बगरलाई मन पर्ने आफ्नै गीत

‘उडेर जुन छुन्छु भन्थे तर पिंजडाको चरी भाछ जीवन ...’
राजकुमार बगरलाई यो गीतले गीतकारको रुपमा स्थापित गर्यो। उनको पहिलो रेकर्डेड आधुनिक गीत हो यो । त्यसपछि उनका धेरै गीत आए, तिनले चर्चा पनि पाए । अहिले उनको परिचय गीतकार मात्रै होइन, संगीतकारमा पनि विस्तार भएको छ । बगर आफूले रचेका चर्चित पाँच गीतको पृष्ठभूमीबारे यसो भन्छन्  :

(संगीत : विवी अनुरागी
श्वर : रामभक्त जोजिजु)
यो मेरो पहिलो रेकर्डेड आधुनिक गीत हो । मलाई यसै गीतले गीतकारको रुपमा परिचय दिलाएको हो ।
यो गीत गायक रामभक्त जोजिजूले ०५५ सालमा रेडियो नेपालले आयोजना गरेको अधिराज्यव्यापी संगीत सम्मेलनमा गाउनुभयो । रामभक्त दाई र म उत्कृष्ट हुने अवसर पनि पाइयो । त्यसपछि ०५६ सालमा यो रेकर्ड भएको हो । 
यो गीत सुनेपछि मलाई धेरैले प्रेमवियोगी भन्छन् । आगो कस्तो छ भन्ने थाहा पाउन आगो त छोएको हुनुपर्छ नि भन्ने तर्क पनि ठिकै हो । 
हुन पनि यो गीत मैले एकदमै नजिकबाट देखेको एउटा घटनाबाट उत्प्रेरित भएर लेखेको हुँ । एकजना युवकले युवतीलाई मन परायो । त्यो कुरा बताउन उसले य्ुवतीलाई चिठी लेख्यो । साथीले चिठी लगिदियो । निकै पत्र आदानप्रदान भइसकेपछि युवकले युवतीलाई बिवाहको प्रस्ताव राख्यो तर युवतीले अस्वीकार गरिन् । आखिर पत्र लगिदिने साथीसँगै तिनको विवाह भयो । 
यो घटनाले मलाई निकै छोयो । त्यही प्रेम वियोगमा पीडित भएको व्यक्तिको कथालाई आधार बनाएर यो गीत लेखेको हुँ । हामीले लक्ष्मीप्रसाद देवकोटोको ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ भन्ने कविता पढिरहेका मान्छे । त्यसैले मानिसले उद्देश्यलाई जूनमा तुलना गरिरहेको हुन्छ । प्रेम गरेको मानिसलाई पाउनु पनि जून छुनुजस्तै मान्छन् प्रेममा परेका युवायुवती । त्यसै कुरालाई मैले गीतमा ढालेको हुँ । 

यता कुलो काट्दाखेरि... 
(संगीत : नारायण रायमाझी
श्वर : राजेशपालय राई)
यो गीत सुनेपछि कतिले राजकुमारका दुई वटा प्रेमिका रहेछन् कि भनेर पनि भने । माओवादी द्वन्द्व भइरहेको बेला भएको कारण माओवादीको मन राख्दा आर्मी रिसाउने, आर्मीको मन राख्दा माओवादी रिसाउने भन्ने अर्थमा लेखेको भनेर पनि कतिले अड्कल काटे । हुन त यस्ता घटनामा पनि यो गीत मिल्छ तर मलाई यो गीत लेख्न उत्प्रेरणा भने ठूली एकादशीमा लाग्ने मेलामा जाँदाताकाको घटनाले दिएको हो । 
एकादशीमा तनहुँको दुलेगौडा र दमौलीमा ठूलो मेला लाग्छ । निकै रमाइलो हुन्छ । हामी तिनजना मिल्ने साथी थियौं विश्व शाही, केसू आले र म । मेलामा जाने कुरा चलेपछि विश्वले दमौलि जाऔं, त्यहा मन लाग्यो भने फिल्म हेर्न पनि पाइन्छ भन्यो । तर केसुले भन्यो, ‘फिलिम त भोलि हेरे पनि हुन्छ नि । दुलेगौंडा नै जाऔ । त्यहा धेरै तोरणे तार्छन । धेरै मान्छे हुन्छन् । रमाइलो हुन्छ ।’ उनीहरुको कुरा मिलेन र मलाई सोधे कता जाने भनेर । अब मैले के भन्ने ? दमौली जाऔं भन्दा केसु रिसाउने, दुलेगौंडा जाऔं भन्दा विश्व रिसाउने । यही घटनाले मलाई यो गीतको आधार तयार गरिदियो । त्यस्तो दोमन त धेरै घटना र बिषयमा भएको हुँदोरहेछ । जस्तै हामीले धेरै देखेका÷भोगेका छौं, छोराले आमाको मन राख्दा श्रीमति रिसाउने, श्रीमतिको मन राख्दा आमा रिसाउने गरेको । त्यसैलाई आधार बनाएर यो गीत रचना गरें । 

तिमीलाई आफ्नो भन्ने ...
(संगीत : राजकुमार बगर
श्वर : अन्जु पन्त)
मानिसले जसलाई प्रेम गर्छ, उसलाई आफ्नै बनाउनुपर्छ भन्ने सोच्छ । प्रेम त्याग हो, समर्पण हो, प्राप्तिमात्रै होइन भनेर जति भनेपछि अन्तिममा सँगै जीवन बिताउनै चाहन्छ । 
तर त्यसरी मन पराएको व्यक्तिले अरुसँगै विवाह गरेमा आफ्नो भन्ने अधिकार त गुम्छ । तर पनि साँचो माया गर्ने हो भने त भुल्न सक्दैन । यस्तो धेरै भएको हुन्छ । त्यसलाई आधार बनाएर यो गीत लेखेको हुँ ।  

आमा, रातो सारी चुरा पोते ... 
(लय : भोजराज काफ्ले
श्वर : गितादेवी र दिनेश काफ्ले)
द्वन्द्वको समयमा धेरै आमा दिदीबहिनी विधवा बने । धेरै बालबालिका टुहुरा भएका थिए । ति टुहुराहरुले अरुको आमाले रातो सारी चुरा पोते लगाउदा आफ्नो आमाले किन नलगाएको होला भन्ने सोच्थे । यस्तो घटना मैले नै देखेको थिए । 
त्यसैलाई आधार बनाएर यो गीत लेखेको हुँ । यो गीत मैले राती तीन बजेसम्म बसेर लेखेको हुँ । स्रोताले यसलाई निकै मन पराइदिनुभयो । 

यो जिन्दगीलाई सञ्चो छैन...
(संगीत : राजकुमार बगर
श्वर : अन्जु पन्त)
मानिसलाई विभिन्न रोग लाग्छ । तर उनीहरु उपचार गर्छन् र निको हुन्छन् । तर यदि मन नै, जिन्दगी नै बिरामी भयो भने के गर्ने ? त्यसको त कुनै उपचार नै हुँदैन । धेरै मानिसको मानिस यस्तो मनोबैज्ञानिक पीडाको अवस्थाबाट गुज्रिएको मैले पाएँ । त्यसैलाई आधार बनाएर मैले यो गीत लेखेको हुँ । 
यो आज विमोचन हुने कसम एल्बममा पनि समेटिएको छ । गायिका अञ्जु पन्त आफूलाई निकै मन पर्ने गीतमध्ये यो पनि हो भन्नुहुन्छ । उहाले मसँग भन्नुहुन्थ्यो, ‘मैले हरेक दिन यो गीत सुनेकै हुन्छु ।’
܀܀܀
साभार : नयाँ पत्रिका

Comments