'थुक लगाएर किताबको पाना पल्टाउनेदेखि घृणा लाग्छ'

उनको हातमा किताब थियो । अगाडि थिइन् साहित्यकार शंकर लामिछानेकी पत्नी रत्ना । उनले किताब पल्टाएको देखेपछि रत्नाले भनिन्, ‘पख्नुस् त । फेरि पल्टाउनुस् त किताबको पाना,’ उनले अचम्म मान्दै फेरि पुस्तकको पाना पल्टाए । रत्नाको प्रतिक्रिया थियो, ‘ओहो, तपाईंको र शंकरको पाना पल्टाउने तरिका उस्तै रहेछ । उहाँ पनि तलबाट पाना उठाएर पल्टाउनुहुन्छ । हातको दाग त पटक्कै लाग्न दिनुहुन्न । कसैले दाग लगाए गाली गर्नुहुन्छ ।’ शंकर लामिछानेले जस्तै गरी किताब पल्टाउने व्यक्ति थिए– प्रकाश सायमी । चलचित्र निर्माण, निर्देशन, रेडियो प्रस्तुति, गीत–संगीतको अन्वेषणजस्ता कर्मले चिनिएका उनी किताबलाई कति प्रेम गर्छन् भन्ने पुष्टि गर्न योबाहेक थप दृष्टान्त आवश्यकता नपर्ला । उनको प्रेम किताबको रूपसँगमात्रै होइन, सारसँग पनि उत्तिकै छ । त्यसैको बलमा बजारमा चर्चा छ– प्रकाश सायमीले कुनै सन्दर्भ उल्लेख गर्दा पुस्तकको पृष्ठ र अनुच्छेदसमेत भनिदिन्छन् । 
उनी स्विकार्छन्, ‘म पृष्ठ र अनुच्छेदसमेत याद हुने गरी पढ्छु । मेरो पठनशैली नै यस्तो बनिसक्यो । तर, म जुन पायो त्यही किताब पढ्दिनँ । अर्थात्, थोरै किताब पढ्छु ।’ 
तथापि नेपालका अध्ययनशील व्यक्तिको गणनामा पर्ने गर्छन्, प्रकाश । 
उनी ससर्त स्विकार्छन् । ‘यसमा म आफूलाई २८/२९ नम्बरतिर पाउँछु,’ प्रकाश भन्छन्, ‘कवि तथा कथाकार दिनेश सत्याल, प्रो. शैलेन्द्रकुमार सिंह, अनुवादक तथा गीतकार तीर्थराज तुलाधर, उहाँकै भाइ दमन तुलाधरजस्ता अध्ययनशील व्यक्तित्व यो सूचीको अग्रपंक्तिमा हुनुहुन्छ ।’
०००

‘मेरो अध्ययन नख्खु जेलबाट सुरुवात भयो,’ ललितपुर, सैंबुको गोधूली संसार टोलस्थित घरमा प्रकाश सायमीले रहस्यमय सिनेमाको पहिलो संवादजस्तै वाक्य बोले । 
किन जेलबाट अध्ययन सुरु भयो ? के उनी जेलमै जन्मिएका थिए ? या पछि जेल परेरमात्र अध्ययन सुरु गरे ? जस्ता जिज्ञासालाई कायम राख्दै उनले भने, ‘पत्रकार चन्द्रलाल झासहित तुल्सीलाल अमात्य, कृष्णप्रसाद भट्टराईजस्ता नेता त्यहाँ थिए । त्यहाँ रहेका अधिकांश राजबन्दी धेरै अध्ययन गर्थे । त्यसैले मैले राम्रा गुरु पाएँ । त्यसैकारण, सानैदेखि अध्ययनप्रति मेरो रुचि बढ्यो ।’
राम्रो अध्ययन गर्ने विद्यार्थीको रूपमा आफूले धेरैपटक खाजा–बिस्कुट र डट्पेन पाएको पनि उनले सम्झिए । यो प्रसंगको क्लाइमेक्समा उनले भने, ‘म निम्न मध्यम परिवारमा जन्मिएको । बुवाआमाले राम्रो स्कुलमा भर्ना गर्न सक्नुभएन । त्यसै वेला नख्खु जेलका बन्दीले गरिब र जेहेन्दार विद्यार्थीलाई नि:शुल्क पढाउन चाहेको सूचना सार्वजनिक भयो । बुवाआमाले दिएको निवेदनका आधारमा म पनि छनोट भएँ ।’
६ महिनाको एक कक्षा मानिन्थ्यो । उनले तीन कक्षा राम्ररी पास गरे । चौथो कक्षा पूरा नहुँदै उनको पढाइ बन्द भयो । किनकि राजबन्दी त्यहाँबाट भागेका थिए । उल्टो विद्यार्थीहरू पनि पुलिसको केरकारमा उपस्थित हुनुपर्‍यो । 
त्यसपछि उनको अध्ययन श्रीचण्डी विद्याश्रमबाट सुरु भयो । त्यहाँ पाठ्यक्रमबाहिरका किताब पढ्न मनाही थियो । तर, उमेरको ग्राफसँगै बाहिरी पुस्तक अध्ययन गर्ने उनको चाहको ग्राफ पनि बढ्दै गयो । पाठ्यपुस्तकको बीचमा जीवनी वा उपन्यास राखेर त्यो चाह पूरा गर्थे उनी ।
स्कुले–जीवन सकिएपछि मात्रै उनको अध्ययनले स्वतन्त्रता पायो । 
०००

प्रकाशको अध्ययन गतिचाहिँ मुम्बई गएपछि तीव्र भयो । उनी ०४२ सालमा सिनेमा निर्माण र निर्देशनको अध्ययन गर्न मुम्बई गए । करिब आठ वर्षको मुम्बई बसाइको क्रममा उनले धेरै अध्ययन गरे । सिनेमाका साथै दार्शनिक, सांस्कृतिक, आर्थिकदेखि खेलकुदसम्म उनको अध्ययनको विषयमा पर्‍यो । त्यहाँका ‘पुस्तक संसार’जस्ता पसलले उनको अध्ययनलाई सहज बनाइदिएका थिए । ती पसलमा कुनै किताब किनेर पढिसकेपछि राख्न मन नलागे फिर्ता गर्दा दुई रुपैयाँमात्रै थोरै रकममात्रै कटाइन्थ्यो । 
पुस्तकालयको महत्त्व र गरिमा पनि उनले मुम्बईमै अनुभूति गरे । ‘त्यहाँ हरेक निर्देशक, लेखकको घरमा पुस्तकालय भान्छाकोठाजस्तै अनिवार्य हुन्थ्यो,’ उनले सम्झिए, ‘त्यसपछि मलाई आफ्नै पुस्तकालय हुनुपर्ने रहेछ भन्ने लाग्यो । पछि त्यहीँ फिल्ममा काम गर्दा पाएको पैसामध्ये १६ हजारको किताब एकैपटक किनेँ ।’
तर, थुप्रो पुस्तक सजाउने उनको चाहना छैन । ‘संकलनको हिसाबले मेरो पुस्तकालय गरिब नै छ । अझ मैले मलाई मनपर्ने ३२ वटा किताबमात्रै मसँग राख्छु भन्ने सोचेको थिएँ । तर, त्यो सम्भव भएन । अहिले मेरो पुस्तकालयमा करिब आठ सय किताब होलान् । त्यसमा मलाई मन पर्नेचाहिँ करिब डेढ सय होला ।’
०००

उनको अध्ययन ‘व्यक्तिगत’ हुन्छ । भान्साकोठा, ट्वाइलेट वा गाडीमा पढ्न मन लाग्दैन उनलाई । उनको तर्क छ, ‘अध्ययन गर्दा किताबसँग आत्मीय हुनुपर्छ । हलुवा र समोसा खाँदै तेल लागेको हातले समाउँदा किताबलाई बलात्कार गरेजस्तो लाग्छ ।’ औँलामा थुक लगाउँदै किताबका पाना पल्टाउनेदेखि उनलाई घृणा छ । 
प्रकाश एकैपटक दुईवटा पुस्तक पढिरहेका हुन्छन् । बिहान ‘हेभी’, बेलुका ‘लाइट’ । ‘बिहान दार्शनिक पुस्तकले मस्तिष्क मन्थन गर्न मन पराउँछु । बेलुकाचाहिँ सुत्न जाँदा आनन्द आउने पुस्तक छनोट गर्छु,’ उनले भने । 
उनी एउटै किताब तीन तहमा अध्ययन गर्छन् । ‘नयाँ नै किन नहोस्, पहिलोपटक लेखकको फ्यान बनेर पढ्छु । दोस्रो चरणमा पाठक बनेर कमजोरी पनि खोज्छु । अन्तिम, चरणमा मात्रै म त्यस किताबप्रति धारणा बनाउँछु । त्यसमा एउटा वाक्यमात्रै महत्त्वपूर्ण रहेछ भने पनि उपलब्धि मान्छु ।’ 
उनी आफ्नो अध्ययनलाई किताबको मूल्यले प्रभाव पार्न नसक्ने बताउँछन् । उनी मनले खाएको पुस्तकलाई जति पनि मूल्य तिर्न तयार हुन्छन् । जस्तो कि, उनले सेरेना विलियम्सको आत्मजीवनी नेपालमा मगाउँदा १० वटाबराबरको मूल्य पर्‍यो । त्यस्तै, स्टेफेन विलियम्सको ‘डार्कनेस इन्भिजिबल’ पुस्तक मगाउँदा १० वटाबराबरको ‘चार्ज’ तिर्नुपर्ने भएपछि त्यति नै संख्यामा पुस्तक मगाए । 
त्यो पुस्तक उनले अरू नौजनालाई दिए । उनी भन्छन्, ‘तर, अधिकांशले केही प्रतिक्रिया दिएनन् । पछि जगदीश घिमिरेले त्यो पुस्तक माग्नुभयो र मैले दिएँ । उहाँले त्यस पुस्तक अध्ययन गरेर किताब छनोटको प्रशंसा गर्नुभयो ।’ त्यसबाट उनले शिक्षा पनि लिएका छन् कि कुनै पनि किताब दिँदा सही मानिस छनोट गर्न सकिएन भने खेर जान्छ । उनको निष्कर्ष छ- स्वेट मार्डेन र डेल कार्नेगी पढ्नेलाई रमण महर्षीको किताब पढ्न दियो भने किताबकै सत्यानाश हुन्छ ।
०००

अधिकांशको किताब छनोटको आधार समीक्षा र ‘बेस्ट सेलिङ’को सूची हुन्छ । तर, प्रकाश त्यसलाई मान्दैनन् । उनी भन्छन्, ‘किताबको जस्तै पाठकको पनि जेनर हुनुपर्छ । आफ्नो जीवनलाई गति प्रदान गर्न अध्ययन गर्ने हो । त्यसैले आफ्नो पेसा, रुचि र क्षेत्रअनुसारको पुस्तक छनोट गर्नुपर्छ । अनिमात्रै अध्ययनको प्रभाव व्यवहारमा देखिन्छ ।’
आफ्ना लागि उपयुक्त पुस्तक छनोट गर्नुलाई उनी अध्ययन गर्न जान्नुजत्तिकै क्षमता मान्छन् । ‘तपाईं राम्रो किताब छानेर पढ्न सक्नुहुन्न भने अशिक्षितबराबर हुनुहुन्छ,’ उनले उक्ति शैलीमा भने । त्यसलाई पुष्टि गर्ने उनको तर्क छ, ‘नत्र त किताब बेच्ने सबै विद्वान् हुन्थे नि । लेखक कविभन्दा पनि दार्शनिक हुन्थे । त्यस्तो हुँदैन, किनभने उनीहरूलाई कुन किताब बेच्न उपयुक्त छ भन्ने पनि थाहा हुँदैन । जुन बिक्छ, त्यही बेच्छन् ।’
किताब छनोटमा पाठकलाई अलमल पार्नेको सूचीमा उनले समीक्षक, विक्रेता, प्रकाशक र पुरस्कारलाई राखेका छन् । राम्रोको चर्चा नै नगर्ने र खराबलाई माथि उठाउने संस्कार अधिकांश नेपाली समीक्षकमा देखेका छन् । त्यस्तै, विक्रेतालाई पनि उनी उत्तिकै दोष दिन्छन् । उनी भन्छन्, ‘विक्रेता पनि राम्रो किताब बिक्रीमा चासो देखाउँदैनन्, खालि चलेको पुस्तकमात्रै खोज्छन् । त्यसले गर्दा राम्रो किताबको परिचयबाटै विमुख हुन्छन् पाठक । प्रकाशक पनि राम्रा पुस्तक होइन, बिक्ने पुस्तकमात्रै निकालिरहेका छन् ।’ 
पुरस्कार पनि पाठकलाई अलमल पार्ने अर्को तत्त्व हो भन्ने उनको ठहर छ । उनी उदाहरण दिँदै भन्छन्, ‘महेशविक्रम शाह राम्रा कथाकार हुन् । तर, पछिल्लो कथाकृति ज्याक्सन हाइटमा उनको भन्दा पहिले मदन शमशेर राणाको नाम देखेँ । मदन सम्भ्रान्त रक्स्याहा बहुपत्नी भएका पुरुष हुन् । जसको जग्गा–जमिन पनि धेरै थियो । त्यस्ता व्यक्तिको नाम महेशको श्री लेख्ने ठाउँमा आएको छ । यसले महेशभन्दा मदनलाई नै ठूलो देखायो । यस्ता कुराले पनि पाठकलाई अलमलमा पारिदिन्छन् ।’
यस्तो विडम्बनाबाट लेखक मुक्त हुनुपर्ने उनको धारणा छ । उनको ठहर छ– त्यसपछि मात्रै पाठकले शक्तिशाली लेखक पढ्न पाउँछन् भने लेखकले पनि असल पाठक पाउँछन् । 
प्रकाश आफैँको किताब छनोटको मानक भने उनको घरमा पुगेपछि देखिन्छ । संगीत, साहित्य, दर्शन आदिका किताब उनको पुस्तकालयमा छन् । ‘कसरी करोडपति बन्ने’, ‘साथीहरूको मन कसरी जित्ने’ भन्नेजस्ता किताब ट्वाइलेटमा । उनी भन्छन्, ‘यस्ता किताबलाई मेरो पुस्तकालयमा प्रवेश छैन । चाहे ती अर्बौं प्रति नै बिक्री भएका किन नहून् ? भाइबहिनीहरूले पढ्न ट्वाइलेटमा राखेका छन् ।’ 

०००
‘बंगालीहरूको मांगलिक पर्वमा किताब किन्ने चलन छ । स्पेनमा पहिलो भेटमा केटीले गुलाफको फूल दिने र केटाले केटीलाई गुलाफको फूल दिने परम्परा छ,’ पठन–संस्कृतिबारे प्रकाश भन्छन्, ‘हामीकहाँ चाहिँ प्रेमीले अन्डरवेयर, ब्रा, ब्लाउज वा टिसर्ट किनिदेला । पार्लरमा लगेर मनपर्ने फ्लेवरको आइसक्रिम खुवाउला, तर किताब किनिदिने चलन छैन । एउटा हाकिमले राम्रो कर्मचारीलाई होटलमा टन्न रक्सी ख्वाउला, तर किताब किनेर दिँदैन । यहाँको उच्च पदस्थमा पनि त्यो संस्कार देखिँदैन ।’
उनी नेपालमा अझै अध्ययनको संस्कार विकास हुन नसकेकोमा चिन्तित छन् । अध्ययनले समाजलाई सुशिक्षितमात्रै होइन, समृद्ध पनि बनाउँदै लैजाने भएकाले पठन–संस्कृतिको विकास गर्नु आजको आवश्यकता रहेको उनले महसुस गरेका छन् । त्यसको सुरुवात राष्ट्रका जिम्मेवार व्यक्तिबाटै भए सबैले अनुकरण गर्ने उनको तर्क छ । उनले उदाहरण दिँदै भने, ‘भारतका पहिलो प्रधानमन्त्री जबाहरलाल नेहरु दिनमै चारवटा किताब किन्थे । आफ्ना लागि किन्नेमात्रै होइन, अरूलाई पनि सिफारिस गर्थे । त्यसले सबैलाई किताब किन्न उत्प्रेरित गथ्र्यो । नेपालमा त्यसो हुन सकेको देखिँदैन ।’
तर, समय क्रमसँगै पठन–संस्कृति विकास हुनेमा उनी आशावादी छन् । उनी कल्पन्छन्, ‘कुनै होटलमा साथीलाई पर्खिरहँदा किताब पढ्न पाइन्छ । मन लागे किन्न पनि सकिन्छ । नेपाल पर्यटन बोर्डमा पुगेका पर्यटकले त्यहाँ नेपालका चर्चित पुस्तक पढ्न पाइरहेका छन् । बसको अगाडि किताब राख्ने र्‍याक हुन्छ । पढ्दै यात्रा गर्नुको मजा नै बेग्लै । हरेक क्याफेमा बुक स्टल छन् । किताब पढ्दै कफी पिउनुको अर्कै आनन्द !’
܀܀܀
✍ कला अनुरागी
साभार : नयाँ पत्रिका

Comments