सडकमा कविता–सौन्दर्य

०६२/६३ को जनआन्दोलनमा जनतासँगै कवि सडकमा उत्रिएका थिए । कवि श्रवण मुकारुङको चर्चा चुलीमा थियो । अर्जुन पराजुली ‘सेलिब्रेटी’ कवि थिए । कवि मणी काफ्लेलाई चोक–चोकमा खोजिन्थ्यो । अहिले त्यही जनआन्दोलनले निर्माण गरेको राजनीतिक समीकरणको परिणामस्वरुप बनेको संविधानसभामार्फत संविधान निर्माण कार्य अन्तिम चरणमा छ । तर जुन समतामूलक राज्यको सपना बोकेर जनता सडकमा उर्लिएका थिए, कवि सडकमा उत्रिएका थिए, बन्न लागेको संविधानले त्यो पूरा छाँट देखिएको छैन । त्यसैले जनता आन्दोलित छन् । हिजो सँगै हिडेका कविहरु भने आज सडकमा देखिएका छैनन् । 
हिजो आन्दोलनमा जनतासँगै उभिने कविका आफ्नै दुःख देखियो । त्यही दुःखले उनीहरुलाई शायद जनतासँगै आन्दोलित भइरहन सक्ने कवि रहिरहन दिएन । त्यतिबेला ‘साझा कवि’ बनेर ‘बिसे नगर्चीको बयान’ सुनाउँदै हिडेका श्रवणलाई प्राज्ञ बन्न नेपाली कांग्रेसको झण्डा बोकी हिड्नुपर्यो । अर्जुन पराजुलीलाई ‘भूँडीपुराण’ सम्हाल्दै फुर्सद भएन, मिडिया पनि गाईजात्रामा मात्रै खोज्छ उनलाई । मणी काफ्ले कृषिप्रधान देशमा कृषिकै कविता लेखिबसेका छन् । आन्दोलनमा सक्रिय अरु कविका दुःख पनि यस्तै–उस्तै हुँदा हुन्÷छन् । तथापि जनताको हरेक न्यायपूर्ण आन्दोलनमा कविताको भूमिका घटेको छैन । 
केही साताअघि प्रकाशित अन्तरर्वार्तामा श्रवणले नै भनेका थिए, ‘अहिले देश संविधान निर्माणको उत्कर्षमा छ । नागरिकका आवाज र मुद्दाहरु उठाउनका लागि कविताले प्रभावकारी भूमिका खेल्न सक्छ ।’ भलै, त्यस्तो मुद्दा बोकेका कविता लिएर उनी सडकमा हिडेको देखिएको छैन, प्राज्ञकै गाडीमा देखिन्छन् । तर उनले भनेजस्तो ऐतिहासिक अभिभारा लिन कविहरु सडकमा निस्केकै छन् । ‘उन्मुक्त पुस्ता’का कविहरुले गत साउन अन्तिम सातादेखि सुरु गरेको ‘पोस्टर कविता अभियान’ त्यसैको एउटा उदाहरण हो । जसमा दर्जनौं कवि ऐक्यवद्धता जनाउँदै सहभागि भइरहेका छन् । कविहरु दलित, जनजाति, महिला, मधेशी तथा सिमान्तकृत मुद्दामा लेखिएका कविता राजधानीको विभिन्न स्थानमा दैनिक सुनाइरहेका छन् । कविता र चित्रकलाको संयोजन गरी निर्माण गरिएको पोस्टर टाँसिरहेका छन् ।
०००

समतामूलक राज्यको सपना देख्नेहरु सबैभन्दा जागरुक र सचेत बन्नुपर्ने बेला हो यो । ऐतिहासिक संविधानसभाले पनि उही पुरानो शासकीय चिन्तनको घोडा चढेर जनताको सपनामाथि खेलबाड गर्ने संविधान जारी ग¥यो भने जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनका साथै विभिन्न संघर्षमा जनताले गरेको त्याग र बलिदान खेर जान्छ । त्यो भनेको योमात्रै होइन, भावी पुस्ताको भविष्य पनि खतरामा पर्नु हो । त्यसैले यतिबेला आफ्नो अधिकार सुनिश्चितताका लागि जनताले उठाइरहेको आवाजमा साथ दिने ऐतिहासिक दायित्वबाट कवि भाग्न सक्दैन । 
जनता अहिले संविधानमार्फत शदियौंदेखिको दलन, विभेद र उत्पीडनबाट मुक्ति सुनिश्चित होस् भन्ने माग गरिरहेका छन् । त्यसका लागि दवाव दिइरहेका छन् । तर राज्य यो श्वरलाई नै दबाउन लागि परिरहेको छ । परिणाम, आफ्नो अधिकार सुनिश्चितताको माग गरिरहेका जनताले ज्यान गुमाउनु परिरहेको छ । यस्तो बेला दवाव प्रतिरोधमा बदलिनु स्वाभाविक हो । तर त्यसलाई राज्यलेमात्रै होइन, आन्दोलनको नेतृत्व गरेको दावी गर्ने राजनीतिक दलले पनि आफ्नै स्वार्थका कोणबाट व्याख्या गरिरहेका छन्, उपयोग गरिरहेका छन् । यस्तो समयमा कवि कोठामा बसेर कवितामात्रै लेखिरहन सक्दैन । सडकमै जनताको साथमा उभिनुपर्छ । ‘उन्मुक्त पुस्ता’को प्रयत्न त्यही हो । 
०००

‘उन्मुक्त पुस्ता’मा ६० को दशकबाट कविता लेखनमा सक्रिय कवि बढी छन् । तर यसमा त्यसअघिबाट लेखिरहेका या भर्खरै कविता लेख्न थालेका कवि पनि संलग्न छन् । उमेरको वर्गीकरणबाट पुस्ता छुट्याउनु यसले वैज्ञानिक मान्दैन । तमाम रुढताबाट मुक्त भएर स्वतन्त्र संसारको सपना देख्ने वर्गलाई ‘उन्मुक्त पुस्ता’ मान्नुपर्छ भन्ने यसको आग्रह हो । राजनीतिको फेर समातेर कुद्ने होइन कि विचारको आलोकमा राजनीतिसँग सिधा आँखा जुधाउने र परिआयो भने राजनीतिको कान निमोठ्ने साहित्यको वकालत गर्छ यसले । 
‘पोस्टर कविता’ ‘उन्मुक्त पुस्ता’को पहिलो अभियान होइन । यसले दुई बर्षअघिदेखि ‘काव्यशिविर अभियान’ पनि चलाइरहेको छ । अभियानलाई केही ‘करियरिस्ट’ व्यक्तिले उपयोग गर्न थालेपछि केही समयदेखि सार्वजनिक कार्यक्रम स्थगित गरेकोमात्रै हो । तर आन्तरिक कविता कार्यशालाको रुपमा ‘काव्यशिविर’ चलि नै रहेको छ । त्यसअन्तर्गत कवितामाथि सघन छलफल गरिन्छ र माझिएका कवितालाई बाहिर ल्याइन्छ । पछिल्लो समय विभिन्न छापामाध्यममा लगालग प्रकाशन भएका केशव सिलवालको ‘छुतको वक्तव्य’, विश्व सिग्देलको ‘हामीलाई थाहा छ’, केवल विनावीको ‘भो काजी म अछुतै सही’, कला अनुरागीको ‘कुकुरदेखि सावधान’, राजु स्याङ्तानको ‘रामबहादुर मार्ग’, प्रकाश गुरागाईंको ‘फूलमानको विद्रोह’, हरिशरण परियारको ‘कैंची’, मुक्तान थेबाको ‘सपनाको जुलुस’लगायत कविता ‘उन्मुक्त पुस्ता’ले सञ्चालन गरिरहेको ‘काव्यशिविर’को आरनबाट निस्किएका कविता हुन् । तर कविता प्रकाशन गरेर वा संग्रहमा संग्रहित गरेरमात्रै हुँदैन । कविताको शक्ति त्यसबेला प्रमाणित हुन्छ, जतिबेला यसले जागृत गराउन खोजेको वर्गमा पुग्छ । त्यसका लागि हामी ‘पोस्टर कविता अभियान’ लिएर सडकमा निस्कियौं । 
अहिले कवितामाथि सबैभन्दा बढी खतरा उनीहरुबाट छ, जो कवितालाई कोठाभित्र बसेर गरिने ‘बुद्धिविलास’ र ‘सौन्दर्यखोजको ध्यान’ ठान्छन् । किनकि त्यस्ता कवितामा न त प्रतिरोधको शक्ति हुन्छ, न त्यो जसलाई जागृत गराउनु पर्ने हो त्यो वर्गसम्म पुग्छ । हामी अहिले त्यस्तो समाजमा छौं, जहाँ सिधासिधा दलन छ, उत्पीडन छ । त्यस्तो समाजमा बसेर लेखिने कवितामा प्रतिरोधबाहेक अरु केही हुनै सक्दैन । त्यसैले त्यस्ता लेख्नुमात्रै होइन, कवितामा अभिव्यक्त प्रतिरोध चेतना उत्पीडित र दलित वर्गसम्म पु¥याउनु पनि कविको दायित्व हो । जब त्यो वर्ग जागृत हुन्छ, तबमात्रै कविताको शक्ति प्रमाणित हुन्छ । त्यसको लागि अहिलेको समयमा लेखिइरहेको प्रतिरोध कवितालाई एउटै आन्दोलनमा एकिकृत गरिनु आवश्यक छ । जुन समुदाय वा वर्ग दलन र उत्पीडनमा छ, त्यही वर्गले छुट्टा–छुट्टै लेखेरमात्रै कवितामार्फत गरिने प्रतिरोध सम्भव छैन । त्यसका लागि दलन र उत्पीडनको विरुद्धमा रहेको सबै पक्ष एकै ठाउँमा उभिएर एकअर्कालाई उर्जा दिनु आवश्यक छ । दलितको पक्षमा गैरदलितले लेख्नुपर्छ । जनजातिको पक्षमा गैरजनजातिले, महिलाको पक्षमा पुरुषले, मधेशको पक्षमा पहाडले लेख्नुपर्छ । त्यसो भयो भनेमात्रै कवितामार्फत उठाइने प्रतिरोधलाई परिणाममुखी संघर्षको स्वरुप दिन सकिन्छ । ‘उन्मुक्त पुस्ता’ले चलाएको पोस्टर कविता अभियानको दलित, जनजाति, महिला र मधेशी श्रृंखलामा त्यही स्वरुपको अभ्यास गरिएको छ । पोस्टरमा हुने चित्र संयोजनले कविताको तात्पर्य लक्षित वर्गलाई अझ स्पष्ट पार्न मद्दत गरेको छ । 
शान्तिवाटिकाबाट सुरु भएको अभियान राजधानीका विभिन्न चोक–चोकमा मात्रै पुगेको छैन । सुकुम्वासी वस्तीमा पुगेको छ, दलित वस्तीमा पनि पुगेको छ । जहाँका मानिसले कहिल्यै कविता सुनेका थिएनन्, तिनले कविता सुनेका छन् । जसले आफ्नोबारेमा पनि लेखिन्छ भन्ने थाहै पाएका थिएनन्, तिनले थाहा पाएका छन् । भोटको लागिमात्रै उपयोग गर्ने कृतघ्न र आपराधिक राजनीतिक संस्कारबाट आजित उनीहरुले आफ्नो आवाज बोलिदिने यो संसारमा कोही रहेछन्, अझ ती कवि रहेछन् भन्ने महसुस गरे । विभिन्न वस्तीमा पुग्दा उनीहरुले त्यो अनुभूति अभिव्यक्त नै गरे, जसले हामीलाई निकै द्रविभूत बनाइरहेको छ । कवितालाई जीवन दिन ‘केही गरेको’ महसुस भइरहेको छ । 
०००

संयोग, ‘उन्मुक्त पुस्ता’ले पोस्टरमार्फत कवितालाई सडकमा ल्याउँदै गर्दा ‘फुर्सद’मा कविता बहस सुरु भयो । यसले हामीलाई पनि तरंगित पा¥यो । हामीलाई आन्दोलित पारिरहेका कवितालाई कवि मनु मञ्जिलले ‘लाटा’ घोषित गरिदिए । ‘निदाउनै नदिने प्रतिरोधी चेतना’का कविता लेखिरहेको यो समयका कवि र उनीहरुका कवितालाई उनले कसरी त्यसो भन्न सके हामीलाई ताज्जुब लाग्यो । त्यसको प्रतिवादमा कवि सरिता तिवारीको लेख पढेपछि हामी निष्कर्षमा पुगेका छौं– कविको पक्षधरता थाहा हुने समय यही रहेछ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत विभिन्न ‘कवि’हरुले दिएको अभिव्यक्ति र उनीहरुको रचनामार्फत पनि त्यो थाहा भइरहेको छ । केही त्यस्ता ‘कवि’ देखिए, जो जनता आफ्नो दलनबाट मुक्तिको कुरा गर्दा ‘शान्ति’को कुरा गरेर भावुक हुन्छन् । जनताले मधेशको कुरा गर्दा वा महिला समानताको कुरा उनीहरुलाई ‘राष्ट्रियता’ दुख्छ । पहिचानको कुरा गर्दा ‘सबै नेपाली’को भाव जागेर आउँछ । उनीहरुलाई वास्तविकताचाहिं दुख्दैन । दलनले भावुक बनाउँदैन । विभेदले आक्रोशित बनाउँदैन । त्यस्ता कवि वा कवितामार्फत अभिव्यक्त हुने नक्कली जलप लगाइएको सौन्दर्यशाश्त्रको पनि खुलेर विरोध हुनुपर्छ । यतिबेला हामीलाई शब्दखेलको दबदवे हिलोमा रोमान्स गर्ने अल्लारेमार्काको ‘कवि’ होइन, वास्तविक रोपाहार–लाठेमार्काका कवि चाहिएको छ । जसले समतामूलक समाजको फसल फलाउन मिहिनेत गरिरहेका छन् । 
वास्तवमा, हिमाल सुन्दर लाग्नु सामान्य सौन्दर्यचेतमात्रै हो । तर दिनरात हिउँको निर्ममता खपेर हिमालमा बस्नुपर्ने मान्छेले हिमाललाई कसरी हेर्छ भन्ने बुझ्न सक्नु नै खास सौन्दर्यबोध हो । यो समयका वास्तविक कवि हिमालको सौन्दर्यगान गाउनुको आनन्द छोडेर हिमालको निर्ममता खप्ने मानिसको हृदयको नजिक पुग्न खोजिरहेका छन् । यो सुन्दर कुरा हो । तर यसलाई कुरुप ठान्ने पनि छन् । यो मूलतः पक्षधरताकै प्रश्न हो । पिंजडामा सुगाले भजन गाइरहेको परिदृश्य सुन्दर मान्नु एउटा पक्षधरता हो । पिंजडा तोड्न आफ्नो चुच्चो रक्तमुछेल हुनेगरी पिंजडा ठुंगिरहेको सुगाको दृश्यलाई सुन्दर मान्नु अर्को पक्षधरता हो । ‘उन्मुक्त पुस्ता’ पछिल्लो सुन्दरताको पक्षमा छ । तीन हजार बर्षको दलन झेलेर आएका दलित, राज्यले ‘मासिन्या मतवाली’करार गर्दा पनि संघर्ष गरेर बाँचिआएका तामाङ, अनेक विभेद र उत्पीडन सहेका महिला, मधेशी, आदिवासी, जनजाति कवि यो पुस्तामा छन् । राज्यको आँखामा अझै बिझाइरहेको यो वर्गले कसरी आँखालाई नबिझाउने दृश्य भएका कविता लेख्न सक्छ ? हरेक पल दलनको अदृश्य रक्तपात भोगिरहेको यो पुस्ता कसरी ‘असीम आध्यात्मिक डोज’ दिने कविता लेख्न सक्छ ? त्यसैले यसले लेख्ने प्रतिरोध हो, विद्रोह हो । यसले आफूलाई कवि दर्ज गर्न लेखिरहेको छैन, आफ्नो प्रतिरोधी चेतना अभिव्यक्त गर्न लेखिरहेको छ । त्यसैले कलाको अनेक ढाँचा खोजेर ढोंग गरिरहँदैन । कलाचेत नै छैन भन्ने होइन, तर सत्ताले टाँचा लगाएको कलादृष्टिको छाता खोजिहिड्दैन । वस्ती आगोमा भस्म भइरहँदा चीरकालको सुनामका लागि पीपल वा समीको रुख रोप्नेतिर यसको मन जाँदैन । वस्तीको आगो निभाउनतिरै लाग्छ, त्यहाँ जलिरहेका नानीहरु जोगाउनतिरै लाग्छ । कसैले यसलाई सुन्दर देख्दैनन् भने दृष्टिदोष यसको होइन । सडकले, सुकुम्बासी बस्तीले, दलित वस्तीले प्रिय मानेको सौन्दर्य नै यसलाई प्रिय छ । 
܀܀܀
प्रकाशित : अन्नपूर्ण दैनिक (फुर्सद)

Comments

Popular posts from this blog

Philosophy of Fearism

मृत्युसाक्षी

नेपाल ओरियण्ड म्याग्नेसाइट: स्वार्थको सिकार