‘...र माइलो’ : रमाइलै–रमाइलो

राजधानीका पाँचै थिएटरमा नाटक चलि नै रहेका छन् । अधिकांश नाटकको प्रारम्भिक मञ्चन अवधि बढाइएको छ । थिएटरहरूको भनाइ हुन्छ– दर्शकको मागलाई ध्यानमा राखेर मञ्चन अवधि बढाइएको हो । यसलाई सही मानेर भन्न सकिन्छ– पछिल्लो समय ‘थिएटर’मा आकर्षण बढेको छ । त्यसो त, थिएटरमा आइरहेका नाटक, भइरहेका प्रयोग र पैदा गरिरहेको कलात्मक मूल्यबारे छलफल हुन थालेको छ । नेपाली रंगमञ्चबारे शिल्पी थिएटरले साताअघि गरेको कार्यशाला त यो सन्दर्भमा निकै महत्वपूर्ण रह्यो । 
रंगमञ्चको मिडिया कभरेज पनि बढेको छ । थिएटर भिलेजको पछिल्लो नाटक ‘मालिनी’को मिडियामा आएका समीक्षा त्यसको उदाहरण हो । मण्डला थिएटरको ‘कथा एक्सप्रेस’, शिल्पीको ‘तार्तुफ’ र थिएटर मलको ‘मान भर्सेस मती’को चर्चा पनि मिडियामा उत्तिकै भयो । यसै मेलोमा मण्डला थिएटरमा शुक्रबार (माघ १)बाट मञ्चन भइरहेको नाटक ‘...र माइलो’को मिडिया कभरेज पनि सुरु भइसकेको छ । विशेषगरी अहिलेका लोकप्रिय अभिनेता दयाहाङ राई धेरैपछि नाटकमा आएको विषयलाई चर्चाको केन्द्रमा छ । रंगमञ्च र दयाहाङप्रेमी लागि यो खुशीको कुरा हुँदै हो । ‘...र माइलो’ नेपाली रंगमञ्चमा आइरहेका नाटक र भइरहेका प्रयोगलाई परख गरिरहेका रंगप्रेमीका लागि पनि चाखिलो छ ।
‘...र माइलो’ ‘थिएटर अफ एब्सर्ड’को अवधारणामा आधारित ‘फार्स’ जानराको फ्रान्सेली नाटक ‘एपिसोड इन द लाइफ अफ एन अथर’को नेपाली रूपान्तरण हो । जाँ अनाँईले लेखेको नाटकमा दोस्रो विश्वयुद्धपछि साहित्यमा आएको विसंगतवादी अवधारणा पछ्याइएको छ । सन् १९४२ मा अल्बर्ट कामुले आफ्नो निबन्ध ‘द मिथ अफ सिसिफस’मार्फत साहित्यमा यसको प्रयोग गरेका थिए । नाटकमा स्यामुएल बेकेट, जिन गेनेटलगायतले विसंगतवाद प्रयोग गरे । जसलाई हंगेरियन आलोचक मार्टिन एस्लिनले समालोचनामा ‘थिएटर अफ एब्सर्ड’ भनेर सन् १९६२ मा प्रयोग गरे । यसलाई कामुको सिद्धान्तको रंगमञ्चीय प्रयोग मानिन्छ ।
विसंगतवादी अवधारणाले भन्छ– जीवनमा हुने घटना योजनाबद्ध हुँदैनन्, न त श्रृंखलाबद्ध नै हुन्छन् । यसले घटनाका कारणको खोजीलाई पनि निरुत्साहित गर्छ । मिथक र चमत्कारप्रतिको विश्वास व्यक्त गर्छ । नाटकमा पानीको चुहावट र त्यसको कारणबारे गरिएको पूर्ण वेवास्तामार्फत नाटकले मार्फत यसलाई प्रष्ट्याएको छ । 
नाटकमा जुत्ताको प्रसंगले जीवनमा मानिस महत्वहीन बिषयको पछि कुदिरहेको हुन्छ भन्ने विसंगतवादी मान्यतालाई दर्शाएको छ । ग्यासको खोजीमा रहेको व्यक्ति जुत्ताको चाहतिर लागेको देखाएर यसले मानिसको विश्रृंखल सोचको अभिव्यक्त गरेको छ । दैनिक जीवनमा नचाहेरै पनि निरन्तर समस्या र पीडा भोग्नुपर्छ भन्ने मान्यतालाई रोइरहने महिला पात्रमार्फत उतारिएको छ । अरूको कारण जीवनलाई भारी बनाएर हिँड्नुपर्ने बाध्यता उनी गर्भवती भएको प्रसंगमार्फत प्रतिबिम्बित गरिएको छ । 
नाटकमा मिडियाको ‘सेन्सेसनल’ प्रवृत्तिलाई व्यंग्य गरिएको छ भने सेलिब्रेटीको जीवनको विसंगत पक्ष उजागर गरिएको छ । नाटकभर शान्त रहने लेखक पात्र अन्तिममा क्रुद्ध भएको देखाएर बाहिरबाट देखिएजस्तो स्वभाव सबैको हुँदैन भन्ने देखाइएको छ । नाटकमा कोही गलत नम्बरमा फोन गरिरहन्छ भने कोही सुन्नेको इच्छाविपरित आफ्नो कथाको अन्त्य सुनाइरहन्छ । लेखककी श्रीमतीको मञ्चप्रवेशको श्रृंखला हमेशा आकस्मिक हुन्छ । र, फोन बेला न कुबेला आइरहन्छ । यस्ता घटनाक्रममार्फत जीवनलाई विसंगत छ भन्ने प्रमाणित गर्न नाटकले पूर्ण प्रयत्न गरेको छ । 
लेखकसँग लामो अन्तर्वार्ता गरिन्छ, तर प्रसंग एउटा प्रश्नमै अल्झिरहेको हुन्छ । त्यसले कामुको ‘सिसिफस’लाई सम्झाउँछ । 
स–साना बिम्बले नाटकलाई कलात्मक रूपमा सघन बनाएको छ । जस्तो कि, लेखककी श्रीमती पात्र हरेकपटक रिसाएर ढोका लगाउँदा खस्ने फोटोले उनको छोटो रिसलाई प्रतिबिम्बित गरेको छ । लेखकको धैर्यता देखाउन खसेको चित्र शान्तपूर्वक उठाएर पहिलेकै ठाउँमा राख्ने दृश्य संलग्न गरिएको छ ।
‘एब्सर्ड अफ थिएटर’ले प्लट, थिम र भाषिक प्रयोगको सुसंगतिलाई भत्काउँछ । त्यसलाई निर्देशकले नाटकमा राम्ररी उतारेका छन् । प्रयोजनहीन कार्य, असंगति, बेहोसी, दुविधाग्रस्त र लथालिंग अवस्थालाई मञ्चमा प्रभावशाली ढंगले उपस्थित गराइएको छ । हास्यप्रस्तुतिमा सजग रहेर ‘फार्स’ जानरालाई न्याय गरिएको छ । हास्यका लागि मूल नाटकमा ‘नक्कली नाक’ प्रयोग भएपनि त्यसको नेपाली सान्दर्भिकता निर्देशकले देखेका छैनन् । यो नेपाली मौलिकताप्रतिको निर्देशकीय सचेतता हो ।  
नाटकको कथा प्रेम, वैवाहिक जीवन र यसका द्वन्द्व, साथी र परिवारसँगको सम्बन्ध, नैतिकतालगायतको बिषयबाट असंगत ढंगले अघि बढ्छ । तथापि नाटक हेर्दा कुनै न कुनै पात्रमा दर्शकले आफ्नो स्वभाव देख्न सक्छन् । अझ लेखकहरूले त नाटकमा आफूलाई धेरै नै पाउँछन् । दर्शनको सघनतालाई सरलतामा रूपान्तरण गरेर नाटक देखाउने कार्यमा निर्देशक खनाल खरो उत्रिएका छन् भन्न कञ्जुस्याईं गर्नुपर्दैन । कलाकार दयाहाङ राई, सिर्जना सुब्बा, सृजना अधिकारी, पशुपति राई, संयोग गुरागाईं, मिलन काकी, जलन लामिछाने, लक्ष्मी बर्देवा, मिश्री थापा, राजन खतिवडा, बुद्धि तामाङ, विकास जोशी, आयान खड्का, अमर भण्डारी र विजय बरालको अभिनय अब्बलताले निर्देशकको सोचलाई रंगमञ्चीय जीवन्तता दिएको छ । मेनुका राईको मञ्च परिकल्पना तारिफयोग्य छ, त्यसमा विजय बराल र हुम बिसीको मिहिनेतको मूल्य जोडिएको छ । आधा सुरका रोशन थापको संगीतमा गिरीश खतिवडाको -याप जमेको छ । 
‘थिएटर अफ एब्सर्ड’ले रंगमञ्चको प्राथमिक कार्य मनोरञ्जनमात्रै हो भन्ने मान्यता राख्छ । ‘... र माइलो’मा त्यसको प्रयोग अनुभूत गर्न सकिन्छ । रूपान्तरण र निर्देशन गर्दा सोमनाथ खनालले उक्त मान्यतालाई प्रस्तुत गर्न भरपुर मिहिनेत गरेका छन् । नाटक हेर्दा मजा आउँछ । 
उनले नाटकमा नेपाली मौलिकताको रंग घोलेका छन् । मूल नाटकको ध्वनीसँग नजिक रहेर नाटकको पात्र नामाकरण गरिएको छ । जस्तो कि, मूल नाटकमा लेखक ज्याक छ, यता जय । लेखककी श्रीमती आर्डेइल छिन् भने यता आकृति । नाटकमा प्रयोग गरिएको स्थान र घटनाक्रमलाई पनि सचेततापूर्वक नेपालीकरण गरिएको छ । नाटकको अन्तिममा भूकम्पको सन्दर्भलाई निर्देशकले जसरी जोडेका छन्, त्यो निकै तारिफयोग्य छ । त्यस्तै, ग्यास अभावको प्रसंग, लेखकले कुरा गर्ने नाटकको सन्दर्भ आदिले आफैंले देखेभोगेको समाज अनुभूत हुन्छ । मूल दर्शनबाट विचलित नभई गरिएका यस्ता मौलिक प्रयोग नाटकमा निकै छन् । जसले नाटक मूल पाठबाट फरक त बन्न गएको छ, तर नाटकमा प्रयुक्त दर्शनलाई बोधगम्य बनाएको छ । 
दर्शनको सघनतालाई मञ्चमा प्रभावशाली र सरल ढंगले उतारेको जस ‘...र माइलो’ले पाउँछ । तर विसंगतवादी दर्शनलाई मञ्चमा उतारेकोमा असहमत हुने पंक्तिको भने यसमा विरोध रहन्छ नै । जीवनलाई सँधै आशाको दृष्टिविन्दुबाट हेर्ने र हरेक घटनाको वैज्ञानिक कारण खोज्ने माक्र्सवादी तथा अन्य जीवनवादी दृष्टिकोणमा विसंगतवादी दृष्टिकोण जीवनविरोधी हो, यसले मानिसलाई निराशाको भासमा जाकिदिन्छ । नेपाली कलासाहित्यमा यथार्थवाद तथा प्रगतिवादको प्रभावशाली उपस्थिति रहेको बेला यो नाटक मञ्चनको सान्दर्भिकता पुष्टि गर्नुपर्ने चुनौति भने ‘...र माइलो’ टिमलाई छ । रमाइलै–रमाइलोमात्रै खोज्ने दर्शकको चाहिँ भरपुर प्रशंसा पाउने नाटक बनेको छ– ‘र माइलो’ ।
܀܀܀
✍ कला अनुरागी
साभार : रातोपाटी
तस्बिर : बिजु महर्जन

Comments