कृतिमा सपनाको अनुवाद

काठमाडौंको फोहोर, सुन्नेबित्तिकै नाक खुम्च्याउने धेरै छन् । अझ पर्यटकले त के भन्दा हुन्, यो तथ्यबाट भलिभाँती परिचित थिए डा. तुलसीप्रसाद उप्रेती । अध्ययनको सिलसिलामा अमेरिका पुगेर उतै ‘सेटल’ भइसकेका उनले एक दिन काठमाडौं फोहोरमुक्त भएको सपना देखे । 
‘इकोनोमिक डेभलपमेन्ट’मा पिएचडी गरेका तुलसीले यस्तो सपना निदाएर होइन, जागै हुँदा देखेका थिए । अमेरिकन साथीसँगको भेटको क्रममा कुरा उठ्यो– नेपालमा केही प्रोजेक्ट गर्ने । गर्नेचाहिँ के ? तुलसीलाई ‘बिजनेस’ गर्न मन थिएन । साथीको सुझाब थियो– केही सामाजिक काम नै गरौं न त । तुलसीलाई त्यतिवेलै फुरेको थियो– फोहोरको कुरा । उनले साथीलाई भने, ‘त्यसो भए काठमाडौंको फोहोर सफा गर्ने काम गरौं न त ।’ साथीलाई उनको ‘आइडिया’ मन पर्‍यो । त्यसपछि सफा काठमाडौंको सपना देखेर तुलसी जीवनसाथी सुमिताका साथ नेपाल आइपुगे ।
सन् १९९४ को कुरा हो यो । करिब तीन वर्ष काठमाडौं सफा पार्ने सपनाको धङधङीमा मन्त्रालय, विभाग, नगरपालिका धाउँदै बिताए । त्यस क्रममा काठमाडांैका सहर, सडक र फोहोरका थुप्राको अध्ययन गरे । अन्तत: उनको सफा काठमाडौंको सपना त पूरा हुन सकेन । तर, त्यहीवेला सडकमा भेटिएकी एक पात्रले उनलाई अहिले लेखक बनाएको छ । केही समयअघि उनले ‘म केशरी’ नाट्योपन्यास प्रकाशन गरेका छन् । 
०००

उनको कृतिको मुख्य परिवेश नै फोहोर हो । फोहोरलाई नै जीवनवृत्ति बनाएकी पात्रलाई उनले नायिका चुनेका छन्, जो उनले सफा काठमाडौंको सपना देखेर सडकका फोहोरको थुप्रो चहार्दै हिँड्दा भेटिएकी हुन् । 
आर्थिक विकासमा पिएचडी गरेको मान्छे किन फोहोरमा काम गर्न उत्प्रेरित भए त ? म केशरी लेखनको कथाआधारका लागि त्यहाँसम्म खोतल्नैपर्छ । उनको उत्तर बडो चाखलाग्दो छ, ‘नेपालको इकोनोमिक डेभलपमेन्ट फोहोरबाटै त सुरु हुन्छ नि ।’ कसरी होला ? उनले अगाडि भने, ‘हाम्रो आर्थिक विकासको एउटा प्रमुख आधारलाई नै लिऔँ न । त्यो हो– पर्यटन । हामी टोकियो, न्युयोर्क, बेइजिङमा लगेर सगरमाथा र लुम्बिनीको फोटो देखाउँछौँ । खर्पन बोकेर सफा बाटोमा हिँडिरहेको फोटो देखाउँछौँ । त्यो देखेर लोभिएका पर्यटक नेपाल आइपुग्दा के देख्छन् ? फोहोर । अनि ती फर्केर आउलान् कि नआउलान् ? उनीहरूमाझ नेपालको इमेज कस्तो होला ? अनि हाम्रो आर्थिक विकासलाई फोहोरले प्रभाव पारेन त ?’ पर्यटनमात्रै होइन, स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा पनि फोहोरले कुनै न कुनै रूपमा प्रभाव पारिरहेको उनको बुझाइ छ । त्यही बुझाइकै कारण उनी सफा काठमाडौं बनाउन आफ्नै देश आए ।
उनले अमेरिकी विशेषज्ञसँग सल्लाह लिएर एउटा सुन्दर योजना बनाए । उनको योजना थियो– उपत्यकाका तीनै जिल्लाबाट फोहोर संकलन गर्ने । प्रयोग गर्न सकिने र नसकिने फोहोर छुट्याउने । त्यो पनि वरिपरिको वातावरणमा कुनै प्रभाव नपर्ने गरी । काम लाग्ने फोहोर प्रयोगमा ल्याउने र नलाग्नेलाई कुनै ठाउँमा व्यवस्थापन गर्ने । 
फोहोरचाहिँ कहाँ व्यवस्थापन गर्ने ? समस्या आयो । काठमाडौंमा एक त जग्गा नै छैन, भएको पनि महँगो छ । त्यसमा पनि राम्रो जग्गाको प्रयोग गर्दा खेर जाने । समस्या समाधानका लागि उपत्यकाका चारैदिशा भाँैतारिए उनी । अन्तत: समाधान भेटियो । झन्डै दुई सय पचास वर्ष फोहोर फ्याँक्न सकिने ठाउँ भेटे, सिमपानी भन्ज्याङमा । उनीहरूको योजना थियो– त्यहाँ लगेर फोहोर फ्याँक्ने । तर, ट्रकमा लगेर सीधै फ्याँक्ने होइन । व्यवस्थित संयन्त्र बनाएर राख्ने । त्यसका लागि पनि उनले अमेरिकी विशेषज्ञसँग सल्लाह लिएका थिए । 
सिमपानीसम्म सडकको सुविधा छैन । त्यसका लागि पनि उनीहरूले आकर्षक योजना बनाए । काम लाग्ने र नलाग्ने फोहोर छुट्याउने स्थान चोभारमा बनाउने । त्यहाँबाट सिमपानीसम्म रोप–वे निर्माण गर्ने । त्यसो हुँदा जाँदा फोहोर लिएर जाने, आउँदा ढुंगा लिएर आउने । त्यसो हुँदा चोभारको ढुंगा उद्योगलाई पनि सहयोग पुग्ने, फोहोर व्यवस्थापन पनि सहज हुने । 
यो योजना पूरा भइसकेपछि बिस्तारै विद्युत् वा अन्य करमा मिसाएर जनतालाई फोहोरबापत केही शुल्क लिएर दीर्घकालीन व्यवस्थापन गर्न सकिने उपाय पनि उनीहरूले सुझाए । तर उनको यस्तो योजना सफल भएन, सपना पूरा भएन । किन त ? यसको पनि रोचक कथा छ उनीसँग । 
‘त्यतिवेला शेरबहादुर देउवा प्रधानमन्त्री थिए । हामीले उनलाई पनि धेरैचोटि भेट्यौँ । कमल थापा स्थानीय विकास मन्त्री थिए । उनलाई पनि भेट्यौँ । महानगरपालिकाका मेयर पिएल सिंहका साथै अन्य सम्बन्धित विभागमा पनि पुगेर योजनाबारे बतायौँ । सबैले ‘राम्रो छ’ भने । हामीले डोनरसँग पनि कुरा गरिसकेका थियौँ । त्यसैले अनुमतिका लागि प्रक्रिया अगाडि बढायौँ । तर, काम गर्न स्वीकृति पाइएन,’ उनले रोचक कथा अघि बढाए, ‘चारैतिर धाएकोधायै छौँ । तर पनि, फाइल अगाडि बढ्दैन । त्यसैबीचमा केही सचिव र सचिवका पिएले भने– डाक्टर सा‘ब, तपाईं गणेशपूजा नगरी काम गर्न खोज्ने अनि कहाँ काम सफल हुन्छ त ? म त सोझो मान्छे । भनेँ, ‘होइन, म त हरेक बिहान गणेशको पूजा गरेरमात्रै पो निस्कन्छु त ।’ तर, पछि पो बुझेँ– गणेशपूजाको कुरा त अर्कै पो रहेछ ।’
कुरा बुझेपछिचाहिँ उनीहरूले नै योजना अगाडि बढाउन चाहेनन् । उनीहरूलाई लाग्यो, ‘घर–घर फोहोर टिप्न जानलाई पनि घुस दिनुपर्ने ?’ त्यसपछि उप्रेती दम्पती अमेरिकातिरै लागे । अहिले वेला–वेलामात्रै नेपाल आउँछन् । 
०००

उनले आफ्नो योजना पूरा गर्न नपाए पनि त्यही क्रममा केशरीलाई भेटे । उनी सम्झन्छन्, ‘उनी अहिले कहाँ छिन् ? मलाई थाहा छैन । उनको नाम पनि अर्कै थियो । तर, मैले मेरै घरछेउमा फोहोर टिप्दै गर्दा उनलाई भेटेको थिएँ ।’ उनी त्यही पात्रलाई पछ्याउँदै तिलगंगाको छेउछाउसम्म पुगे । उनलाई लाग्यो– मैले त काठमाडौंको फोहोर सफा गर्न सकिनँ । तर, यिनले त केही न केही त गरिरहेकी छिन् नि । उनले पात्रको मनोविज्ञान बुझ्न नजिकिने प्रयास गरे । ‘पहिले–पहिले त डराउँथिन्, भाग्थिन् । पछिचाहिँ निकै कुराकानी भए,’ उनले सम्झिए । 
तिनै पात्रलाई लिएर अहिले उनको नाट्योपन्यास आएको छ । कृति लेखनलाई उनकी जीवनसाथी सुमिताले हरपल साथ दिएकी छिन् । त्यसैले कृतिकाबारे उनीजत्तिकै बताउन सक्छिन् सुमिता पनि । 
डा. उप्रेतीले कृतिमा फोहोर संकलन गर्ने सडकबालबालिकाको मनोविज्ञानलाई केलाएका छन् । उनीहरूभित्रको प्रतिभाको उत्खनन गरेका छन् । सडकबालबालिकालाई पनि उत्प्रेरणा दिने हो भने महान् काम गर्न सक्छन् भन्ने सन्देश दिएका छन् । उनी भन्छन्, ‘मैले ठूलो साहित्यकार बन्न लेखेको होइन । तर पनि, यो कृतिले पाठकलाई तानेको पाएको छु ।’ 
कवि उपेन्द्र सुब्बाले भनेका छन्, ‘सपना वा अभावको क्षतिपूर्ति नै सिर्जना हो ।’ डा. तुलसीप्रसाद उप्रेतीले पनि आफ्नो सपनाको क्षतिपूर्ति ‘म केशरी’मार्फत लिँदै छन् ।
܀܀܀
✍ कला अनुरागी
साभार : नयाँ पत्रिका

Comments