'कवितामा भुइँमान्छेको अनुहार देखाउँछु'

समकालीन कवितामा सरस्वती प्रतीक्षा परिचित नाम हो । नवीन भाषाशैली, बिम्बात्मकता र युगबोधका बौद्धिक अभिव्यञ्जना उनको कविताको पहिचान हो । 
त्यही पहिचानका साथ उनको पछिल्लो कविता कृति बजारमा छ– ‘बागी सारंगी’ । यसअघि नै उनको ‘यद्यपि प्रश्नहरू (२०६२)’ र ‘बिम्बहरूको कठघरा (२०६६)’ कविता संग्रह प्रकाशित भइसकेका छन् । 
पोखरेली युवा सांस्कृतिक परिवार, संरक्षण कविता आन्दोलन र डागर स्मृति प्रतिष्ठानजस्ता साहित्यसँग सम्बन्धित संस्थासँगसमेत सम्बद्ध प्रतीक्षासँग उनको पछिल्लो कविता संग्रह र लेखनबारे गरिएको कुराकानी :

🆀  कस्तो प्रतिक्रिया पाइरहनुभएको छ बागी सारंगीबाट ?
➠ बागी सारंगीबाट पाइरहेको प्रतिक्रिया आफैँमा साह्रै रहरलाग्दो र उत्साहबद्र्धक छ । जतिले पढ्नुभएको छ, उहाँहरूको प्रतिक्रिया सुन्दा कविताको क्षेत्रमा अझै समर्पित भएर लाग्न थप प्रेरणा मिलेको छ ।

🆀  आख्यानको हल्लाखल्लामा कविता पनि बागी बन्नु परिरहेको त पाउनुभएको छैन नि ?
➠ विल्कुलै छैन । साहित्यको सबै विधाको आ–आफ्नै महत्त्व र गरिमा हुन्छ । व्यापारमा जस्तो साहित्यमा एकले अर्कोलाई ‘ओभरल्यापिङ’ गर्ने भन्ने कुरै हुँदैन । न कविताको स्थान आख्यानले लिन सक्छ, न आख्यानको स्थान कविताले नै लिन सक्छ । साहित्यमा सबै विधाको आ–आफ्नो छुट्टै ‘स्पेस’ हुन्छ ।

🆀  कविताले कविलाई बचाउने परिस्थितिमा पुगेको छ त बजार ?
➠ पछिल्लोपटक कविताका जे जति कृति आएका छन्, तिनीहरू अहिलेसम्म आफ्नो कविताको शक्तिका भरमा नै उभिएका छन् । कृतिको वजनभन्दा बढी हल्लाखल्ला गरेर अन्य किताबलाई बजारमा एकपटक ह्वात्तै बिकाउन सकिन्छ, कवितालाई सकिँदैन । कविताका सचेत र बौद्धिक पाठकहरू हुन्छन् । उनीहरूले कविताको कुन किताब राम्रो र नराम्रो छुट्याइहाल्छन् ।
मौद्रिक मापनको मात्रै कुरा गर्ने हो भने कविताको किताब बेचेरै जीवन धान्छु भन्न सकिने अवस्था अझै आइसकेको छैन । यो हाम्रो मात्र होइन, विश्वका सबै कविको साझा समस्या हो ।

🆀 आजकाल कविलाई पनि आख्यानले मोहनी लगाउन थालेको छ ? त्यो सम्मोहन तपाईंसम्म आइपुगेको छ कि छैन ? 
➠ मलाई याद छ, आजभन्दा आठ/नौ वर्षअगाडि त्रिवि केन्द्रीय क्याम्पसमा पढ्दा साथी जमुना राईको अटो भर्दै गर्दा मैले मेरो सपना एउटा राम्रो उपन्यासकार बन्ने भनेर लेखेकी थिएँ । त्यो त्यतिवेलाको कुरा हो, जुन वेलामा उपन्यासको नदीमा कहिलेकाहीँ हल्का छालबाहेक कुनै खासै कुनै तरंग थिएन । अहिलेजस्तो उपन्यासमा बाढी त धेरै परको कुरा ! त्यतिवेलाको त्यो सपना र सपनाको ‘प्यासन’ अझै पनि मभित्र सुरक्षित छ । कविताप्रति मेरो जुन आस्था र विश्वास छ, त्यो त जीवनभर मसँग रही नै रहनेछ । अब छिट्टै आख्यानको बाटो हिँड्न मानसिक रूपमा त्यो बाटोलाई खोस्रँदै गर्दाको अवस्थामा छु । अबको मेरो किताब आख्यान कै हुनेछ ।

🆀  एउटा कविलाई केले परिपक्व बनाउँछ ? तपाईंको कविता पढिसकेपछि उमेरले त होइन रहेछ भन्ने प्रतिक्रिया छ ।
➠ सबैबाट यस्तै खालको प्रतिक्रिया पाइरहेकी छु– ‘तिम्रो उमेरभन्दा तिम्रा कविताहरू निकै परिपक्क छन् ।’ यस खालको प्रतिक्रियाले साह्रै उत्साहित पनि छु । निरन्तरको अध्ययन, साधना, तपस्या र लेखनप्रतिको गम्भीरताले नै एउटा लेखकको लेखनमा निखारता आउने हो । अनौपचारिक रूपमा कवितामा लागेको बीस वर्ष भइसकेछ भने औपचारिक रूपमा कवितामा लागेको पनि १५ वर्ष भइसक्यो । कविता मेरा निम्ति आफ्नो सामान्य रुचिभन्दा धेरै माथिको विषय हो । कविताप्रतिको मेरो गहन रुझान र चिन्तनशीलताले नै मलाई कविताको परिपक्वताको बाटोमा हिडायो भन्ने लाग्छ । सायद, यही कुरा अन्य कविमा पनि लागू हुन्छ ।

🆀  छायामा पारिएका पात्र भेटिन्छन् तपाईंका कवितामा ? कसरी र किन खोज्नुहुन्छ त्यस्ता पात्र ?
➠ प्रत्येक लेखकको लेखाइको आ–आफ्नो शैली र बाटो हुन्छ । म आफ्ना कवितामा भूइँमान्छेका विभिन्न अनुहारलाई प्रस्तुत गर्दछु । हो, जहाँबाट अँध्यारो सुरु हुन्छ, त्यहीँबाट मेरा कविता सुरु होउन् भन्ने मेरो चाहना हो । यो चाहना उज्यालोप्रतिको अभीप्सा हो, एक प्रकारको । म केका निम्ति र कसका निम्ति कविता लेख्दै छु भन्ने कुरामा एकदमै सचेत रहन्छु सधैँ । यही सचेतताले गर्दा नै म छायामा पारिएका पात्रको कविता लेख्दछु । एक सामाजिक प्राणी भएकाले समाजका रहँदा, बस्दा यस्ता पात्र बग्रेल्ती भेटिन्छन् । जहीँतहीँ भेटिन्छन् । पाइला पाइलामा भेटिन्छन् ।

🆀 कतिपय कविता तिनबारे बढी छ, जो आफैँ तपाईंका कविता पढ्दैनन्, वा तपाईंको कवितासम्म तिनको मानसिक र भौतिक पहँुच छैन । यतिखेर कसैले कविताको प्रभावकारिता खोज्यो भने तपाईंको जवाफ के हुन्छ ? 
➠ म संरक्षण कविता आन्दोलनको एक सदस्य पनि हुँ । नेपालका दूरदराजका गाउँ जाँदा गाउँघरका थुप्रै मिहिन पात्रका कविता लेखेकी छु र उनीहरूकै अगाडि वाचन गरेकी पनि छु । चाहे चेपाङको गाउँ जाँदा होस् वा अन्य दलित बस्तीमा जाँदा नै किन नहोस्, समाजको पछिल्लो दीर्घामा बस्नेहरूको चेतनास्तर ह्वात्तै बढेको पाएकी छु मैले । उनीहरूसामु कविता सुनाउँदा उनीहरूले मेरो कविता सम्पूर्ण रूपमा नबुझे पनि आशय बुझेर आत्मीयपूर्वक प्रतिक्रिया दिएको अनुभूति छ मसँग । यस मानेमा पनि म जसबारे कविता लेख्छु, उनीसँग मेरो मानसिक र भौतिक संवाद भई नै रहेको छ, कुनै न कुनै रूपमा ।

🆀  कतिपयले सरस्वतीका कविता बुझ्नै हम्मे पर्‍यो पनि भनेको सुनेको छु, किन यस्तो हुन्छ ? 
➠ नियालेर हेर्दा जीवनको जस्तो दर्पण देखिन्छ म पनि त्यस्तै प्रकारका कविता लेख्न मन पराउँछु । हाम्रो आफ्नै जीवन पनि त सधैँ सरल रेखामा मात्र हिँड्दैन र सधैँ बांगाटिंगा रेखामा मात्रै पनि हिँड्दैन । हामी सबैले बाँच्ने जीवनमा सरलता र जटिलताको मिश्रण भएजस्तै मेरा कवितामा पनि पाठकले सरलता र जटिलताको मिश्रण पाउनु स्वभाविकै हो । कतैकतै बुझेबुझे झैँ, कतैकतै नबुझे नबुझे झैँ– कविताको वास्तविक मीठास पनि त यसैमा हुन्छ, हैन र ?

🆀  साहित्यमा नारा र कलाको बहस निकै चल्छ । यसमा तपाईंको बोली के हो ? 
➠ आगोले पोल्दा ऐया त सबैले भन्छन् । विद्रोही कवि त्यो हो, जसले आफूलाई पोल्नेलाई किन मलाई आगोले पोलिस् भनेर प्रश्न गर्छ । म पनि त्यही प्रश्न गर्नेमध्येकै एक कवि हुँ । कवितामा विरोध, बगावत र निषेधजस्ता कुरा त आउनै पर्छ । तर, त्यो नाराका रूपमा आयो भने कविता कविता नभएर अकविता बन्न पुग्छ । वैचारिकताको करङलाई कलाको आवरणले छोप्नै पर्छ, नत्र त्यो बिद्रुप देखिन्छ । मेरो विचारमा कला र विचारको सही संयोजन नै उत्कृष्ट रचनाको पहिलो कसी हो ।

🆀  कतिपय समालोचक समकालीन कवितामा घटनाको प्रतिक्रिया मात्रै आयो भन्छन् । हो त ? 
➠ कवितामा मात्र किन, पछिल्लो समय आएका अधिकांश आख्यानमा पनि घटना नै घटनाको थुप्रो पाइन्छ । फगत घटनाहरूप्रतिको सामान्य प्रतिक्रियाले उच्चस्तरको साहित्य जन्माउन सकिँदैन । साहित्य भनेको त मौरीले निकाल्ने महजस्तो हुन्छ । विभिन्न फूलबाट मध्ये चुनिएका फूलहरूको रसबाट निकालिएको मह । यसो भन्दैमा फूलको थुप्रोलाई नै मह भन्न नमिले झैँ फगत घटना र घटनाप्रतिको प्रतिक्रियालाई मात्र कसरी साहित्य मान्नु ! घटनाहरूसँगै कहिले अनुभूतिको चर्को वेग र आद्रता हुनुपर्छ । कहिले सलल्ल अनुभूतिको हिमनदी बग्नुपर्छ त्यहाँ । व्यक्तिगत रूपमा भन्नु पर्दा मेरो आफ्नो प्रयास पनि त्यही हो ।

🆀  तपाईंका कविता कत्तिको योजनाका परिणाम हुन् ? कत्तिको भावनात्मक संयोग ?
➠ निश्चय नै मेरा अधिकांश कविता भावनात्मक संयोग हुन् । आख्यानले वा महाकाव्यले जस्तो लामो योजना र गृहकार्यको माग गर्दैनन् फुटकर कविताहरूले । मानसपटलमा पहिलो खाका कोरेर कापी वा ल्यापटपमा कविता लेख्दासम्म लेखन, पुनर्लेखनका थुप्रै चरण हुँदै गुज्रनु बेग्लै कुरा । तर, आजसम्म मैले कविता लेख्नै भनेर त्यति ठूलो योजना बनाएकी छैन ।

🆀  अबको काव्यात्मक योजना के छन् ?
➠ अबका धेरै वर्ष कविताको कुनै किताब ननिकाल्ने सोचमा छु । अबको मेरो प्रयास कमभन्दा कम कविता लेख्ने तर आफैँमा सम्पूर्ण रूपमा सन्तुष्ट हुनेगरी कविता लेख्नेमा ध्याउन्न रहनेछ मेरो । कवितामा मैले दिन सक्ने र लेख्न सक्ने मभित्रको ‘अधिकतम् कवित्व’लाई निरीक्षण गर्ने र संख्याभन्दा पनि गहनतातिर लाग्ने मेरो भावी योजना छ ।
܀܀܀
💦 कला अनुरागी
साभार : नयाँ पत्रिका


Comments