'माइतै बसेर बच्चा जन्माउन किन नपाउने ?'

(नेपाली साहित्यमा महिला अधिकारलाई व्यवहारिक बहसमा उतार्न सक्रिय प्रगति राई कविता, आख्यान र निबन्ध लेखनमा सक्रिय छिन् । उनको ‘बादी विज्ञप्ति’ कविता संग्रह र ‘लेखककी स्वास्नी’ उपन्यास प्रकाशित भइसकेको छ । उनको 'बिर्सिएको मृत्यु' उपन्यास प्रकाशन हुँदैछ। उनी लेखनमार्फत महिलालाई वंशाधिकार हुनुपर्छ भन्ने बहस चलाइरहेकी छिन्)

अहिलेसम्म हामीले ‘महिला अधिकार’ लाई सोलोडोलो रूपमा बुझ्यौं । त्यहीअनुसार कुरा गर्दै आयौं । त्यसैले यो अधिकार यस्तो बन्यो कि जो अधिकार नपाएर पीडित छन्, उनीहरूले नै यसलाई बुझ्न सकेनन् । त्यसैले मचाहिँ पछिल्लो समय महिला अधिकारलाई व्यवहारिक कसीमा राखेर हेर्ने, बुझ्ने र बुझाउने अभियानमा लागेकी छु । 
हामीले पाउनुपर्ने अधिकार के हो ? के नपाउँदा अन्यायमा पर्यौं ? महिला अधिकार भनेर मागिरहेको कुरा के हो ? जे पाउनुपर्ने हो, त्यही माग गर्नचाहिँ छुटेको छ कि ? यस विषयमा हामी स्पष्ट हुनु आवश्यक छ । त्यसै आधारमा मैले आफ्नो लेखनमा ‘महिलाको वंशाधिकार सुरक्षित हुनुपर्छ’ भन्दै आएकी छु । जब मानिसले आफ्नो वंश प्राप्त गर्छ, तबमात्रै संस्कृति, इतिहास र समाजमा हकदावी गर्न सक्छ भन्ने पक्षमा छु म । 

वंशाधिकार पुरुषविरोधी होइन
वंशाधिकारको कुरा उठाउनेबित्तिकै यसलाई पुरुषविरोधी तर्कको रूपमा व्याख्या गर्ने गरिन्छ । अहिलेसम्म जसरी पुरुषको वंशाधिकार चलिरहेको छ, त्यसलाई निमिट्यान्नै पारेर महिलाको वंशाधिकार चलाउने भन्ने बुझाइले यस्तो ब्याख्या भएको हो । यही ब्याख्याको कसीमा राखेर मुद्दालाई ढिसमिस पार्न खोजियो । यो कुरा नै अव्यवहारिक छ भनेर प्रमाणित गर्न लागियो ।
पुरुषलाई भन्दिनँ म, महिलाहरू नै यो बिषयमा बहस नहोस् भन्नेतिर लागे । ‘ह्या, यो वाहियत कुरा हो । कहाँ हामीले घरमा लोग्ने ल्याएर राख्ने, कसरी पाल्ने ?’ भनेर महिलाले भने । यसले हाम्रो बुझाइ कमजोर छ भन्ने प्रमाणित गर्छ । महिलाको वंशाधिकार भनेको न त पुरुषको वंशाधिकार खोस्ने भनेको हो, न त पुरुषलाई महिलाले विवाह गरेर ल्याउने र पाल्ने नै भनेको हो । यसले त महिला या पुरुष दुवैसँग वंशाधिकार रहने व्यवस्था गर्ने भनेको मात्र हो । 
अहिलेसम्मको समाजमा छोरो नभइ बंश चल्दैन भन्ने मानसिकता छ । त्यसैले एउटा घरमा दशौं छोरी जन्मिएपनि उनीहरूलाई सन्तान गनिँदैन । छोरीमात्रै जन्मिएको घर ध्वस्त भइरहेको हुन्छ । ‘मेरो वंश नै छैन, किन चाहियो मलाई सम्पत्ति ?’ भन्ने दूरदराज गाउँका अशिक्षित, अनपढमात्रै छैनन्, सहरका शिक्षित, प्राज्ञ, साहित्यकार नै छन् । ‘मेरो छोरा छैन, मैले केको लागि हत्ते गर्ने ?’ भन्दै हारेको मनोविज्ञानले उहाँहरू बोलेको सुनिन्छ । 
दोष उहाँहरूको मात्रै होइन, समाजमा नै यो मनोविज्ञान हावी छ ।  छोरी नै छोरी भएका कारण समाजले हेलाँहोचोको पात्र बन्नुपरेका उदाहरण धेरै छन् । छोराले भए भविष्यमा हेर्छ, छोरी त अर्काले लगिहाल्छ भन्ने मनोविज्ञान छ । त्यो मनोविज्ञानले छोरा हुनेलाई आत्मबल दिन्छ । छोरी हुनेले कमजोर महसुस गर्छन् । यसले महिलालाई मात्रै होइन, पुरुषलाई पनि उत्तिकै तनाव दिएको छ । आफ्नो रूचि चाहना सबैविपरित गएर भए पनि परिवारको सेवा गर्नैपर्छ भन्ने अघोषित दवाव झेल्नुपर्छ । त्यसैले महिला वंशाधिकार पुरुषलाई कमजोर पार्ने होइन, महिलालाई सम्पूर्ण रूपमा सबल बनाउने अधिकारमात्रै हो । 

प्रकाशोन्मुख उपन्यास
छोरीले माइतै बसेर सन्तान जन्माउन किन नपाउने ?
मैले ‘लेखककी स्वास्नी’ उपन्यासमा वंशाधिकारको बिषय उठाएकी छु । उपन्यासबारे विभिन्न प्रतिक्रिया आए । केहीले भन्नुभयो, ‘उपन्यास झुर छ’ । कतिले भन्नुभयो, ‘यो त बुढाको बखानमात्रै रहेछ ।’ कतिले भन्नुभयो, ‘हुँदै नभएको कुरा बुढाको सिको गरेर लेखेको रहेछ ।’ तर सबैले अन्त्यमा भन्न छुटाउनुभएन, ‘उपन्यास पढिसकेपछि महिलालाई हेर्ने दृष्टिकोण परिवर्तनचाहिँ गराउँदोरहेछ है ।’ मलाई लाग्छ, मेरो लागि त्यो ठूलो सफलता हो । तर पनि मैले जति र जसरी आफ्नो मुद्दालाई स्पष्ट पार्नुपथ्र्यो । त्यतिचाहिँ पार्न सकिनँ कि जस्तो लाग्छ । त्यसैले यस मुद्दामा थप काम गरिरहेकी छु । 
अहिले विवाहपछि घरपरिवारले नस्वीकार्दा मानसिक तनावले विक्षिप्त भएका महिला पनि धेरै भेटिन्छन् । अझ श्रीमानले नै छोडिदिँदा त त्यो तनावको तह निकै बढ्छ । छोराछोरी जन्मिसकेपछि त झनै बढी पीडा हुन्छ । अर्को विवाह गर्न पनि छोराछोरीको भविष्यको चिन्ताले दिँदैन । यदि महिलालाई वंशाधिकार हुने हो भने उनले आफ्नो माइतीघरमै बसेर पनि जीवनलाई निरन्तरता दिन सक्छिन् । छोराछोरीलाई निकालेर खेद्छु भन्ने बाबुआमा त पक्कै पनि हुँदैनन् । आफ्नै वंश निरन्तर हुने भएपछि उनीहरूले रहर नै गर्छन् । झन् गर्व नै गर्छन् ।  
अर्को कुरा हाम्रो समाजमा छोरी अर्काको घरमा गइहाल्छे भन्ने मानसिकता छ । अर्काको घरमा जान चाहनेले जान पनि पाउनुपर्छ । तर जान नचाहेमा आफ्नै घरमा बस्न पाउनुपर्छ । पुरुष ल्याउन पाउनुपर्छ । बच्चा जन्माउन पाउनुपर्छ । वंशाधिकार सुनिश्चित भएमात्रै यो सम्भव छ । त्यसको लागि कानुन निर्माण हुनुपर्छ । कानुन नभइ मान्छेले आँट गर्दैन ।

यो सुखविरोधी कुरा पनि होइन
सामान्यतः विवाह गरेर अर्काको घर जानु महिलाको दुःख होइन, सुख नै हो । पुरुषले सबै गाह्रो काम गरिहाल्छ । महिलाले सजिलो–सजिलो काम गर्यो, भइहाल्छ । तर सबैको जीवन सामान्य अवस्थामा चल्छ भन्ने होइन । कतै पुरुषले पनि पुरुषले विभिन्न बहानामा स्वीकार्दैन । कहिले समाजले स्वीकारिदिदैन । त्यो स्थितिमा महिलाले धेरै प्रताडना झेल्नुपर्छ । 
जसरी पनि अर्काको घर जानैपर्ने बाध्यता समाजले खडा गरिदिएको छ, त्यसमा गएपछि फर्केर आउने बाटो बन्द हुन्छ । कुनै काम गर्न जाँदा सफल भए पनि, असफल भए पनि फर्केर आउने ठाउँ भएमात्रै फेरि अर्को योजना बनाउन सकिन्छ  गएपछि फर्किने बाटै नभएपछि त्योभन्दा खतरनाक जीवन के हुन सक्छ ? 
यसमा अरूलाई दोष लगाउनुभन्दा पनि महिला आफैं कहाँ चुकेका छौं भनेर हेर्नुपर्छ भन्ने मलाई लाग्छ । कतिपय मेरै साथीहरूले भने, ‘को आइदेला घरमा बस्न ? अहिले सबै लोग्नेले गरिरै’छ । आनन्दले बस्न छोडेर केको दुःख भोग्ने ?’
कुरा स्वाभाविकै पनि हो । सुख नै छ भने त्यसलाई किन दुःख खोज्नु ? सुख भोगिरहेकालाई यो अधिकारको कुरा आवश्यक नहोला । सुख पाइरहेकाहरूले आफ्नो लोग्ने छोडेर विद्रोह गर्नुपर्छ भन्ने आशय मेरो होइन । तर यही अधिकार नपाउँदा जिन्दगी दुःखको भासमा फसिरहेकाहरूसँग विद्रोहको विकल्प नै छैन । त्यो विद्रोहको अधिकार वंशाधिकारले मात्रै सुनिश्चित गर्छ । त्यसको लागि कानुन बन्नु आवश्यक छ । 
अभियान : आठ मार्च
हामीले वंशाधिकारलगायत महिला मुद्दामा कानून निर्माणको लागि दवाव पैदा गर्न अन्तराष्ट्रिय महिला दिवस अर्थात ‘आठ मार्च’को सन्दर्भ पारेर दवाव समूह निर्माण गर्न खोजिरहेको छु । त्यसमार्फत बहस अघि बढ्नेछ । ‘आठ मार्च’ मनाउने स्वरूपमा पनि परिवर्तन हुनुपर्छ भन्ने लाग्छ । कतिपयले तीजलाई महिलाको चाड भन्छन् । तर त्यसमा पुरुषको पूजा गरिन्छ । पुरुषको प्रेम पाइरहेको महिलाले पूजा गर्नुलाई विरोध गर्न उपयुक्त नहोला । तर जो पुरुषबाटै प्रताडित छ, उसले पनि पूजा गर्नुपर्ने चलनलाई सही मान्न सकिँदैन । त्यसैले तीजलाई आफ्नो मान्न नसक्नेहरूको चाडको रूपमा ‘आठ मार्च’लाई स्थापित गर्ने सोच छ । त्यसका लागि तीजको सकारात्मक पक्ष यसमा समावेश गर्न सकिन्छ । भेटघाट, नाचगानलाई यसमा जोड्ने योजना छ । त्यस्तै महिला आन्दोलनबारे विभिन्न पक्ष र व्यक्तित्वबीच बहस पनि यसै सन्दर्भमा गर्ने योजना छ । 
यसो गर्दा साहित्यकार पनि राजनीतितिर लागेको भन्ने पनि तर्क आउन सक्छ । तर सामान्यतः साहित्य दुईखाले हुन्छ । एउटा मनोरञ्जनात्मक, अर्को समाजको हितको लागि लड्ने । समाजको हितका लागि लड्ने साहित्य राजनीति नै हो । त्यसैले मैले लेखिरहेको साहित्य पनि राजनीति नै हो । यसको ध्येय समाज परिवर्तन हो । म परिवर्तनकै मुद्दामा लेख्छु र सक्रिय हुन्छु । 
܀܀܀
प्रस्तुति : कला अनुरागी
साभार : रातोपाटी

Comments

Popular posts from this blog

नेपाल ओरियण्ड म्याग्नेसाइट: स्वार्थको सिकार