महाआख्यानभित्रको एउटा आख्यान

यो टिप्पणी लेख्दै गर्दा दिपशिखाले आफ्नो पहिलो उपन्यास ‘रात फुलेको याम’ दोस्रो संस्करण छापिदै गरेको खुशी फेसबुकमा व्यक्त गरेका छन् । संस्करणको मानक तयार नभइसकेको पुस्तक बजारमा यसले कति महत्व राख्ला ? यो छुट्टै बहसको बिषय हो । तर लेखकका लागि आफ्नो पुस्तकमा दोस्रो संस्करण लेखिनु निश्चय नै खुशीको कुरा हो ।
‘रात फुलेको याम’को केन्द्रिय कथ्य माओवादी जनयुद्ध हो । माओवादी जनयुद्धले नेपाली राजनीति र समाजमात्रै होइन, साहित्यलाई पनि स्पष्ट दुइ धारमा विभाजित गरिदियो । सदियौंदेखि अन्यायमा परेका शोषित, पीडित, दलित र सिमान्तकृत वर्ग माओवादी जनयुद्धमा प्रत्यक्ष संलग्न भयो । प्रत्यक्ष संलग्न नहुनेले पनि सहानुभूति राखे, सहयोग गरे । तर त्यो वर्गले आफ्नो अधिकारको खोजी गरेको मन नपराउने अर्को वर्ग थियो । जुन वर्ग जनयुद्धको विरुद्ध प्रत्यक्ष उत्रियो । प्रत्यक्ष नउत्रनेले पनि त्यसलाई हिंसात्मक क्रियाकलापको रुपमा चित्रण गरिरहे । जनयुद्धबारे यस्तो दोहोरो व्याख्या अद्यापि कायमै छ, राजनीति र साहित्य दुवैमा । त्यसले जनयुद्ध देखीभोगी आएको पुस्ता त दुविधामा पर्ने गरेको छ भने जनयुद्धपछिको नयाँ पुस्ता दुविधामा पर्नु स्वाभाविक हो । दीपशिखाको उपन्यास त्यही दुविधामा पर्ने पुस्तालाई बढी परिलक्षित देखिन्छ । जनयुद्ध किन भएको थियो ? कसरी भएको थियो ? को सहभागी थिए ? त्यसको प्रतिनिधि चित्रण उपन्यासमा छ ।
उपन्यासको कथानकमा जनयुद्धको सुरुवाती बर्ष ०५२ सालदेखि ०६३ सालको जनआन्दोलनसम्म समेटिएको छ । त्यस अवधिका प्रतिनिधि घटनालाई लेखकले उपकथामा उनेका छन् ।
०६२/६३को जनआन्दोलन सफल बनाउन माओवादीले खेलेको भूमिकाबारे उपन्यासमा आख्यानात्मक व्याख्या छ । त्यसमार्फत तत्कालिन सात दलीय गठबन्धनले नै जनआन्दोलन सफल पारेको र त्यसले माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन सफल भएको इतिहास लेखनको प्रयत्नलाई निषेध गरेको छ । जनआन्दोलनमा माओवादीको प्रत्यक्ष र निर्णायक संलग्नता थियो भन्ने तथ्यमा उपन्यासले जोड दिएको छ । 
लेखक आफैं जनयुद्धमा प्रत्यक्ष संलग्न भएकाले उपन्यासमा काल्पनिकी कम छ । अधिकांश पात्र र स्थान यथार्थ छन् । मध्य र पूर्वी पहाडका धेरै जनताले ती पात्र र स्थान चिन्छन् । जनयुद्धका मोर्चा लड्दाका दृश्य जीवन्त छन् । त्यसबेला गरिने तयारी, अपनाइने युद्धकला, योद्धामा देखिने उत्साह, साहस र बलिदानी भावको आधिकारिक चित्रण छ । जितको खुशी र हारको पीडाको चित्रण पनि उत्तिकै जीवन्त छ । आफ्नो लक्ष्यप्राप्तिका लागि सहिद हुन तँछाडमछाड गर्ने योद्धाको भावना युद्धमा सहभागीलेमात्रै अभिव्यक्त गर्न सक्छ भन्ने प्रमाण उपन्यासमा लेखकले दिएका छन् । 
युद्धबीच हुने प्रेमको चित्रण उपन्यासको अर्को बलियो पाटो हो । जनयुद्धका क्रममा हुने प्रेमको सुखान्त र दुखान्त दुवै चित्रण गरेका छन् लेखकले । उपन्यासमा युद्धसँगै हिडिरहने मृत्युको आँखा छल्दै हुने प्रेमको अनुपम अनुभूति छ । आँखैअघि प्रेमीको सहादत देख्ने प्रेमिकाको मनोदशा छ । प्रेम अभिव्यक्त गर्नै नपाइ सहिद हुन लागेकी प्रेमिकाले बोलेको अन्तिम शब्दको भावुक गम्भीरता छ । मोर्चाको अग्रपंक्तिमा लड्ने बहिनीप्रति गर्व गर्ने दाजु, मोर्चा सफल बनाउने छोराप्रति गर्व गर्ने आमाजस्ता पात्रमार्फत पारिवारिक प्रेम र उत्सर्गको संयुक्त भावना उपन्यासमा अभिव्यक्तभएको छ । हिरासतको अमानवीय यातनादेखि निहत्था जनताले भोगेको त्रासदी र पीडाको वर्णनले पाठकको आङ सिरिङ्ग बनाउँछ । जेलजीवनको पीडादेखि जेलब्रेकको रोमाञ्चक विद्रोह पनि उपन्यासमा अटाएको छ ।
यी सबै घटनामा ठूला नेता वा कमाण्डरको कथा छैन । जनयुद्धलाई कार्यान्वायन गर्ने तल्लो तहका योद्धा, त्यसलाई सघाउने जनता र कार्यकर्ताको कथा छ । भुइमान्छेको कथा छ । उपन्यासमा केन्द्रिय नायक छैन । सबै पात्र नायकजस्ता छन् । सामुहिक नायकत्वको खोजी गरेर उनले यसमा समयको आवाजलाई पक्रेका छन् । सामन्तवादी युगमा जस्तो एउटै खलनायक र त्यसको विरुद्ध खडा हुन सक्ने नायकको कथा अब अव्यावहारिक भइसक्यो । खलनायकको संयुक्त मोर्चाबन्दीविरुद्ध लड्न नायकको सामूहिक मोर्चाबन्दीको आवश्यकता यो समयको वास्तविकता हो ।
त्यसो त उपन्यासमा जनयुद्धको महिमागानमात्रै छैन, त्यसभित्रका कमजोरी पनि खोतलिएका छन् । तत्कालीन राज्यको प्रतिनिधि सेना र प्रहरीप्रति एकोहोरो गाली छैन । यसरी हेर्दा उपन्यासले जनयुद्धदेखि शान्तिप्रक्रिया, सत्तारोहण हुदै अहिलेसम्म आइपुग्दा बनेको माओवादी चित्रसँग होइन, त्यसले देखाएको सपना, ल्याएको सामाजिक जागरण र राजनीतिक परिवर्तनसँग सरोकार राखेको छ । जसले राजनीतिक बिषयलाई केन्द्रमा राखेर पनि उपन्यासलाई शालीन र सन्तुलित बनाउन मद्दत पुर्‍याएको छ । आफैं हावी भएर लामा–लामा राजनीति र दर्शनको भाषण दिने कमजोरीबाट लेखक बचेका छन् । 
भाषा सरल छ । ग्राम्य लवजले अभिव्यक्तिलाई प्राकृतिक बनाएको छ । उपन्यासभित्र उनको भाषा र कथा बुन्ने शैलीको तारिफ गर्ने ठाउँ प्रशस्तै छन् । यी आधारमा भन्न सकिन्छ– जनयुद्धमा संलग्न व्यक्तिले जनयुद्धबारे लेखेको कलात्मक कृतिको छोटो सूचिमा पर्ने उपन्यास हो यो । उपन्यासप्रति पाठकले देखाएको रुचीले पनि त्यसलाई प्रमाणित गर्छ ।
रुस र चीनको क्रान्तिपछि लेखिएका आख्यानले अहिलेसम्म पनि विश्वसाहित्यलाई उत्तिकै हल्लाइरहेका छन् । आशा थियो– जनयुद्धको शान्तिपूर्ण रुपान्तरणपछि यसमाथि थुप्रै शक्तिशाली आख्यान लेखिनेछन् । तर त्यसो हुन सकेन । जनयुद्धका विरोधीले यसलाई निर्मम हत्याहिंसाको श्रृंखलाको रुपमा एकांकी चित्रण गरे । जनयुद्धमा प्रत्यक्ष संलग्न नहुने तर त्यसप्रति सहानुभूति राख्ने केही लेखकको प्रयत्नमा भोग्नेको जस्तो जीवन्तता नदेखिनु स्वाभाविक थियो । जनयुद्धमा प्रत्यक्ष संलग्न केहीले लेखे । तर राजन मुकारुङले आफ्नो निबन्ध कृति ‘फेरिदो सौन्दर्य’मा भनेझैं पार्टी अनुशासनको घेराबन्दी, विचारको कठोर हस्तक्षेप, युद्धको उन्मादी मनोविज्ञान, चरित्रहरुको चिढ्चिढो वा रुखोपनले तिनलाई कलात्मक कसीमा असफल बनाइदियो । केही आशालाग्दा प्रतिभाचाहिं शान्तिप्रक्रियामा आउनेबित्तिकै सत्तारोहणको जुठोपुरोमा अल्झिए । त्यसको चक्करमा आफैंले भोगिआएको विराट् आख्यान पनि लेख्न सकेनन्, बरु गजलको दलदलतिर फसे । यसबेला दीपशिखाले गरेको कलात्मक यत्न आफैंमा महत्वपूर्ण हो । तर यो यत्नप्रति जनयुद्धका पक्षधर र यसका विरोधी दुवै पक्षको साहित्यिक वृत्त मौन देखिन्छ । पाठकले अभिरुचीसाथ पढिरहे पनि उनीहरु यसलाई ‘इग्नोर’को प्रयत्नमा देखिन्छन् । 
प्रगतिवादी लेखनलाई नारावादी भनेर सहजै पन्छाउने सजिलो बाटो दीपशिखाले उपन्यासमा नछोडेको कारण प्रगतिवादीइतरका साहित्यकार/समीक्षकलाई विरोध गर्न सहज छैन । त्यसैले उनीहरुले ‘इग्नोर’को सजिलो बाटो अपनाउनु स्वाभाविक थियो । तथापि प्रगतिवादी, त्यसमा पनि जनयुद्धबाटै आएका साहित्यकार/समीक्षकले पनि त्यही बाटो अपनाउनुले चाहिं केही गम्भीर संकेत गर्छ । आफूले भन्दा राम्रो गर्ने कसैलाई पनि स्वीकार गर्न नसक्ने सामन्तवादी सोच प्रगतिवादी भन्नेहरुमै झन् पछि झन् पन्पिरहेको छ भन्ने संकेत त होइन यो कतै ? यतातिर पनि गम्भीर हुनु आवश्यक छ ।
त्यसो त एकाध प्रगतिवादी साहित्यकार/समीक्षकले उनको कृतिमाथि चर्चा गर्ने प्रयत्न नगरेका भने होइनन् । तर तिनमा सिर्जनात्मक आलोचनाको कोण देखिएन । तिनले ‘रात फुलेको याम’लाई जनयुद्धको प्रशस्तिगान गरिएको कृतिको रुपमा मात्रै चित्रण गरेका छन् । त्यसले एकातिर उपन्यासलाई ‘माओवादी’ ट्याग लगाइदिएको छ भने अर्कातिर दीपशिखालाई अनावश्यक फुक्र्याइदिएको छ । जनयुद्धको महाआख्यानबाट एउटा आख्यानलाई कलात्मक बान्की दिने प्रयत्न गरेको लेखकलाई त्यस्तो ट्याग र फुक्र्याइ दुवै लाभदायी हुँदैन । सकारात्मक प्रयत्नप्रति प्रोत्साहन र कमजोरीप्रति सिर्जनात्मक आलोचना नै लेखकलाई बलियो बनाउने आधार हो । 
‘रात फुलेको याम’ कमजोरीसहितको उपन्यास हो । यसको कथानक र पात्र विकास दुवैमा समस्या छन् । यसको कथानक जनयुद्धदेखि जनआन्दोलनसम्म हो । तर जनयुद्ध र जनआन्दोलन दुवैको पृष्ठभूमि कसरी निर्माण भयो भन्नेबारे उपन्यास ज्यादै मौन छ । यसले कथा विनाआधार अडिरहेको प्रतित हुन्छ । केहीबाहेक अधिकांश पात्रचित्रण पनि त्यस्तै छ । उपन्यासमा पात्र एकैचोटी विकसित भइसकेर आउँछन् । त्यसको आधारबारे लेखक मौन छन् । 
कतै–कतै नयाँको प्रयत्न देखिएपनि कथाको बुनोटमा उनी पुरानै शैलीमा अल्झिएका छन् । डायरी वाचनको पुरानो शैली त्यसको उदाहरण हो । डायरीमा प्रयुक्त भाषा अरु कथाभन्दा भिन्न नहुँदा त्यो पनि प्रभावकारी बनेको छैन । कतै संवाद बढी लाग्छ, कतै बर्णन बढी छ । पहिले नै पछिको घटना भनिसकेर उल्टो रहस्य पैदा गर्ने कोशिस उनले गरेका छन् । तर कथा जोड्ने क्रममा आवश्यक सतेतता नअपनाउदा कतिपय स्थानमा उल्टो दुविधा पैदा गरेको छ । 
फरक पात्रले पनि उस्तै भाषा बोल्छन् । यहाँसम्म कि गण्डकको पात्रको भाषा पनि फरक छैन । कति उपकथा अपूरो लाग्छन्, कति छिटछिटो फड्किन्छन् । यसले पाठकलाई पात्रसँग एकाकार हुनबाट अवरोध पैदा गर्छ । 
जनयुद्ध नेपालीले भोगेको महत्वपूर्ण ऐतिहासिक कालखण्ड हो । यसमाथि थुप्रै आख्यान लेखिन जरुरी छ । त्यो अहिलेको समयका लेखकको जिम्मेवारी हो । त्यसमा पनि आफैं संलग्न र कलात्मक लेखनको क्षमता राख्ने दीपशिखाजस्ता लेखकमाथि अझ धेरै जिम्मेवारी छ । अर्को आख्यानको गर्भ बोकिसकेका दीपशिखाले यस्ता कमजोरीप्रति सचेत हुनु आवश्यक छ । र, सचेत पाठकले उनीजस्ता लेखकको सामथ्र्य पहिचान गर्न र कमजोरीमा सचेत गराउन ‘रात फुलेको याम’ पढिरहेकै छन् । 
܀܀܀
✍ कला अनुरागी

Comments