'अक्षयकुमारको ‘किक’ निखिललाई हान्न लगाएपछि दर्शकले किन सिनेमा हेर्ने ?'

अभिनेता दयाहाङ राईको ‘डेब्यु’ सिनेमा ‘अनागरिक’बाट निर्देशन थालेका रामबाबु गुरूङले लामो समय समुदायमा आधारित डकुमेन्ट्री निर्देशनमा बिताए । ‘कबड्डी’ उनको पहिलो व्यवसायिक सिनेमा हो । जसको सफलताबाट उत्साहित गुरूङले सिक्वेल ‘कबड्डी कबड्डी’ बनाए । प्रस्तुत छ, रिलिजको तेस्रो सातामा पनि उत्साहजनक दर्शक पाइरहेको ‘कबड्डी कबड्डी’का निर्देशक गुरूङसँग गरेको सिने–संवादः

कबड्डी ब्राण्ड
सिनेमा क्षेत्रमा मेरो रहरको प्रतिफल थियो ‘अनागरिक’ । त्यसपछि समुदायमा आधारित केही ‘डकुमेन्ट्री’ बनाएँ । तर फिल्म क्षेत्रमा नै करियर बनाउने सोचमा अघि बढेपछि व्यवसायिक ढंगले काम गर्नुको विकल्प थिएन । व्यवसायिक सोचको पहिलो उत्पादन हो ‘कबड्डी’ ।
केही फरक गरेमात्रै सफल हुन सकिन्छ भन्ने मलाई थाहा थियो । त्यसको लागि आधार आफैंले काम गरिरहेको क्षेत्रलाई मानें । मैले समुदायमा आधारित कथा मेरो लागि सजिलो हुन्थ्यो, किनकि मैले त्यसैमा काम गरिरहेको थिएँ । 
सिनेमा भन्नेबित्तिकै दृश्य निश्चय नै पहिलो सर्त हो । मलाई मुस्ताङको दृश्यले तानिरहेको थियो । त्यो दृश्यको लागि त्यहाँकै थकाली समुदायको कथा खोज्नु आवश्यक ठानें । त्यो खोज्ने जाने क्रममा फुपूचेला–मामाचेली सम्बन्धको कथा पाएँ । त्यही कथालाई व्यवसायिक कोणबाट निर्माण गरियो ‘कबड्डी’मा । त्यसले दर्शकलाई तान्छ भन्ने हाम्रो आशा थियो । ‘कबड्डी’ ब्राण्ड बन्यो भने त्यसलाई बिक्रि गर्नुपर्छ भन्ने सोच थियो । त्यसैले सिनेमाको कथाको अन्त्य ‘खुल्ला’ छाडियो । हाम्रो आशा पूरा भयो र त्यसले ‘सिक्वेल’ निर्माणलाई प्रोत्साहित गर्यो । 
निर्देशकको कोणबाट म आफैंचाहिँ ‘सिक्वेल’ पक्षधर होइन । एउटै कथालाई लम्ब्याउन त्यति मजा मान्दिनँ । तर मैले सोचेको अर्को ‘प्रोजेक्ट’ समयमा पूरा गर्न अर्को बर्ष कुर्नुपर्ने भयो । म एक बर्ष खालि भएँ । एक बर्ष के गरेर बस्ने भन्ने पनि भयो । त्यो अवधिलाई उपयोग गरेर ‘कबड्डी’ ब्राण्ड बिक्रि गरौं भन्ने सोच आयो । ‘कबड्डी’का पात्रले दर्शकमा राम्रै छाप पारेको हुनाले बेच्न सजिलो पनि थियो । त्यसैले पुरानो कथालाई चुनावको उपकथा जोडेर निरन्तरता दिइयो ।
अहिलेसम्म आउँदा ‘सिक्वेल’ बनाउनु सही हो वा गलत भन्ने बहस त गर्न सकिन्छ, तर दर्शकले सिनेमा मन पराइरहनु भएको छ । त्यसैले खुशी छु ।

यथार्थ पनि, व्यवसाय पनि
‘कबड्डी’ र ‘कबड्डी कबड्डी’ दुवैको कथा संस्कृतिमा आधारित छ । संस्कृतिलाई प्रतिबिम्बित गर्दा यथार्थको बढी नजिक जानुपर्छ । त्यसो गर्दा डकुमेन्ट्री बन्न पुग्छ । नेपाली सिनेमा बजारले त्यस्तो कुरा पचाइसकेको छैन । त्यसैले मेरो ध्यान साँस्कृतिक पक्ष पनि आओस् र व्यवसायिक हिसाबले पनि सफल होस् भन्नेमा गयो ।
त्यसैले फुफूचेला–मामाचेली सम्बन्धको कथा सिनेमामा भएपनि त्यसको गहिराइतिर गएको छैन । आलोचनात्मक हिसाबले हेर्दा त्यहाँ समस्या देखिन्छ । तर व्यवसायिक हिसाबले त्यसलाई सतही बनाउनुको विकल्प थिएन । ‘कबड्डी कबड्डी’मा आउँदा चुनावको कथा जोडिएको छ । त्योचाहिँ मलाई पनि लोभ लागेको हो । त्यसले यथार्थ र व्यवसाय दुवैलाई सम्बोधन गर्न सक्छ भन्ने लागेको थियो । त्यसो भनेर मैले राजनीतिक कोणबाटै सिनेमा बनाएको भने होइन । 
हुन त ‘कबड्डी’माथि पनि राजनीतिक कोणबाट बहस भयो । कुनै पनि सामाजिक काम गरेपछि त्यसलाई हेर्ने विभिन्न तह र वर्गको दृष्टिकोण आउनु स्वाभाविक पनि हो । अर्को कुरा ‘मेकर’को पनि समाजका कुरालाई हेर्ने दृष्टिकोण हुन्छ । त्यसको रंग सिनेमामा आउँछ नै । तर राजनीतिलाई नै प्रतिबिम्बित गर्न खोजेको चाहिँ होइन ।
अहिले देश नै राजनीतिक संकट देशमा छ । त्यसैले दर्शकले राजनीतिक बिषय हेर्न पनि चाहँदैनन् । त्यसैले ‘कबड्डी कबड्डी’मा राजनीतिलाई चरित्रगत प्रतिनिधित्वमात्रै गराइएको छ । त्यहाँ एउटा कम्युनिष्टको चरित्र र अर्को प्रजातान्त्रिकको चरित्रलाई देखाइएको छ । कति मतदाता छन् भन्ने थाहा नभएको स्थानमा पनि पैसाको बलमा चुनाव जित्ने प्रजातान्त्रिकहरूको चरित्र पनि त्यहाँ आएको छ । कम्युनिष्टहरूको शैली पनि त्यहाँ देखिएको छ । त्यसरी अप्रत्यक्ष रूपमा स–साना व्यंग्यचाहिँ गरिएको छ । त्यतिमात्रै हो । राजनीतिमै ठूला कथा दिने बेला अहिले होइन, त्यो व्यवसायिक हिसाबले सफल हुन पनि सक्दैन भन्ने मलाई लागेको हो । 

कथित ‘मूलधार’भन्दा भिन्न
आफ्नो ‘करियर’ खोज्ने क्रममा म मूलधार भनिने सिनेमाका काममा पनि दुईचार बर्ष हिडें । तर ती सिनेकर्मीसँग काम गर्न मन लागेन । उनीहरूले बनाएको सिनेमा पनि मन परेन । त्यसो भनेर मैले उनीहरूको सिनेमा राम्रो छैन भन्न खोजेको होइन । मलाई त्यसमा रूचि नै जागेन । त्यसैले कम्तिमा आफ्नो रूचिको क्षेत्रमा काम गर्नुपर्छ भन्ने मलाई लागिरह्यो ।
आफैं पनि आदिवासी समुदायको भएकाले अधिकांश आदिवासीको भोगाइ थाहा छ । जुन भोगाइ र जीवन नजिकबाट देख्न पाएको छु, त्यसलाई नै राम्रोसँग प्रस्तुत गर्न सक्छु भन्ने हिसाबले मैले आदिवासी समुदायकै कथा छानेँ । तर गाउँको कथामा सिनेमा बनाउँदा राम्रो हुने, सहरको बनाउँदा नराम्रो हुने भन्ने होइन । पहिलो कुरा त ‘मेकर’ले कथालाई न्याय गर्न सक्नुपर्यो ।
त्यसैले कुटुम्बेरी साइनोको कथा दिमागमा आएपछि साहित्यकार राजन मुकारूङलाई लिएर डा. कृष्ण भट्टचन भेट्न गएँ । उहाँसँग केही घन्टाको अन्तरक्रियामा त्यहाँको संस्कृतिबारे जानकारी पाइयो । त्यसमा ‘फिक्सन’ बनाउन सकिन्छ भन्ने भयो । त्यसपछि मुस्ताङ गएँ । दुई हप्ता बसेपछि त्यहाँ देखेका चरित्रका आधारमा कथा ‘डिजाइन’ गरेको थिएँ । 
पश्चिमको कथा भए पनि धेरै कलाकार पूर्वका छन् । सजिलो के भयो भने आदिवासीको प्रकृतिचाहिँ मिल्दोरहेछ । भाषाको कारण ‘टोन’मा समस्या हुन सक्थ्यो । त्यसमा कलाकारले पनि मिहिनेत गर्नुभएको छ । मैले पनि केही लचकता अपनाएको छु । ‘टोन’मा सम्पूर्णता दिन सकिएको छैन । त्यसमा हामी चुकेका छौं । 

आम दर्शकलाई नै लक्षित
सामान्यतः व्यावसायिक हिसाबले जाँदा यथार्थ नलाग्दा नलाग्दै पनि ‘मेकर’ बहकिन्छ । त्यो बहकाइ ‘कबड्डी’ श्रृंखलामा पनि हुँदै नभएको होइन । काजी र मैयाँको प्रेम कथाको मूल पाटो हो । त्यो समाजमा पाइन्छ । तर त्यसका सकारात्मक वा नकारात्मक पाटो धेरै खोतल्न हामी लागेका छैनौं । हामीले व्यवसायिक बनाउन त्यस्तो सम्बन्धमा अर्को मान्छेको प्रवेश भयो भने के हुन्छ भन्ने कुरालाई जोडेका छौं । त्यसमा सहर र गाउँको द्वन्द्वलाई पनि हालेका छौं । गाउँको संस्कारमा सहरको हस्तक्षेपलाई पनि देखाउन खोजेको हौं ।
हामीले जे गर्यौं, त्यसलाई धेरैले मन पराइदिए । ‘कबड्डी कबड्डी’को ‘डिजाइन’ गर्ने बेलासम्ममा हाम्रो ‘युट्यूब भ्युअर’मात्रै १५ लाख पुगेका थिए । हामीले पनि बौद्धिक वर्गको आलोचनाभन्दा पनि आम दर्शकले कसरी हेर्छन् भन्ने कुरालाई ध्यान दियौं । हामीले गर्ने पनि त्यही हो । औकातभन्दा बढी आँट्नुहुँदैन । हलिउडतिरचाहिँ सम्भव हुनसक्छ, तर प्रविधि, लगानी र बजारको हिसाबले पनि हामी त्यहाँसम्म जान सकेका छैनौं । 
अर्को कुरा, यहाँ ‘सिस्टम’ बनिसकेको छैन । सेन्सरमा एउटाले बेतुकको तर्क निकालिदिन्छ र सिनेमा नै दर्शकले हेर्न नपाउने स्थिति आउन सक्छ । यी सबै कुरालाई हेरेर फिल्म बनाउनुपर्छ । 
सिनेमामाथि बौद्धिक वर्गले पनि बहस गरिदिँदाचाहिँ हाम्रो विचार पनि बुझ्ने ‘सर्कल’ पनि छ है भन्ने अनुभूति भने हुँदो रहेछ । त्यसले आनन्द आउँछ । तर स्पष्ट रूपमा भन्नुपर्दा मैले सिनेमा बौद्धिक वर्गलाई लक्षित गरेर बनाएको होइन, आम दर्शकलाई लक्षित गरेको हो । 

सानो फ्रेममा मीठो कुरा
सिनेमामा कतिपय कुरा नजान्दा–नजान्दै गरेको कुरा राम्रो भएर आएको हुन्छ । कति कुराचाहिँ सोचेर गरेपनि कमजोर हुन्छ विविध कारणले । हामीले प्रविधि र कलामा जुन टेस्ट दिन खोज्छौं, त्यो पहिले नै विदेशी सिनेमाबाट दर्शकले पाइसकेका हुन्छन् । त्यसैले हामीले अहिले गर्नेचाहिँ विषय उठान नै होजस्तो लाग्छ । त्यसैले समुदायमै आधारित कथा, गाउँको कथा खोजेको हुँ फिल्म बनाउन । फेरि अहिले कथा छ भने गाउँघरमै छ । अझ पछिल्लो दशकमा त धेरै नयाँ कथा बनेको छ । माओवादी द्वन्द्वकालको कथा हुन सक्छ । तर राजनीतिक संकट उत्तिकै भएकाले त्यसमाचाहिँ ध्यान नगएको हो ।
अर्कातिर हाम्रोमा सांस्कृतिक, भाषिक, भौगोलिक विविधता छ । त्यसको कथा हुन सक्छ । यो सन्दर्भमा कुरा गर्दाचाहिँ हाम्रोमा सबैलाई काटाककुटुक एकै ठाउँमा अटाइदिने गरिएको पनि पाइन्छ । तर मचाहिँ एउटा समुदायको एउटा विषयमा मात्रै केन्द्रित हुन चाहन्छु । मैले जानेको पनि त्यही हो । सानो फ्रेममा कसरी मिठो कुरा दिने भन्ने ध्यानमा म हुन्छु । 

सेटिङ नै फरक
कबड्डी बनाउँदा जसरी फरक गर्छु र प्रभाव पार्छु भन्ने सोचेको थिएँ । मैले सोचभन्दा पनि राम्रो प्रतिक्रिया पाएँ । त्यहाँ त मैले गर्न सक्नेजति पनि गर्न सकेको थिइनँ । 
त्यसो त मैले ‘मूलधार’ भनिएको सिनेमालाई वेवास्ता गर्न खोजेको होइन । त्यसको निर्माणशैलीमा छिर्न नै नसकेर फरक गर्न खोजेको हुँ । फरक दिनको लागि फरक ठाउँमा बसेर सोच्नुपर्यो । दुइटा सट फरक खिचेर, दुइटा कलाकार फरक राखेर, दुइचार संवाद फरक राखेरमात्रै फरक हुने होइन । त्यसैले मैले ‘मेकिङ’ र ‘सेटिङ’ नै फरक गर्न खोजें । गीतको कुरामा होस् या फाइटमा । जसलाई ‘फिल्मी पन्च’ मानिन्छ, त्यो छैनजस्तो लाग्छ मेरा फिल्ममा । 
मैले आम सोचमा हुने हिरो वा हिरोइनको लुक्स पनि दिएको छैन । फर्मूलामा पनि छैन । सस्पेन्स, फाइट, रोधाधोनावाला गाना पनि छैन । 
नेपाली फिल्म भन्नेबित्तिकै एउटा कथा दिमागमा आउँछ । केटा र केटी हुन्छ । उनीहरूको मन परापर हुन्छ । लभ पर्नेबित्तिकै भिलेन छिराइदियो । भिलेनले केटी लिएर जान्छ । त्यसपछि कि केटाको ‘स्याड सङ’, कि केटीको ‘स्याड सङ’ । त्यसपछि ‘लङ फाइट’ । केटा बलियो छ भने २०÷३० जना गुण्डालाई फ्याँकिदिन्छ । त्यसपछि गुण्डाले कि बहिनी कि आमाबाबुलाई ‘किड्न्याप’ गरेर बार्गेनिङ गर्छ । अन्तिममा केटाले जितेर ल्याउनुर्यो । 
मचाहिँ त्यसरी कथा सोच्नै सक्दिनँ । मैले नै कथा लेख्नुको कारण पनि त्यही हो । नत्र म लेखक पनि होइन, व्यवसायिक रूपमा लेखक हुने सोच पनि छैन । त्यस्तै उपेन्द्र सुब्बालाई लिनुको कारण पनि त्यही हो । राजन मुकारुङलगायतसँग छलफल भइरहन्छ । किनभने उहाँहरूसँग भोगाई पनि मिल्छ र सोचाई पनि मिल्छ । नत्र त अहिले फिल्ममा दश÷बीस हजार दियो भने कथा पाइहालिन्छ । चार÷पाँच लाख किन खर्च गर्ने ? 
मलाई लाग्छ, नेपाली फिल्मको कमजोरी कथामै छ । त्यसैले आख्यान लेख्नेले फिल्म पनि लेखिदिए हुन्थ्यो भन्ने लाग्छ । राम्रो कथा भयो भने ‘स्टार भ्यालु’ भएका कलाकार वा निर्देशकलाई जति लेखकलाई दिँदा केही फरक पर्दैन । 

सकिन्छ दर्शकको दृष्टिकोण बदल्न
नेपालमा अहिले दर्शकको मनस्थिति बुझ्दा कि कमेडी मन पराउने, कि पूरै रोनाधोना मन पराउने बढी पाउँछु । हलमा गएर रुन पाइएन भने के फिल्म हेर्नु भन्ने दर्शक पनि भेटेको छु ।
‘टिनएजर’को लभस्टोरी भयो भने त्यो हेर्ने ‘टिनएजर’ दर्शक छन् । ‘जेरी’ त्यसको उदाहरण हो । तर नेपाली एक्सनमा चाहिँ त्यस्तो धेरै आकर्षण देख्दिनँ । कि हामीले ‘अवतार’को तहमा गर्न सक्नुप¥यो । नत्रचाहिँ बलिउड र हलिउडमै दर्शकले हेरिसकेका हुन्छन् । नेपाली भाषाको फिल्म भन्दैमा अक्षयकुमारको ‘किक’ निखिललाई हान्न लगाएपछि दर्शकले किन सिनेमा हेर्ने ? किनकि निखिलभन्दा अक्षयलाई ठूला कलाकार मान्ने दर्शक छन् यहाँ ।
त्यसो त दर्शकको दृष्टिकोण बदल्नै नसकिने भने होइन । सिर्जनामा शक्ति शुन्छ । राम्रो सिर्जना दिन सकियो भने दर्शकको दृष्टिकोण फेरिन सक्छ । अहिले ‘स्टार भ्यालु’ भएका भनिएका कलाकारका फिल्म लाग्दा पनि दर्शकले ‘कबड्डी कबड्डी’ छान्नुले सिर्जनाले पनि दर्शकको दृष्टिकोण परिवर्तन गर्न सकिन्छ भन्ने उदाहरण होजस्तो लाग्छ । ‘कबड्डी कबड्डी’को टिकट नपाएमात्रै रणबीर, दिपीकाको फिल्म हेर्न जाने स्थितिलाई पनि परिवर्तनको संकेत मान्न सकिन्छ । यसले ‘ग्लसी’ हिरोहिरोइनलाई मात्रै दर्शकले हेर्न चाहने होइन रहेछ भन्ने देखाएको छ । 

उद्योगभित्रैको इगो छ समस्या
त्यसो त फरक काम गर्न उद्योगभित्रै पनि चुनौति छ । हामीले गरिरहेको कामबारे पनि त्यस्तै व्यवहार हुन्छ । अगाडिचाहिँ केही भन्दैनन्, भयंकर मान्छन् । सोच्दा हुन्– यिनीहरूलाई यति धेरै पेल्दा–पेल्दै पनि उठेर आए । भन्छन्, ‘तिमीहरूको टिम लोभलाग्दो छ ।’ व्यक्तिगत रूपमा पनि हामीसँग काम गर्न इच्छा व्यक्त गर्छन् । तर व्यवहारमा एक खालको डाहा देखा पर्छ । यो राम्रो कुरा होइन । तर मैले त्यस्तै अनुभव गरेको छु । विभिन्न ठाउँमा हुने ‘अवार्ड’ कार्यक्रममा त्यस्तो व्यवहार नै देखिएको छ । गत बर्ष ‘गोपीकृष्ण’ले आयोजना गरेका एनएफडिसी अवार्ड वितरणमा त्यस्तो व्यवहार अनुभूति गरियो । जब ‘कबड्डी’ले उत्कृष्ट फिल्म र उत्कृष्ट निर्देशकको अवार्ड पायो, हामी मञ्चमा पुग्दा हलको सिटमा कोही थिएनन् । सबै हिँडिसकेका थिए । तर बाहिर गएपछिचाहिँ सबैले ‘राम्रो भयो, बधाई !’ भन्छन् । यस्तो खालको आन्तरिक द्वन्द्व देखिन्छ ।
उनीहरू आफूलाई सर्वेसर्वा मान्छन् । नेपाली फिल्ममा यति बर्षदेखि छु, यति भोगें, यति गरें भन्ने खालको सस्तो घमण्ड छ । ‘स्टार’ त हामी हो, दर्शक हामीसँग छन् भन्ने छ । तर दर्शकको मनोविज्ञान परिवर्तन भइसक्यो । त्यो बुझेको भए उस्तैखालको फिल्म बनाएर बस्थेजस्तो लाग्दैन । अहिले उनीहरूको बजारमा हामीले गरेको कामले जुन स्थान ओगट्दै गएको छ । त्यसले उनीहरूमा इगो उत्पन्न गराएजस्तो लाग्छ ।
त्यो व्यवहार हाम्रो फिल्म हलमा लाग्ने बेला पनि देखा पर्छ । यसपाली तैपनि ‘जाउँ हिँड पोखरा’ जुधाउन ल्याउनुभयो । निर्देशकले अन्तरवार्ता दिन्दै भन्नुभयो, ‘रेखा र जीवन लुइँटेल स्टार हो । सौगात मल्ल, दयाहाङ राई भनेका त नाटकका कलाकार हुन् । तिनीहरूलाई को हेर्न आउँछ सिनेमा हलमा ?’
उद्योग यही हो । वेवास्ता नै गरेर जाउँ भन्न पनि सकिन्न । तर यस्तो इगोले काम गर्न गाह्रो पनि छ । 

बजार विकासमा छैन कसैको ध्यान
चलचित्र विकास बोर्ड छ । निर्माता संघलगायतका संस्था छन् । तर सिनेमाको विकासमा भने कसैको ध्यान देखिँदैन । सबैले आ–आफ्नै तालले काम गरिरहेका हुन्छन् । सिनेमा विकास गर्न बजार बलियो बनाउनु प¥यो । त्यसको लागि उत्पादन राम्रो बनाउनुप¥यो ।
तर यहाँको उत्पादनको हालत चौपट छ । फिल्ममा एकचोटी आउने निर्माता अर्कोचोटी आउँदैनन् । किनकि मुर्गा प्रवृत्तिमा काम भइरहेको हुन्छ । अहिले बनिरहेका अधिकांश फिल्मभन्दा पहिले कुसुमे रुमाल, सम्झनाजस्ता फिल्म नै राम्ररी बनाइएका देखिन्छन् । त्यो बेला ‘सेल्युल्वाइड’मा गरिन्थ्यो, खर्च अर्कै थियो । निर्माता निर्देशक पनि संवेदनशील थिए । अहिले त निर्माता नै ताल परे आफैं फिल्म खेल्छन् । लेखक र निर्देशक गल्लीगल्लीमा भेटिन्छ । सिनेमाटोग्राफर पनि त्यस्तै । त्यसैले उत्पादन नै गुणस्तर हुन सकेको छैन । यसमा ध्यान जानुपर्ने हो ।
सम्बन्धित सरकारी निकायले बौद्धिक तहमा छलफल गरेर नीति बनाउनु पर्ने हो । अन्य संस्थाले त्यस्तो नीति बनाउन र लागू गर्न लड्नु पर्ने हो । त्यसो हुन नसक्दा डामाडोल छ । तर निराश भएर हुँदैन, आफ्नो काम गर्दै जानुपर्छ । 

बजारमा आधारित भएर काम गर्दिनँ
मेरो सिनेमा हेर्ने सबै उमेरका दर्शक भेटेको छु । बुढाबुढी, युवायुवती र केटाकेटी सबैले हेरेका छन् । बौद्धिक वर्गले पनि हेरेको छ । कम्तिमा यस्तो छ भनेर भनिदिएका छन् । त्यसैले मैले आफूलाई कामले नै प्रमाणित गर्नुछ ।
अहिले कतिले नेपाली सिनेमा उद्योग ठूलो छ भन्छन् । तर मलाईचाहिँ सिनेमा क्षेत्रमा सक्रिय मान्छेजति पनि दर्शक छैनन्जस्तो लाग्छ । त्यसैले दर्शक बढाउनुपर्छ । त्यसलाई ध्यान दिन्छु । तर मैले जे बनाएपनि दर्शकले हेर्छन् भन्ने मानसिकता मसँग छैन । त्यसैले मैले गर्ने हरेक काम राम्रो गर्ने प्रयत्नमा हुन्छु । म व्यापारी होइन, बजारमा ‘डिपेन्ड’ भएर काम पनि गर्दिनँ । 
अब माझी परिवारका दाजुभाइको कथामा ‘पुरानो डुंगा’को काम गर्दैछु । तत्काललाई कबड्डीको थप श्रृंखला सोचेको छैन । गर्नैपरे दुई÷तीन बर्षपछि गरौंला । 
܀܀܀
प्रस्तुति : कला अनुरागी
साभार : रातोपाटी

Comments