'महिलाका लागि क्रान्ति भएन'

वादी विज्ञप्ति कवितामार्फत चर्चामा आएकी प्रगति राई ‘लेखककी स्वास्नी’ उपन्यासबाट आख्यानकार बनेकी छिन् । महिला मुद्दालाई सशक्त रुपमा उठाएका कारण उनको उपन्यास चर्चामा छ । आख्यानकार राजन मुकारुङकी जीवनसंगीनीसमेत रहेकी उनी अहिले रोजगारीको सिलसिलामा कोरियामा रहेकी बेला गरिएको इमेल वार्ता :

🅠 ‘वादी विज्ञप्ति’ कविता संग्रहको चर्चापछि पाठकको आशा थियो– तपाई अर्को दमदार कविता कृतिका साथ आउनुहुनेछ । तर तपाई त आख्यानतिर पो फट्किनुभयो ?
➲  ‘मेरो जीवनमा एउटै मात्र पुस्तक हुनेछ’ भन्ने सोचेर तीनवर्ष अगाडि नै उपन्यास थालनी गरेको थिएँ । कविता संग्रह प्रकाशन गर्ने सोच नै थिएन ।  तर शुभचिन्तकको सल्लाहअनुसार पाठकसामु जान सजिलो होस् भनेर कविता प्रकाशन गरिएको हो ।

🅠 जीवनमा एउटैमात्र किताब हुन्छ भन्नेचाहिं किन सोच्नुभयो ? अब दुइटा त भइसक्यो, अरु पनि तयारीमा होलान ? 
➲  खासमा म लेखक होइन । मेरो कुरा अरुले नलेखिदिएकाले मात्रै हो मैले लेखेको । 
उपन्यास लेखिञ्जेल त ‘अब उप्रान्त लेख्ने कुरा सोच्दिनँ’ भनेर मनमनै दसचोटि कान समातेको थिएँ । फेरि आजकाल, पाठकका हौसलाले मन कताकति चुलबुल भएझैं हुन्छ । अहिलेको कम्पनी पनि राम्रो छ । दिनमा आठ घण्टा काम गरेपछि छुट्टि हुन्छ । त्यसपछि जे गरे पनि हुन्छ । साहूले पनि धेरै राम्रो व्यबहार गर्छन् । ‘यो राईलाई सधैं लेखिबस्नुपर्छ’ भनेर कापीकलम किन्दिन्छन् । साथी तिलीसरा मस्राङ्गी पनि नपाउनुको मान्छे छिन् । ‘ढङ्ग न सङ्ग किन चुलातिर घस्रनु पर्‍यो, लेखेर बस्नू’ भन्छिन् । अनि त एउटा कथा सङ्ग्रह बनाउने कि भन्ने सोचिरा’छु ।
यो उपन्यासलाई सहयोगी केही कथाहरु र कोरियामा पन्ध्र–बीस वर्ष बिताइ सकेका नेपालीहरु, जो सँग न कोरियन आइडि छ न त नेपालमा परिवार नै, । त्यस्ता व्यक्तिको साधारण अनुभूति बटुल्ने काम गरिरहेछु । त्यो भन्दा पहिले मेरो कविताकृति कोरियन भाषामा अनुवाद गरिने कुरा भइरहेकाले कविता बनाउनमा व्यस्त छु ।

🅠 अब तपाईको उपन्यासतिरै लागौं, ‘लेखककी स्वास्नी’ले नै ‘लेखककी स्वास्नी’ लेख्नु कत्तिको संयोग हो ?
➲  ‘लेखककी स्वास्नी’ व्यङ्ग्यात्मक शिर्षक हो । संसारको दु:ख कष्टबारे चिन्तित हुने व्यक्ति (लेखक) पनि महिलाका दु:खबारे मौन बस्छ भन्ने आशयमा उपन्यासको पात्र लेखक रहन गएको हो ।
साहित्यानुरागीका लागि नेताभन्दा लेखक नै अलि बढि प्यारो लाग्ला भनेर पनि मैले लेखक रोजेको हो । 

🅠 उपन्यासको पात्र सुशान्तको आनीबानी, जातीय पहिचानसहितको संघीयताप्रतिको उसको लगाव र साहित्यिक संगठनमा देखिएको अभिरुची, मदन पुरस्कारको चर्चा आदिले त ठ्याक्कै राजन मुकारुङको चित्र आउँछ नि ? 
➲  राजन मुकारुङले मदन पुरस्कार पाउनु पहिल्यै ‘लेखककी स्वास्नी’ प्रकाशन भएको हो । उपन्यासको पात्रलाई धेरैले राजन मुकारुङ नै सोचेका छन् र त्यस्तै पनि देखिएको छ । तर यसबारेमा समीक्षक हरि अधिकारीले स्पष्ट लेखेका छन् कि त्यो पात्र राजन मुकारुङजस्तो देखिए पनि अरु नै हो, जो सङघीयताबारे विभिन्न विचार राख्दछन् । यसर्थ म अझ स्पष्ट पार्न चाहन्छु कि, ‘लेखककी स्वास्नी’ राजन मुकारुङजस्तै अनेकन लेखकमाथि लेखिएको उपन्यास हो । यसमा पुर्वाग्रही नभइदिन हुन अनुरोध गर्दछु ।

🅠 उपन्यासको पात्र लेखक कम राजनीनिक कार्यकर्ता बढी छ । उपन्यासको नाम ‘लेखककी स्वास्नी’ भएपनि लेखक र उसकी स्वास्नीबीचको सम्बन्धको जटिलता र आयामलाई समेट्न सकिएको छैन भनेर समीक्षकले आलोचना गरेका छन् नि ?
➲  लेखकलाई लेखनमा भन्दा धेरै राजनीतिमा प्रयोग गरेको अवश्य नै हो । किनभने लेखाई सिद्धान्त हो र गराई व्यबहार हो । अहिलेको जमानामा दुबैकुरा एकसाथ गएको छ कि छैन भन्ने कुरालाई दर्शाउन खोजेको हुँ । सम्बन्ध जटिलताबारे म सहर्ष स्वीकार्दछु, यसमा धेरै कुराहरु छुटेका छन् । यो पुस्तकको पुनर्लेखन गर्न नसक्नु पनि ठूलो कमजोरी हुन आएको छ । अहिले पनि यो पुस्तक मैले इन्टरनेटमा मात्रै देखेको छु, छुन पाएको छैन । अर्को कुरा, दुईवटा मुद्दालाई एउटै पुस्तकमा कोचेर राखेको छु । यसो गर्नु मेरो रहर भने होइन, बाध्यता हो । निर्दोष मानिस माथि लगाइएको आरोपले मलाई लेख्न वाध्य गराउँछ । ती आरोपित मानिस हुन् महिला । तर दुर्भाग्यवश, अहिलेसम्म महिलाका बारे महिलाले नै लेखेर सहयोग गर्ने कुरा अझै सोचाइ भन्दा परको बिषय छ । साँच्चै भन्नुपर्दा अझै पनि महिला अवला अनपढजस्तै देखिएका छन् । त्यसैले बाध्यतावश पुरुषरुपी भाँडामा महिलारुपी परिकार पस्केकाले भाँडा अनुसारको परिकारको स्वाद नआउँदा सबैलाई नै नमिठो लाग्दछ । यो गल्ति म स्वीकार्छु ।

🅠 तपाईले पुरुषका लागि लेखिएको महिला बिशेष उपन्यास भनेरै भन्नु पनि भएको छ । भनेको के हो ? 
➲  महिलालाई पुरुषले सार्‍है नै धेरै प्रश्न सोध्छ । महिला किन पुरुषजस्तो बलवान नभएकी ? किन पुरुषजस्तो बहादुर नभएकी ? महिला किन पुरुषजस्तो...नानावली नभएकी ? आदि प्रश्न पुरुष हिजो पनि सोधिरहन्थ्यो, आज पनि सोधिरहन्छ । अब भोलि त्यहि प्रश्नको भारी पुरुषलाई नबोकाऔं भनेर यो पुस्तक लेखिएको हुनाले पुरुषका लागि भनिएको हो ।

🅠 ‘स्वास्नी’ शब्द नै प्रयोगको कारणचाहिं के हो ? 
➲  जसको पसिना खाएर लेखकले प्राण धान्छ, उसैलाई लेखकले अर्थात उनका  पाठकले बेलाबेलामा मान्छे हुनुको हैसियत सोध्छ । तिनै स्वास्नीको हैसियतबारे उपन्यासमा पढ्न पाइन्छ । लेखकीय जीवन प्राय: अभावमा गुज्रीन्छ र ‘स्वास्नी’ शब्दसँग पनि दु:खको लेपन देखिन आउँछ । यसर्थ श्रीमतिको सट्टा ‘स्वास्नी’ लेखेको हुँ । 

🅠 तपाईले उपन्यासमा कुनै दल, सिद्धान्त वा क्रान्ति महिलाका लागि भएको छैन भनेर भन्नुभएको छ । यो त विभिन्न प्रकारका क्रान्तिको प्रक्रियाबाट आएका राजनीतिक शक्तिका लागि चुनौति नै भयो नि, होइन र ? 
➲  हजुर, त्यस्तै नै देखिएको छ । किनभने उहिले राणाको पालामा पनि महिलाले आफ्नो स्थान लोग्ने कै वरिपरी खोज्नु पर्दथ्यो, प्रजातन्त्र आयो, लोकतन्त्र आयो, तर छोरी जन्मिएको आँगनमा कहिल्यै घाम आएन ।

🅠 महिलालाई बंशाधिकार, सरकारी पहुँचमा विशेष अधिकारका कुरा उठाउँदै पुरुषलाई महिलाले बिहे गरेर घर लान पाउनुपर्ने, छोरा पाउन लोग्ने साट्न पाउनुपर्नेजस्ता बिषय उपन्यासले उठान गरेको छ । यो बहसमात्रै हो कि यसका लागि केही गर्ने बेला भइसक्यो ? 
➲  उपन्यासको मुख्य दुई मुद्दा नै महिलालाई बंशाधिकार र सरकारी पहुँचमा विशेष अधिकार हुन् । जबसम्म यी दुई कुरा कानुनमा लागू हुँदैन, तबसम्म महिलाले पूर्ण मानिस हुनुको अधिकार उपभोग गर्न पाउदैनन् । 
त्यस्तै, महिलाले बिहे गरेर घर लान पाउनुपर्ने र छोरा पाउन लोग्ने साट्न पाउनुपर्ने कुरा त्यस्ता सोच भएका व्यक्तिका लागि हो, जसले महिलालाई मान्छे मान्दैन । चेतनशील व्यक्तिका लागि यसले कुनै महत्व राख्दैन या फरक पार्दैन । जसले महिलालाई जीवनको आधार मान्दछ, ज्यूँनुको अर्थ ठान्दछ, त्यस्ता सोच भएका पुरुषलाई त महिलाले वर्षमा एकचोटि पुजेर कहाँ पुग्छ र ? दिनमा तीनपल्ट धुपधुवाँर गरे हुन्छ । (फुर्सद हुँदाका कुरा है ।)
मूख्य कुरा, चेतनाले मानिसमा परिवर्तन थप्दै जान्छ । महिलाका लागि वंशाधिकार अहिले अनौठो लागे तापनि निकट भविश्यमै स्थापित हुने कुरा हो । मलाई अलि हतार लागेर लेखिहालेको मात्रै हो ।

🅠 कोरियामा काम गर्दागर्दै उपन्यास लेख्नुभयो । उपन्यासको बीज के हो ?  कसरी उपन्यास लेख्नुभयो ? नेपालको राजनीतिक र भौतिक परिवेशलाई जीवन्त उतार्न कत्तिको सहज या जटिल भयो ? पृष्ठभूमी बताइदिनुस् न ।
➲  मैले नेपालमा हुँदा नै उपन्यास थालनी गरीसकेको थिएँ । कम्तिमा पच्चीस प्रतिशत सकिएको थियो । तर त्यो हरायो । 
गल्ति मेरै थियो, म अफिसमा बिदा हुनेबेलातिर दैनिक तीस मिनेट उपन्यास लेख्थें । त्यसो गर्दा अफिसबाट साधारण चेतावनी त आइरहेकै थियो तर बेवास्ता गरेर लेखिरहेको थिएँ । घरमा पनि दुईवटा कम्पूटर थियो तर अफिसमा लुकिलुकी लेख्नुको मज्जै बेग्लै । अनि त एकदिन कम्प्युटरबाट मेरो फाइल अकस्मात हरायो । एक घण्टा रोएँ, भोलिपल्ट दिनभरि कोठामै सुतेँ ।
पछि, कोरिया आइयो, तैपनि लेख्ने भूतले छाडेन ।  यहाँ पनि उस्तै रह्यो । सुत्नुअघि राति एकघण्टा (१० देखि ११ बजे) लेख्ने तालिका बनाएको थिएँ । साथीहरु सोध्थे– ‘उपन्यास लेखेर कति पैसा कमाइ हुन्छ ?’ त्यसको मसँग उत्तर थिएन, तर पनि लेखि नै रहेको थिएँ । 
त्यसपछि साहूको चेतावनी आयो–‘दसबजे पछि कोठामा बत्ती बलेको देखिएमा जे पनि कार्वाही हुनसक्छ ।’ अनि त लेख्न सकिनँ । अहिले सोच्दा लाग्छ, खुब डर लागेछ क्यारे । त्यसपछि कम्पनी छाडेर भाइ राणाहाङ ईन्द्रको कोठामा बसेर लेखिसिद्याएँ । 
कोरियामा रहे पनि नेपालको परिवेशबारे म मात्रै होइन सबै नै जानकार हुन्छन् । किनकि हामीले न यहाँको पत्रिका पढ्न सक्छौँ, न त टेलिभिजनका भाषा नै बुझ्छौँ । कोही छन् भने तिनीहरु अपवादमात्रै हुन् । त्यसैले, हामीले सोच्ने/हेर्ने भनेको नेपालको परिवेश नै हो । हाम्रो भूत/वर्तमान र सबै सोचाइ नेपाली नै रहिरहन्छ । र, विदेशमा बसेर पनि नेपाल दुरुस्त लेख्न सक्छौँ । 
उपन्यासको बीजचाहिँ सानै हुँदाको एउटा प्रसंग हो । एकदिन बाबालाई के प्रशङगमा हो कुन्नि सोधेँ,– ‘अनि आपा, सप्पै कुरा दाजैहरुको लागि मात्रै रैछ । हाम्रो लागि खोइ त ?’ बाबाले उत्तर दिनुभयो– ‘छोरीहरुले अर्काको घरमा खोज्ने हो सबैथोक । तिमेरले जे जति हो पाउने, त्यही पाए पाउँछौ । नपाए सन्तोक गर्नुपर्छ ।’ बाबाको कुराले खङ्ग्रङ्ग भएँ । आफ्नै बाबालगायत घरआगन सबै कुरा बिराना लागे र म चुपचाप पछाडि फर्किएर रोएँ । त्यहि दिनदेखि आफ्नो कर्मलाई सल्ट्याउन सकिन्छ कि सकिन्नँ भन्ने प्रश्नले मलाई पछयाइरह्यो र यो पुस्तक लेखेँ ।

🅠 अलिकति व्यक्तिगत कुरा गर्न अनुमति मागें, तपाइको भोगाईको लेखक (राजन मुकारुङ) पनि उपन्यासमा चित्रण गरेजस्तै गैरजिम्मेदार र बदमास छ ? 
➲  (हाँसो) । भन्छन् नि, भनौं भने आफ्नो मान्छे, नभनौं भने के के ।  उपन्यासको पात्रजस्तैजस्तै छ । ऊ चुरोट नखाइ एकमिनेट बस्न सक्दैन । म चुरोटको धुवाँ आयो भने एकमिनेट टिक्न सक्दिनँ । अन्तत: नजिक बस्नुभन्दा टाढा बस्नुले नै सम्बन्धमा माधुर्यता आउँदोर’छ । यसको मतलब यो होइन कि एकार्कामा प्रेम छैन । प्रेम त टाढाबस्दा झन् झ्यांगिदो रहेछ । किनभने कल्पनामा मलाई चुरोट गन्हाउँदैन । उपन्यासमा उसको पनि चरित्र केही मात्रामा मिसमास गरेको छु । तर उसले सोच्छ कि– ‘यो उपन्यासभरिको सप्पै मै हुँ ।’ तर एकजनाको चरित्रले पुस्तक बन्न सक्दैन भन्ने त थाहा छ उसलाई । त्यै पनि बुझ पचाइटोपल्छ र भन्छ–‘मलाई किन जँड्याहा लेखेको ? यो प्रभाकर भन्ने स्त्रीलम्पट को हो ?’ म भन्छु–‘त्यै त, पुरुषलाई माया गर्ने महिला चाहिँ इतिहासमा अहामयी भएर बाँच्छिन् । महिलालाई सहयोग गर्ने पुरुष चाहिँ पुरुषकै व्याख्यामा स्त्रीलम्पट र ल्वाँढ नामले पुकारिदो रै’छ ।’ मैले यति भनेपछि एक महिनालाई फोन कार्ड किन्न पर्दैन । उसले मेरो फोनै उठाउदैन ।

🅠 लेखक र ‘लेखककी स्वास्नी’ को भूमिका एकैपटक निभाउँदा कत्तिको चुनौति आउँदो रहेछ ? ‘इगो प्रब्लम’ कत्तिको हुन्छ ?
➲  एकदम मज्जा आउँछ । धेरै लेखकको सङ्गत गरेको छु मैले । उनीहरुको जीवन सङगीनीको व्यथा बुझेको छु । ती कुरालाई पुस्तकमा उतार्न पाउँदा त एकदम मज्जा आउँछ । संसार भुलिन्छ । जोगी हुन्छु कि क्या हो झैँ पनि लाग्छ । लेखक भन्नाले पुरुषलाई नै बढि इङिगत गरेँ, किन कि महिला लेखक बिमला तुम्खेवाजी, मोमिला दिदी, उषा शेरचन दिदीहरु मातेर लडिहिडेको देखेको छैन । 
अनि ‘इगो’ को कुरा गर्नुपर्दा एकदमै अप्ठेरो पर्न आउँछ । लेखकीय हिसाबले एक प्रतिश्पर्धी झैँ लाग्छ । चर्चित भयो भने पनि इष्र्या लाग्छ । सङ्सँगै आयो भने पनि उछिन्ला कि भन्ने पीर पर्छ । पछि रह्यो भने पनि कस्तो चित्त दुख्छ । जे गर्दा पनि सुख हुँदैन ।
܀܀܀
💧 कला अनुरागी
साभार : नयाँ पत्रिका

Comments