भाइको सम्झनामा दिदीले बनाएको स्मारक

साधारण मानिसको अपेक्षा पनि साधारण नै हुन्छ । उसले गर्ने प्रेम पनि साधारण नै हुन्छ । उसले प्राप्त गर्ने प्रेम पनि । 
तर युद्धप्रकाश रायमाझी साधारण मानिस बन्न चाहेनन् । उनले देश र जनताको दु:ख, पीडा र शोषणमा आँखा चिम्लिएर बस्न सकेनन् । विद्रोहको बाटो हिंडे । जनताको मुक्तिको सपना देखे । त्यहि मुक्तियुद्धमा आफ्नो जीवन कुर्वान गरे । उनी सहिद बने । महान् बने । 
मुक्तियुद्धका योद्धा हुनुअघि पनि दिदी रञ्जिता रायमाझी भाईलाई असाध्यै प्रेम गर्थिन्, जति अरुले दिदीले भाइलाई गर्छन् । तर जब भाइ महान बने, साधारण प्रेमले मात्र भाइलाई सम्बोधन गर्न सकिदैनथ्यो । त्यो बोध रञ्जितालाई भयो । उनले सोचिन्– मैले भाइलाई जति प्रेम गरें, त्यसले पुग्दैन । किनकि त हजारौं मुक्तिकामी दिदीको भाई भइसकेको छ । मैले उसको दिदी भएको प्रमाणित गर्न धेरै ठूलो परीक्षा पास गर्नु छ । धेरै ठूलो प्रेम प्रदर्शन गर्नुछ । रञ्जिताको त्यही सोचको उपज हो पुस्तक ‘सम्झनामा सहिद भाइ ।’
उनले पुस्तकहरुको बीच बसेर सोचिन् – मुक्तिका लागि जीवन कुर्वान गर्ने मेरो भाइ यो किताबको बीचमा किन छैन ? मेरो भाई किन अभिलेखित छैन अहिलेसम्म ? म मेरो भाईलाई असाध्यै प्रेम गर्छु, तर किन छैन त्यसको चिनो कुनै स्मारक ? त्यही प्रश्नको जवाफ हो यो पुस्तक । त्यसैले यसलाई एउटी दिदीले भाईलाई गरेको प्रेमको स्मारक भने हुन्छ । 
रञ्जिताले पुस्तकका हरेक पानामा भाइको चित्र बनाएकी छिन् । तर ती चित्र त्यति सजिलै बनेका छैनन् । उनले हरेक पानामा आफ्नो हृदय ओछ्याएकी छिन् । आँशु पोखेकी छिन् । पुस्तक पढ्दै जाँदा पाना–पानामा उनको हात थर्थराएको, आँखा धमिलिएको र भक्कानिएको अनुभूति गर्न सकिन्छ । उनले भूमिकामा लेखेकी पनि छिन् –‘लेख्न मलाई यति कष्ट भयो कि म शब्दमा व्यक्त गर्न सक्दिनँ ।’
उनले पुस्तकमा भाइसँग सान्निध्य र उसको स्वाभावको असंख्या क्षणहरु सम्झिएकी छिन् । त्यसलाई कथात्मक रुप दिएकी छिन् । जसले पाठकलाई कुनै कथा पढिरहेजस्तो आभाष हुन्छ । उनको लेखाईमा भोगाइ र भाषाको मीठो सम्मीश्रण छ । उनको प्रस्तुति हेर्दा उनले भूमिकामा लेखेको कुरा पत्याउन पनि मुश्किल पर्छ । उनले भनेकी छिन्, ‘यस्तो केही मैले आजसम्म लेखेको छैन । स्कूल र क्याम्पसको पढाईमा आफ्नो नोट तयार पार्ने र परीक्षामा प्रश्नको उत्तर लेख्नेभन्दा अरु लेख्ने बानी नभएको यो सब कसरी गरौंला ? अलि अत्यास पनि लाग्यो । साहित्य, कला भन्ने कुरा मेरो बसको कुरा थिएन ।’
तर यो पुस्तकमा उनले लेखनमा राम्रो सम्भावना देखााएकी छिन् । उनले संस्मरणको परम्परागत संरचनाभन्दा अगाडि बढेर संवादको शैली अपनाएकी छिन् । जसले पाठकलाई त्यही परिवेशमा अन्तरघुलन गराउने अधिक प्रयत्न गर्छ । 
त्यस्तै उनले भाईका युद्धकालीन सहयात्रीसँगको भेटलाई पनि संस्मरणमा समेटेकी छिन् । त्यसले उनले नदेखेको पाटा पक्षलाई पनि प्रकाश पार्न सफल भएकी छिन् । यो उनको निकै ठूलो सफलता हो । 
संस्मरणमा अभिव्यक्त आशावादले उनको लेखनमा वैचारिक तेज थपेको छ । रञ्जिता रोएकी छिन्, भाइको सम्झनामा अत्तालिएकी छिन् । तर उनमा भाइले अँगालेको बाटोप्रति गर्व छ । मेरो भाई जनमुक्ति सेना थियो भन्दा उनी शीर ठाडो पार्छिन् । उनले संस्मरणमा युद्धप्रकाशका सहयात्री जनमुक्ति सेनाका योद्धालाई भेटाउँछिन् । उनीहरुबाट भाइको सपना पूरा हुने यात्रा चलिरहेको छ भन्ने बोध गराउँछिन् । 
उनको भाईले मुक्तिको सपना देखेर आवद्ध भएको पार्टी माओवादी अहिले फुुटेको छ । उनले पुस्तकमा त्यसप्रतिको दु:ख व्यक्त गरेकी छिन् । सहिदलाई समेत भागवण्डाको राजनीतिमा प्रयोग गरेकोमा उनको चिन्ता छ । समग्रमा उनले आफ्नो भाइको संस्मरण लेखेर केवल भाइलाईमात्रै सम्झिएकी छैनन् । युद्धकालीन परिवेशका परिघटना चित्रण गरेकी छिन् । माओवादी शान्ति प्रक्रियामा आएपछिका राजनीतिक गतिबिधि र पार्टीको गतिबिधिलाई समेटेकी छिन् । राजनीतिक गतिविधिलाई पनि मीठो भाषा र संवाद शैली प्रयोग गरेर जीवन्त बनाउनु उनको खुबी हो । यो पुस्तकसँगै रञ्जिताले आफ्नो भाइको सम्झनामा स्मारकमात्रै बनाएकी छैनन्, नेपाली साहित्यमा उनको आगमनको बाटो पनि फराकिलो बनाएकी छिन् । 
तर पुस्तककै सन्दर्भमा एउटा पाठकको दृष्टिकोणले केही पक्ष खड्कियो मलाई चाहिं । उनले भाइले लेखेका कवितालाई त्यही पुस्तकमा समेट्दा पुस्तकलाई विधागत रुपमा विचलित बनाएको छ । कविताको छुट्टै संग्रह निकाल्नु बढी सान्दर्भिक हुन्थ्यो होला । त्यस्तै अन्त्यमा राखिएको ‘शब्दचित्रमा युद्धप्रकाश रायमाझी’को सान्दर्भिकता पनि कम छ । उनले त्यो सामग्रीलाई लेखनमा नै समेट्नुपथ्र्यो कि ? 
तर यो कुरा प्रकाशनको बेला छलफलको माग गर्ने प्राविधिक बिषय हुन् । त्यसलाई उनको कमजोरीको रुपमा चित्रित गर्न मिल्दैन । उनले लेखनले नेपाली साहित्यमा थप कृतिको माग गर्छ । त्यो माग बुझ्न र एउटा योद्धाको दिदीको भावनात्मक उहापोहको जीवन्त अनुभूति गर्न पाठकले यो कृति खोज्नेछन् नै ।
⋳⋳⋳∎⋻⋻⋻
पुस्तक : सम्झनामा सहिद भाइ
विधा : संस्मरण 
लेखक : रञ्जिता रायमाझी
प्रकाशक : अभियान बुक हाउस
मूल्य : रू. १२० ।-
⋳⋳⋳∎⋻⋻⋻



ड्ड कला अनुरागी

Comments