‘के राष्ट्रपति हिन्दू सम्राट हो ?’

राष्ट्रपति विद्यादेवी भण्डारीले (२०७२) को विवाह पंचमीमा जनकपुरको रामजानकी मन्दिर पुगेर गरेको पूजाको विषयलाई लिएर अनेकौ वादविवाद सिर्जना भयो। यसबारे अनेक बहस चले, प्राज्ञ तथा रंगकर्मी रमेश रञ्जनले यसबारे आफ्नो मत यसरी प्रकट गरे -

जनकपुरले जानकी अर्थात सीतालाई आफ्नो क्षेत्रकी किशोरीको रूपमा मान्छ । यसको अर्थ हो सीता जनकपुरकी बहिनी वा छोरी हुन् । त्यसैले सीता यस क्षेत्रकी सांस्कृतिक पात्र हुन् । हुन त उनको धार्मिक व्याख्या पनि नगरिने होइन । तर धर्मबाट अलग्याउने हो भने पनि सांस्कृतिक रूपमा सीताको महत्व मिथिला समाजमा उत्तिकै स्थापित छ । 
राजा जनकले महायज्ञ गरेपछि धर्तीले जन्माएकी छोरीको रूपमा महाकवि वाल्मिकीले रामायणमा सीतालाई उल्लेख गरेका छन् । त्यस कथालाई आधुनिक आलोचनात्मक कोणबाट हेर्ने हो भने धर्तीले मान्छे जन्माउन सक्दैन । महिलाको रज र पुरुषको वीर्यको मिलनबिना मान्छे जन्मिन सम्भव छैन । के भन्न सकिन्छ भने जनकले उनलाई कुनै खेतमा वेवारिसे अवस्थामा भेटे र ल्याई छोरीको रूपमा पाले । त्यतिमात्रै होइन, उनलाई बुद्धि, विवेक र बलवान् बनाए । भेटिएकी बच्चीलाई त राजकुमारी बनाउने विवेकशील र ज्ञानी राजा भएको ठाउँ हो त्यो । त्यतिमात्रै होइन, राजाले जनकपुरलाई बौद्धिक विमर्शस्थल बनाएका थिए । जहाँ गार्गी र मैत्रियजस्ता विदुषीले विदुषकसँग शाश्त्रार्थ गर्थे । जुनबेला अन्यत्र महिलालाई अध्ययनको स्वतन्त्रता नै थिएन । 
महिलालाई शिक्षा र सम्मान दिने संस्कार भएको ऐतिहासिक स्थानमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई विवाहपञ्चमी अवलोकनको क्रममा अपमान गरियो भन्ने कुरा आफैंमा अपत्यारिलो हो । ऐतिहासिक रूपमै त्यसरी परिचित समाज महिलालाई हेर्ने दृष्टिकोण र सम्मानको मामलामा कसरी अविवेकी हुन सक्छ ? यो निकै गम्भीर प्रश्न हो । 
त्यसो त एउटा सभ्य समाजमा पनि शतप्रतिशत व्यक्ति विवेकी हुन्छन् भन्न सकिन्न । केहीले विवेक गुमाउन पनि सक्छन् । तर अहिले जसरी सम्पूर्ण मिथिलाले राष्ट्रपतिलाई अपमान गर्यो भनेर भ्रम फैलाउन खोजिएको छ, त्यो गैरजिम्मेवार कुरा हो । अझ राज्यको कार्यकारी निकायमै रहेका व्यक्तिको त्यस्तो अभिव्यक्ति आउँदा मिथिलाले सांस्कृतिक चोट महसुस गरेको मैले पाएको छु ।
यस सदन्र्भमा ‘विधवा’ मन्दिर प्रवेश गरेकाले चोख्याउने काम गरियो भन्ने आरोप सुनिएको छ । यदि एउटा ‘विधवा’ मन्दिरमा गएकै कारण चोख्याउने कुरा भएको हो भने त्यो एउटा सभ्य समाजले स्वीकार्न सक्दैन । तर त्यहाँ ‘विधवा’ मन्दिर पस्दा अपवित्र हुन्छ भन्ने भावना छैन । म त्यही क्षेत्रमा पलेबढेको मान्छे हुँ । मन्दिरमा दैनिक हजारौं व्यक्ति जान्छन् । कसैले पनि सधवा हो कि ‘विधवा’ हो भनेर लेखा राख्दैन । जानकी मन्दिरको द्वार हमेशा खुला हुन्छ । कुनै जाति वा समुदायलाई त्यहाँ पस्न प्रतिबन्ध छैन । जतिबेला ‘दलित’लाई मन्दिरमा प्रवेश गर्न नदिने कुसंस्कार समाजमा थियो, त्यसबेला त जानकी मन्दिरमा कुनै प्रतिबन्ध थिएन । अनि कसरी राष्ट्रपतिको सन्दर्भमा चाहिँ यस्तो कुरा आउँछ र ? 
स्थानीयको कुरा छ, ‘मन्दिरभित्र छालाको वस्तु लैजान मनाही छ । तर राष्ट्रपतिलाई मन्दिर लैजाने निहुँमा छालाको बुट लगाएर सैनिक गए । सँगै कुकुर पनि लिएर गए । त्यसैकारण हामीले मन्दिर चोख्याएको हो । कसले के लेखिदियो हामी कसरी थाहा पाउनु ?’
यदि त्यसो हो भने यो घटनालाई किन यति ठूलो मुद्दा बनाइँदैछ भन्ने कुरा सोच्न जरूरी छ । कतै यो ‘मधेस आन्दोलन’लाई भड्काउन वा मधेसी समुदायप्रति घृणा उत्पन्न गराउन सुनियोजित रूपमा भएको प्रचारबाजी त होइन ? स्वाभाविक आशंका उत्पन्न हुन्छ । 

चलनै छैन त, किन गएको ?
यो घटनाको चर्चासँगै राष्ट्रपति किन जानकी मन्दिर पुग्नुभयो भन्ने प्रश्न पनि उठ्यो । त्यसै सन्दर्भमा भनेको सुनियो, ‘प्रत्येक वर्ष विवाह पञ्चमीमा राष्ट्राध्यक्ष जाने चलन छ ।’ यो कुरा गलत हो । त्यस्तो कुनै चलन छैन । राष्ट्राध्यक्ष वा अरू कुनै विशिष्ट व्यक्ति जनकपुर पुग्दा जानकी मन्दिरमा दर्शन गर्ने गरिएको सत्य हो । त्यो सामान्य कुरा पनि हो । तर विवाह पञ्चमीकै दिनमा जाने भन्ने कुनै परम्परा छैन र थिएन । 
विवाह पञ्चमी पूर्णतः जनसहभागितामा सम्पन्न हुने सांस्कृतिक अनुष्ठान हो । त्यहाँ लाखौं मान्छे दर्शनार्थी बनेर आउँछन् । भारतको अयोध्याबाट जन्तीको रूपमा सीतालाई लिन र पूजाअर्चना गर्न आउँछन् । स्थानीयको पनि उत्तिकै सहभागिता हुन्छ । उनीहरू सीता र रामको विवाहको जुन प्रक्रिया हुन्छ, त्यसको साक्षी बन्न त्यहाँ पुगेका हुन्छन् । 
तर यसपाली हठात् राष्ट्रपतिको भ्रमण राखियो । त्यसका लागि मन्दिर खालि गराइयो । मन्दिर परिसरमा हुने कार्यक्रमबाट श्रद्धालुलाई बञ्चित गरिदिएपछि विवाह पञ्चमीको के अर्थ रह्यो र ? 
जनसाधारण त्यहाँ राष्ट्राध्यक्षलाई हेर्न त गएका हुँदैनन् । उहाँलाई जानु थियो भने अन्य बेलामा जान सक्नुहुन्थ्यो । तर लाखौं मान्छे जम्मा भएको बेला उनीहरूलाई पन्छाएर किन जानुपर्यो ? त्यसमाथि पनि मछिन्द्रनाथको भोटो देखाउन राष्ट्राध्यक्ष जानैपर्ने भन्नेजस्तो परम्परा पनि छैन । सामान्य रूपमा कोही सहभागी हुन चाहन्छ भने स्वाभाविक हो, तर विशेष रूपमा किन सहभागी हुनुपर्यो ? यही कुराप्रति श्रद्धालुको मनमा आक्रोश उत्पन्न भएर केही विरोधका गतिविधि भएका हुनसक्छन् । तर यी प्रश्नको जवाफ नदिई त्यहाँ के व्यवहार भयो भनेरमात्रै हेरियो भने सरासर अन्यायमात्रै हुँदैन, जनताको सांस्कृतिक अधिकारमाथि आँखा चिम्लिएर गरिएको एकांकी विष्लेषण हुन जान्छ ।
त्यसो भनेर ‘विधवा’को प्रसंग त्यत्तिकै हावामा आएको होला भनेर म भन्दिनँ । ‘विरोध गरिहालियो, त्यसबाट मुक्त हुनलाई कुन तर्क दिने’ भन्ने सोचबाट त्यस्तो कुरा आएको पनि हुन सक्छ । वा, वातावरण बिथोल्न चाहने गलत नियतका व्यक्तिले त्यस्तो हल्ला फिँजाएको पनि हुन सक्छ । तर त्यो मिथिला क्षेत्रको संस्कृति र मनोविज्ञानबाट आएकोचाहिँ होइन ।

इतिहासकै निरन्तरता !
यो घटनाले मलाई केही पुराना घटनाक्रम पनि सम्झाइदिएको छ । ०६२ को विवाह पञ्चमीमा भव्य मेलाको तयारी भएको थियो । अयोध्याबाट धेरै संख्यामा जन्ती आइरहेका थिए । म पनि त्यसलाई पछ्याइरहेको थिएँ डकुमेन्ट्री बनाउनका लािग । त्यति सहभागिता भएको विवाह पञ्चमी बर्षौंपछि भइरहेको थियो । १५ लाखभन्दा बढी मान्छे जनकपुरमा उपस्थित थिए । 
तर हठात् त्यहाँ ज्ञानेन्द्रको भ्रमण राखियो । सुरक्षाका लागि भनेर मन्दिर क्षेत्रमा सेना प्रयोग गरी खालि गराइयो । लाठीचार्जसमेत गरियो । जाडो मौसममा मान्छेले धेरै दुःख पाए । राती जाने कहाँ ? भारतका मान्छे छन्, गाउँतिरका मान्छे छन् । न त्यहाँको भूगोल थाहा छ, न केही अवस्था थाहा छ । त्रासदपूर्ण वातावरण बन्यो । त्यस्तो त्रासदी भोगेपछि बर्षौंसम्म विवाह पञ्चमी महोत्सव भव्य बन्न सकेन । 
अहिले पनि अवस्था त्यही देखियो । शासकहरू जब–जब कमजोर हुन्छन् । तब धार्मिक खोल ओढेर जनकपुर पुगेको इतिहास छ । त्यतिबेला पनि ज्ञानेन्द्रलाई राष्ट्रले स्वीकार गरिरहेको थिएन । समाजमा धर्मको शासन हुन्छ भन्ने शासकले बुझेको हुन्छ । समाजको त्यही धर्मान्धतालाई आफ्नो पक्षमा पार्न शासक आफू कमजोर भएको बेला धार्मिक क्षेत्रको भ्रमण र दर्शन गर्न थाल्छ । त्यसले मानिसलाई आफूप्रति सकारात्मक बनाउँछ भन्ने शासकको मनोविज्ञान देखिन्छ । घटनाक्रमले त्यसलाई पुष्टि पनि गरेका छन् । जस्तो, पृथ्वीनारायण शाहले जनकपुर क्षेत्रसमेत रहेको मकवानपुर क्षेत्र जिते, तर जनकपुर क्षेत्रले पृथ्वीनारायणको सत्ता अस्वीकार गरेको इतिहास छ । उनीहरूले कर दिन मानेनन्, आदेश अस्वीकार गरे । त्यसपछि अमरसिंह थापालाई पठाएर उनले जनकपुरको राममन्दिर जिर्णोद्धार गर्न लगाए । त्यसपछि राजा त हाम्रो धर्मको रक्षक हो भन्ने छाप पर्यो । र, विस्तारै जनकपुरले उनलाई राजा स्वीकार्यो । 
ठीक त्यही प्रयत्न राष्ट्रपतिले गर्नुभएको जस्तो देखिन्छ । उहाँ जुन पार्टीको पृष्ठभूमिबाट आउनुभयो, जुन गठबन्धनले उहाँलाई राष्ट्रपति बनायो, त्यसलाई मधेसले अस्वीकार गरिरहेको छ अहिले । त्यो गठबन्धनको नेता, राजनीतिक दृष्टिकोणप्रति नै त्यहाँ आक्रोश छ । संविधान निर्माणपछि लगातार चार महिनादेखि आन्दोलन गरिरहेकाहरूको आक्रोश हो त्यो । त्यही गठबन्धनबाट नियुक्त राष्ट्रपतिप्रति मधेसमा ‘उहाँ हाम्रो पनि राष्ट्राध्यक्ष हो, उहाँप्रति सम्मानभाव हुनुपर्छ’ भन्ने मनोविज्ञान बन्न सकेकै छैन । यस्तो अवस्थामा झन् चिढ्याउने हिसाबले, उत्तेजित पार्ने किसिमले राष्ट्राध्यक्ष त्यहाँ जानु हुन्थ्यो कि हुन्नथ्यो प्रश्न स्वाभाविक रूपमा उठेको छ । जानुहुन्थ्यो कि हुन्नथ्यो उहाँको विवेकले छुट्याउनुपर्ने कुरा हो । उहाँलाई ‘नजानुस्’ भनेर त यो देशमा कसैले पनि भन्न सक्दैन । 

गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?
एउटा राष्ट्राध्यक्ष कतै जाँदा त्यहाँको सामाजिक मनोविज्ञानको परख गर्नेदेखि सम्पूर्ण सुरक्षाको व्यवस्था गर्ने जिम्मा राज्यको हो । पक्कै पनि त्यसका लागि गुप्तचर, सुरक्षाकर्मी परिचालन गरिन्छ । के राज्यले त्यहाँको स्थिति थाहै नपाइकन त्यहाँ राष्ट्रपतिलाई लगेको हो ? हो भने पनि वा होइन भने पनि राज्यको निकम्मापन देखिन्छ त्यहाँ । राष्ट्रपतिलाई पनि सुरक्षा दिन नसक्ने अनि दोष अन्यत्र थोपर्न मिल्छ राज्यले ? त्यसैले यसको अन्तर्यमा पस्दै जाने हो भने कि यो सरकारको ठूलो गल्ती हो कि त योजना हो । कि उत्तेजना फैलाउन राष्ट्रपतिलाई कार्डको रूपमा प्रयोग गर्न खोजेको भनेर स्वीकार्नुपर्यो । होइन भने उहाँको सुरक्षा र सम्मानजनक भ्रमणको जिम्मा लिएका अधिकारीलाई बर्खास्त गर्नुपर्यो । गृहमन्त्रीले नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुपर्यो । राज्य आफू जिम्मेवारीबाट टाढा भागेर आम जनतालाई दोष थोपर्न मिल्दैन । 
महेन्द्रले तत्कालीन प्रधानमन्त्री बिपी कोइरालालाई बर्खास्त गरेर ‘कू’ गरिसकेपछि यसैगरी जानकी मन्दिर पुगेका थिए । त्यसैबेला हो, दुर्गानन्द झाले बम प्रहार गरेको । यसरी धार्मिक भावना भड्काउँदाको स्थितिमा परिणाम भयानक हुन सक्छ भन्ने कुरा राज्यले पुराना घटनाबाट सिक्नुपर्दैन ? 

राष्ट्रपति हिन्दू सम्राट हो ? 
यो घटनाको यति धेरै चर्चा भइसकेपछि एउटा बिषयमा बोल्नै पर्ने हुन्छ । शासकले यसअघिका राष्ट्रपतिलाई पनि ‘हिन्दू सम्राटको रूपमा प्रस्तुत गरे । राष्ट्रपति त्यसमा कति दोषी हुनुहुन्छ, त्यो म बिष्लेषण गर्ने पक्षमा छैन । तर राज्यसंचालकले उहाँलाई त्यही रूपमा प्रस्तुत गरे र उहाँले पनि अस्वीकार गर्न सक्नुभएन । राजाले गर्ने कुमारी दर्शनदेखि फूलपातीसम्मका हिन्दू धार्मिक प्रक्रियामा उहाँ सहभागी हुनुभयो । 
अहिले संविधानतः देश धर्मनिरपेक्ष भइसकेको छ । राष्ट्रपतिले सबै जाति, समुदाय, संस्कृति, भाषा, धर्मप्रति समान दृष्टिकोण राख्नुपर्ने हो । तर त्यसो हुन सकिरहेको छैन । उहाँ विवाह पञ्चमीमा जानुभयो, मोहम्मदको जयन्तीमा किन जानुभएन जामे मस्जिदबाट । क्रिसमसमा किन सहभागी हुनुहुन्न ? केवल एउटा शुभकामना विज्ञप्ति जारी गरेर टारिदिनुहुन्छ । यसले त अहिले पनि शासक खास धार्मिक समुदायको प्रतिनिधि हो भन्ने देखाउँछ नि । भोलि मुसलमान समुदायको व्यक्ति राष्ट्रपति बन्यो भने पशुपतिमा जाने कि नजाने ? त्यहाँ पस्न दिने कि नदिने ? कुरो उठ्दैन ? अनि राष्ट्रपतिलाई हिन्दूले अपमान गर्यो भन्ने ? त्यसैले धर्मनिरपेक्ष देशको राष्ट्रपति कुन रूपमा धार्मिक क्रियाकलापमा सहभागि हुने भन्ने निक्र्योल राज्यले गर्नुपर्छ । नत्र राष्ट्रपति केवल एउटा धर्म वा समुदायको मात्रै बन्छ, सबैको बन्दैन । 
܀܀܀
प्रस्तुति : कला अनुरागी
साभार : रातोपाटी

Comments

Popular posts from this blog

'राजनीतिमा महिलामाथि ‘इमोसनल ब्ल्याकमेल’ गरिन्छ'

Philosophy of Fearism