'सोध्छन्– फिल्म त बनाउँछस्, कामचाहिँ के गर्छस् ?'

सुवर्ण थापा सिने क्षेत्रमा पहिले कलाकारका रूपमा चिनिए, त्यसपछि निर्देशक बने । दुई छोटा सिनेमा ‘मलामी’ र ‘छोरा’ले उनलाई एउटा वृत्तमा परिचित बनायो । पहिलो फिचर फिल्म ‘सुनगाभा’ले उनको परिचय ‘सिरियस सिने मेकर’को रूपमा दियो । व्यवसायिक रूपमा सफल हुन नसकेपनि ‘सुनगाभा’ अन्तराष्ट्रिय फेस्टिभलमा स्थान पायो । त्यसले निर्माता सुवर्ण थापालाई त खासै फाइदा भएन, तर निर्देशक सुवर्णलाई भने निकै स्थापित ग¥यो । 
कलाकारको रूपमा उनी पहिले नै चिनिएका थिए । पछिल्लो समय आफ्नै छोटो सिनेमा ‘छोरा’मा उनले कलाकारिता देखाए भने नवीन सुब्बानिर्देशित ‘गुडबाइ काठमाडौं’मा उनको अभिनय हेर्न सकिनेछ । 
दोस्रो फिचर सिनेमाको रूपमा ‘फन्को’ उनीबाट अपेक्षा गरिएको सिनेमा हो । शुक्रबारबाट हलमा लागेको ‘फन्को’को प्रारम्भिक प्रतिक्रियामा सुवर्ण अपेक्षा धान्न सफल देखिन्छन् ।
त्यसो त ‘सुनगाभा’ उनले निर्देशकीय क्षमता देखाउनकै लागि बनाएका थिए । त्यसको व्यवसायिक सफलताको आशा थिएन नै । ‘त्यसमा बजारलाई चाहिने तत्व थिएनन् । मैले समाजको एउटा प्रतिबिम्ब उतारेको थिएँ । त्यसमा सफल भएँ । यो मेरालागि मात्रै होइन, नेपाली सिनेमाका लागि पनि राम्रो हो,’ उनी भन्छन् । 
फन्कोमा भने उनी व्यवसायिक रूपमा सचेत छन् । ‘व्यवसायिक सोच भनेको चलचित्रलाई सन्देश दिने माध्यममात्रै बनाउनुभन्दा आम दर्शकले पनि हेर्ने बनाउनु हो । विशेष गरी दक्षिण एसियन फिल्ममा मनोरञ्जनात्मक खुराकको खोजी हुन्छ । त्यसमा मेकरले सन्देश पनि दिन सक्यो भने धेरै राम्रो । मैले त्यही सोचमा फन्को बनाएको छु,’ सुवर्णले भने ।  
त्यसो भनेर नेपाली सिनेमाको ‘परम्परागत’ धारालाई भने उनले अँगालेका छैनन् । ‘फाइट’, गीत र ‘मेलोड्रामा’ कम प्रयोग गरेका छन् । जसले खर्च त बचाएको छ नै, सिनेमामा ‘सुवर्ण फ्लेवर’ खोज्नेलाई केही दसी पनि जुटाएको छ ।

सोचमा पैसा लगाउनेको विश्वास धान्ने प्रयत्न
‘फन्को’को व्यवसायिक सफलतामा सुवर्ण ढुक्कप्रायः देखिन्छन् । कारण हो, उनले सिनेमा निर्माण गर्नुअघि नेपाली सिनेमा बजारको मनोविज्ञानको गम्भीर अध्ययन गरेका थिए । उनी भन्छन्, ‘मेरो अध्ध्ययनले देखाएको थियो कि नेपाली दर्शक स्लो सिनेमा मन पराउँदैनन् । पाश्र्वसंगीतको उपस्थिति राम्रो चाहिन्छ । भाषा दैनिक प्रयोग र चलनचल्तीको खोज्छन् । चरित्र समयसामयिक, साधारण र सीमान्त चाहिन्छ । यही मनोविज्ञानलाई अधिकतम संबोधन गर्नेगरी मैले फन्को बनाएको छु ।’ 
सिनेमाका चरित्रअनुसार कलाकार लिइएको उनको दावी छ । चल्तीका कलाकार लिएर सुरक्षित हुन खोजेको आरोपको उनी खण्डन गर्छन् । ‘निर्देशकीय सोचमा यी पात्रले न्याय गर्न सक्छन् भन्ने लागेर नै कलाकार छनोट गरेको छु । त्यसमा पनि काम गर्न सहज हुने कलाकार पर्नुचाहिँ नियोजित संयोग हो,’ उनको भनाइ छ । 
‘सुनगाभा’मा उनी निर्माता पनि थिए । तर फन्कोमा उनी निर्देशकमात्रै हुन् । त्यसैले उनले सिनेमामा भएको लगानीबारे संवेदनशील भएर काम गरेका छन् । ‘प्रड्युसरले मेरो सोचमा पैसा लगाउनु भएको छ । अरूको सोचमा पैसा लगाउनु निकै ठूलो कुरा हो । त्यसैले पैसा उठाइदिन कोशिस गर्छु भन्ने सोचेका साथ निर्माताको विश्वास धान्न भरमग्दुर कोशिस गरेको छु’, उनले भने । 

लगानीको होइन, असल निर्माताको कमी
भनिन्छ, नेपाली सिनेमामा राम्रा लगानीकर्ता कम छन् । तर सुवर्ण यो कुरामा सहमत छैनन् । उनको भनाइ छ, ‘नेपालमा लगानीकर्ता छन्, तर राम्रा निर्माता छैनन् । लगानीकर्ता त गल्लीगल्लीमा भेटिन्छन् । तर सिनेमाको अवधारणा बुझेको राम्रो निर्माता भेट्न मुश्किल छ । राम्रो निर्माताले निर्देशकलाई उपयुक्त स्वतन्त्रता दिन्छ । तर हाम्रोमा सिनेमा निर्माण के हो भन्ने थाहै नहुनेहरू निर्माता भएर आउने प्रचलन छ । रमाइलो गर्न, हिरोइनसँग देखिन र रेडकार्पेटमा हिँड्न पाइन्छ भनेर निर्माता बनेका पनि छन् । यसले राम्रो नेपाली सिनेमा बनाउन बाधा पुर्याइरहेको छ ।’
नेपाली सिनेमाको सम्पादन र ध्वनी पहिलेदेखि नै कमजोर रहेको उनको बुझाइ छ । त्यो पक्ष क्रमशः बलियो हुँदै गएपनि पहिलेदेखि नै कमजोर स्क्रिप्टको हालत अहिले पनि उस्तै देखेर उनी चिन्तित देखिन्छन् । सिनेमामा निर्देशकको दृष्टिकोण आउनुपर्ने हो, तर नेपाली सिनेमामा स्क्रिप्टराइटरले नै निर्देशकको काम गरिदिने गरेको उनी बताउँछन् । ‘मैले अहिले अरूले लेखेको सिनेमामा पनि काम गरिरहेको छु । स्क्रिप्टराइटरले नै सिनदेखि सटसम्म सुनाउन थालेपछि निर्देशकको भूमिकाचाहिँ के सो सोच्नुपर्ने अवस्था पनि देख्ने भोग्ने मौका पाइयो’, उनले आफ्नो भोगाइ सुनाए, ‘कन्सेप्ट नै ढ्याक्क खिचेर फिल्म बनाउन सक्ने महान मान्छे पनि हुन्छन् । तर सामान्यता सिनेमा बनाउने एउटा आइडिया हुन्छ । त्यो निर्देशकको मौलिक भाषा हो । त्यसमा हस्तक्षेप उपयुक्त हुँदैन ।’
त्यस्तै सिनेमा ‘इडिटिङ’को चरणमा पनि राम्रो बन्ने उनी बताउँछन् । ‘निकै दुःख गरेर खिचेको वा खिच्दा मानिस हाँसेका थिए भन्ने तर्कका आधारमा दृश्य राख्ने गरेको पाइन्छ । त्यसले सिनेमालाई कमजोर बनाउँछ’, उनले भने, ‘नेपाली सिनेमाले प्रभावकारी मार्केटिङ गर्ने दिन आउन त केही पर्खिनैपर्छ कि !’

नेपाली सिनेमामा यूरोपेली भाषा
सुवर्णको आधारभूमि कलाकारिता हो । अभिनय पढ्नकै लागि फ्रान्समा गएका हुन् । उतै घरजम गरेको पनि डेढ दशक भइसक्यो । तर उनले सिनेमा भने नेपाली नै बनाइरहेका छन् । ‘२५ बर्षको उमेरमा म यहाँबाट गएको । त्यो उमेरमा मानिसको दिमागमा जीवनदर्शनको खाका बनिसकेको हुन्छ । पछि ह्वात्तै परिवर्तन हुँदैन । फ्रान्स बसे पनि मेरो दिमागमा यहीँको माटो छ, यहीँको संस्कृति छ । नेपाली भाषामा जति अरूमा अभिव्यक्त हुन सक्दिनँ । छुँदैन पनि । कसैलाई गाली नै गर्नुपर्यो भनेपनि अंग्रेजीमा गर्दा आत्मसन्तुष्टि हुँदेन । नेपालीमै गाली गर्नुपर्छ’, उनले भने, ‘तर मैले त्यहाँ विश्व सिनेमा के हो भन्ने दृष्टिकोण सिकेँ । सिनेमालाई कसरी न्यारेटिभ फर्ममा राखिन्छ ? यसको मूल उद्देश्य के हो ? मनोरञ्जनमात्रै हो कि होइन ? यसले के समाजको प्रतिबिम्ब उतार्छ ? भन्ने प्रश्नको जवाफ पाएँ । त्यसैले मेरो सिनेमा नेपाली हुनछ, सिनेको भाषाचाहिँ बढी त्यहाँको छ ।’
उनले अभिनयका ग्रयाजुएट गर्ने क्रममा यूरोपियन सिनेकर्मीका साथ सिनेमाटोग्राफरलगायत विभिन्न भूमिकामा काम गर्न पाए । त्यसैले यूरोपियन भाषा टिप्न उनलाई सजिलो पनि भयो । 
‘यहाँ भनेस्क्रिप्टको कुरादेखि नै हिन्दी सिनेमाको सन्दर्भ दिन्छन् । त्यो फिल्ममा यस्तो भएको थियो, त्यस्तो भएको थियो भनेर । मैले भन्ने गरेको छु– ए बाबा छोडिदिउँ, त्यो त भइसक्यो । अब नयाँ गरौं । अहिलेको समयमा केराको बोक्रामा चिप्ल्याएर वा घरमाथिबाट पानी फ्याँकेरमात्रै दर्शक हाँस्दैनन् । समयअनुसार बदलिनुपर्छ भन्ने कुरा बुझ्नुपर्छ ।’
त्यसो त उनले सिनेमामा यूरोपियन भाषा सिकेपनि दर्शनचाहिँ पूर्वीयलाई नै प्राथमिकता दिन्छन् । ‘सिनेमामा निर्देशकको एउटा आवाज हुन्छ । मैले बनाएको सिनेमामा पूर्वीय दर्शन र संस्कृतिको आवाज हुन्छ । फ्रान्समै बनाएको सर्ट फिल्म छोरो त्यसको उदाहरण हो’, उनको दावी थियो । 

नेपालमा काम गर्न छिटो र सजिलो, मौलिकताको बल
सुवर्णले केही फ्रान्सेली सिनेमामा काम गरे, गरिरहेका छन् । तर उनले गर्ने मूल काम नेपाली सिनेमामा नै हो । उनलाई त्यस्ता एकमात्र नेपाली दावी गर्न सकिन्छ, जो नेपालमा काम गरेर फ्रान्समा रहेको आफ्नो परिवार धान्छ । उनलाई थाहा छ, त्यसो गरेरमात्रै त हुँदैन । तर फ्रान्समा काम गर्न सजिलो छैन । ‘त्यहाँ एउटा प्रोजेक्ट विकास गर्न दुई देखि चार बर्षसम्म लाग्छ । नेपालमा भने तीन महिनामै प्रोजेक्ट विकास गर्न सकिन्छ । चार महिनामा फ्लोरमा जान सकिन्छ । यहाँ निजी सम्पति छ । त्यसको विनाझन्झट प्रयोग गर्न सक्छौं,’ उनले कारण खोले । उनको आइसकेका र आउन बाँकी गरी पाँच सिनेमा निर्देशन गरिसकेका छन् । छोटा सिनेमा– मलामी र छोरा । फिचर सिनेमा– सुनगाभा, फन्को र  बाटोमुनिको फूल–२ । छोटो समयमा उनले गरेको उक्त काम फ्रान्सेली सिनेमा मेकरका लागि ‘ओहो’ हुन्छ । तर यहाँ भने सिनेमा क्षेत्रलाई अझै कामको क्षेत्रको रूपमा स्वीकार नगरिएको देख्दा उनी छक्क पर्छन् । 
कतिले उनलाई सोध्छन्, ‘फ्रान्समा के गरिरहेको छस् ?’
उनको उत्तर स्वाभाविक हुन्छ, ‘सिनेमा गरिरहेको छु ।’
तर प्रतिप्रश्न आउँछ, ‘ए बाबा सिनेमा त गर्छस् । तर कामचाहिँ के गर्छस् ?’
उनको उत्तर हाजिर छ, ‘अरे बाबा, मेरो कामै यही हो त ।’
अनि सुरु हुन्छ, आश्चर्यबोधी प्रश्नवर्षा– ‘अनि पुग्छ त ?’, ‘काठमाडौंमा घर बनाइस् त ?’, ‘गाडी पनि किनेको छैनस्’ आदि । ‘मलाई लाग्छ, विदेश गएर पनि आफ्नो क्षेत्रमा मैले जति प्यासन देखाउने र चुनौति मौल्ने मानिस कम हुन्छ । विदेशलाई आफ्नो भविष्यलाई सुखमयी बनाउने गन्तव्यको रूपमा लिइन्छ । तर मैले अहिलेसम्म आफ्नै क्षेत्रमा लगानी गरेँ । न घर ठड्याएको छु, न सुविधासम्पन्न गाडी नै चढ्छु । त म टेम्पो चढ्छु ।’
उनलाई थाहा छ, त्यतातिर लागेको भए अहिलेका ‘सुवर्ण’ हुँदैनथे, ‘सुनगाभा’, ‘फन्को’जस्ता सिनेमा पनि बन्दैनथे । 
उनले नेपाली समाजमा सिनेमाका निकै कथा देखिरहेका छन् । आफ्नै समाज भएकाले त्यसलाई प्रस्तुत गर्न पनि उनलाई सजिलो छ । त्यसैले उनले नेपालको कथा र यूरोपमा मार्केटिङको सम्भावना मिसाउन खोजिरहेका छन् । त्यसलाई उनी भन्छन्, ‘यहाँको क्यानभास, त्यहाँको रङ ।’ 

स्थानीयतालाई विश्वव्यापीकरण
सिनेमामा सुवर्णले दिन खोजेको पनि नेपाली मौलिक कथा नै हुन् । यदि नेपाली सिनेमालाई विश्वव्यापी बनाउने हो भने त्यसो गर्नुको विकल्प नभएको उनको निष्कर्ष हो । भन्छन्, ‘लोकलाइजेसनबाट नै हाम्रा विषय शक्तिशाली रूपमा ग्लोबलाइज हुन्छन् । विश्व सिनेमा बजारमा जाने हो भने परम्परागत शैली फेर्नैपर्छ ।’
उनी एरिक भ्यालीको उदाहरण दिन्छन्, जोसँग उनी फ्रान्समा सम्पर्कमै छन् । भ्यालीले नेपाली बिषय उठाएर ओस्कारसम्म गए भने नेपालीले नै चाहिँ त्यो काम किन नगर्ने भन्ने सोचबाट अघि बढ्नु आवश्यक छ भन्ने उनको मत हो । 
उनले भने, ‘म जब नेपालबाट टाढा गएँ । तब झन् सुन्दर देख्न थालेँ । जसरीे हिमाललाई परबाट हेर्दा जति राम्रो देखिन्छ, नजिकैबाट देखिँदैन ।’ 
यसै सन्दर्भमा उनले पुराना सिनेमाका केही उदाहरण दिएर तिनलाई राम्रो बनाउन सकिने दावी प्रस्तुत गरे । ‘सुन्तली’, ‘चपली हाइट’, ‘मसान’, ‘सुन्तली’, ‘परदेशी’लगायतका सिनेमा अझ राम्ररी बनाउन सकिने उनको मत छ । राम्रा बिषयको पनि प्रस्तुति राम्रो नहुँदा ‘एबोर्सन’ भइरहेको उनको तर्क छ । त्यसैले उनी नेपाली चलचित्रमा आफ्नो भाषा, रहनसहन र चरित्र उतार्न चाहन्छन् । ‘हामीले खोज्ने त्यही हो । त्यसलाई कसरी सही तरिकाले प्रस्तुत गर्ने भन्ने सोच्ने हो । त्यस्ता बिषयलाई अन्तर्राष्ट्रिय बजारमासमेत पुर्याउन एउटा फर्म चाहिन्छ । त्यो फर्म मैले निर्माण गर्न खोजेको छु’, सुवर्णले भने ।    

आफैंनजिकका कथा
सुवर्णले जति पनि सिनेमा बनाएका छन्, त्यसमा आफ्नै वा आफूसँग निकट रहेका कथा छनोट गरेका छन् । आफ्नै भोगाइ वा त्यसनजिकको बिषयमा नै बढी तर्कवितर्क गर्न सकिने भएकाले काम बलियो हुने उनको तर्क छ ।
साहित्यकार सरुभक्तकृत कथा रहेको छोटो सिनेमा ‘मलामी’को सन्दर्भ उनको आफ्नै जीवनसँग पनि मिल्न जान्छ । त्यसमा रित्तिदै गइरहेको गाउँको बिषय उठाउन खोजिएको छ । गाउँमा एउटा मान्छे मर्छ, तर त्यसलाई उठाउने मानिस कोही पनि हुँदैन । गाउँमा महिला र केटाकेटीमात्रै हुन्छन् । सुवर्णको पनि बुबा बित्दा उनी फ्रान्समै थिए, आउन पाएनन् । त्यो घटना मलामी कथासँग सादृश्य हुन्छ । 
‘सुनगाभा’मा भने उनलाई केही समस्या परेको थियो । किनकि त्यो उनकोे भोगाइ थिएन, समाजमा रहेका अल्पसंख्यक समलिंगीको कथा थियो । तर त्यसमा अभिव्यक्त नेपाली समाजको परम्परागत मूल्य उनले भोगेकै थियो । ‘लेस्बीयन’ पात्रमा पनि पुरुषस्वभावी पात्रमा उनले आफूलाई अभिव्यक्त गर्न सक्ने ठाउँ थियो । त्यसरी उनले ‘सुनगाभा’लाई पनि आफ्नो अनुभूतिभन्दा बाहिर पारेनन् । 
छोटो सिनेमा ‘छोरो’ उनले आफ्नै ‘बाउ अनुभव’को नजिक बनाएका छन् । विदेशीसँग बिहा गरेका उनकै बच्चा पनि नेपाली बोल्दैनन् । त्यस्तो बेला एउटा बाउले कसरी आफ्नो बच्चालाई जटिल अवस्थामा पनि नेपाली भाषा सिकाउन सक्छ, चाहन्छ भन्ने बिषय सिनेमामा आएको छ । त्यस्तै बाउछोराको बलियो सम्बन्ध पनि सिनेमामा देखिन्छ । कतिले त्यसमा उनको ‘अटोबायोग्राफी’ हावी छ भन्ने आशंकासमेत गरेको उनी सुनाउँछन् । ‘फन्को’को भाषा, अन्तरद्वन्द्व, उतारचढाव, दरिद्रता र महत्वाकांक्षा सुवर्णभित्रको पनि हो । ‘बाटोमुनिको फूल–२’ को कथा उनले आफ्नै वरिपरि देखिआएको छुवाछुतको वरिपरि छ । 

धारको लडाँइ – विचारको लडाँइ
नेपाली सिनेमामा अहिले धारको लडाँइ देखिन्छ । मूलधार भर्सेस अलगधार । सुवर्णको दृष्टिमा यो कुनै धारको लडाँइ होइन, विचारको लडाँइ हो । अझ पुरानो विचार रर नयाँ विचारको लडाँइ हो । उनी उदाहरण दिँदै भन्छन्, ‘परदेशी सिनेमा निकै चल्यो । तर त्यसलाई अझ राम्रोसँग बनाउन सकिन्थ्यो । धेरै सिनेमा प्रस्तुतिको पुरानै शैलीका कारण डुबेका छन् । मेरै सिनेमालाई पनि अर्कोले अर्कै तरिकाले बनाउन सक्छ । तर एउटा पारा त ल्याउनुपर्यो नि ।’
उनको अध्ययनले भन्छ– नेपाली सिनेमा क्षेत्रमा केही मानिस पुरानै विचारमा काम गरिरहने छन् । उनीहरूले धानिरहेका पनि छन् । तर उनीहरूको सिनेमा निर्माण र बजारीकरण दुवै तरिका कमजोर छ । त्यसो गरेर नेपाली सिनेमाको विकास हुँदैन । यसको पहिलो र महत्वपूर्ण बजार नेपाल नै हो । बाहिर देखाउने भनेको त ‘बोनस’मात्रै हो । ‘फेस्टिभल’ त सोच्नै पर्दैन । त्यसैले नेपालीलाई नै नेपाली सिनेमामा आकर्षित गर्नुको विकल्प छैन । त्यसका लागि नयाँ विचार अपनाउनुको विकल्प नै छैन । 

फन्को : नेपाली मनको
‘फन्को’ नहेरेका दर्शकले ट्रेलर हेरेर एउटा अवधारणा बनाउन सक्छन्– यो पैसाको चक्कर होला । तर कुरा त्यतिमात्रै होइन । कुरा त्यतिमात्रै नराख्न सुवर्णले आफ्नो निर्देशकीय क्षमता देखाएका छन् । चरित्रले आफ्नो यात्रामा लगाएको फन्को नै सिनेमाको मूल ‘थिम’ हो । 
जसमा ‘प्रोटागोनिस्ट’ साधारण छ, सीमान्त चरित्रजस्तो छ । फन्कोमा पर्दै जाँदा वस्तुस्थिति बुझेर त्यो चरित्रले नै अरूलाई फन्कोमा पार्छ । त्यस्तो संवेदनशील अवस्थामा पनि ऊ उच्च विचार लिएर नायक बन्छ । अर्थात साधारण पात्रबाट ऊ नायक बन्छ । एउटा साधारण मानिस पनि आफ्नो सही व्यवहारले उत्कृष्ट व्यक्ति बन्न सक्छ भन्ने देखाएको छ सिनेमाले । 
निर्देशकको नजरमा ‘फन्को : नेपाली मनको’ सिनेमा हो । जसको कथा नेपाली छन् । पात्र, भेषभुषा र भूगोल नेपाली छन् । पात्र सरल र सामान्य छन् । साधारण हुँदा–हुँदै पनि कथासंरचना रोचक छ । सटिक कथा संरचना छ । दर्शकलाई सुरुदेखि अन्त्यसम्म बाँधिराख्छ ।
܀܀܀
✍ कला अनुरागी
तस्बिर : बिजु महर्जन
साभार : रातोपाटी

Comments