'साम्यवाद त बेलायतमा पो रहेछ !'


‘दमिनी भीर’ उपन्यासका लागि ०६९ सालको मदन पुरस्कार पाएका लेखक राजन मुकारुङ ७० दिने बेलायत भ्रमणपछि नेपाल फर्केका छन् । तेस्रो उपन्यास ‘अयोग्य’ पुनर्लेखनका लागि शुक्रबार जन्मस्थान भोजपुर, दिल्पातिर लाग्नुअघि (२०७२ - ब्ल.)रातोपाटीमार्फत आफ्नो बेलायत अनुभूति बाँडेका छन् :

अंग्रेजी संसारसँग जोडिँदै
नेपाली साहित्यलाई अंग्रेजी संसारसँग जोड्ने प्रयत्नमा अहिले बेलायतमा सक्रिय नेपाली साहित्यकार लागिरहेका छन् । नेपाली प्रतिभा प्रतिष्ठानमा सक्रिय काङबाङ नरेश, अप्जसे कान्छालगायतले गरिरहेको यो प्रयत्नले नेपाली साहित्यमा विशेष अर्थ राख्छ । त्यसै प्रयत्नस्वरूप बेलायतको प्रकाशन संस्था ‘ओलम्पिया’ले बेलायती सेनामा कार्यरत नेपालीको कथाव्यथा समेटिएको नरेशलिखित पुस्तक ‘खुकुरीको धारमा दुई शताब्दी’लाई अंग्रेजीमा ‘फेयरलेस वरियर्स’ शिर्षकमा प्रकाशन गर्दैछ । लगत्तै तारा राईको ‘छापामार युवतीको डायरी’ ‘गुरिल्ला गर्ल’ शिर्षकमा प्रकाशन गर्ने तयारी भइरहेको छ । 
हुन त यसअघि नै नेपाल आएर नेपाली भाषासाहित्यबारे अध्ययन गरेका माइकल हटले पनि केही प्रयत्न गरेका हुन् । तर त्यसलेमात्रै अबको नेपाली साहित्यलाई अन्तराष्ट्रियकरण गर्नुको भार धान्दैन । अहिले नेपाली साहित्यको उचाइ निकै बढिसकेको छ । त्यो उचाइ धान्ने कृति अन्तराष्ट्रिय बजारमा पुर्याउन सकिएको छैन । यसबेला साथीहरूले गरिरहेका प्रयत्न निकै महत्वपूर्ण छ । 

नेपाली भाषाको भविष्य
बेलायतका कार्यक्रममा सहभागी हुँदा गम्भीरतापूर्वक त्यहाँ नेपाली भाषाको भविष्यबारे सवाल उठाएँ । त्यहाँ अहिले नेपाली भाषा साहित्यलाई जोगाउनुपर्छ भनेर लागिरहेका साथीहरू भेटिन्छन् । तर त्यो लगभग २० बर्षका लागि मात्रै हो भन्ने लाग्छ । त्यसउता चाहिँ त्यहाँ नेपाली बोल्ने पुस्ता नै रहँदैन । नयाँ पुस्तामा नेपाली भाषाको मोह छैन । अंग्रेजीमै लेखियो भनेमात्रै आफ्ना पितापुर्खाको नेपाल कस्तो थिएछ भनेर पढ्लान् ।
तर यो बीस बर्षको अवधिभित्रै त्यहाँ नेपाली भाषासाहित्यलाई राज्यले संरक्षण गर्ने व्यवस्था गराउन सकियो भनेचाहिँ राम्रो हुन्छ । किनकि राज्यले सबै भाषासाहित्यको संरक्षण गर्ने नीति त्यहाँको राज्यले लिएको छ । अहिलेचाहिँ जुन चासोका साथ नेपाली आन्दोलनमा समर्थन जनाउँदै लेख्ने क्रममा त्यहाँका साहित्यकार छन् । त्यो बलियो नै छ । 

लेखनमा मुद्दा एउटै, समस्या अर्कै
नेपालमा लेखनमै प्रतिबद्ध लेखक छन् । बेलायतमा भने कामको व्यस्तताबाट समय निकालेर गरिने लेखन हो । साहित्यकै सेवा गरौं भन्ने चाहना छ, तर समय छैन । कामबाट बचेको छोटो समय नै लेखनमा उपयोग हुने हुँदा हतारोको साहित्यजस्तो देखिन्छ त्यहाँको लेखनप्रवृत्ति । त्यसैले शिल्प र सिद्धहस्तताको हिसाबले त्यहाँको लेखन केही कमजोर अनुभूति हुन्छ । 
मैले प्रसंगवश नेपाली प्रतिभा प्रतिष्ठानका सचिव तथा गीतकार नरेश नातीलाई भनेको थिएँ, ‘तपाईंहरू गीत लेख्नुहुन्छ गाउँको चौतारोको । तर अहिले त्यो चौतारो नै छैन । बाटो बनेर कि त चौतारा भत्किसके । नभत्के चौतारोको बाटो नै प्रयोग हुँदैन । त्यसैले पछिल्लो अवस्था र मनोविज्ञानबारे अद्यावधिक हुने हो भनेमात्रै आधिकारिक लेखन हुनसक्छ ।’ यो कुरालाई उहाँहरूले पनि गम्भीरतापूर्वक लिनुभयो । अहिले सामाजिक सञ्जालले सबैलाई एकै ठाउँ बनाएजस्तो त देखिएको छ । तर त्यसले सामान्य सूचनामात्रै अद्यावधिक गरिरहेका हुन्छ । सम्पर्कमात्रै हुन्छ, सम्बन्ध हुँदैन । मैले पनि त्यहाँ रहँदा त्यो समस्या अनुभव गरेँ । नेपालमा चलिरहेका मधेसलगायतको आन्दोलनले जुन अनुभूति पैदा गर्छ नेपालमा, त्यहाँ त्यस्तो हुँदोरहेनछ । यो अर्को समस्या हो ।

पहिचानको मुद्दा बलियो
नेपाली मिडियामा जुन पुस्तकको धेरै हल्ला हुन्छ । त्यही पुस्तक त्यहाँ पुग्छ । सामान्य चर्चा भएका पुस्तकले त्यहाँ प्रवेश पाउन गाह्रो छ । अर्कोचाहिँ सामुदायिक आधार भएका लेखकको पुस्तकचाहिँ सहजै पुग्छ । यो त्यहाँको अर्को तीतो सत्य हो । कृतिमा उठाएको मुद्दामा बहस पनि कम हुन्छ । कारण, अन्तरसंवाद नै कम हुन्छ । कार्यक्रमहरू भए पनि आफूले लेखेको सुनाउने हतारो नै बढी देखिन्छ । 
यी समस्या देखिए पनि विभिन्न संस्थामार्फत नेपाली साहित्यमा भइरहेको काम भने प्रशंसनीय छन् । मुद्दाको हिसाबले पनि नेपालमा जस्तै त्यहाँ पनि पहिचानको पक्षमा लेखन बलियो छ । त्यसो त, साहित्यमा राजनीति नघुसाऔं भन्ने धार त्यहाँ पनि नभएको होइन । त्यसैआधारमा संस्थाहरू पनि बनेका छन् । तर त्यो धार कमजोर देखियो । 

युद्ध साहित्य सिद्धान्तका कुरा
बेलायतमा बसेर काङबाङ नरेश, गणेश राई, अप्जसे कान्छालगायले युद्ध साहित्य सिद्धान्त निर्माण गरिरहेका छन् । त्यो निकै विशिष्ट साहित्यिक आन्दोलन हो । बेलायत–नेपाल सम्बन्धको दुई सय बर्ष पुगेको छ । त्यो दुई सय बर्षको लामो ऐतिहासिक कालखण्ड युद्ध साहित्य सिद्धान्तमा भेटिन्छ । बेलायतका कारण नेपाली युद्धमा जानु पर्ने अवस्था र त्यसले पैदा गरेको मानवीय संवेदनालाई त्यसले उठाएको छ । युद्धको पीडा, आवेग र साथीहरू गुमाएपछि पैदा भएको मनोविज्ञानले मान्छेलाई निकै समयसम्म विक्षिप्त बनाइरहन्छ । यसलाई उधिन्ने प्रयत्न गरेका छन् सिद्धान्तमार्फत । त्यो बिषयबारे नेपालमा जसरी बौद्धिक विमर्श गरिनुपथ्र्यो, त्यो भएको देखिँदैन । सिद्धान्त राम्रो आयो, तर लेखनशील्प कमजोर देखिँदा बहस उपयुक्त ढंगले हुन नसकेको हो कि भन्ने अनुभूति हुन्छ । तथापि नेपाली साहित्यका लागि त्यो महत्वपूर्ण पाठ बन्छ । उनीहरूले त्यसमा नेपालमा चलेका जस्ता जनयुद्धलाई कसरी लिने, अर्को देशमा गएर गरिने युद्धलाई कसरी हेर्ने भन्ने कुराको विश्लेषण राम्ररी गरेका छन् । 
मुद्दाको अन्तराष्ट्रियकरणका लागि अंग्रेजी
अहिले हामीले पहिचानको मुद्दाबारे नेपालीमै लेखिरहेका छौं । तर यसलाई अन्तराष्ट्रियकरण गर्ने हो भने अंग्रेजीमा आउनुको विकल्प नै छैन । त्यसो त यसबारे अंग्रेजीमा लेखिँदै नलेखिएको होइन । मैले यहाँ त पढ्न पाइनँ, बेलायतमा गएर पढें आदित्य अधिकारीको पुस्तक । जसमा उहाँले मेरो उपन्यास ‘हेच्छाकुप्पा’को सन्दर्भ समेटेर दुई राम्रा लेख लेख्नुभएको रहेछ । त्यसरी छिटपुट रूपमा लेखिएका छन् । तर हाम्रो काम व्यक्तिगत बढी भइरहेको छ । मुद्दालाई स्थापित गर्न सामूहिक काम नगरी हुँदैन । किनकि राज्यसत्ताले त यसलाई स्थापित गर्ने कुरै भएन । अहिलेसम्म पनि पहिचानको मुद्दालाई विखण्डनकारी र साम्प्रदायिकतावादी नै देखिरहेको छ । 
तर पहिचानको आन्दोलन संसारभर भइरहेकै छ । त्यसैले हामीले यहाँको आन्दोलनलाई अन्तराष्ट्रियकरण गरेर सामूहिक रूपमा जाने हो भने बलियो हुन्छ । समय लाग्ला, तर हामी चाँडै अन्तराष्ट्रिय स्तरमा पुग्छौं भन्ने मलाईचाहिँ आत्मविश्वास छ । मेरै आउन लागेको उपन्यास ‘अयोग्य’लाई अंग्रेजीमा पनि सँगै प्रकाशित गर्ने तयारी भइरहेको छ । यो एउटा महत्वपूर्ण फड्को हुने मैले ठानेको छु । 

बेलायतमा सबैभन्दा धनी किसान
बेलायतसँग साहित्यिक सम्बन्ध त निर्माण गर्न सकिन्छ नै । आर्थिक, राजनीति र सांस्कृतिक बिषयमा पनि धेरै कुरा सिक्न सकिने पाएँ । हामी यहाँ कृषिप्रधान देश भन्छौं । तर किसान नै सबैभन्दा गरीब छन् । त्यहाँ भने किसान सबैभन्दा धनी रहेछन् । देशलाई समृद्ध बनाउने हो भने सिक्नैपर्ने कुरा हो यो । देश आत्मनिर्भर हुन स्वयम् व्यक्तिले नै उत्तरदायित्व लिएर मिहिनेत गर्नुपर्छ भन्ने उदाहरण बेलायतमा छ । त्यसको लागि नेतृत्व इमान्दार हुनुपर्छ । प्रकृतिले हामीलाई जे–जे दिएको छ, त्यसलाई नबिगारी गरिएको विकास नै दिगो हुन्छ भन्ने पाठ त्यहाँबाट सिक्न सकिन्छ । 

पहिचानसहितको संघीयता र साम्यवाद
बेलायत संघीय राज्य त होइन, तर व्यवहारिक रूपमा भने संघीयता स्वीकार गरेको देखिन्छ । स्कटल्याण्डमा स्कटिस भाषीलाई नै अधिकारसम्पन्न बनाइएको छ, वेल्समा वेल्सभाषीलाई । व्यवहारिक रूपमा हेर्दा त्यहाँ संघीयतामात्रै होइन, पहिचानसहितकै संघीयता छ । 
हेर्दा राजतन्त्रात्मक मुलुक देखिन्छ, तर व्यवहारिक रूपमा साम्यवाद देखिन्छ । धनी–गरीबको भेद देखिँदैन । श्रमिक भोकै मर्नुहुँदैन भन्ने अवधारणाअनुसार व्यवस्था छ । संस्कृति संरक्षणमा राज्यको उच्च चासो छ । साना संख्याका आप्रवासी हुन् या शरणार्थी, सबैलाई अधिकारसम्पन्न गरिएको छ । मुलुकको राजनीतिक जीवनमा त्यो कुरा लागू गर्न सकिने हो भने हामीले निकै फड्को मार्न सक्छौं । 

लेखकको शक्ति
नेपालमा लेखक बाटैमा भेटिन्छन् । तर बेलायतमा त्यसरी भेट्न गाह्रो छ । लेखक आफैंले आफ्नो स्तर कायम गरेका छन्, शक्तिसम्पन्न पनि उत्तिकै छन् । एकजना स्तम्भ लेखकले पत्रिकामा लेखेरै त्यहाँको राजनीति परिवर्तन गर्न सक्छ । तर यहाँ त्यो क्षमता देखिँदैन । पटक–पटक लेख्दा पनि न राजनीतिक नेताले नैतिक सम्बोधन गर्छन्, न त्यो गराउने शक्ति मिडियामै छ । 
त्यहाँ आर्थिक रूपले पनि लेखकको हैसियत बलियो छ । एउटा पुस्तक लोकप्रिय हुनेबित्तिकै लेखक ‘बिलेनियर’ भइहाल्छ । आम मानिसले गर्ने सम्मान पनि धेरै हुन्छ । त्यसैले लेखनमा उत्तरदायी पनि अधिक हुन्छन् । तर हाम्रोमा सम्मान पनि छैन, त्यसैले उत्तरदायी बनाउन पनि गाह्रो छ । 

अब पहिचान पुरस्कार
नेपाली भाषा साहित्य समृद्धिका लागि आर्थिक पाटो निकै महत्वपूर्ण छ । त्यसका लागि बेलायतमा बसिरहेका नेपालीले राम्रो सहयोग गर्न सक्छन् र गरिरहेका पनि छन् । नेपाली भाषा साहित्यमा केही केही गर्छु भन्नेलाई साथ दिनुपर्छ भन्ने सोच त्यहाँ पाएँ । त्यहाँ काम पनि भइरहेको छ । तर कामको प्रभाव भने कम देखिएको छ । नेपाली प्रतिभा प्रतिष्ठानले नेपाली स्रष्टालाई केही बर्षदेखि निरन्तर पुरस्कृत र सम्मान गर्दै आइरहेको छ । तर त्यसको चर्चा न त साहित्यिक वृत्तमा भएको छ, न मिडियाले महत्व दिएको छ । 
अहिले ‘पहिचान पुरस्कार’ स्थापना गर्नुभएको छ । त्यस सन्दर्भमा मैले प्रभावकारीताको कुरा उठाएको छु । पहिचान पुरस्कार आन्दोलनको हिसाबले पनि अर्थ राख्ने पुरस्कार हो । त्यसले नेपाली साहित्यमा एउटा तरंग पैदा गर्छ भन्ने लाग्छ । 
܀܀܀
प्रस्तुति : कला अनुरागी
साभार : रातोपाटी

Comments