उपेन्द्रका उन्नाइस कुरा

१. कविताको बिउ
दमकमा बिए पढ्दै थिएँ । साझा कविता भन्ने किताबमा दुई जना लिम्बुको कविता थियो । एकजना बैरागी काइला र अर्को बिरेन्द्र सुब्बा । अरे बा ! लिम्बु पनि यति ठुल्ठूला कवि र’छन् भन्ने लाग्यो । मलाई लिम्बु पनि कवि होलान् जस्तो लागेकै थिएन । त्यसपछि लिम्बुले पनि लेखे त सक्दोरहेछ नि भन्ने लाग्यो । अनि लेख्न थालें । 

२. डायरीमै सिमित
कविता लेख्न थाले पनि मैले कसैलाई पनि देखाइनँ । धेरै बर्ष नै लुकाएँ । न त कतै वाचन नै गरें । बरु मैले गीत लेखेको चाहिं केही साथीलाई थाहा थियो । एउटा साथीले एलबम निकालिदिन्छु भनेपछि काठमाडौ आएको थिएँ । विभिन्न कारणले एलबम त निस्किएन । तर राजन मुकारुङलगायतका कवि साहित्यकार भेट भयो । मैले पहिलोपटक कविता सुनाएको राजन मुकारुङलाई नै हो । पुतलीसडकको किम्चिी रेष्टुरेन्टमा । त्यो पनि निकैपटकको अन्तरंग बसाईपछि । मैले उहाँलाई म पनि कविता लेख्छु है भनें । उनले पनि लौ न त एउटा सुनौं भनेर भने । मैले सरम लाग्दै–लाग्दै सुनाएँ । उहालाई बडो राम्रो लाग्यो भन्नुभयो । मैले पहिलोपटक मेरो कविताको तारिफ सुनेको पनि उहाँबाटै हो । 

३. संग्रहको बाटो
राजन मुकारुङलाई कविता सुनाएपछि उहाँले कतिवटा छ भनेर सोध्नुभयो । 
२०/२२ वटा छ हो यस्तो त भनें । उहाँले माग्नुभयो । मैले डायरी नै दिएँ । त्यतिखेर सैनिक आवाजमा सम्पादक हुनुहुन्थ्यो । कविता टाइप गराएर केही छपाउनुभयो । त्यसपछि संग्रह निकाल्न प्रस्ताव पनि गर्नुयभयो ।ल संग्रहलाई त पुग्ने कविता थिएन । त्यसपछि करिब दुई महिनाको अवधीमा केही कविता लेखें र पहिलो संग्रह ‘डाँडामाथिको घामजून र गड्तीरको राँकेभूतहरु’ निस्कियो । 

४. एक्कासी कवि !
मैले पहिलो कविता संग्रह निकाल्दा धेरै दंग परे । धरान बस्थें म त्यतिखेर । त्यहाँ देवान किराती भन्ने कवि हुनुहुन्छ । उहालाई मेरो किताब दिदा उहाँ त तर्सिनु भयो नि । मेरो गाउँघरतिर अहिले पनि कवि उपेन्द्र सुब्बा भनेर सोध्यो भने अलमलिन्छन् । 
तर पहिलो कविता संग्रहबारे नै इश्वर बल्लभ दाईले उहाको कान्तिपुरको कोलममा लेखिदिनुभयो । पत्रपत्रिकाले समीक्षा छापे । 

५. सालीलाई धन्यवाद
मेरो पहिलेदेखि नै लेखेर कविता संग्रह गर्ने, ५० वटा बनाउने र छानेर छाप्ने भन्ने भएन । म परेपछि लेख्नेमा पर्छु । मेरो दोस्रो कृति ‘ होङ्ग्रायो भोग र पांग्रा’ करिब २ महिनामा लेखिसकेको हुँ । 
खासमा कुरा के भयो भने एकजना साली पर्नेले किताब छाप्दिन्छु भन्नुभयो । पैसा पनि दिइहाल्नुभयो । तर पैसा पैसा घरखर्चमा सकिको । तर सालीले त ‘खोइ किताब भेना ?’ भन्न थाल्नुभयो । किताब नदिई पनि भएन । कविता पनि छैन । त्यसपछि कविता लेखें र दुई तीन जना आफन्तलाई पैसा मागेर छापें । 

६. लाजले लेखियो 
पछिल्लो संग्रह ‘खोलाको गीत र पुराना कविताहरु’मा धेरै त पुराना कविता छन्, केही नयाँ छन् । खासमा मेरा पुराना कविता छाप्न कवि चन्द्रविर तुम्बापो र फिनिक्स बुक्सका भाइहरुले प्रस्ताव गर्नुभयो । उहाँहरुले तपाईको कविताको सारै खाँचो भयो, छापौं भन्नुभयो । मैले हुन्छ नि त भनें । मैले दश बर्ष भइसकेको थियो कविता नलेखेको । अब नयाँ कविता विना त कसरी बजार जानु त है भनेर २० वटाजति नयाँ कविता लेखेर संग्रहमा राखें । 
७. सिर्जनशील अराजक
म संलग्न हुनुपहिले नै राजन र हाङयुग अज्ञातले अराजकताबारे थुप्रै लेखिसक्नुभएको थियो । 
उहाहरुको विचारले मलाई छपक्कै छोप्यो । मैले गाउँमा बसेर लेखेको कविता कुनै बाद या आग्रहसग नजिक थिएनन् । तर जसरी सिर्जनशील अराजकताले उठाएका पहिचानको सवाल थियो, मेरो कविता तिनको नजिक थियो । त्यसको कारण हो म आफू लिम्बु हुन र मैले त्यही समाज वरपरको बिषयमा लेख्नु । त्यसले यो समूहमा बस्दा मेरो कवितालाई अर्थ मिल्छ भन्ने लाग्यो र समूहमा सामेल भएँ । 

८. कवितामा सरलता
मेरा कविता मैले चाहेर सरल भएको होइन । वास्तवमा भाकै कुरा त्यही हो । नेपाली भाषा दोस्रो भाषा भएको कारण मसँग शब्दभण्डार एकदमै कम छ । त्यसमा पनि म धेरै अल्छे पनि छु । त्यसैले कम अध्ययन गर्छु । त्यसकारण म जानेर नै सरल लेख्छु भनेर भएको चाहिं होइन । अब थोरै शब्द भएपछि त्यही शब्दलाई खिप्नुपर्छ । त्यसले कविता सरल भएको होला ।  

९. कवितामा शब्द खेल
म कवितामा शब्द पनि त्यति खेलाउदिन । खेलाउन त जान्नु पर्‍यो नि । खेलाउने क्षमता पनि छैन मसँग । मैले आफ्ना कविता धेरै पुनर्लेखन पनि गरेको छैन । पछिल्लो संग्रहका कविता पनि दुईपटकमात्रै पुनर्लेखन गरें हुँला ।

१०. पढ्नै सक्दिनँ कविता
मैले कविता थोरै मात्रै पढेको छु । विदेशी कविता त पढेकै छैन । किनभने मेरो अंगेजी कमजोर छ । उपन्यास त पढ्न सक्दिनँ । मैले नेपालीमा पनि कवि बैरागी काइला, कृष्णभूषण बल र गुमानसिंह चाम्लिङ आदिका कवितामात्रै राम्ररी पढेको छु । बैरागी काइलाचाहिं गाउमास्तिरका बडा बाजस्ता हुन् । उहाका कविता चाहिं म यसै बुझ्छु भन्ने लाग्थ्यो पहिले पनि । त्यसैले आयामेली कविताहरुको कविता नबुझेर हैरान थे मान्छेहरु । मचाहिँ उसै बुझेर हैरान थें । 
किनभने उहाले प्रयोग गरेको मिथ र भन्न खोजेको बिम्बबारे मलाई ज्ञान थियो । किनभने म त्यही परिवेशमा हुर्केको हुँ । तर म कवितामा ‘इन्जोय’ गर्नै सक्दिनँ । 

११. आत्मविस्वास
मैले कविता लुकाएँ । कविता चर्चा परिचर्चामा सामेल भइनँ । मलाई अहिले लाग्छ आत्मविस्वास नभएर पो रहेछ । किनभने लेख्नलाई त प्रशस्त ज्ञान हुनुपर्‍यो । मैले जीवनमा त्यति धेरै पढेकै पो छैन त । 

१२. वाहियत प्रश्न
एकसमय म कविता केका लागि भन्ने प्रश्नमा अल्झिएँ । त्यही प्रश्नमा अल्झिएर झण्डै दश बर्ष कविता नै लेखिनँ । तर अहिले लाग्छ यो प्रश्न नै वाहियत रहेछ भन्ने लाग्यो । 

१३. कविता योजना
मेरो कविता लेखनबारे कुनै योजना छैन । कहिले त कविता यति मात्रै हो कि जस्तो पनि लाग्छ । तर कविता चाहिं लेखिरहन्छु । 

१४. कविता बुझेको दिन
एक दिन कविले कविताको अर्थ बुझेको दिन कवितै मर्छ भनेको थिएँ । अहिले पनि मलाई त्यो सही नै हो जस्तो लाग्छ । जस्तो कि मोनालिसाको रहस्य बुझेको दिन त्यसको आकर्षण घटिहाल्छ नि ।

१५. परिचयको खोजीमा कविता
मैले कवि हुने मोहले लेखिनँ । तर अचेतन मनले त यत्रो भीडमा फरक परियच मागेको होला । त्यसलाई मैले चिनिन होला । अभिव्यक्त गरिनँ होला । त्यतिमात्रै हो । तर मूख्य कुरा त मपनि छु है भन्ने हो । म पनि यो संसारमा जन्मिएको छु भनेर निशानी छोड्ने कुरा हो । 
अर्को कुरा, ममा केही अभाव थियो होला । त्यसको क्षतिपूर्ति कविता लेखेर गर्छु होला । वास्तवमा लेखन अभावको क्षतिपूर्ति नै हो नि । 

१६. कविता र भोक
मलाई कविता लेखेर खान पाइँन भन्ने कुरा ठीक लाग्दैन । कविता लेखेबापत घर नै हुनुपर्ने, खानै पाउनुपर्ने भन्ने हो भने त व्यापार गरे भइहाल्यो नि । 
वास्तवमा तपाई कस्तो चिन्तनमा बाँचिरहनुभएको छ भन्ने कुराले तपाईको सिर्जनालाई निर्देशित गर्छ । त्यसैले गलत चिन्तनमा रहेर त सही सिर्जना हुने कुरा त भएन नि । 

१७. प्रेमअभावमा प्रेमकविता 
जसले प्रेमको कविता लेखे, तिनीहरुको जीवनमा प्रेम नै भयो भन्ने चाहिं हुदैन । उनीहरुको जीवनमा प्रेमको कमी पनि भएको हुन सक्छ । उनीहरुले पो यस्तो प्रेम भए हुन्थ्यो भनेर लेख्छन् कि भन्नेजस्तो लाग्छ । तर मेरो चाहिं जीवनमा प्रेम नै भएन । 
म जहिले पनि जीवनमा आग्रहमा बाच्छु  । यस्तो प्रेम होस् कि बकैनाको रुखमा झुण्डिने, भीरबाट फलाल्ने आट आओस् । महान प्रेमी बन्न सकुँ भन्ने लाग्थ्यो । तर त्यस्तो अवसरचाहिं मेरो जीवनमा किन आएन । त्यसैले थकथक लागेर प्रेमकविता लेखें । 

१८. रक्सी पिएरै रक्सीका कविता
पहिले जाँड चाहि सारै खाइयो । करिब ९ बर्ष भयो होला छोडको । रक्सी पिएरै त्यसबारे कविता लेखें ।

१९. मुन्धुमी लय 
मेरा कवितामा मुन्धुमी मिथक र लय आउँछ । त्यसले नेपाली साहित्यलाई समृद्ध नै बनाउँछजस्तो लाग्छ । सौन्दर्य थप्छ । किराँती मिथ चलाउनु अघि हामी पश्चिमी मिथ चलाउथ्यौं । अंग्रेजी शब्दको प्रयोग पनि टन्न छन् । त्यो भन्दा लिम्बु र राई भाषाको प्रयोग त राम्रो हो नि । किनकि यो भाषा त नेपाली नै हो । त्यसले साहित्यलाई सुन्दर बनाउछ नि ।
܀܀܀
प्रस्तुति : कला अनुरागी 
साभार : नयाँ पत्रिका

Comments