेको थियो । त्यसैले मलाई निकै सहज भएको अनुभव गरेँ ।
वास्तवमा, अहिलेको उपेन्द्र सुब्बा बन्नुमा सम्पूर्ण रूपमै ‘सिर्जनशील अराजकता’ आन्दोलनकै हात छ । आन्दोलनअगावै पनि म कविता त लेख्थें । तर त्यतिबेला  मेरो लेखन विचार र सिद्धान्तविहिन लाटो पाराको थियो । मैले लेख्न र बोल्न सक्ने पनि त्यति नै थियो । आन्दोलनले मलाई आवाज र अर्थ दियो । मैले बाटो भेटेँ । अहिले मेरो जति चर्चा छ, सम्पूर्ण रूपले ‘सिर्जनशील अराजकता’को कारण नै हो ।

पहिचानको मुद्दा
हाम्रो आन्दोलन गरिएको चाहिँ साहित्यिक हिसाबले हो, तर मुद्दा भने राजनीतिक छ । तर अहिले पनि पहिचानको मुद्दालाई सम्बोधन गर्ने कुरामा राज्य जसरी अनकनाइरहेको छ, त्यसले हामी विजयी नै भयौं भन्ने स्थिति चाहिँ छैन । तर पनि हामीले जुन पुरस्कार पाइरहेका छौं । जसरी हाम्रो चर्चा हुन्छ, त्यसले ‘सिर्जनशील अराजकता’ले उठाएको मुद्दालाई अस्वीकार गर्न नसक्ने अवस्थाचाहिँ आएकै हो भन्न सकिन्छ । र, यो विजयमा जाँदैको अवस्था नै हो ।
लेख्दा आन्दोलन सम्झन्नँ भनेर मैले कुनै सन्दर्भमा भनेको थिएँ । त्यसलाई विभिन्न कोणबाट बुझियो । वास्तवमै म लेख्दाचाहिँ अभियान सम्झिन्नँ । यो नसोच्नुको कारणचाहिँ के हो भने मैले लेख्ने जति पनि बिषय छन्, ती सबै नै आन्दोलनकै सेरोफेरोका छन् । जसलाई आन्दोलनबाट अलग्याउनै मिल्दैन ।  मैले नलेखूँ भन्दा पनि लिम्बूकै बिषय र अफ्ठ्यारा लेख्दोरहेछु । त्यसैले मैले आन्दोलनलाई सम्झिराख्नु नै पर्दैन भन्ने अर्थमा भनेको हुँ । म जुन धरातलमा छु, त्यो नै  आन्दोलनमा छ । म जसरी बाँचिरहेको छु, त्यहाँ आन्दोलन छ । म आन्दोलनकै बिषयमा उठबस् गर्दोरहेछु । लेख्दा, बोल्दा, हिँड्दा र साथीसंगत गर्दा पनि आन्दोलनमै हुँदोरहेछु । त्यसैले मैले आन्दोलनको बारेमा सोचिराख्नै पर्दैन ।

सिनेमा लेखन
नेपाली सिनेमामा मेरो सानो ‘सर्कल’ छ । नेपाली सिनेमा बजारमा मलाई चिन्दैनन् पनि । दुई चारजनाले मात्रै चिन्छन् । म चिनिनँ पनि चाहिनँ । निर्देशक रामबाबु गुरुङ जतिबेला सिनेमा बनाउँदैथे, उनलाई त्यतिबेलादेखि नै चिन्छु । उनी सिनेमा बनाउन थाले । ‘अनागरिक’ बनाए । त्यसपछिका सिनेमामा हामी छलफल गर्न थाल्यौं । उनले ‘ट्रेनिङ’ लिन थाले र त्यो कुरा मलाई ‘शेयर’ गर्न थाले । अनि सम्बन्धित पुस्तक पढ्न थाल्यौं । विश्वबजारमा चर्चा भएका सिनेमा हेर्न थाल्यौं । सिक्दै–सिक्दै म पनि सिनेमामा आएँ । रामबाबु गुरुङ नभएको भए नेपाली सिनेमामा हुँदैनथेँ म ।
जब मैले ‘कबड्डी’बाट उत्कृष्ट स्क्रिप्ट लेखकको अवार्ड प्राप्त गरेँ, धेरै सिनेमा लेखाउन । त्यस क्रममा मैले भनें, ‘जुन खर्चमा नेपाली सिनेमा लेखिरहेका छन् अरू स्क्रिप्ट राइटरले । त्यो खर्चमा म लेख्न सक्दिनँ ।’ त्यसो भनेपछि आधाजति भागे । आधाले चाहिँ मेरो आइडिया मन पराउनुभएन । मलाई उहाँहरूको आइडिया मन परेन । उहाँहरू ‘कबड्डी’ चलेपछि त्यस्तै लेखाउन खोज्ने, म त्यस्तै त लेख्नै चाहन्नँ । त्यस्तो हुँदा हुँदै नेपालका चर्चित निर्देशक र ठूला सिनेमा हाउससँग बसेँ स्क्रिप्टको प्रस्तावमा । तर कुरा नमिलेपछि टार्न थालेँ । भोलि भेटूँ, पर्सी भेटूँ, म आउँदैछु भन्दै । लेख्दिनँ नै भनेर त कसैलाई भनिनँ । तर कतिले दुई–तीन महिना भएपनि आफैं बुझे अब यसले लेख्दैन भनेर । कतिले चाहिँ कति लिनुहुन्छ त भनेर सोधे । मैले ढ्याम्मै भनिदिएँ, यति लिन्छु भनेर । उनीहरूले आत्तिए र भने, ‘त्यति त हिरोलाई पनि दिने गरेको छैन ।’
मेरो उत्तर रह्यो, ‘उसो भए तपाईंको र मेरो कुरै जमेन । त्यसभन्दामुनि त म सिनेमा लेख्नै चाहन्नँ ।’ यस्तो भएपछि मलाई व्यस्त होला भनेर त सोच्छन्, तर मसँग प्रोजेक्ट नै छैन ।

सिनेमाको नेपाली स्वाद
नेपाली दर्शक सिनेमामेकर भन्दा निकै अगाडि छन् । नेपाली सिनेमा गाउँमा लाग्ने कुरा भएन, त्यहाँ थिएटर नै छैन । सहरमा इन्टरनेटको सुविधा छ । जसमार्फत हामीले नसोचेको प्रविधिका सिनेमा दर्शकले हेरिसके । हामीले गर्नै नसक्ने सिनेमा उहाँहरू हेरिरहनुभएको हुन्छ । तर हामीचाहिँ कुसुमे रुमालको ताकको वा आङ न पाङका दक्षिण भारतीय मद्रासी तालका सिनेमा बनाइरहेका छौं । दर्शकहरू यस्ता सिनेमा हेर्न चाहँदैनन् । नेपाली दर्शक आफ्नो सिनेमा हेर्न चाहन्छन् । संसारको भन्दा पृथक सिनेमा हेर्न चाहन्छन् । त्यो भनेको नेपाली संस्कृति, कथा, पात्र र चरित्र भएको सिनेमा हेर्न चाहँदारहेछन् भन्नेचाहिँ दुईवटा ‘कबड्डी’ सफल भएको आधारमा भन्न सक्छु म । त्यसको लागि नेपाली सिनेमा बनाउने जुन व्याकरण छ, त्यो परिवर्तन हुनुपर्छ । आफ्नै नेपाली व्याकरण बनाउनुपर्छ । त्यो नबनाएसम्म नेपाली सिनेमा उँभो लाग्ला भन्ने मलाई लाग्दैन । फिटिक्कै लाग्दैन ।
मैले लेखेका सिनेमा दर्शकले मन पराए । पुरस्कार पनि पाएँ । मैलेचाहिँ पैसाको अभावका कारण सिनेमा लेखेको हुँ, दुई–चार पैसा आउँछ भन्ने लोभमा । नेपाली सिनेमाको ‘टे«न्ड’ नै बदलिदिन्छु भन्ने सोचाइ आएरचाहिँ होइन । यत्ति हो कि म नेपाली सिनेमामा जे छैन, त्यही लेख्छु भन्नेचाहिँ लाग्छ । नेपाली सिनेमामा नेपाली नै भाषा, संस्कृति, चरित्र होस् भन्ने सोचेर लेख्छु, त्यो पनि साथीहरूसँग मिलेर । पैसा कमाउने कुराचाहिँ दोस्रो कुरा हो । सिनेमामा नेपाली सौन्दर्य होस् भन्ने ध्येय रहन्छ ।

सिनेमामा अभिनय
मैले ‘कबड्डी’मा एउटा सानो भूमिकामा अभिनय गरेँ । ‘कबड्डी कबड्डी’मा त्यही भूमिका अलि विस्तार भएको थियो । तर त्यसपछि अभिनय गर्दिनँ भनेर कानै समाएँ । गाडीमा पनि चिन्छन् । कुनै समारोह त जानै नहुने ! अस्ति, ल्होसारको कार्यक्रममा गएको । फोटो खिच्दा–खिच्दा लाजले हरियो नीलो भएँ । एउटा कलाकार हुने सपना भा’को मान्छेलाई त यो धेरै राम्रो कुरा हो । तर म कलाकार हुने सपना भएको मान्छे होइन । कवि बन्न चाहने मान्छे हुँ, कवि भनिदिओस् भन्ने रहर भएको । मलाई त्यो कलाकार बनेर भएको चर्चाचाहिँ फिटिक्कै मन परेन । त्यसैले अबदेखि गर्दिनँ ।
अभिनय मेरो कहिल्यै सपना थिएन । भइदियो के भने कबड्डीमा जसलाई झाँक्रीको भूमिकाका लागि लगेको हो, उसले गरिदिएन । भागिदियो । त्यतिबेला मेरो जटा पनि थियो । साथीहरूले समाए, टापटुप राखे । झाँक्री बनाइहालेँ । मैले पनि रहर रहरमा यसो दिउँ न त भनेर गरिहालेँ । तर ‘कबड्डी कबड्डी’मा झाँक्रीको ‘सिन’ बढ्यो । अनि जबर्जस्ती गर्नुपर्यो । त्यतिमात्रै हो । अब त मलाई फिटिक्कै रहर छैन । कबड्डीमै सुरु भयो, त्यहीँ खत्तम भयो ।

गीत लेखन
म गीतकार बन्ने सपनाका साथ राजधानी आएको थिएँ । सफलता पनि पाउन थालेको थिएँ । कसैले नचिन्दै मैले लेखेको गीतको रेडियो नेपालमा तेस्रो भएको थियो । संगीतकार शान्तिराम राईले तीनवटा संगीत गर्दा एउटाचाहिँ रेडियोको प्रतियोगितामा भिडाउनुभएको रहेछ । त्यसपछि पनि मेरा गीत स्थापित गायक दीप श्रेष्ठ, आनन्द कार्की, यम बराल, रोविन शर्मालगायतले गाउनुभयो । झण्डै दर्जन गीत रेकर्ड पनि भए । केही गीत चर्चित पनि भए । तर मलाई गीतको प्रक्रिया निकै झन्झटिलो लाग्यो । लेखेरमात्रै नहुने संगीतकार चाहिने । त्यतिलेमात्रै नहुने, गायक चाहिने । दुनियाँ खर्च चाहिने । अर्कातिर म जस्तो गीत लेख्न चाहन्थेँ, बजारले त्यस्तो नरूचाउने । म जीवनवादी खालको, अलि आध्यात्मिक किसिमको गीत लेख्न चाहन्थेँ । त्यस्तो गीतचाहिँ कसैले नमाग्ने, मायाप्रिती, टाँटाँ टुं टुं, दोहोरी र हल्का खालका गीतमात्रै माग्ने । त्यसपछि मैले लेख्दिनँ भनेर छोडिदिएँ ।

‘सरप्राइज’ सोचमैले नेपाली साहित्य वा सिनेमामा के दिन्छु भन्ने त सोच्न भ्याएको छैन । तर मैले जे गर्दै आएको छु, त्यो ‘सरप्राइज’जस्तो हुँदै आएको भने छ । गीतकार हुन आएको कवि कविता दिएँ, त्यसपछि कथा दिएँ, सिनेमा पनि दिएँ । तर यी सबै बाँच्ने उपक्रममै भएका हुन् । उपेन्द्र सुब्बा भन्ने परिचय बनाउने क्रममा भएका हुन् । सिनेमाको काम पनि भातको जोहो गर्ने उपक्रमम गरिरहेको छु । देशलाई दिऊँ, नेपाली साहित्यलाई योगदान दिऊँ भन्ने पवित्र भावनाले काम गरिरहेको छैन । मात्रै साना मसिना इच्छा आकांक्षा पूरा गर्ने क्रममा आफ्नो निजी स्वार्थमा काम गरिरहेको छु ।
तर पनि यो सांसारिक जीवनमा जीउन सपनाहरू चाहिँदो रहेछ । त्यस्ता केही सपना छन् मकहाँ । अब उपन्यास लेख्नेवालामा छु । प्रकाशक फिनिक्स बुक्सको पैसा खाइसकेको छु । अर्कोचाहिँ मेरै निर्देशनमा सिनेमा बनाउँदैछु लिम्बू भाषामा । यही लोभले पनि म सिनेमामा काम गरिरहेको छु । ‘लाटो पहाड’का कथा र पात्र, जो नेपाली सिनेमामा पनि चल्दैन । त्यसमा नेपाली सिनेमा बन्नेवाला पनि छैन । जुन नबन्नेवाला छ, त्यो म बनाउनेवाला छु । नेपाली भाषामा पनि बनाउन सकिएला, तर पहिलाचाहिँ आफ्नै भाषा र समुदायको बनाऊँ भन्ने सोचमा छु ।

पराजयको सिँढी उक्लेरमैले अहिलेसम्म आउँदा गुमाएको त केही छैनजस्तो लाग्छ । पाएको पायै छु । साँच्चै भन्ने हो भने म केहीमै काम नलागेपछि साहित्यमा आएको हुँ । जस्तो, लाहुर जान चाहन्थेँ, ब्रिटिश आर्मी हुन चाहन्थेँ, असफल भएँ । निकै पढ्न चाहन्थेँ । बीचमै पढाइ पनि छुट्यो । विदेश जान चाहन्थेँ । आम नेपाली जस्तै सामान्य दुःखजिलो गरेर खान चाहन्थेँ । त्यो पनि सकिनँ । समाजमा यति अयोग्य रहेँ कि म यति बेकामे छुइनँ भन्ने देखाउनलाई साहित्यमा हात हालेको हुँ । समाजलाई कामै नलाग्ने मान्छेचाहिँ होइन है भन्ने देखाउने क्रममा साहित्यलाई सहारा बनाएँ सुरुमा । समाजमा आश्रित रहिनँ । जिम्मेवारीसँग भाग्दै–भाग्दै उम्किएर यहाँसम्म आइपुगेको हुँ । यहाँसम्म आउँदा नाम पाएँ, इज्जत पाएँ । तर मलाई केही गर्छु भन्ने लागेकै थिएन । गरेको जस्तो देखाउनमात्रै आएको थिएँ । म पनि छु है, म पनि यसो गर्न सक्छु है, साह्रै बेकामे होइन है भन्ने बनाउनु थियो । त्यसै क्रममा पहिलो कविता कृति निकालेको हुँ । त्यसपछि त दोस्रो कृति जबर्जस्ती निकाल्नु परिगो । तेस्रो चौथो भन्दा–भन्दै कर पर्यो । साथी संगतमा पनि आएँ । त्यसैमा रमाइलो भयो, माहौल पाएँ र रमाएँ । र, यत्तिकै लेख्दै गएँ ।

‘क्लाइमेक्स’ कामनामेरो जीवनमा यस्तो उचाइ छुन्छु भन्नेचाहिँ छैन । साहित्य वा सिनेमा त भात खाने मेलोको लागिमात्रै गरिरहेको छु ।
मैले सिनेमाको लागि जे–जे सोचें, त्यो नेपाली सिनेमामा बिक्रि भएन । त्यसैले लिम्बू भाषामा नै फिल्म बनाएर देखाउँछु भन्ने इगोजस्तो मात्रै हो । उपन्यास लेख्ने पनि भातको मामलामात्रै हो । नेपाली साहित्यलाई यस्तो योगदान दिन्छु, यस्तो नाम बनाउँछु भन्ने मेरो कुनै कामना छैन । तर मेरो मनमा दुइटा कामनाचाहिँ छ । एउटा, यस्तो प्रेमिकाको कल्पना गर्छु, जसको प्रेममा म बर्बाद होइजाऊँ । जसको लागि यो संसारमा जिऊँ, यो सांसारिकता भोग्नका लागि । दोस्रोचाहिँ म त्यस्तो गुरूको प्रतिक्षामा छु कि उसले मलाई यो संसारबाट मुक्त गरिदिओस् । यत्ति दुइटा कुराको मात्रै चाहना छ । अरू कुनै चाहना छैन ।
܀܀܀
प्रस्तुति : कला अनुरागी
साभार : रातोपाटी

Comments