'शिक्षकले बिद्यार्थीको प्रतिभा चिन्नुपर्छ'

प्रकाश सायमी, निर्देशक तथा लेखक
(प्रकाश सायमीलाई के भन्ने ? उनीबारे लेख्न बस्दा पहिलो संकट यहाँबाट सुरु हुन्छ । चलचित्र निर्देशक, लेखक या कवि । भावक, कलाकार या निबन्धकार । साहित्यिक अभियन्ता, प्रस्तोता या संगीत अनुसन्धाता । लेख्दै जाँदा सूची अझै बढ्छ । त्यसैले त्यता नलागौं । यो आलेखको उद्देश्य उनको विशेषज्ञताको सूची निकाल्नु होइन । उनलाई चिन्न नामै काफी छ । 
पर्यटकको बाक्लो उपस्थितिका कारण होला, ‘झमेल’ नाम पाएको झम्सिखेलको ‘द रोड हाउस क्याफे’ मा उनी छन् । हामीले पर्खाएको । सायमीलाई पौने २ बजे फोन गर्दा हामी भएको स्थानबाट क्याफे पुग्न ठिक नौ मिनेट लाग्ने बताए । दुई वटा नौ मिनेट सकिदा पनि क्याफे आइपुगेन । बरु  पुल्चोक पो आयो । बाटो भुलिएछ । उनले चाहिं क्याफे भुलियो कि भनेर सोचे होलान् । क्याफेको नाम म्यासेज गरे । हामी फर्कियौं उही पुरानो बाटो । झम्सिखेल चोकबाट सही बाटो समायौं । क्याफे पुग्दा हामीले उनलाई झण्डै ५ वटाजति नौ मिनेट कुरायौं । हामी लाजले पानी थियौं, तैपनि पचायौं । उनको मुस्कानले ‘हाजमोला’ले सजिलो बनायो । 
‘प्रकाश दाइको कुरा सुनेर कहिल्यै दिक्क नलाग्ने है †’ उनलाई एअरपोर्टमा उडान कुरिरहेका ‘भाइ’को फोन आएपछि मैले मतिनालाई खुसुक्क भनें । ‘अँ, उहाँ असाधारण मान्छे’ मतिनाको प्रतिक्रिया । उनले फोनवार्ता सकेर हाम्रो खासखुसमा चासो राखिसकेका थिए । मतिनाको स्पष्टिकरणपछि बल सायमीकै कोर्टमा गयो । विभिन्न प्रसंग चल्यो । राजेश खन्नाले धेरै समय लिए, अमिताभ पनि बीच–बीचमा आए । मतिनाजीको नेपाली कलाकारबारे बुझाइ–भोगाइ पनि त्यसमा मिसियो । 
‘अँ, हामी कुराकानी सुरु गरौं होला है †’ मैले क्रमभंग गरें । तर मेरो कुरामा खास दम थिएन, किनकि अघि नै देखि हामी कुराकानी नै गरिरहेका थियौं । मेरो ‘कर्तव्यबोध’ जागेको थियो खासमा । हामी ‘सेलिब्रेटीसँग शिक्षा संवाद’का लागि उनलाई भेटिरहेका थियौं ।)

‘मैले कखरा नख्खु जेलमा सिकें ।’ प्रकाश सायमीले संवादको सुरुवातमै भने । तर अभिभावक जेलमा भएका कारण उनले त्यहाँ पढेका थिएनन् । बरु त्यतिबेला राजबन्दीका छोराछोरीले गरिब तथा जेहेनदार विद्यार्थीलाई पढाउन थालेका थिए । त्यही मेसोमा उनी त्यहाँ पढ्न पुगेका हुन् । त्यहाँको ३ कक्षा उनले पास गरेका थिए । तर प्रमाणपत्र हुने कुरो भएन । बाहिर आएपछि केजीबाटै पढ्नुपर्ने भयो । तर स्कूलले उनलाई सुविधा दियो । परीक्षा लिएर तीनमै भर्ना पाए । ९ कक्षासम्म उनको क्रम संख्या १ बाटा ओरालो लागेन । नौ कक्षामा साथी सुदिपकुमार श्रेष्ठले उनलाई सोधे– एसएलसी पास भएपछि के गर्ने ? सायमीले भने, ‘म त कि पत्रकारिता पढ्छु कि मनोविज्ञान ।’ साथीको चाहचाहिं डाक्टर बन्ने रहेछ ।
०००

श्रीचन्द्र विद्याश्रममा पढिरहेकै थिए । ०३६ सालको आन्दोलन सुरु भयो । सायमीलाई राजनीतितिर चासो थियो । ललितपुर जिल्ला शिक्षा कार्यालय घेराउमा थिए उनी पनि ।  पक्राउ परे र मंगलबजारमा थुनिए । राजनीतिको रस बसेपछि पढाइ छोक्रा लाग्दै गयो उनलाई । सेन्टअपसम्म राम्रै थियो । एसएलसी त्यति राम्रो भएन । उनले आफ्नै परिक्षा सिद्धान्त जो बनाएका थिए, कक्षामा जे पढायो, त्यति मात्रै परिक्षामा लेख्ने होइन । ‘बुबाको अगाडि पढेको छु भनेर देखाउन किताब समाउथँे । परीक्षामा चाहिं सबै प्रश्नको उत्तर समग्रमा दिन्थेँ ।’ उनले सम्झिए ‘नतिजा आएको दिन बुबाले गोरखापत्र ल्याउनुभयो । बोर्डमा आउँछ होला भन्ने सोचेर पत्रिका हेर्नुभएछ । नपाएपछि फेल भइस् भन्नुभयो ।’ तर उनी दोस्रो श्रेणीमा पास भएका थिए । उनका साथीलेचाहिं सुदिपले चाहिं पहिलो श्रेणी ल्याए । अहिले गाइनाकोलोजिस्ट छन् ।
०००

उनी सम्झन्छन्– त्यसबेला स्कूले पढाइ ‘बिगार्ने’ केही तत्व अरु पनि थिए । जस्तो कि, नजिकै अशोक सिनेमा हल थियो । कक्षा चलिरहेको बेला हलबाट चलचित्रको संवाद सुनिन्थ्यो । कक्षा छोड्दै हलमा पुग्नेहरु हुन्थे । ‘पालैपालो जाँदा सबैले फिल्म हेरेझैं हुन्थ्यो । पछिल्लो पटक हेर्नेले अघिल्लो पटक हेर्नेलाई कथा सुनाउने, पछिल्लो हेर्नेले अघिल्लोलाई सुनाउने ।’ उनी फ्ल्यासव्याकमा बहदै थिए, ‘हिन्दी फिल्म बबी १०० दिन चल्यो, त्यो सबै साथीले हेर्न भ्याए ।’ 
फिल्म मन नपराउनेलाई अर्को विकल्प थियो– माक्र्सवादी पत्रपत्रिका पाउने पत्रिका पसल थियो । त्यहाँ चीनको माइन युद्ध, कोरियाको क्रान्तिकारी द्वन्द्वआदिबारे छापिएको पत्रिका आउँथ्यो । उनी सम्झन्छन्, ‘कम्युनिष्ट बनिसकेका साथीचाहिं कक्षा छोडेर त्यहाँ पत्रिका पढ्न जान्थे ।’
०००

स्कूलको भौगोलिक अवस्था नाजुक थियो । पुस्तकालयको त के कुरा, ट्वाइलेटको व्यवस्था पनि राम्रो थिएन । त्यसैले विद्रोही सायमीले स्कूलमा धेरैपटक नाराबाजी गरे । हडतालमा सहभागी भए । ‘०३६ सालमा हडताल सुरु हाम्रै स्कूलबाट भएको थियो । त्यो बेला प्रिन्सिपलको टेबलमा कालो मसी पोखेर कालोमोसो दल्यौं भनेर हल्ला गरिदियौं ।’ उनले सम्झे, ‘हाम्रै टोली हडताल गरेर किर्तीपुरको ल्याबोरेटोरीसम्म पुगी फर्कदै के थियो, धोबिघाटमा डिएसपी नारायण बहादुर सिंह नेतृत्वको टोलीले गिरºतार गर्‍यो । त्यतिबेला जिल्ला शिक्षा अधिकारी नारायण धौभडेल थिए । उनले सबैलाई बोलाएर भने– तपाईहरु सबैजना एसएलसी दिदै हुनुहुन्छ । पढाईमा सिरियस हुनुस्, अब यस्तो नगर्नुस् । त्यसपछि छाडिदिए ।’
सायमीको भोगाइमा त्यसबेला बिद्यार्थीको जीवन कष्टकर र जिम्मेवारीपूर्ण थियो । पढ्नु पनि पर्ने, विद्यालयको भौतिक सुधारको लागि लड्नु पनि पर्ने, पुस्तकालयमा किताब नभए माग पनि गर्नुपर्ने । ‘स्कुलले अतिरिक्त क्रियाकलापको पनि पैसा लिन्थ्यो ।’ उनी सम्झन्छन्, ‘म कक्षाका पहिलो भएको कारण सबै समस्या समाधानमा नेतृत्व मैले नै लिनुपर्छ भन्ने पनि लाग्थ्यो । त्यसैले आन्दोलनमा बढी सक्रिय भइयो ।’
०००

सायमीलाई कलासाहित्यमा लाग्ने उत्प्रेरणा बिद्यालयबाटै प्राप्त भएको हो । ‘एकपटक संगीत शिक्षक आएर सबै विद्यार्थीलाई बोलाई भ्वाइस टेस्ट गराउनुभयो । मचाहिं फस्ट ब्वाइ भएकोले सबै होमवर्क सकाएर त्यहा पुग्दा पछि परें । शिक्षकले सबैको टेस्ट लिए, तर ढिला पुगेकाले मेरो लिएनन् । पछि राष्ट्रिय गानको एक ठाउँमा हाहा गर्नुपर्ने थियो । तर अघिल्लो दिन ढिला सुतेर निन्द्रा बिग्रेकाले मैले ठूलै श्वरमा हाइ गरेछु । त्यसपछि त मलाई कक्षाबाटै निकालिदिए ।’ उनले हाँस्दै सम्झे । त्यतिबेला राम्ररी गाउन पाएको भए गायक पनि हुन्थें कि भन्ने उनलाई लाग्दोरहेछ । त्यसो त उनलाई संगीतप्रति चासो हुनुको अर्को कारण हो पाटन क्याम्पसको सांस्कृतिक गतिविधि । जावलाखेलको ठूलो चौरमा हुने सांस्कृतिक कार्यक्रमले उनलाई संगीतमोही बनायो । 
फिल्मतिर अझ आकर्षित गर्ने काम पनि जावलाखेलतिर भइरहने छायांकनले गरेको उनी सम्झन्छन् । ‘मैले पहिलोपटक नेपाली फिल्म सिन्दुरको सुटिङ हेरें । हरेराम हरेकृष्णको पनि जावलाखेलमै छायांकन  देखेको थिएँ ।’ उनले भने । त्यही पृष्ठभूमीले उनलाई चलचित्र निर्देशक बनायो । 
यो क्षेत्रमा लाग्नेमा उक्त बिद्यालयबाट सायमीमात्रै हुन् । अहिले पुराना साथी फेसबुकमा भेटिदा भन्छन् रे, ‘हामीलाई नि रहर थियो त्यसमा लाग्न । तपाई चाहिँ त्यसैमा लाग्नु भएछ । हाम्रो त रहरे रह्यो ।’ बिद्यालयले पनि उनलाई त्यही कारण सम्झिरहन्छ । उनलाई खुब खुशी लाग्छ यो कुराले । 
०००

साहित्यमा लाग्ने पृष्ठभूमि पनि बिद्यालयकै थियो सायमीको । त्यसबेला नेपाली विषय पढाउने पाटनका नेवार शिक्षक थिए । ‘उनी आफैं शुद्ध नेपाली बोल्न जान्दैनथे । उनले नेपालीे पढाउँदा सबै साथी हाँस्थे । तर मैले सबैभन्दा बढी मेहेनत गरेँ नेपालीमा । ९० भन्दा कहिल्यै ल्याइनँ ।’ उनले सम्झे । त्यसो हुनुमा उनै शिक्षकको देन रहेको उनी बताउँछन्  । दशैँमा टिका थाप्न जाँदा सायमीले ती शिक्षकलाई सोधेछन्,‘तपाई यति धेरै अशुद्ध नेपाली बोल्नुहुन्छ र पनि नेपाली नै पढाउनुहुन्छ ?’ शिक्षकले उत्तर दिएछन्, ‘होइन, मलाई पनि नेपाली भाषाको माया लाग्छ । त्यही भएर त म मेहेनत गर्दैछु ।’ त्यो कुराले उनलाई भित्रैसम्म छोयो । त्यसैले उनले नेपालीमा धेरै मेहनत गरे । नेपालीको मेहनतले साहित्यतिर तान्यो । कविता लेख्न सुरु गरे उनले । ‘पाटनमा राष्ट्रिय कविता प्रतियोगिता हुँदा मैले पनि भाग लिएँ स्कूलबाट । प्रसिद्ध कवि मदनमोहन मिश्रले पनि भाग लिनुभएको रहेछ । उहाँ दोस्रो हुनुभो, म पहिलो । लाजले पुरस्कार पनि लिन गइन । पछि उहां आफैले मेरो पुरस्कार ल्याएर दिनुभो ।’ उनी सम्झन्छन् । 
०००

कला होस् या साहित्य, रंगमञ्च होस् या फिल्म । सबै क्षेत्रमा जम्न शिक्षा एकदमै जरुरी छ भन्ने सायमीको बुझाई छ । हुन त उनको समयमा यससम्बन्धी पनि पुस्तक हुन्छ र पढ्नुपर्छ भन्ने धारणा नै थिएन । तर शिक्षा लिँदा धेरै सजिलो हुने रहेछ भन्ने उनले विभिन्न घटनाबाट सिके । 
‘नृत्य प्रतियोगितामा नै पनि अरुको नक्कल गरेर नाच्नु र शिक्षा लिएर सिर्जनशील भएर नाच्नुमा फरक पर्छ । हामी नेपालमा अभिनय गर्दा आँशु झार्न प्याजको टुक्रा बोकिराख्ने र मञ्चमा जानेबेला आखाँमा राख्ने गथ्र्यौं । हामीभन्दा अग्रजहरुले चुरोटको धूवाँ राखे आँशु आउँछ भन्थे । पछि अभिनय गर्ने सैद्धान्तिक शिक्षा बम्बई गएपछि कसरी अन्तरहृदयले बोध गरेपछि आँसु आउँदो रहेछ भन्ने सिकियो ।’ मुम्बइमा चलचित्र शिक्षा लिएर उतैबाट काम सुरु गरेका सायमीले बताए ।
त्यसो त उनी पनि फिल्ममा सक्रिय हुनुअघि शिक्षक बने । त्यसबेला अझ शिक्षाको महत्व बुझे । उनी सम्झन्छन् ‘त्यतिबेला ललितपुरमा स्कूल कमै थिए । शिक्षक झनै कम । एसएलसी सकेपछि  स्कूलमा पढाउने चलन थियो । मैले पनि मोडेल आइडल स्कूल, महेन्द्र भृकुटी स्कूल आदिमा पढाए । त्यतिबेला शिक्षक र शिक्षाको महत्व अझ धेरै बुझें ।’ 
०००

‘फ्रान्सेली दार्शनीक पल भेलेले भनेका छन्– प्रतिभा दुई किसिमका हुन्छन् । इश्वरीय र मानवनिर्मित । मलाई लाग्छ, दुईमध्ये बलियोचाहिं मानवनिर्मित नै हो । मानवले आफूले निर्माण गरेको प्रतिभा नै शक्तिशाली हुन्छ । किनभने उसले मानवीय स्वभावबाटै त्यो प्रतिभा निर्माण गरेको हुन्छ ।’ प्रतिभा निर्माणसम्बन्धमा सायमीको मत यस्तो छ । उनी प्रतिभा जन्मजात हुन्छ या अनुवंशिक हुन्छ भन्ने कुरामा विस्वास गर्दैनन् । ‘हाम्रो परिवारमा बाजे देखि नै ड्राइभर थिए । त्यसैले मैले राम्रो मोटर चलाउछु भन्यो भने त्यो उठ्दो कुरा हुन्छ । कला पनि त्यस्तै हो । मिहिनेत नगरी यो आउदैन । बंशानुगत त रोग बाहेक अरु केही पनि हुदैन भन्छु म । प्रतिभा त हुदै हुदैन ।’ उनी भन्छन् । अहिलेको युगमा सबै कुरा सिक्ने एउटै माध्यम शिक्षा भएको उनको ठहर छ । ‘शिक्षा हुने बित्तिकै ९० प्रतिशत कामसहज हुन्छ । गड गिफ्टेड प्रतिभा छ, तर शिक्षा भएन भने त्यो धेरै टिक्दैन । किनकि त्यहाँ स्टक धेरै हुँदैन । त्यसैले प्रतिभालाई समृद्ध बनाउने शिक्षा नै हो ।’ उनको धारणा छ । 
०००

सायमीको बुझाई छ– ५ देखि १५ वर्षको उमेर निर्माणात्मक अवधि हो । यही बेला बिद्यार्थी के बन्न सक्छ भन्ने थाहा हुन्छ । ‘त्यो थाहा पाउनेचाहिं शिक्षकले हो । त्यसैले शिक्षकको चेतना तिक्ष्ण हुन जरुरी छ । हामीले खेल हेर्दा पनि कहिलेकाही फुटबल वा क्रिकेटको प्रशिक्षकले गलत निर्देशन दिदा कति खेल बिग्रेको देख्छौं नि । त्यस्तै हो । शिक्षकले प्रतिभा पहिचान गरेर उचित निर्देशन दिन सकेमात्रै बिद्यार्थीले प्रगति गर्न सक्छ ।’ उनी भन्छन् । तर विद्यार्थीको प्रतिभा चिनेर छान्ने काम निकै कम भइरहेको उनको भनाई छ । तर शिक्षकले त्यो हैसियत राख्नुपर्नेमा उनको जोड छ । 
܀܀܀
✍ कला अनुरागी
साभार : नुवागी मासिक

Comments