बिद्यार्थीलाई लोकसाहित्य

राजन मुकारुङ नेपाली साहित्यका सुपरिचित व्यक्तित्व हुन् । सिमान्तकृत समुदायको आवाजलाई साहित्यमा बलियो ढंगले अभिव्यक्त गर्ने लेखक उनको पहिचान हो । नश्लीय चेतनालाई साहित्यको मूलधारमा ल्याउन उनले हाङयुग अज्ञात र उपेन्द्र सुब्बासँग मिलेर ‘सिर्जनशील अराजकता’ आन्दोलन गरे । ‘दमिनी भीर’ उपन्यासका लागि ०६९को मदन पुरस्कार प्राप्त गरेका मुकारुङको ‘हेत्छाकुप्पा’ उपन्यास र चार कविता कृति प्रकाशित छन् । उनको केही साताअघि निबन्धकृति ‘फेरिदो सौन्दर्य’ सार्वजनिक भएको छ । तीन बर्ष शिक्षणसमेत गरेका उनले बिद्यार्थीलाई सिर्जनशील बनाउन शिक्षक र अभिभावकले खेल्नुपर्ने भूमिकाबारे  यसो भन्छन् : 

एउटा शिक्षकले गृहकार्यबाट विद्यार्थीको सिर्जनशीलता पहिचान गर्न सक्छ । विशेष गरी भाषा बिषयमा सिर्जनशील बिद्यार्थीले उत्तर दिदा अलिकति रसिलोपन आइहाल्छ । काव्यिकपन आइहाल्छ । शिक्षकले उसको उत्तरमुनि ‘तिम्रो यो राम्रो छ, यति चाहिँ सुधार’ भनेर लेखिदियो भने बिद्यार्थी उत्प्रेरित भइहाल्छ । 
अर्कोचाहिं त्यस्ता बिद्यार्थीलाई टिफिन टाइमजस्ता खाली समयमा शिक्षकले समय दिनुपर्छ । एउटा कवि हुने छनक भएको बिद्यार्थी भलिबल, फुटबल, क्रिकेट खेल्नतिर भन्दा कतै घोत्लिएर सोच्नतिर लागेको हुन्छ । त्यस्तो बेला शिक्षकले समय दियो भने उनीहरु उत्प्रेरित हुन्छन् । चन्द्र रानोहोछालगायत मैले पढाएका केही बिद्यार्थी कवि भएका छन् । उनीहरुलाई मैले त्यसरी नै चिनेको थिएँ र समय दिन्थें । 
मलाई चाहिं सरले समय नै त दिनुभएन । तर उत्प्रेरित चाहिं गर्नुभयो । माथिल्ला कक्षामा नेपाली शिक्षक हुनुहुन्थ्यो प्रभुराम राई । उहाँ सबैलाई सोध्दै आउनुहुन्थ्यो । कसैले भन्न सकेन वा आधा भन्यो भने मलाई चाहिं पूरा भन्न लाउनुहुन्थ्यो । यसले चाहिं फिनिसिङ्ग गर्छ भन्ने भावका साथ । त्यो पनि उत्प्रेरणा नै थियो । प्रारम्भिक चरणमा साहित्यप्रति रुचि जाग्नुमा शिक्षक टिकाप्रसाद न्यौपानेको पनि हात छ । उहाँ संस्कृत र नेपाली पढाउनुहुन्थ्यो । अत्यन्त अनुभवी शिक्षक । साहित्यिक ढंगले रसिलो भाषा प्रयोग गरी पढाउने । जसकारण संस्कृत र नेपालीमा खुब रस बस्यो । 
०००

बिद्यार्थीलाई सिर्जनशील बनाउन दैनिकी लेख्ने बानी बसाइदिनुपर्छ । उसले दिनभर भोगेको, अनुभूत गरेको कुरा डायरीमा लेख्न लगाउनुपर्छ । तर थोरै । धेरै लेख्न लगायो भने भार हुन्छ । डायरी हेरिदिनुपर्छ शिक्षकले र आवश्यक सुझाव दिनुपर्छ । यसले उसको लेखनमा बानी त बस्छ नै, बोध गर्ने क्षमता पनि बन्छ । विस्तारै त्यस्ता अनुभूतिबाट प्राप्त हुने सारबारे पनि सोच्न सिकाउनुपर्छ । त्यसो भयो भने बिद्यार्थीहरु सधै आफूप्रति सचेत हुन्छ ।
मेरो अहिलेसम्मको अनुभवमा हाम्रा पाठ्यक्रम र शिक्षण पद्दति सिर्जनशील छैन । समयसँग कुनै साइनो नभएका पाठहरु छन् । त्यसमा पनि अध्यापन परम्परागत छ । एकातिर बुढा शिक्षक छन्, जो थाकिसकेका हुन्छन् । अर्कातिर अस्थायी शिक्षक छन्, जसलाई जागिरको भरोसा नै छैन । कतिबेला फालिइन्छ भन्ने त्रास छ । त्यसले पनि उर्जाशील शिक्षण भइरहेको छैन । 
त्यति हुँदा–हुदै पनि शिक्षक सिर्जनशील हुने हो भने बिद्यार्थीलाई सिर्जनशील बनाउन सकिन्छ । बिद्यार्थी जहिले पनि सरल स्वभावका शिक्षकसँग बढी प्रभावित हुन्छन् । उनीहरु नै बिद्यार्थीको आदर्श गुरु बन्ने गर्छन् । त्यस्ता गुरुले जता डोर्‍याउँछन्, त्यतै डोरिने हो शिक्षा । त्यसका लागि पाठ्यक्रमबाहिरका पुस्तक पनि पढ्न उत्प्रेरित गर्नुपर्छ । 
उनीहरु प्रारम्भिक चरणमै गहन किताब पढ्न सक्दैनन् । सुरुवात लोकसाहित्यबाट गर्नु राम्रो हुन्छ । त्यसपछि विस्तारै उनीहरुलाई गहन किताबतिर आकर्षण बढ्छ । बिद्यार्थीको क्षमताअनुसार सिफारिस गर्ने काम शिक्षकको हो । बानी बसाइदिएपछि त बिद्यार्थीले नै पनि खोज्न थाल्छन् । जस्तो, हामी पहिले जादु, टुनामुना जस्ता कथा पनि पढ्थ्यौं । त्यसले हामीलाई कल्पनाशील बनाउथ्यो भने अरु किताबबो भोक पनि जगाउँथ्यो । तर अहिले चाहिं सहरका नानीहरु कार्टुन हेर्छन् । त्यसले कल्पनाशीलता ध्वस्त गरिरहेको छ । हुन त पश्चिमाहरुले भिज्युअलबाट आकर्षित गरेर सिर्जनशील बनाउन खोजेका हुन् । तर नेपाली बिद्यार्थीको सन्दर्भमा त्यसले सही काम गरिरहेको छैन । किनभने पश्चिमाले बनाएका कार्टुनको परिवेश अर्कै छ । नेपालको समाजिक, आर्थिक र सांस्कृतिक स्थिति अर्कै छ । गाउँमा भने मोबाइल संस्कृति नानीहरु बिग्रेका छन् । सरकारी बिद्यालयमा नै बढी बुढा र अस्थायी शिक्षक छन् । उनीहरुले बिद्यार्थीलाई सिर्जनशील बनाउन सकिरहेका छैनन् । त्यस्तो बेला मोबाइलमा आएको गेम र सिनेमाले कल्पनाशीलता साफ भएको छ  ।
त्यसैले हामीले उनीहरुलाई लोकसाहित्यबाट उत्प्रेरित गराएर अहिलेको साहित्यसम्म ल्याउनुपर्छ । त्यसपछि उनीहरु सिर्जनशील पनि हुन्छन् र समाजलाई बुझ्छन् पनि । समाजलाई बोध गरिसकेपछि कुतलमा फस्लान् कि भनेर डराउनु पनि पर्दैन । 
०००

बिद्यार्थी सिर्जनशील र कल्पनाशील बनाउन पाठ्यक्रम परिवर्तन गर्नु आवश्यक छ । उनीहरुलाई नेपाली समाज पढाउनुपर्छ । नेपाली संस्कृति, सभ्यता र इतिहास सरल ढंगले पढाउनुपर्छ । आफ्नै समाज, जीवन र व्यवहारबाट शिक्षा सुरुवात गर्नुपर्छ ।
त्यही नभएको कारण बिद्यार्थीले ९५ प्रतिशत ल्याउँछन् । नेपाल ‘टप’ गर्छन् एसएलसीमा । क्याम्पसमा पनि ‘टप’ गर्छन् । तर सिर्जनशीलताचाहिं पटक्कै देखिदैन । सब घोकेको भरमा भइरहेको छ । अझ बोर्डिङ स्कूलमा यो समस्या बढी देखिन्छ । सम्भावित प्रश्न यी हुन् भन्दै बर्षभरी रटान लगाएर लेख्न लगाइन्छ । त्यही आउँछ परीक्षामा पनि, अनि नम्बर ल्याइहाल्छन् । तर परिणाम, राजनीति धानिदिनुपर्ने सरकारी बिद्यालय र कलेजको उत्पादनले । साहित्यमा आइदिनुपर्ने र लेखिदिनुपर्ने सरकारी स्कूल पढेरै आएकाले । नेपाली समाजको व्याख्या विष्लेषण गर्नुपर्ने सबै त्यहीं पढेकाले । 
‘टपर’ हुने बिद्यार्थीचाहिं कि डाक्टर भयो, कि इन्जिनियर भयो । पढ्यो, काम पायो भने त पाइहाल्यो, नत्र विजोग हुन्छ । हाम्रा समुदायका धेरै इन्जिनियर देखेको छु मैले, जो कुखुरा, सुंगुर पालन गरेर बसेका छन् । त्यसका लागि इन्जिनियर बनिरहनु पर्थेन । शिक्षामा लगानी यसरी खेर गइरहेको छ । बिद्यार्थीलाई समाज र संस्कृति पढाउन र बुझाउन नसक्नुको परिणाम हो यो ।
०००

आफ्ना छोराछोरीको प्रतिभा अविभावकले चिन्नुपर्छ । यसमा पनि शिक्षकको भूमिका महत्वपूर्ण हुन्छ । अविभावकलाई उनीहरुको छोराछोरीको चाहना र मनोविज्ञानबारे शिक्षकले इमान्दारितापूर्वक बताइदिनुपर्छ । अविभावकले त्यही अनुसार वातावरण बनाइदिनुपर्छ । 
तर अहिले अविभावकमा पनि पल्लो घरको बच्चाले यसो गर्दैछ भनेपछि त्यसै गराउनुपर्ने मनोविज्ञान हावी छ । त्यस्तो अस्वस्थ प्रतिष्पर्धा र देखासेखीले बालबालिकाको भविष्य बिग्रिरहेको छ । त्यसैले शिक्षक र अभिभावकबीच अन्तरक्रिया हुनु जरुरी छ । बिद्यार्थीको चाहना के छ र के बन्न चाहन्छ भन्ने स्पष्ट हुनुपर्छ । त्यसो भयो भनेमात्रै राम्रो जनशक्ति उत्पादन गर्न सक्छौं । हामीले ‘सर्टिफिकेट’ उत्पादन गर्ने होइन, जनशक्ति उत्पादन गर्ने हो । त्यस्तो जनशक्तिमात्रै आफैं बच्न सक्छ । 
मलाई अहिले शैक्षिक योग्यता कति हो भनेर सोध्यो भने पाँच कक्षा पनि पढेको छैन भनिदिन्छु । किनकि मलाई अहिले सर्टिफिकेटको आवश्यकता नै छैन । किनकि साहित्यमा पूर्णकालीन भएर लागेको दशक बितिसकेपछि राजन मुकारुङ आफैंमा एउटा बिद्यालय हो, विश्वबिद्यालय हो भन्ने रुपमा मानिसहरुले हेर्न थालिसकेका छन् । त्यसैले किन चाहियो सर्टिफिकेट । कतिले मलाई सोध्छन्– तपाई जागिर के खानुहुन्छ ? जागिर किन खानुपर्‍यो ? कविता लेखेर, उपन्यास लेखेर र बोलेरै जीवन चलिरहेको छ । 
मैले भन्न खोजेको के हो भने सिर्जनशील जनशक्ति निर्माण निर्माण गर्‍यौं भने काम उसैले सिर्जना गर्छ । 
०००

अध्ययन गर्ने बिषय छनौटमा पनि नेपाली समाजमा धेरै अन्योलता छ । एकचोटी आउछ सोसियोलोजीको माहौल । त्यो पढे जागिर खान पाइन्छ भनेर सबै त्यही पढ्छन् । कोटा हुन्छ जम्माजम्मी पाँच/छ हजारको । जनशक्ति बन्छ  तीन लाख । अनि त्यसको कामै छैन । 
कहिले आउँछ माहौल अकाउन्टको । कहिले मेनेजमेन्टको आउछ । त्यतैतिर बिद्यार्थी ओइरिन्छन् । त्यस्तो गर्नु ठीक होइन । पहिले आफ्नो समाजको राम्ररी अध्ययन गर्नुपर्छ । अनिमात्रै हरेक क्षेत्रका काम गर्न सकिन्छ । त्यसैले मैले त बारबार भन्ने गरेको छु– सबैभन्दा पहिले हाम्रा बच्चालाई ‘ह्युम्यानिटिज पढाऔं । त्यसमा एउटा शक्ति छ । त्यसले कला साहित्यको माध्यमबाट यहीं बसेर पृथ्वीको पल्लो कुुनामा चाहि के भइरहेको छ भन्ने बुझ्न सिकाउँछ, खोज्न सिकाउँछ । कल्पनाशील बनाउँछ । त्यो ठूलो कुरा हो । त्यहाँको मानिसले के गरिरहेको छ भन्ने खोज्दा उसले त्यहाँको समाज भेट्छ, त्यहाको संस्कृति भेट्छ । अनि आफ्नो समाज र संस्कृतिसँग दाँज्छ । त्यसपछि उ आफ्नो समाजप्रति संवेदनशील हुन्छ, आफ्नो संस्कृतिप्रति उत्तरदायी बन्छ । त्यसपछि जे अध्ययन गरेपनि उसले आफ्नो समाजलाई योगदान दिन सक्छ । 
यसमा अविभावक सबैभन्दा सचेत हुनु जरुरी छ । फलानाको छोराले इन्जिनियरिङ पढ्दैछ, तैले पनि त्यही पढ्नुपर्छ भनेर जबर्जस्ती पढाउनाले आफ्नो प्रतिभा मार्न विवश हुन्छन् बिद्यार्थी । त्यसरी जबर्जस्ती पढेको बिषयमा असफल हुने सम्भावना अधिक हुन्छ । यदि असफल भयो भने उसको भविष्य त्यहि सकिन्छ । 
त्यसैकारण मैले छोराहरुलाई पाइलट, डाक्टर वा इन्जिनिर हुनुपर्छ भनेर कहिल्यै भनिनँ । बरु भनें– राजनीति गर्ने हो भने थालिहाल आजैदेखि । थालिहाल भाषण गर्न, संगठन गर्न । साहित्यमा लाग्ने हो भने पढ । बाहिरका किताब पढ्न कुनै रोकतोक गरिनँ । 
०००

अहिले समाज परिवर्तन हुँदैछ । त्यहीअनुसारको साहित्य लेखिनु आवश्यक छ । त्यसैले हामीलाई राम्रा साहित्यकार चाहिएको छ । त्यसको आधार बिद्यालयमा बन्ने हो । त्यसका लागि साहित्यमा लाग्न चाहने बिद्यार्थीलाई साहित्यका पुस्तक पढ्न शिक्षकले उत्प्रेरित गर्नुपर्छ । दशैं तिहारजस्ता लामो बिदाको समय साहित्यमा चाख राख्ने बिद्यार्थीलाई पाठ्यक्रमबाहिरको पुस्तक पढ्ने ठूलो अवसर हो । शिक्षकले यस्तो बेला पढ्ने किताब सिफारिस गर्नुपर्छ । त्यस्तै यस्ता बेला सिर्जनात्मक डायरी लेखाउन सकिन्छ । नाटक, गीतसंगीतजस्ता सिर्जनशील कार्य गर्न उत्प्रेरित गराउनुपर्छ । 
अहिले त बिद्यार्थीको सिर्जना प्रकाशनसम्म पुर्‍याउन पनि सक्छन् शिक्षकले । प्रशस्त दैनिक पत्रपत्रिका र अनलाइनले पहुँच सहज बनेको छ । तर बिद्यार्थी आफैंले त्यो सबै गर्न सक्दैनन् । शिक्षकले त्यो हैसियत राख्नुपर्छ । 
कतिपय कविता वा साहित्यका अन्य विधामा लेखिरहेका बिद्यार्थी साहित्यकारलाई भेट्न चाहन्छन् । गफ गर्न चाहन्छन् । तर उनीहरुले भेट्न माध्यम पाएका हुदैनन् । त्यो माध्यम खोजिदिने काम शिक्षकको हो । पुर्‍याइदिने काम अविभावकको हो । त्यस्तो वातावरण बन्यो भने साहित्यमा लाग्न चाहने बिद्यार्थीले उचित मार्गनिर्देशन पाउँछ । शिक्षक र अभिभावक मिलेमा त्यो वातावरण बनाउन सक्छन् । 
܀܀܀
प्रस्तुति : कला अनुरागी
साभार : नुवागी मासिक

Comments