भावनात्मक सम्बन्धलाई कारवाही
जिल्लालाई ६ वटा क्षेत्रमा विभाजन गरेको रहेछ त्यतिबेला पार्टी (नेकपा माओवादी)ले । मलाई बिद्यार्थी संगठनको ६ नं. क्षेत्रीय संयोजक बनाइएको थियो । मेलम्चीसहितको पश्चिमी भेग पथ्र्यो त्यस क्षेत्रमा ।
कुरा हो, २०५८ साल जेठ अन्तिमतिरको । राजदरबार हत्याकाण्ड भएकै दिन सकिएको थियो संगठन (अनेरास्ववियू क्रान्तिकारी)को जिल्ला सम्मेलन । म कोषाध्यक्षमा मनोनित भएको थिएँ । फुल्पिङ्गकोट, चिलाउनेमा भएको सम्मेलन सकेर भोलिपल्ट रेडियोमा बजेको शोकधूनसँगै घोषणासभा गर्न कल्लेरीतिर लागेका थियौं हामी ।
०००
१५ बर्षमा हिंड्दै थियो मेरो उमेर । बैशाखमा दिएको थिएँ एसएलसी, नतिजा आइसकेको थिएन । दश कक्षामा पढेको अंग्रेजीको जोश अझै थियो । कुविण्डेका इश्वर सापकोटासँग अंग्रेजीमा कुरा गर्दै घोषणासभास्थल जाँदा जनयुद्धमा ‘होलटाइमर’ हुँदैछु भन्ने भान नै भएन । उसो त मलाई होलटाइमरको अर्थ र त्यसको काम पनि थाहा थिएन । समितिको ‘भाइटल पोष्ट’ का सबै होलटाइमर हुने भनेर निर्णय भयो । त्यस्तो निर्णय किन भयो र मैले के गर्नुपथ्र्यो त्यो मलाई थाहा थिएन । घरमा कार्यक्रममा जान्छु भनेर आमाले धोइदिएको निकै रहरले किनेको गोल्डस्टार जुत्ता चिसै लगाएर निस्केको थिएँ । म त्यसरी हिंड्दा आमाबुबाको मनमा के पर्दो हो भन्ने सोच्ने क्षमता पनि ममा विकास भइसकेको थिएन ।
०००
घोषणासभा र समितिको बैठक सकेर आफ्नो कार्यक्षेत्र पुगें म । पहिलो दिनको बसाई भयो तिपेनीमा । कमरेड सुन्दरको घरमा । त्यहीं भेटिइन् कमरेड प्रितम् (नाम परिवर्तन) ।
‘हेल्लो !’ उनले ‘लालसलाम’को साटो भनिन् । उमेर सोधिनँ तर अनुमानमा उनी मभन्दा पक्कै बहिनी थिइन् । त्यस्तै १३/१४ की हुँदी हुन् । बोर्डिङ्ग पढेकी रहिछिन् मेलम्चीमा । प्रसंगै–प्रसंगमा दुई–चार बात अंग्रेजीमा बोलिन् । मेरो एसएलसी अंग्रेजी जाग्यो । अर्कातिर सबै आफूभन्दा ठूला । ठूलै कुरा गर्थे । आफूजत्रै कुरा गर्ने साथी भेटेकोमा दंग पनि परें क्यार । खाना खाइसकेपछि सुरु भयो उनको र मेरो ‘इंगलिस टकिङ्ग’ ।
सबै कुरा त अहिले सम्झन्न के–के भए कुन्नि ! घर, परिवार, शैक्षिक पृष्ठभूमी, संगठनमा संलग्नता आदि कुरा अंग्रेजीमै भए । हाम्रो अंग्रेजी कति मिले, कति मिलेनन् के मतलब । ग्रामर मिलेन भनेर गाली गर्ने सर पनि त थिएनन् । कुरा गर्दागर्दै रातको ११ पो बजेछ ।
०००
भोलिपल्ट रोपाई रहेछ तिपेनी फाँटमा । सबै रोपाईमा जान तम्तयार भए । आफू त घरमा कहिल्यै काम गरेको भए पो । त्यत्तिकै पनि के बस्नु ? के पो गर्ने होला ? सोच्दै थिएँ, तिनै प्रितम् आइपुगिन् ।
भनिन् ‘हेल्लो कमरेड, लेट्स् गो टू द फिल्ड’(खेतमा जाऔं) । हिजोको अंग्रेजी बातले एउटै कक्षामा पढेको साथीजस्तो लाग्न थालिसकेको थियो मलाई उनी । उनले भनेपछि सहज भयो । उनकै पछि लागेर गइयो रोपाईमा ।
जान त गइयो । तर न आली लाउन आउँछ, न बाउसे गर्न । न छेउकुना गर्न आउँछ, न जोत्न नै । म अलपत्र परें ।
अलपत्र परेको देखेर छुपुछुपु धान रोप्न थालेकी प्रितम्ले बोलाइन्, ‘हेल्लो कमरेड, कम टू प्लान्ट राइस’ (धान रोप्न आउ) ।
बरु धान चैं रोप्न हल्का आउँथ्यो है मलाई । कहिलेकाहीं आफ्नै खेत रोपाईमा आमासँगै उभिएर दुई चार गाभो रोपेको अनुभव पनि थियो । अनि भटमास रोप्न त सिपालु नै थिएँ । त्यसपछि कहिले धान, कहिले भटमास रोप्न सघाएँ । जिन्दगीमा पहिलोपटक अरुको काम गरेको अनुभव । नौलो लागिरहेको थियो । दिउँसो हिलो छ्यापाछ्याप पनि चल्यो केही बेर लाठे र रोपाहारबीच । प्रितम् र मबीच अंग्रेजी बातका साथै हिलो छ्यापा–छ्याप पनि चल्यो ।
घर छोडेको निकै दिन भएको थियो । विस्तारै मनमा आउन थालेको घरको सम्झना रोपाईको रमाइलोले भुलेको थिएँ । त्यतिमात्रै होइन, रोपाईमा काम गरेबापत बेलुका खेतधनी दिदीले रु. ४० ज्याला पनि दिएकी थिइन् । ओहो ! जिन्दगीमा पहिलो कमाई थियो त्यो मेरो । दंग नपर्नु पर्ने के थियो र ?
०००
तर मेरो त्यो रमाइलो र खुशी भोलिपल्टै सकियो । एरिया इन्चार्ज सुन्दरले भने –‘तपाई चिठी लिएर क्षेत्र नं. ५ मा जानुपर्ने भयो । त्यहाँका इन्चार्ज क. अशोक सिन्धुकोटमा हुनुहुन्छ । उहाँलाई चिठी दिनुहोला ।’
मान्नुको विकल्प थिएन । म हिंडे एक्लै, त्यहीँ छोडिए खेतधनी दिदी, जसले मलाई जिन्दगीको पहिलो कमाइ दिएकी थिइन् । र, छुटिन् मेरी अंग्रेजी बात गर्ने साथी प्रितम् । अरु त मैले चिनेकै थिइनँ । त्यसैले छुटेजस्तो पनि लागेन ।
पत्र थियो साथमा । निकै जतन गरी बोकेको । गोप्य हो भनेका थिए उनले । कतिसम्म सोझो र इमान्दार रहेछु म, अहिले सम्झदा दंग पर्छु । बीच बाटोमा पत्रमा के लेखेको रहेछ त भनेर हेर्न मन पनि लागेन । कमरेड सुन्दरले बताएअनुसारकै बाटो पछ्याउँदै सोध्दै–खोज्दै बेलुका–बेलुकाखेरी मैले कमरेड अशोकलाई भेटें । उनलाई चिठी दिएँ ।
उनले चिठी खोले, म उनको पछाडि उभिएँ । त्यतिबेला भने मेरो आँखा चिठीमा पर्यो, केही बेहोरा त पढ्न भ्याइहालें । मैले आधा–आधी चिठी नपढ्दै उनले चिठी हत्त न पत्त बन्द गरिहाले । तर चिठीको आधी बेहोरा नै मलाई रिंगटा चलाउन काफी थियो । जहाँ लेखिएको थियो, ‘क. टुमराज र क. प्रितम्बीच भावनात्मक सम्बन्ध विकास भएकाले क. टुमराजलाई त्यता पठाइएको छ ।’
मैले चिठीतिर वास्ता नगरेको जस्तो गरी पछाडि फर्किएँ । मैले चिठी नदेखेकोमा कमरेड अशोक ढुक्क भएजस्तो देखिए । त्यसबेला उनले मलाई के भने, मैले राम्ररी सुनिनँ ।
एउटा पन्ध्र बर्षको किशोरलाई तेह्र बर्षको किशोरीसँग भावनात्मक सम्बन्ध विकास भएको भनेर गरिएको कार्यक्षेत्र सरुवाको कुराले निकै रन्थन्यायो । कार्यक्षेत्र नै सरुवा गर्नुपर्ने गरी विकास भएको भनिएको भावनात्मक सम्बन्धको परिभाषा के थियो मैले बुझ्न सकिनँ ।
तर घरको सम्झना र कमरेड सुन्दरप्रतिको घृणा भने मनमा एकैचोटी उम्लियो ।

܀܀܀
✍ कला अनुरागी
साभार : सिन्धुप्रवाह
Comments
Post a Comment