‘प्रेममा जब स्वार्थ छिर्छ, तब कारोबारमा बदलिन्छ’

नर्वेजियन नाटककार हेनरिक इब्सेन (सन् १८२८–१९०६)  नेपाली साहित्य र रंगमञ्चका लागि परिचित नाम हो । अंग्रेजी साहित्यका विद्यार्थीले उनलाई पाठ्यक्रममै पढेका हुन्छन् भने उनका नाटक पुतलीको घर (अ डल्स हाउस), महान शिल्पी (मास्टर बिल्डर्स) र हेड्डा ग्याब्लर काठमाडौंको थिएटरमा मञ्चन भइसकेका छन् । २८ माघदेखि उनकै नाटक ‘पिलर्स अफ सोसाइटी’को नेपाली रूपान्तरण ‘समाजका नाइके’ शिल्पी थिएटरको गोठाले नाटकघरमा मञ्चन भइरहेको छ ।
इब्सेनको सिर्जन–जीवनमा ‘पिलर्स अफ सोसाइटी’ निकै महत्वपूर्ण रह्यो । सन् १९७७ मा यो नाटक लेख्दा उनले १४ नाटक लेखिसकेका थिए । ती सबै पद्य संरचनामा थिए र कुनैले पनि अपेक्षित चर्चा वा सफलता प्राप्त गर्न सकेका थिएनन् । झण्डै दुई बर्षको अवधिमा निकै पटक पुनर्लेखन गरेको यो नाटक भने ले गद्य संरचनामा लेखेका थिए । सामायिक यथार्थलाई चित्रण गरेर लेखिएको यो नाटकबाट उनको सफलताको ढोका खुलेको थियो । नाटक लेख्दा उनी जर्मनीमा थिए । सन् १८७७ को १४ नोभेम्बरमा ((शिल्पीले वितरण गरेको नाटकको ब्रोसरमा भने सन् १९६८ मा भनिएको छ । तर सन्दर्भस्रोतहरूमा सन् १९७७ भनिएको छ) यो नाटक पहिलोपटक डेनमार्कको ओडेन्स थिएटरमा मञ्चन भयो । त्यस्तै १८ नोभेम्बरमा रोयल डेनिस थिएटर, कोपेनहेगनमा दोस्रो मञ्चन भयो । इब्सेनको मूल भाषा डेनिसबाट अंग्रेजीमा अनुवाद भएको पनि यो पहिलो नाटक थियो । नेपाली सन्दर्भमा इब्सेनको यहाँ मञ्चित नाटकमध्ये यो पुरानो हो । 
नाटक गर्नुको विविध मूल्य हुन्छन् । तथापि साधारणतः सहमत हुन सकिने अवधारणा हो कि यो एउटा कलात्मक र प्राज्ञिक कर्म हो, तथापि यसलाई समाजले आफ्नो सन्दर्भ र भाषामा बुझ्न चाहन्छ । त्यसका आधारमा हेर्दा विदेशी नाटक गर्नुको पहिलो चुनौती हो सान्दर्भिकता । निर्देशक घिमिरे युवराज यो मामिलामा सचेत देखिन्छन् । उनले छनोट गरेका नाटकका आधारमा भन्न सकिन्छ कि जति पुरानो नाटक छाने पनि त्यसको नेपाली समाजमा सामयिक सान्दर्भिकता छ कि छैन भन्ने कुरामा ध्यान दिन्छन् । ‘समाजका नाइके’ अघि उनले चार सय बर्ष पुरानो नाटक ‘तार्तुफ’ मञ्चन गरेका थिए । तर त्यसको पनि नेपाली समाजमा सान्र्दभिकता उत्तिकै पुष्टि भएको थियो । ‘समाजका नाइके’मा पनि उनले त्यो सचेतता पुष्टि गरेका छन् । 
त्यस्तै नाटकमा अभिव्यक्त संस्कृति, जीवनशैली र तथ्यसन्दर्भलाई प्रस्तुत गरिने भाषामा ढाल्नु विदेशी नाटक मञ्चनको अर्को चुनौति हो । यसमा अनुवादकको पनि उत्तिकै भूमिका हुन्छ । युवराजले नाटक सन्दर्भमै विद्यावारिधि गरेका र किशोरकालबाटै अनुवादकर्ममा हेलिएर पारंगत बनेका डिा. शिव रिजालको अनुवादकला यसमा उपयोग गरेका छन् । यस क्रममा डा. रिजालले नेपाली सामाजिक धरातलको संस्कृति, मनोविज्ञान र जीवनशैलीको चित्र उतार्न गरेको मिहिनेत नाटकमा प्रस्टै देखिन्छ । 
यथार्थवादी नाटक भएकाले बुझ्नका लागि दर्शकलाई कुनै झन्झट छैन । तर इब्सेनले नाटकमा आफ्ना विशेष कला प्रस्तुत गरेका छन् । त्यसैले यसको बगाइ साह्रै सरलचाहिँ छैन । नाटकको कथाका रहस्य बिस्तारै उघ्रिँदै जान्छ, उसरी अर्थ पनि झन् पछि झन् खुल्दै जान्छ । नाटकको केन्द्रमा एक व्यापारीको कथा छ, जो सफल व्यापारी त हुन्छन् नै, सहरमा समाजसेवी र नेताको रूपमा उत्तिकै लोकप्रिय छन् । तर उनको व्यापार, समाजसेवा र नेतागिरीभित्र लुकेका अनेक कथा नाटकसँगै पर्दाफास हुँदै जान्छ । प्रेम, सम्बन्ध, विस्वासदेखि धोका, अपराध र भ्रष्ट्राचारसम्मका कथाले नाटकलाई संवेदनशील र रोमाञ्चक बनाउँछ । स्वार्थले प्रेमलाई कसरी कारोबारमा बदलिदिन्छ भन्ने कथा निकै बलियो र बिम्बात्मक छ । त्यसो त नाटकमा राजनीतिक मुद्दा पनि सांकेतिक रूपमा आएकै छ । यूरोपियन औद्योगिक क्रान्तिपछि निर्माण हुँदै गरेको पुँजीवादी संरचना निर्माणको कथा यसमा प्रतिबिम्बित छ । मजदूरलाई विस्थापित गरी मेसिनको प्रयोग गरेर बढीभन्दा बढी नाफा कमाउन चाहने निर्मम उद्योगीको मनोविज्ञान र त्यसले मदजूरलाई दिएको पीडाको कथा नाटकमा छ । नेपाली सन्दर्भमा यो ठ्याक्कै नमिले पनि यसको बिम्बचाहिँ ग्रहण गर्न सकिन्छ ।  
युवा पुस्तामा देखिने ‘अमेरिका क्रेज’ नेपाली सन्दर्भमा दुरुस्तै मिल्छ । नाटकमा प्रयोग गरिएको जहाजलाई नेपालीमा हवाइजहाज बनाइएको छ । तथापि त्यसले बिम्बमा खास असर गरेको छैन । इब्सेनले नाटकमा जहाजलाई विशेष बिम्बका रूपमा प्रयोग गरेका छन् । थोत्रो भइसकेको जहाजलाई टालटुल गरेर चलाउन चाहने उद्योगीमार्फत संशोधनवादी मनोविज्ञान देखाइएको छ । महिलाहरूको निरीहता र पितृसत्ताको शासनको चित्र नाटकमा छ । नेपाली शासन, प्रशासन र व्यवहारमा यो देखिँदै आएको कुरा हो । नाटक दुखान्त छ, तर इब्सेनले यसलाई भिन्न रंगमा देखाउँछन् । त्यसले नाटकलाई रोमाञ्चक बनाउँछ । नाटकले अन्त्यमा आदर्श संकेत गर्छ– सत्य र स्वतन्त्रताको भावना नै समाजका खम्बा ‘पिलर्स अफ सोसाइटी’ हुन् । नाटकको शिर्षकलाई नेपालीकरण गर्दाचाहिँ यसको आदर्शलाई भन्दा पनि व्यंग्यलाई बढी ध्यान दिइएको देखिन्छ । 
नाटकको मूल पात्र मोहनकुमार चौधरीको भूमिकामा हरिहर शर्मा छन् । दुई दशकपछि नाटकमा फर्काएर युवराजले मोलेको चुनौतिलाई शर्माले आफ्नो ‘ब्रान्डेड’ अभिनयमार्फत ‘ग्राण्ड सक्सेस’मा बदलिदिएका छन् । पौने दुई घन्टा लामो नाटकको केन्द्रीय भूमिकामा रहेर शर्माले गरेको शसक्त अभिनयले नाटकलाई जीवन्त बनाएको छ । उनलाई मञ्चमा हेर्दा लाग्छ, उनीबाहेक सायदै कसैले यो भूमिकामा न्याय गर्न सक्थे होलान् । त्यस्तै वरिष्ठ कलाकार देशभक्त खनालको अब्बल अभिनयले पनि नाटकको ज्यान कसिलो भएको छ । अरुणा कार्की र बादल भट्टले आफ्नै ‘फ्लेबर’मा प्रभाव जमाएका छन् । पवित्रा खड्का र सरिता साह ‘नोटिसेबल’ छन् । चन्द्रप्रसाद पाण्डे आफ्नो भूमिकामा सुहाएका छन्, मेघराज अधिकारीको अभिनयमा चाहिँ ‘नाटकीयता’ अलि बढी भएको प्रतीत हुन्छ । कृष्णभक्त महर्जन, जीवन बराल, ओजस्वी भट्टराई, सुमन कुइँकेल, पुष्पा यादव, राजु राई, काजी राना, इनिसा भट्राई र सविन कट्टेलको आ–आफ्नो पात्रलाई जीवन्त बनाएका छन् । रंगकर्मका तीन पुस्तालाई एउटै सेटमा उत्तिकै ‘इफोर्ट’सहित हेर्न पाउनु नाटकको ‘बोनस’ हो । 
मञ्च निर्माणमा शिल्पीले केही समयदेखि आफूलाई अब्बल प्रमाणित गर्दै आएको छ । यस नाटकमा पनि राजन खतिवडा र कुमार आलेको मञ्च परिकल्पनाले सलाम खान्छ नै । जीवन बरालको प्रकाश परिकल्पनामा भाव खुलेकै छ । वेशभूषमा सरिता शाहलाई ‘कमेन्ट’ गर्ने ठाउँ छैन । देव न्यौपानेको संगीत र नाटकको लय मिलेको छ । यी सप्पैको संयोजन भएको मज्जाको नाटक बनेको छ– समाजको नाइके, जुन मंगलबारबाहेक १४ फागुनसम्म साँझ साँढे चार बजे हेर्न सकिन्छ । 
त्यसो त नाटकलाई छोटो पार्न सकिने सम्भावनालाई नजरअन्दाज गरिएको हो कि भन्न सकिने ठाउँचाहिँ छ । जस्तो कि, मोहनकुमार चौधरी र रेखा दिक्षितबीचको प्रेमविगतको पटक–पटकको चर्चालाई छोट्याउन सकिन्थ्यो । नाटकमा अरू पनि केही ‘लुज स्पेस’ देखिन्छन्, जसलाई अलि कसिलो बनाउँदा पनि बिम्बमा आघात नपारीकन नाटकको ज्यान खिरिलो पार्न सकिने देखिन्छ । आखिर, निर्देशकले भनेकै छन्, ‘हरेक नाटक मञ्चसम्म आइपुग्दा मूल कृतिमा आधारित नै हुँदो रहेछ ।’
܀܀܀
तस्बिरहरू : बिजु महर्जन
प्रकाशित : रातोपाटी

Comments