राजन मुकारुङ्गका चौध प्रेमिका

राजन मुकारुङ्ग, आख्यानकार
छ कक्षा पढ्दै थिएँ, सँगै राधा राई पढ्थिन् । उनलाई खुब मन पराउँथें मनमनै । त्यसैताका प्रकाश कोविदको उपन्यास ‘अर्को जन्म’ पढेको थिएँ । त्यसको ‘पुरन’ आफू र ‘सुजाता’ चाहिँ राधा भए हुन्थ्यो भन्ने लाग्थ्यो । प्रेम बुझ्ने उमेर त भएको थिएन, तर मनमा त्यस्तो लाग्थ्यो ।
हामी विस्तारै नजिकको साथी बन्यौं, तर मन पराउँछु भन्न सकिनँ । केही समयपछि नै उनी अर्को बिद्यालय गइन् । त्यो प्रेम एकतर्फीमात्रै रह्यो । त्यसपछि भेट भएको छैन । उनको नाममा लेखेको तीन कविता ‘सेतो आरोहण’ संग्रहमै लेखेको छु ।
०००

आठ कक्षामा पुगेपछि म अर्को प्रेममा परें । उनी गौतम थरकी छिमेकी थिइन् । अर्कै स्कूलमा कक्षा छमा पढ्थिन् । म अलि छुच्चो र चकचके स्वभावको थिएँ । साँधमा उनको उखुबारी थियो । म उखु चोरी खान्थें । उनको बुबाआमाले ‘त्यो किरुवाले उखु खाइसक्यो’ भनेर रुंग्न पठाउथें । त्यसक्रम खुब बाझ्थ्यौं हामी । एक दिन त झगडै पर्‍यो, मैले पिटिदिएँ । उनी रुन पो थालिन् । रुन थालेपछि भने माया लाग्यो, अनेकथरी भनेर फकाएँ । त्यसपछि हामीमा एकखालको भावनात्मक सम्बन्ध बन्यो । त्यो प्रेममा बदलियो । म त यस्तो एकोहोरो भएँ कि स्कूल नै जान छाडें । उनी आठ कक्षा नपुगुन्जेल परीक्षा नै दिइनँ । दुइ बर्ष पर्खें । उनी अर्को स्कूलबाट सात कक्षा पास गरेर म पढ्ने स्कूल आइन् र सगै पढ्न थाल्यौं । प्रेम झ्यांगिदै थियो । 
आठ कक्षाको अन्तिमतिर उनलाई लाहुरे माग्न आएछ । गाउमा लाहुरेप्रति हेर्ने दृष्टिकोण उच्च नै हुन्छ । छोरीको उमेरको सरोकार नै हुदैन । बाबुआमाले दिएछन् । 
उनी भने बिहे हुने तीन दिन अगाडि बेलुका पोको पन्तुरो बोकेर आइन्, भागौं भनेर । तर त्यतिखेर भगाउने आँट थिएन । त्यसैले परिवारले दिएको ठाउँमा बिहे गर्नु राम्रै हो भनेर सम्झाएर पठाएँ । उनको बिहे भयो । म भने पीडामा छट्पटिएँ  । बिहे हुनुअघि नै गाउँ छोडेर मधेसतिर झरें तनाव कम गर्न । त्यतिबेलै सिकेको हुँ चुरोट, जाडरक्सी र खैनी खान । त्यसअघि खाइदैनथ्यो । त्यसपछि त लत नै बस्यो । बिहे भएपनि उनलाई पल्टन लगेन श्रीमानले । दश कक्षासम्म सगै पढियो । निकटता भने उनको बिबाहसगै सकियो तर कथा सकिएन ।
उनका दुइ बहिनी थिए । उनले माइली बहिनीलाई कुरा गर्दिरहिछिन् मेरो बारेमा । बहिनी चाहिं मलाई दिदीले पिर गर्नुहुन्छ भनेर सुनाउथिन् । त्यो सुन्ने सुनाउने हुँदाहुदै हामी पो प्रेममा परेछौं । एकैछिन नछुटौंझै लाग्ने, त्यति नजिकै पनि चिठी लेख्ने । 
चिठी ओसारपसार गर्नेचाहिं उनकी कान्छी बहिनी हुन्थिन् । उनले चाहिं चिठी हेर्दिरहिछिन् । त्यस क्रममा उनी मप्रति क्रेजी बनिन् । अहिले पनि तीन दिदीबहिनीसँगको त्यो श्रृखलाबद्ध प्रेम सम्झदा भावुक हुन्छु । म नौ कक्षामा पुगेपछि बिहे भयो । ती सबै प्रेम पनि समाप्त भयो ।
०००

मेरो बिहेचाहिं मागी पनि होइन, प्रेम पनि होइन । मैले चाहिं ‘ट्रिक म्यारिज’ भन्ने गरेको छु । मेरी श्रीमति प्रगति राई र माइला मामाकी छोरी साथी थिए । मामाकी छोरीले हाम्रो गाउमा घुमाउन भनेर ल्याएकी थिइन् । आमाले ‘बिहा गर्ने’ भनेर जिस्काउन थाल्नुभयो । निकैपटक जिस्काएपछि मैले पनि हुन्छ भनिदिएछु । त्यसपछि उनलाई फर्किनै दिइएन । फकाइ फुलाइ त्यही राखियो । त्यो ‘ट्रिक’चाहिं मामाको छोरीले खेलेको हो । बिहा गराउनै भनेर फुपुको घर घुम्न जाउँ भनेर ल्याएकी रहिछिन् ।
बिहे भइसकेपछि मेरो पढाइको रफ्तार बढ्न थाल्यो । तेस्रो बर्ष पनि तनावले आठ कक्षाको रिजल्ट कमजोर आएको थियो । अर्कातिर आफन्तले पनि ‘तँ बिग्रिस्, सकिस्, केही गर्न सक्दैनस्’ भनेर तनाव दिन थाले । त्यसपछि म गम्भीर भएर मेहनत गर्न थालें । 
त्यस क्रममा केटी साथी अलि बढि नजिकिन थाले । स्कूलमा अतिरिक्त क्रियाकपलापमा सक्रिय हुन्थें, त्यसबाट प्रभावित हुनु स्वाभाविक हो । त्यसै क्रममा एकजना राइ साथी नजिकिइन् । उनी सिर्जनशील त थिइनन् तर असाध्यै मन पराउथिन् मलाई । चिठी लेख्थिन् । फोटो पठाउथिन् । मैलेचाहिं न जवाफ लेखें, न वास्ता गरें । किनभने मेरो त बिहा भइसकेको थियो । तर उनले मन पराएपछि भावुक त भइहालिन्छ । त्यसैले चित्त दुखाउने केही भनेको थिइनँ । हुदा–हुदा एकदिन त घरैमा आइछिन् । संयोगले म पनि नभएको र प्रगति पनि माइत गएको बेला परेछ । आमाले सम्झाएर पठाउनुभएछ ।
०००

त्यसै क्रममा अर्की साथीसग चाहिं सिर्जनात्मक सम्बन्ध बन्यो । उनी कविता, कथा लेख्थिन्, देखाउथिन् । म पनि कविता, उपन्यास लेख्थें । त्यो समयमा त्यस्तै पाराका २० वटा जति लेखें होला उपन्यास मैले । त्यो साटासाट गर्दागर्दै हामी यति नजिकियौं कि झण्डै सीमा उल्लंघन गरेको । उनीसँग एसएलसीसम्म सगै पढ्यौं । तर एसएलसीको अन्तिम दिन हाम्रो ‘ब्रेकअप’ भयो । त्यो दिन उनले मलाई डायरी दिइन् । त्यसमा सायरी, फोटो बीचबीचमा राखेकी रछिन् । दिएको देख्नेबित्तिकै मैले हेर्नै नपाई साथीहरुले खोसेर लगिहाले । उनी इसाराले नदे भन्दैथिइन् । तर मैलेचाहिं हेरुन् न त भनेर छोडिदिएँ । त्यसले उनको चित्त दुखेछ, सम्बन्ध नै बिग्रियो । क्याम्पस सगै पढ्यौं तर सम्बन्ध प्रेमिल भएन, डाहा गर्ने र एकअर्कालाई होच्याउने पाराको भयो ।
०००

एसएलसी पास गरेपछि सदरमुकाममा कलेज भर्ना गरियो । तर अल्छी लागेर कलेज कमै जान्थें, गाउमै बसिन्थ्यो । त्यो समयमा नाटक गर्ने भइयो । आफैं लेखियो गिती नाटक । त्यसमा आफू पनि खेलियो नायक भएर । अनि एकजना गाउकै केटी साथीलाई नायिका बनाइयो । तर नाटकको प्रेमकथामा भिज्नुपर्छ भन्दाभन्दै हामी नै प्रेममा भिजिपठायौं । उनले ‘नाटकमा जस्तै वास्तविक जीवनमा भए’ भन्ने सोच्न थालिछिन् । ममा पनि आदर्श थियो र ? त्यसमाथि त्यो उमेर । हामी प्रेममा पर्‍यौं । लगभग दुइ बर्षपछि उनको बिहे भयो । त्यसपछि त्यो सम्बन्ध सकियो । 
०००

आइए पास गरिसकेपछि खोटाङमा पढाउन गएँ । विद्यालय र गाविसको अनुरोधमा माध्यामिक स्तरमा नेपाली पढाउन थालें । 
पढाउने क्रममा शिक्षक र बिद्यार्थीबीच प्रेम र सद्भाव त भइ नै हाल्छ । मसँग अलि बढी नै झ्याम्मिन्थे बिद्यार्थी, बाटोमा सँगसगै हिड्न चाहने । टेस्ट दिने तयारीमा रहेका बिद्यार्थी र मेरोबीच त उमेर पनि धेरै फरक थिएन ।
एकदिन स्कूलबाट बिद्यार्थीसँग गफ गर्दै फर्कदै थिएँ । त्यस क्रममा मैले के ठट्टा गरें कोनि, एकजना झण्डै मेरै उमेरको छात्रा यस्तरी हाँसिन् कि म निकै आकर्षित भएँ । भोलिपल्टदेखि कक्षामा उनलाई अलि ध्यान दिन थालेछु । त्यस्तो हुदा–हुदै उनीसग भावनात्मक हिसाबले नजिक भइयो । उनले चिठी त चिठी नै लेखिन् । होमवर्क बुझाएको कापीभित्र चिठी.पठाएकी थिइन– तपाई मन पर्छ भन्ने भाव लेखेर । 
अर्की बिद्यार्थी थिइन् मेरै सरह उमेरको । उनको बिबाह सेनासँग भएको रहेछ । तर माइती माओवादीसमर्थक भएकाले सम्बन्ध टुटेको रहेछ । उनले एकदिन चौतारोमा भेटेर ‘थुइयय, त्यस्ती केटीसँग पनि लभ गर्ने सर ? त्यो त ठिक केटी होइन’ भनिन् । अनि मैले सोधें, ‘तिमीसँग चाहिं गर्नुपर्ने त ?’ उनी लजाइन् । शायद उनको भाव त्यही थियो । त्यस दिनदेखि पहिलेको बिद्यार्थीसँग टाढा हुँदै गइयो र उनीसँग नजिकिन थालियो । त्यो सम्बन्ध प्रेममा बदलिन थाल्यो । 
उनको बहिनी पनि सँगै पढ्थिन् । दिदीसँग म नजिकिएको देखेर बहिनीलाई डाहा भएछ । त्यसपछि उनले ट्युसन पढ्ने ग्रुप बनाइन् र पढाउन अनुरोध गरिन् । मैले पढाउन थालेपछि उनी अरुभन्दा १५/२० मिनेट अघि नै आउँथिन् र दिदीको विरोध गर्थिन् । पहिले नै बिहे भइसकेकोलगायतका कुरा गर्थिन् । उनीहरु टेस्ट पास गरेर गइसकेपछि सम्बन्ध पनि सकियो ।
०००

पछि पनि प्रेमको चक्करले छोडेन । त्यसबेला सन यात्सेनको जीवनी पढाउनुपथ्र्यो । त्यसमा उनको प्रेमकथा छ । ५० नाघिसकेका यात्सेनलाई आह मेइ भन्ने १९ बर्षीय केटीले पिछा गरेर बिहा गरेरै छाड्छे । त्यो जीवनी पढाइरदा एउटी बिद्यार्थीले  मलाई हेरेको हेर्‍यै गर्थिन् । पछि उनले भनिन्, ‘सरलाई एउटा कुरा भन्नु छ ।’ तर भन्नचाहिं सक्दिनन् । धेरैपल्ट भन्न खोजिन्, तर भन्न सकिनन् । १२/१३ दिन पछाडि होला, म कतै गएर फर्केको थिएँ । म बस्ने घर जान उनकै घरको बाटो भएर जानुपथ्र्यो । उनी घरछेउको धारोमा कपडा धुदै रहिछिन् । अनि उनले मलाई बोलाएर फेरि ‘सरलाई एउटा कुरा भन्नु छ’ भनिन् । मैले भनें, ‘तिमीले धेरै भइसक्यो भन्न खोजेको । भन न के हो कुरा ?’ त्यसपछि उनले बल्ल मुख खोलिन्, ‘म त तपाईको आह मेइ ।’ म त छक्क परेर भनें, ‘के भन्छ फटाही ?’ उनले भनिन्, ‘हो सर ।’ त्यसपछि मैले उनलाई सम्झाएँ । ‘म पहिले नै बिबाहित, छोरो भइसकेको मान्छे, त्यस्तो सोचेर भविष्य बिगार्नुहुँदैन’ भनें । तर पनि मान्ने होइन त । बल्लबल्ल त्यस दिन उम्किएँ ।
त्यसपछि मलाई दिक्क लाग्यो । तीन बर्ष भइसकेको थियो पढाउन थालेको पनि । यस्तै लफडामा धेरै फसिने रहेछ भन्ने पनि लाग्यो । काठमाडौ जान्छु भन्ने सोचेर स्कूलबाट बिदा मागें । स्कूलले बिदाइ कार्यक्रम राख्ने भयो । तर भोलिपल्ट बिदाइको कार्यक्रम थियो, म अघिल्लो दिन नै भागिदिएँ,बिद्यार्थीको रोनाधोना हेर्न मन नलागेर । मलाई थाहा थियो, त्यहाँ धेरैले मन पराउँथे । कतिले भने, कतिले भन्न सकेनन् । धेरैले सपना पनि देखेका थिए । मैले पनि भावनात्मक प्रेम त गरें नै । तर कहिल्यै पनि उनीहरुलाई  कामवासनाको दृष्टिकोणले चाहिं हेरिनँ ।
००० 

काठमाडौ आएर त्रिचन्द्र कलेजमा बिए पढ्न थालियो । त्यस क्रममा पृथ्वीनारायण कलेज, पोखराबाट आएकी साथी भेट भयो । त्यतिबेला काठमाडौमा केटीसँग पनि हात मिलाएर अँगालो मार्ने चलन आएको थियो । त्यसै क्रममा एकदिन ती साथीले हात मिलाएर अँगालो मार्ने क्रममा चुम्बन गरिन् । म त रननन्न भएँ, कता दिमागै चट् भइगो । त्यसपछि उनीसँग नजिक हुन थालियो । उनको पश्चिमी ‘टोन’ मलाई धेरै मन पथ्र्यो, मेरो पूर्वेली ‘टोन’ उनलाई मन पर्ने रहेछ । उनीसँग निकटता बढ्दै थियो । त्यस क्रममा हाम्रो पूर्वको ग्याङ्ग बन्दै गयो । त्यसमा पनि आदिवासी जनजाति बढी थिए । त्यसमा एकजना केटी साथी पनि थिइन् शेर्पा थरकी । उनी खेलाडी पनि थिइन् । उनले चाहिं पश्चिमकी साथीलाई फिटिक्कै मन नपराउने , मेरो छेउमा बसेको पनि मन नपराउने । मुखै फोरेर किन त्यस्तासँग संगत गरेको भन्थिन् । 
त्यसै क्रममा म गाउँ गएँ । एक महिनाका लागि भनेर गएको दुइ अढाइ महिना बसें । त्यतिबेला ती शेर्पा साथीले मेरो बारे सोधिछन् । केही साथीलाई मैले बिहा गरेको थाहा थियो । उनीहरुले भनेछन्, ‘के गर्छ र ? छोराहरु खेलाउँदै होला नि ।’ 
काठमाडौ आएपछि उनीसँग सम्पर्क भयो । हाम्रो तँतँ चल्थ्यो । उनले भनिन्, ‘तुरुन्तै मेरोमा आइज त ।’ गएँ र ढोका ढकढक गरें । उनले भनिन्, ‘ढोका खुल्लै छ पस् ।’ ढोकाबाट यसो भित्र पसेर के छ भनेको त ‘थुक्क’ भनिन् । के भयो भनेर सोधें । उनले भनिन्, ‘गाउँमा गएर गोरो न गोरो भएर आयो होला भनेको त कालो न कालो भएछ ।’ मैले भनें, ‘काम गर्नुपर्छ, घामले डडिन्छ । अनि कहा काठमाडौमा जस्तो हुन्छ र ?’ 
त्यसपछि ‘बस्’ भनिन् र सोधिन्, ‘बाबु कत्रो भो ?’ केटाहरुले सुनाएछ भन्ने थाहा भइगो । भनें, ‘ठूलठुलो छ नि मेरो केटाहरु त ।’ 
उनले सोधिन्, ‘पहिले किन भनिनस् ?’
मैले भनें, ‘सोधिस् र, भन्नु ? मैले बिहा गरेको छु, छोराहरु छ भन्दै हिड्नु भएन ।’ त्यसपछि त ‘साले पहिले नै भनेको भएदेखि म तलाई माया नै गर्दिनथे’ भनेर पो भन्छिन् । अनि मैले भनें, ‘तैले मलाई माया गर्छस् भन्ने पनि त थाहा छैन नि ।’ त्यसपछि एकदम भावुक भइयो दुइजनै । त्यसपछि उनीसँग एकखालको प्रेम बस्यो । तर कलेज छुटेपछि उनीसँगको प्रेम पनि छुट्यो । भेट भएको छैन । मैले मदन पुरस्कार पाएपछि फेसबुकमा म्यासेज पठाएकी रहिछन् । पहिले त मैले चिनिनँ । पछि फेरि इमेज च्यानलमा अन्तरवार्ता आएपछि ‘म फलानु, तिमीले चिन्दैनौ होला’ भनेर सन्देश पठाएकी थिइन् । 
त्यसपछि म पत्रिकामा काम गर्न थालें । घरबाट श्रीमति पनि आइन् । परिवार भएपछि द ायाबाया गर्ने कुरा पनि भएन । बिद्यार्थी जीवन पनि सकियो, प्रेमको चक्कर सकियो ।
०००

तीन बर्षअघि प्रगति राई कोरिया गइन् । जान्छु भनिन्जेल त तनाव लागेन । तर जुन दिन गइन्, त्यसपछि चाहिं म पूरै विचलित भए । केही नै गर्न नसक्ने, खाना पनि नरुच्ने । बिहान चिया खायो, बेलुका रक्सी । तीन महिनाजति मेरो दिमाग पूरै ड्यामेजजस्तो भयो, केही सिर्जनात्मक कुरा सोच्नै सकिनँ । खाली नकारात्मक कुरामात्रै आउने दिमागमा पनि । त्यसले मलाई छोडेर गयो, त्यो पैसावाल भो, त्यसले हेप्छ भन्ने लागिरहने । 
धेरै रक्सी खान थालियो । एकदिन त अनामनगरमा दिउसो दुई बजेदेखि राती ११ बजेसम्म खाइएछ । भिल्लु मातिएछ । कोटेश्वर कोठामा आउन ट्याक्सी चढियो । अर्को साथी थियो मभन्दा पनि भिल्लु मातेको । मचाहिं ट्याक्सी चढेपछि निदाइगएछु । साथी र ट्याक्सी ड्राइभरको चाहिं कुन बाटो जाने भन्ने कुरैमा विवाद परेछ । झगडा गरेछन् । बिम्झिदाखेरि कोटेश्वर पुलिस चौकीनेर चोकमा आइपुग्याथ्यो । पुलिसहरु पनि थिए । मैले झरेर पैसा दिएँ । पुलिसहरुले ‘तपाइहरुलाई यहाबाट भित्र लादैन, हिडेर जानुस्’ भने । हामी हिडेर जाँदै थियौं,  पछाडिबाट आएर हाने ड्राइभरहरुले । मलाई पछाडिबाट हानेछन् । घोप्टो परेर लडेछु, थुतुनो बजारिएछ । पछाडि पनि फुुटेछ । त्यसपछि मलाई धेरै कुटेनछन् । साथीलाई चाहिं धेरै कुटेछन् । पछि होस आएर कोठा त पुगियो । तर साथी त बमिट गर्न थालिसकेको थियो । कोठामा विदेश जान बसेका केटाहरु थिए दुइचार जना । उनीहरुले हस्पिटल पुर्‍याए । ८/९ दिन त आइसियूमै बस्नुपर्‍यो । 
त्यसपछि हल्ला भयो । किरात राइ यायोख्खा, किरात राइ बिद्यार्थी संघ, किरात राई बिद्यार्थी संघका सबै साथी आए भेट्न । म यायोख्खाको काठमाडौ जिल्ला सचिव थिएँ त्यतिबेला । त्यसै क्रममा हाङ्दिमा पनि आइपुगिन् । तिनले घाउ पुछपाछ गर्ने गरिन् । त्यसले एकखालको मायाको अनुभूति भयो । 
सबै आएपछि मलाई पनि हस्पिटल लगे । म त त्यतिकै हुन्छ भनेर बसेको थिएँ । हस्पिटलमा पनि उनी आएर हेरचाह गरिन् । उनी मलाई सम्मान गर्थिन् । विस्तारै उनीसँग दु:ख सेयर गर्न थालियो । त्यसपछि रक्सी पनि कम खान थालें । डाइभरले कुटेपछि होस पनि खुल्यो । 
उनीसँग नियमितजसो भेट हुन थाल्यो । त्यस क्रममा उनले पनि आफ्नो जीवनकथा भन्थिन् । उनी नाटकमा पनि रुची राख्थिन् । त्यस सन्दर्भमा पनि कुरा हुन्थयो । तर एकदमै समर्पित भएर काम गर्न नसक्ने । त्यसको कारण खोज्दै जाँदा थाहा भयो– उनी एककिसिमको लिभिङ टुगेदरमा बसेकी रहिछिन् ब्वाइफ्रेण्डसँग । तर पछि पूर्वविबाहित (केटा कि केटी ? ) भन्ने थाहा भएछ । त्यसपछि ब्वाइफेण्डले चाहिं तनाव दिदोरहेछ धेरै । भावनात्मक रुपमा नजिकिदै जादा केही कुरा त भनिन्, तर सबै त भन्न सकिनन् । त्यसपछि मैले डायरीमा लेख्न भनें । उनले १५/२० पेज लेखिन् । त्यही आधारमा मैले उनका जीवनका धेरै कुरा खोतलें । त्यसैलाई मैले दमिनी भीरमा हाङ्दिमा चरित्र बनाएर हालेको छु । उनीसँग भावनात्मक सम्बन्ध गहिरो भएपनि बिहा गर्ने भन्ने त हुँदैनथ्यो । त्यसैले पछि बिस्तारै हामी टाढिदै गयौं । उनको अहिले बिहा भइसकेको छ । उनलाई मैले कहिल्यै श्रीमति बनाउछु भन्ने दृष्टिकोणबाट नसोचेपनि बिहा भयो भन्दाचाहि एकखालको अनुभूति हुँदोरहेछ । किनभने उनले मलाई दमिनी भीर लेख्ने क्रममा ठूलो उर्जा दिएकी छिन् । साथ दिएकी छिन् । अहिले म जुन राजन मुकारुङ छु, त्यो बन्न उर्जा दिएकी छिन् ।
०००

प्रेममा हरेक मानिस फस्छ । अहिलेसम्मका यी प्रेम अनुभूतिले यही नै सिकाएको छ । तर त्यसको पनि आ–आफ्नो ‘टाइम र स्पेस’ हुन्छ । त्यसैअनुसार सीमा पनि कोरिन्छ । मेरो जीवनमा भएका प्रेमका पनि समयअनुसार सिमा छन् । विद्यार्थीकालको प्रेमको आफ्नै सिमा थियो, शिक्षक हुदा बिद्यार्थीसँग भएको प्रेमको पनि एउटा सिमा थियो । त्यस्तै बिबाहित भइसकेपछि भएको प्रेमको त्यहीअनुसारको एउटा सिमा थियो । पहिलो प्रेमको पनि छुट्टै सिमा थियो । 
अहिले के लाग्छ भने जीवनमा मानिसले प्रेम चाहि धेरै गर्छ । तर त्यसलाई कुन तहबाट व्याख्या गर्ने र कसरी लिने भन्ने हुन्छ । म यस सन्दर्भमा संवेदनशील छु, अलि भावुक पनि छु । त्यसैले मेरा सबै प्रेमिकाहरुप्रति सम्मान छ । 
अहिलेको पुस्ताका कतिपयको आफूसँग भयो भने भयो, नत्र अपराधतिर जाने प्रकृतिको प्रेमसम्बन्ध भएको देखिन्छ । यो त स्वार्थको प्रेम भयो । मैले चाहिं स्वार्थवश प्रेम गरिनँ, भावनाबश नै गरें । स्वार्थवश गर्ने हो भने त अनेकौं कथेर पनि आफ्नो बनाउनका प्रयास गरिन्थयो होला । तर मलाई लाग्छ, प्रेमले कसैको पनि जीवन बर्बाद नहोस्, अफ्ठ्यारो नपरोस् । 
܀܀܀
✍ कला अनुरागी
साभार : नयाँ पत्रिका

Comments