'हृदयमा संसारका सबै युवती अटाउन सक्छन्'

पुष्कर शाह, विश्व साइकलयात्री

नेपाली समाजको हेराइमा मेरो विवाह गर्ने उमेर भइसकेको छ । मैले आफ्नो उमेर आइसीमा भन्ने गरेको छु । अब देश नै आइसीमा चल्न थालिसकेको छ, उमेरचाहिँ किन नेपालीमा भन्नु ? त्यसअनुसार पच्चीस बर्ष भएँ । 
हाम्रो समाजमा चाहिँ विवाहको उमेर यो हो भनिन्छ । तर यो साधारण सोच हो । विवाह त जुन उमेरमा पनि हुनसक्छ । 

जन्ती गएको सम्झना
विवाह नगरे पनि जन्तीचाहिँ गएको छु भन्ने भनाइ नै छ । म पनि दोलखा, मकैबारीको ग्रामीण परिवेशमा हुर्केको मान्छे । धेरैपटक जन्ती गइयो । अझ सानोमा त जन्ती जानुको रमाइलो अर्कै हुन्थ्यो । जन्तीबाख्राको मासु र भात सप्र्याक–सप्र्याक खाएको सम्झना छ । टपरीबाट झोल चुहिएर हैरान भइन्थ्यो । 
एकपटक जन्ती जाँदाको घटनाचाहिँ म कहिल्यै बिर्सन्न । अहिले सम्झिँदा पनि हाँस उठ्छ । गाउँकै दाइको विवाह थियो । बेहुलीघर पुग्न झण्डै दिनभरजसो हिँड्नुपर्यो । रात राख्ने बिहे थियो । परालको माचमा सुतियो । थाकेको कारण निदाइहालिएछ । राती त पानी परेको सपना देखियो । झल्याँस्स ब्यूँझिए । कानमा मात्रै पानी परिरहेको थियो । यस्सो माथि हेरेको छ एकजनाले पिसाब गरिरहेको रहेछ । त्यो मान्छे जाँड खाएर फिटान भएको रहेछ, के भन्नु ? त्यो घटना कहिल्यै बिर्सन्नँ ।

पहिलो प्रेमपत्र
स्कूल जीवनदेखि नै मेरा केटी साथी थिए । आफूलाई मन पर्ने साथी पनि थिए, तर भन्न सकिएन । मैले ०४२ सालमा एसएलसी पास गरेँ । त्यसपछि काठमाडौ आएर पढ्न थालें । कलेज जीवनसँगै मेरो प्रेमजीवन पनि सुरू भयो । पत्र लेखेर प्रेम व्यक्त गर्ने जमाना थियो । 
मलाई पनि सँगै पढ्ने युवतीको पत्र आयो । अहिले पनि सम्झना छ, सम्बोधन भनेर प्रश्नचिन्ह लेखिएको थियो । त्यसमा उनी कसरी र किन मप्रति आकर्षित भइन् भन्ने वर्णन थियो । 
उनको वर्णनमा म ‘ह्याण्डसम’ थिएँ । सोझो पनि उत्तिकै । सबैसँग मीठो बोल्ने, नम्र भएर बोल्ने । 
उनको पत्रको भाव जति मीठो थियो, उनी पनि उत्तिकै राम्री थिइन् । मैले उनको प्रस्ताव अस्वीकार गर्ने कुरै थिएन । मेरो अक्षर राम्रै थियो । त्यसमा पनि अझ मिहिनेत गरेर उत्तर फर्काएँ । त्यससँगै हाम्रो प्रेमसम्बन्ध अघि बढ्यो । 

प्रेमको उत्कर्ष
प्रेम अघि बढेपछि हामी फिल्म हेर्न, घुम्न जान थाल्यौं । अहिलेजस्तो खुल्ला समाज थिएन, तर पनि हामीले सबै बन्धन भत्कायौं र प्रेमको उत्कर्ष प्राप्त गर्यौं । एकअर्काको जीवनसाथी बन्ने बाचा गर्यौं र गोप्य रूपमा विवाह पनि गर्यौं । सँगै बस्न थाल्यौं । 
तर सँधै मानिसले सोचेजस्तो हुँदोरहेनछ । झण्डै दश बर्ष लामो हाम्रो प्रेम सम्बन्ध टुट्यो । सम्बन्ध किन टुट्यो भनेर यसो सम्झँदा ठूला कारण थिएनन् । मान्छे लड्नका लागि ठूलो ढुंगामा ठेस लाग्नुपर्दोरहेनछ भन्ने लाग्यो । 

प्रेमको अल्झन
सम्बन्ध टुटेको केही बर्षपछि मैले साइकलयात्रा थालेको हुँ । साइकल यात्राका क्रममा पनि मलाई धेरै प्रेम प्रस्ताव आए । विवाहकै प्रस्ताव पनि धेरैपटक आए । संसारका अति विकसित देशदेखि अति दरिद्र देशका युवतीले पनि प्रेम प्रस्ताव राखेका थिए । तर मैले स्वीकारिनँ । किनकि मेरो आफ्नै सपना र लक्ष्य थियो । प्रेम वा विवाहमा अल्झिएर आफ्नो यात्रा स्थगित गर्न चाहिनँ । 

शरीरसुख लिएँ
प्रेममा अल्झिइनँ भनेर म कुनै सम्बन्धमै थिइनँ भन्ने होइन । मैले धेरै देशका युवतीसँग शारिरीक सम्बन्ध राखेँ । कसैसँग साथीको रूपमा । कसैसँग प्रेमिका रूपमा । कसैले मलाई जीवनभरी पर्खन्छु भनेर पनि यौनसम्बन्ध राखे । तर ती सबै शरीर सुखका लागि थिए । तर शरीर सुखपछि भावनात्मक सम्बन्ध अझ बलियो बन्दोरहेछ । जब मान्छे नांगिन्छ नि, त्यसपछिको सम्बन्ध अझ गाढा हुन्छ । तर म एकै ठाउँमा कहिल्यै बसिनँ । त्यसैले भावनात्मक सम्बन्धहरू गाढा बन्न भने सकेनन् । 

पर्खिने धेरै छन् 
साइकलयात्राको केही बर्षसम्म म इन्टरनेटको पहुँचमा थिइनँ । जब इमेल चलाउन थालें । त्यसपछि मसँग सम्बन्ध राखेका वा राख्न चाहनेले पछ्याउन थाले । पहिले भेटिएकाले पनि ‘म तिमीलाई अझै पर्खिरहेको छु’ भन्थे । 
तर मैले कसैसँग पनि विवाह गर्ने बाचाचाहिँ गरिनँ । म भन्थें र अहिले पनि भन्छु, ‘त्यो तिम्रो विवेकको कुरा हो । मेरो हृदयमा त संसारका सवै युवती अटाउन सक्छन् । त्यसैले नपर्ख भनेर पनि भन्दिनँ ।’

प्रस्तावको चाङ 
अहिले पनि मलाई विवाह गरौं भनेर संसारभरबाट प्रस्ताव आइरहेको छ । केही मेरो पुराना साथी पनि छन् । ‘तिमीसँगबाहेक अरूसँग विवाह गर्दिनँ’ भन्ने पनि छन् । तर मेरो जवाफ उही हुन्छ, ‘म त ठूलो मन भएको मान्छे । संसारमा सबै युवती अटाउन् मेरो मनमा भन्ने लाग्छ । त्यसैले तिमीलाई म केही बाचा गर्न सक्दिनँ ।’ 
मैले चाहें भने भोलि नै विवाह गर्न सक्छु । तर त्यो सपनाचाहिँ ममा हुर्किसकेको छैन । त्यसो त क्यारमबोर्ड खेल्दा अरू सबै गोटी खाएपछि क्वीनको पालो आउँछ । त्यस्तो पनि होला कुनै दिन । तर को र कहिले भन्नेचाहिँ निश्चित भएको छैन ।
तर अहिले ममा यस्तो धैर्यता पैदा भएको छ कि केही हतार छैन । २०÷२५ बर्षसम्मको भए अब उमेर घर्क्यो कि भन्ने लाग्थ्यो । विवाह गर्ने, अँगालो हालेर दिनरात बिताउने भन्ने परिकल्पना हुन्थ्यो । मसँग त्यस्तो सपना पनि छैन र पर्खने धैर्यता पनि छ । 

खुशी एक्लै बाँड्ने होइन
आफ्नो सुखदुःख बाँड्ने साथी होस् भनेर पनि विवाह गर्नुपर्छ भन्छन् कतिपयले । तर मलाई त्यस्तो कहिल्यै लागेन । अन्तरआत्माको खुशी वा दुःख ‘सेयरिङ’ गर्न एकदमै नजिकको मान्छे नै हुनुपर्छ भन्ने छैन । नजिकको मान्छेलाई मात्रै सुनाउँदा एउटा मान्छेलाई सुनाइन्छ । ‘मास’मा पो सुनाउनुपर्छ । अनि त्यो खुशी पनि फैलिन्छ । दुःख पनि बाँडिन्छ । त्यसैले मलाई कहिल्यै त्यस्तो लागेन । 

विवाहको लागि फुर्सदै भएन
यात्रा थालेपछि मलाई कहिल्यै पनि वैवाहिक साथी हुनुपर्छ भन्ने कहिल्यै आएन । समय पनि भएन । यात्रा सकेर सगरमाथा आरोहण गरिसकेपछि किताब लेख्न थालियो । सामाजिक सेवामा लाग्न थालियो । त्यसैले अलमल भइरहेको छ । तर विवाह नै नगर्ने भन्ने मेरो निर्णय भने होइन । तर गर्छु नै भन्ने पनि छैन । 
मान्छेको जीवनचक्र चलाउनका विवाह गर्नुपर्छ । जतिबेला आवश्यकता महसुस हुन्छ, त्यो समयमा गरिएला । अहिले भने एक्लै चलिरहेको छ । 
अहिले पनि सम्बन्धको प्रस्ताव आइरहन्छ । विवाहकै प्रस्ताव पनि आउँछ । विशेषगरी इन्टरनेटमार्फत । मलाईचाहिँ इन्टरनेटमा व्यक्त गरिने प्रेमचाहिँ प्रेम होजस्तै लाग्दैन ।
अहिले मलाइ विवाहको दवाव पनि कसैले दिँदैन । सबैलाई थाहा भइसक्यो यो जितार छ, हामीले भनेको मान्दैन भन्ने । 
ममा पनि डुलुवा प्रवृत्ति भयो । विवाह गरियो भने एकै ठाउँमा बस्नुपर्छ, बाँधिनुपर्छ भन्ने सोच दिमागमा बसिरहेको छजस्तो लाग्छ । त्यसैले पनि विवाह नगरेको हुँ । 
अहिले पनि मसँग निकट हुन खोज्ने धेरै युवती छन् । म स्पष्टवक्ता हुँ । मैले यौनशालादेखि मधुशालासम्मको कुरा किताबमै लेखेको छु । संसारभरिकै धेरै युवतीसँग आकर्षित भएको मान्छे हुँ म । शरीरसुखकै लागि विवाह आवश्यक छैन । 
܀܀܀
प्रस्तुति : कला अनुरागी
साभार : रातोपाटी

Comments