पूर्णविरामविरुद्ध पूर्णविराम

पातलो ज्यान, सानो टाउको त्यसमाथि रातो टोपी ! यो कवि पूर्णविरामको परिचय हो–उनकै भाषामा । उनी आफ्नै परिचयमा भेटिए । गफ गर्नका लागि उनले रोजेको चियापसल सामान्य थियो । जुग नयाँ भइसक्यो । अहिले कविहरूको पनि परिचय बदलिएको छ । कविहरू ‘सेलिब्रेटी’ बनिरहेका छन् । अटोग्राफ दिनु, कविता भन्न विदेश जानु, गायकहरूको एकल साँझजस्तै एकल कविता वाचन गर्ने आदि कार्यले गर्दा कविहरूलाई सेलिब्रेटी बनाएको छ । यो भीडमा २० को दशकको उत्तरार्धतिरबाटै कविता लेख्न थालेका कवि पूर्णविराममा भने त्यस्तो चमकधमक देखिदैन । 
पहिलो प्रश्न थियो उनलाई –‘छायाँमा परेंझैँ लाग्दैन ?’ 
उनको सहज जवाफ छ, ‘प्रचारमा मात्रै छायाँमा परेको देखिएको हो । तर लेखनमा त म सक्रिय छु । कवि गोष्ठीहरूमा गएकै छु, पत्रपत्रिकाहरूमा मेरा कविताहरू छापिएकै छन् ।’ 
उनी स्वीकार्छन्, ‘उनको सक्रियता आजभोलि अधिक प्रयोग हुने सामाजिक सञ्जालमा भने प्रकट हुँदैन ।’ 
त्यसो त धेरैजसो पुराना सर्जकहरू यो मामिलामा पछाडि नै छन् । किन त ? उनले कारण बताए, ‘नयाँ प्रविधिको प्रयोगको प्राविधिक र आर्थिक क्षमता दुवै नहुनु कारणहरू हुन् ।’ तर आर्थिक समस्या नै मुख्य हो उनको निष्कर्षमा  । ‘बिद्युतीय तरंगमा जान त सबै स्रष्टालाई रहर हुन्छ । तर प्रविधि महँगो छ । कम्प्युटर किन्न नै धेरै पैसा लाग्छ ।’
कविता लेखनमा लामो समय बिताएको मात्रै होइन, कविता लेखेकै÷भनेकै कारण उनले यातना र जेलनेल नै भोगेका यी कवि एफएमहरूमा भने जानेर नै कमै सुनिन्छन् । उनको दुखेसो  ‘पूर्णविरामलाई नबुझीकन कुरा गर्दा त्यसले खासै माने राख्दैन ।’ त्यसै सन्दर्भमा उनले साहित्य सन्ध्या कार्यक्रमको एउटा प्रसंग सम्झिए, ‘त्यहाँ मलाई एकजना भाइले तपाईं नयाँ भएर पनि राम्रो कविता लेख्नुहुँदोरहेछ’ भन्नुभयो ।’ अप्रकट रूपमा उनको गुनासो थियो, ‘नयाँ पुस्ताले पुराना पुस्ताहरूको बारेमा पनि अध्ययन गरे उनीहरूलाई नै फाइदा हुने थियो ।’ 
तर त्यसो भनेर उनी नयाँ पुस्तालाई निरुत्साहित पार्न भने विल्कुलै चाहन्नन् । कविता लेख्ने धेरै भएका कारण कविको भाउ नै घट्यो भन्ने धारणा राख्नेहरूप्रति उनको असहमति छ । ‘कविता त धेरैभन्दा धेरै लेखिनुपर्छ । म त नेपाल सबैभन्दा धेरै कविता लेखिने देशको रुपमा चिनिएको हेर्न चाहन्छु । अब सुरु–सुरुमा लेख्दा सबैले कहाँ राम्रो लेख्न सक्छन् र ?’ उनले भने –‘राम्रै लेखेपनि सबै छापिएर चर्चामा आउन गाह्रो हुन्छ नि ।’ 
यस प्रसंगमा उनले आफूले पनि सुरु–सुरुमा लेखेको कविता छाप्न गाह्रो भएको अनूभुतिमात्रै सुनाएनन्, त्यो कविताको पंक्ति समेत सुनाउन भ्याए । 
जीवन हो मैनबत्तस्
एकदिन त निभ्नैपर्छ
आजै निभ्ला त के भो
भोलि त निभ्नैपर्छ
उनले यो कविता धेरै सम्पादकहरूलाई दिँदा ‘कविता’ नै भएन भनेर प्रकाशन गर्न अस्वीकार गरे । 
‘तर एकदिन म सम्पादकहरूले मसँग कविता माग्ने बनाउँछु भनेर दिनरात लागेँ’, उनले भने । 
०००

साहित्यकारहरूको सामाजिक उत्तरदायित्वको बिषयमा धेरैजसो लेखकहरूको धारणा बुझिन्छ । तर उसको व्यक्तिगत र पारिवारिक दायित्वबारे त्यत्ति चर्चा भएको पाइँदैन । उनी भने यो बिषयको चर्चा हुनु आवश्यक भएको बताउँछन् । 
उनी सिधा भाषामा भन्छन्, ‘हामीले कविता लेख्ने भनेको देशको मुक्तिको लागि लेख्ने हो । तर परिवारलाई असाध्यै कष्टमा राखेर देशलाई मुक्ति दिलाउने भन्ने कुरा पनि हास्यास्पद कुरा हो ।’
तर उनले परिवारको हितलाई मात्रै हेरेर आफूलाई एउटा जागिरेमात्रै बनाएनन् । कविताको, साहित्यको माध्यमबाट शोषित–पीडित जनताको मुक्तिको लागि आवाज उठाइरहे । कविता लेखेकै र वाचन गरेकै कारण जेलनेल र यातनासमेत भोगे । यति गरेर पनि उनी मैले धेरै गरेँ भनेर घमण्ड गर्दैनन् ।
‘मलाई त आफूले धेरै गर्न सकेको जस्तै लाग्दैन अझै । साठी बर्षको उमेर नाघ्दा पनि एक दर्जन कृति दिन सकेको छैन । अरू साथीहरूले दर्जनौं कृति दिएका छन्’ उनले भने, ‘तर मैले सधैं जनताको पक्षमा उभिएर लेख्न खोजेँ । शासकले रोक्न खोज्दा पनि विचलित नभइकन जनताको मुक्तिको पक्षमा लेखिरहेँ । यसमा भने सन्तुष्टि छ ।’ 
उनी आफूलाई नागरिकले सम्झनु नै सबैभन्दा ठूलो उपलब्धि मान्छन् । त्यस्तै सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानको आजीवन सदस्य बनाएकोमा अलिकति भएपनि राज्यले आफूलाई सम्मान गरेको ठान्छन् ।
त्यसो त उनी साहित्यकारले आफूलाई कुनै पार्टी या राज्यले बिर्सियो भनेर गुनासो गर्ने पक्षमा छैनन् । उनी भन्छन्, ‘हाम्रो योगदान छ भनेर राज्यसामू साहित्यकार पनि जान सक्नुपर्छ । हामीले त्यो पनि त गरेका छैनौं नि ।’ 
०००

पूर्णविरामका कविता बिम्ब, प्रतीक र मिथकहरूले भरिएका हुन्छन्, शब्दहरू धारिला र चोटिला हुन्छन् । यसले उनका कविता पढ्ने या सुन्नेलाई स्वाभाविक उद्देलित पार्छ । कविहरूको लागि त उनको यो क्षमता आहारिसको बिषय पनि हो । कसरी आउँछन् उनलाई कवितामा यस्ता शब्द, बिम्ब र मिथकहरू ? 
उनको उत्तर सरल थियो, ‘यो अरू केही होइन, अभ्यासकै परिणाम हो । कवितालाई बुझेर लेखनको अभ्यासमा लागेपछि बिम्बहरूको निर्माण क्षमता आफैं विकास हुन्छ । म आम मानिसहरूबाटै बिम्ब निर्माण गर्छु । तर मिथकहरूको लागि भने अध्ययनको आवश्यकता हुन्छ ।’
उसो त उनको बिम्ब, मिथक र शब्दहरूलाई मन पराउनेहरू मात्रै छैनन् । त्यही कारणले उनको कविता नबुझिने, क्लिष्ट भए भन्ने पनि छन् । उनको जवाफ छ –‘लेखक ज्यूँदो हुँदै त्यसो भन्नुको खासै अर्थ छैन । कविता नबुझिएको खण्डमा विभिन्न माध्यमहरूबाट कविलाई नै भेट्न सकिने अवस्था छ । त्यसरी छलफल गर्न सकिन्छ नि । तर हामीकहाँ कविता नै नपढी टिप्पणी गर्ने चलन छ ।’
‘त्यसो भए कविता आम नागरिकको लागि होइन त ?’
कविता त आम नागरिककै लागि हो । उनीहरूकै बिषय मेरा कविताका बिषयहरू हुन् । तर त्यसो भन्दैमा सबैले कविता बुझ्छन् नै भन्ने छैन । किनकि नेपालको शिक्षाको स्तर निकै नै टिठलाग्दो छ ।’ उनले कविता बुझ्नेहरूलाई आम नागरिकलाई बुझाउने दायित्व पनि थपिदिए । 
०००
कवितामा एउटा इतिहास नै बनिसकेका पूर्णविराम निरन्तर कविता त लेखिरहेका छन् तर उनी अरु समकालीन र नयाँ पुस्ताका कविताहरू भने कत्तिको पढ्छन् त ?
‘म किताब किनेरै चाहिं त्यत्ति पढ्दिन । किनकि मेरो समस्याहरू छन् त्यसमा । तर धेरैजसो कृतिहरू साथीहरूले दिने भएकोले पढिरहेको हुन्छु ।’
र, नयाँ पुस्ताको कविताप्रति उनी सन्तुष्ट पनि छन् । तर यसबीचमा पैसा र प्रचारले कवि बन्नेहरूको जमात पनि उनले देखेका छन् । त्यसप्रति उनको ठूलो आपत्ति भने छैन । ‘त्यस्तो लेखाई धेरैदिन टिक्दैन’, उनको ठोकुवा छ । 
०००

छापा पत्रकारिताले साहित्यलाई दिएको स्थानको हिसाबले भने उनी पहिलेकै समयप्रति सन्तुष्ट देखिए । त्यस क्रममा उनले आफूलाई ‘स्पेश’ दिने समीक्षा पत्रिका पनि सम्झिए । ‘तर अहिले कवितालाई त्यति स्थान दिएको देखिदैन । कविता महत्वपूर्ण छ भन्ने नै महसुस नभएजस्तो देखिएको छ ।’ त्यसो त कवितालाई बुझेको मानिस सम्पादक भएमा कविताको मर्म बुझ्ने र कविताहरू किनारामा नपर्ने उनको आशा छ । 
कविताकै सन्दर्भमा अर्कातिर बहस छ – यो आख्यानको युग हो । तर कवि पूर्णविराम यो कुरा स्वीकार्न तयार छैनन् –‘अहिले पनि विश्वमा धेरै पढिने कविता नै हो । त्यसैले कविता त हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहन्छ ।’ उनको ठोकुवा छ । 
कवितामा नारा कि कला भन्ने बहस पनि लामो समयदेखि जारी छ । यसमा प्रगतिवादी कवि पूर्णविरामको स्पष्ट धारणा छ –‘त्यो परिस्थितिअनुसार हुन्छ । जनताको न्यायपूर्ण आन्दोलन र युद्धहरू चलेको बेला कलाले छोपिएको भन्दा पनि नारा प्रयोग गरिएकै कविताहरू आवश्यक हुन्छ । युद्ध र आन्दोलन भइरहेको बेलामा कलात्मक ढंगले लेखिएको कविताले काम गर्न सक्दैन । तर सामान्य परिस्थितिमा कलात्मक कविताहरू नै बढी प्रभावकारी हुन्छन् ।’
उनको यो भनाइको पछाडि स्पष्ट धारणा छ, कविता लेख्नुको कारण छ । त्यो कुनै व्यक्तिको आत्मसन्तुष्टि र भावनाको अभिव्यक्तिमात्रै होइन । ‘हामीले कविता लेख्ने भनेको नागरिकको मुक्तिको लागि नै लेख्ने हो । त्यसैले त्यो उद्देश्य पूरा गर्न कस्तो खालको साहित्य आवश्यक पर्छ, त्यस्तै लेख्नुपर्छ,’ उनको प्रतिवद्धता पनि छ, ‘जसले जति नै भने पनि हामी आवश्यकताअनुसार नै कविता लेखिरहन्छौं ।’
जनताको मुक्तिकै लागि कविता लेख्ने घोषणा गरेर निरन्तर काव्ययात्रामा दौडिरहेका यी कवि कथाकार पनि ह्ुन् । पछिल्लो समयमा कवितामै केन्द्रित भएपनि उनले कथाहरू पनि लेखेका छन् । उनका ‘आफन्त, ‘झ्यालसँगको झ्यालिन्चा’ र ‘पानीमाथि पानी’ गरी तीन कथा संग्रह प्रकाशित छन् । कथा र कविता लेखनको क्रममा उनले केहीलाई परिवर्तनको नायकको बिम्ब पनि निर्माण गरे । तर के ती सबै नायक नै रहे कि खलनायकमा पनि परिणत भए त ?  ‘नायक बनाएका विम्बहरू पनि स्खलित भए ।’ तर उनी यसमा निराश छैनन् । ‘सबै बिषय सापेक्ष हुन्छ, त्यसैले नायकहरू पनि परिवर्तन भइरहन्छन् । तर आफूले बनाएको बिम्बमा स्खलन आउँदा दुःख त अवश्य नै लाग्छ ।’
त्यसो त गणतन्त्रको घामले अझै पनि नागरिको आङ न्यानो हुन नसकेकोमा पनि चिन्तित छन् । ‘नागरिकहरूले लामो संघर्षपछि केही उपलब्धि हासिल गरेका छन्, तर त्यो गुम्ने खतरा पनि कायमै छ । त्यसलाई जोगाउँदै मुक्ति प्राप्त गर्ने बाटोमा निरन्तर लाग्न प्रेरित गर्ने कविता लेख्नु आवश्यक छ । मुक्तिको लागि कविता लेखनका यात्रामा पूर्णविराम लाग्नु हुँदैन’, कवि पूर्णविरामको निष्कर्ष छ ।  
साभार: नयाँ पत्रिका 

Comments