‘पशुपतिप्रसाद’मा भरोसायोग्य दीपेन्द्र

निर्देशक दीपेन्द्र के खनालले ‘द युगदेखि युगसम्म’ मा चल्तीका नायक राजेश हमालको ‘गेटअप’ परिवर्तन गरिदिएका थिए । उक्त सिनेमाको प्रसंग निकाल्दा अहिले पनि साथीहरू भन्छन्, ‘ए, त्यो राजेश हमालले कपाल तलतिर झारेको सिनेमा !’ हेरिसक्दा सम्झन केही पनि बाँकी नहरने सिनेमा बढी बनिरहेको बेला दीपेन्द्रले गरेको कामले छोएको थियो । लागेको थियो, ‘केही प्रभाव छोड्ने काम गर्न खोज्ने मान्छे रहेछन् ।’
उनको अर्को सिनेमा आयो, ‘धर्मा’ । त्यसमा मनिषा कोइरालालाई प्रस्तुत गरेर उनले ‘सम्झना आधार’ छोडे । चपली हाइटको चर्चा त चर्कै भयो । यसको ‘सेक्सुअल प्रेजेन्टेसन’ पछ्याउने ‘ट्रेन्ड’ नै देखियो एक समय नेपाली सिनेमामा । भलै, त्यसका अन्य पक्षबारे कम चर्चा भए । जे होस्, नेपाली सिनेमामा ‘चपली हाइट’ सम्झिइरहने नाम बन्यो । त्यसपछि नेपालमा पहिलोपटक थ्रिडी प्रविधि प्रयोग गरेर ‘भिजिलान्ते’ बनाए । त्यसपछिको सिनेमा ‘झोले’मा दयाहाङ राई र प्रियंका कार्कीको ‘स्क्रिन’ जोडी जमाइदिए । भन्नुको अर्थ, यसअघि उनले जति पनि सिनेमा बनाए, ती व्यवसायिक हिसाबले औसत भए । सिनेमाको कलात्मक मूल्यका हिसाबले पनि उस्तै देखिए । तथापि एउटा विशेषता देखाए उनले । हरेक सिनेमामा केही नै केही नयाँ प्रयोग गरे, जसको प्रभावले उनको सिनेमा सम्झन सजिलो छ । प्रविधि र सोच दुवै अद्यावधिक हुन नसकिरहेको ‘सर्कल’भित्रै पनि त्यसरी काम गर्न खोज्नु र सक्नुले दीपेन्द्रलाई नेपाली सिनेमाको भरोसालाग्दो निर्देशक मानिनु स्वाभाविक हो । त्यसैकारण उनको पछिल्लो सिनेमा ‘पशुपतिप्रसाद’ प्रतिक्षित रह्यो । शुक्रबार रिलिज ‘पशुपतिप्रसाद’ले आफ्नो वृत्तमा तरंग पैदा गरिरहेको छ । ‘मल्टिप्लेक्स’मा तुलनात्मकरूपले ‘पशुपतिप्रसाद’का ‘शो’हरू बढी छन् । सबैजसो मिडियाले आफ्नो सिनेमा कोलममा यसको चर्चा गरिरहेकै छन् । समीक्षकहरूले कलम चलाइ नै रहेका छन् । ‘छुटाउनै नहुने’, ‘हेर्नैपर्ने’, ‘उत्कृष्ट’ लगायतका सुन्दर शब्दावली यसका लागि खर्च भइसकेको छ । त्यसलाई यहाँ दोहो¥याउन आवश्यक ठानिनँ । यस आलेखमा मैले समग्र सिनेमाको ‘ग्रामर’को कसीमा घोटेर ‘स्टार’वाला परिणाम दिन पनि खोज्दिनँ । सिनेमामार्फत देखिएको निर्देशकीय सम्भावना र सवलतामाथि केही टिप्पणी गर्न खोज्छु ।
सिनेमा निर्देशकको विधा हो । तथापि यो सामूहिक विधा हो । त्यसैले सिनेमाको निर्देशक सामूहिक नेतृत्व हो । र, सिनेमाको मूल जस र अपजस निर्देशकले नै पाउँछ । ‘पशुपतिप्रसाद’ले अहिले जति पनि चर्चा र वाहवाही पाइरहेको छ, त्यसको पहिलो जसको हकदार दीपेन्द्र हुन् नै । कलाकारले देखाएको क्षमताको जसको हकदार कलाकार नै हुन्, तर उनीहरूलाई प्रस्तुत गर्ने सोच निर्देशककै हो भन्ने भुल्नुहुँदैन । मैले भन्न खोजेको के हो भने, नेपालमा सिनेमाको चर्चा कलाकारबा सुरु हुन्छ र कलाकारमै टुंगिन्छ । नेपाली सिनेमा राम्रो बन्दै गएको छ भन्ने तथ्य स्वीकार गर्ने हो भने निर्देशक राम्रा आउँदैछन् भन्ने तथ्य पनि सँगै स्वीकार गर्नु आवश्यक छ । दीपेन्द्र त्यसैमध्येका एक हुन् । ‘सुनगाभा’बाट सुवर्ण थापा, ‘कबड्डी’ श्रृंखलाबाट रामबाबु गुरुङलगायत नेपाली सिनेमालाई आवश्यक निर्देशक हुन् भन्ने लागेको हो । 
दीपेन्द्रले भनेका थिए, ‘यसअघिका चलचित्र मैले बजार र निर्माताले कस्तो खोज्छन् भन्ने कुरालाई केन्द्रमा राखेर बनाएको थिएँ । तर यसमा मैले गर्न खोजेको काम देखाएको छु ।’ उनको काममा त्यो देखिन्छ । 
‘पशुपतिप्रसाद’को शक्ति कथा छनोटबाट सुरु हुन्छ । दीपेन्द्रले आफ्नो कथालाई खगेन्द्र लामिछानेका लेखनक्षमतासहित सिनेमामा प्रयोग गरेका छन् । भावनासँगै संस्कृति मिसाइदिएपछि कथा बलियो त हुन्छ नै, दर्शकको रुचिलाई पनि आकर्षित गर्छ भन्ने कुरा यसअघि नै ‘कबड्डी’ श्रृंखलाबाट प्रमाणित भइसकको छ । ‘पशुपतिप्रसाद’को कथामा दुइवटा उच्चतम् भावनाको प्रवाह भएका कथा छन् । एक, भूकम्प । अर्को, पितृप्रेम । यी दुवै कथा यस्ता हुन्, जसलाई कुनै पनि नेपालीले आफ्नो जीवनबाट अलग्याएर हेर्न सक्दैन । त्यो भावनात्मक कथालाई ‘हिन्दू देवादिदेव’को क्षेत्रमा बुनिसकेपछि दर्शक उसै संवेगात्मक हुने भइहाल्यो । मृत्युको संवेदनासँग जोडिएको पितृ र भूकम्पको कथा मुत्यकै सघनबोध हुने पशुपति आर्यघाटमा बुन्नुले सिनेमाको कथामा दीपेन्द्रको बलियो क्षमता देखिएको छ । उसो त, त्यसमा संवेदनालाई गहिरोगरी शब्द र दृश्यमा प्रस्तुत गर्न लामिछानेको मिहिनेत पनि उत्तिकै देखिएको छ । लामिछानेले नाटक र सिनेमा ‘टलकजंग भर्सेस टुल्के’ आफ्नो सिर्जनात्मक शक्ति देखाइसकेका छन् । उनले प्रयोग गर्ने मौलिक लवज र संवादका तरिकाले पनि कथालाई उत्तिकै बलियो बनाएको छ ।
सिनेमामा केही अस्वाभाविक संयोग छन् । जस्तो कि, कहिल्यै नदेखेको मीतबालाई काठमाडौं कहिल्यै नआएको मीतछोराले फ्याटटै भेट्छ । तर यस्ता अस्वाभाविक लाग्ने संयोगलाई स्वाभाविक संयोगले ढपक्कै ढाकिदिएको छ । त्यो हो, जसले हृदयले कथालाई अनुभूत गरेर कथा लेखेका छन्, उनैलाई त्यसमा अभिनय गराउन पाएका छन् दीपेन्द्रले । यो संयोगले कथालाई पात्रमा रुपान्तरण गर्दा अलि सजिलो त भयो होला नै दीपेन्द्रलाई । 
कलाकार बर्षा शिवाकोटीलाई प्रस्तुत गर्ने शैलीमा पनि दीपेन्द्रको क्षमता देखिन्छ । दुःख र पीडाको सिमसिमे झरीमा बर्षालाई इन्द्रेणीको रूपमा प्रस्तुत गरेका छन् । इन्द्रेणीको उपस्थितिले सौन्दर्यबोधको आनन्द दर्शकले प्राप्त गर्छन् । दीपेन्द्रको सोचलाई सिनेमामा उतार्न बर्षाले पनि उत्तिकै मिहिनेत गरेको देखिन्छ । सिनेमाभर बर्षाको ‘मौन’ अभिनय छ, जसको रहस्य अन्तिममा खुल्छ । बर्षालाई निर्देशकले जसरी विम्बात्मक रूपमा प्रस्तुत गरेका छन्, त्यो नेपाली सिनेमामा देखिने दुर्लभ दृश्य हो । दृश्य र कथाका लागि भने हलसम्म दुःख गर्नुको विकल्प छैन ।
सिनेमामा द्वन्द्वको आधार धेरै बलियो छैन । तर विपीन कार्कीको अभिनय नै त्यसको बल हो । यसलाई हेरेर पनि भन्न सकिन्छ, कलाकार छनोटमा दीपेन्द्रले मिहिनेत गरेका छन् । स–साना भूमिकामा पनि रंगमञ्चका कलाकार छनोट गरेर उनले सिनेमाका हरेक ईंट बलियो बनाएका छन् । पशुपति क्षेत्रमा देखिने जीवन्त पात्र ‘हनुमान’लाई अर्थपूर्ण रूपले प्रयोग गरेका छन् निर्देशकले । रविन्द्रसिंह बानियाँले त्यसलाई अनुहार नदेखाइकनै जीवन्त बनाइदिएका छन् । 
सिनेमाको अन्त्यले पनि निर्देशकलाई प्रमाणित गरेको छ । सिनेमाको कथा अघि बढ्दै जाँदा संयोगान्त दृश्यको अनुमान दर्शकले गर्छन् । मूलतः नेपाली सिनेमामा प्रयोग हुने ‘फर्मुला’का कारण पनि फरक अन्त्यको परिकल्पना कमैले गरेका हुन्छन् । तर सिनेमा जसरी अन्त्य हुन्छ, त्यसले आम अनुमान अनुत्तिर्ण हुन्छ । तर आमअनुमान गलत प्रमाणित गरेरमात्रै सिनेमाको अन्त्यमा निर्देशक बलियो देखिएका होइनन् । सिनेमाको कथामा प्रयुक्त यथार्थलाई अन्त्यमा कुनै काल्पनिकताको जलप लगाइएको छैन । आम सन्दर्भमा जे परिणाम आउने हो, त्यही परिणाम दिएर सिनेमाको अन्त्य गरिएको हो । यसले सम्पूर्ण सिनेमाको कथामा लय निर्माण भएको छ । 
यी सबलताका बाबजुद सिनेमाको कथा छनोटमा कमजोरी नभएका होइनन् । रुढीवादलाई खण्डन नगरी यथास्थितिको पक्षपोषणमा उभिनु कथाको पहिलो कमजोरी हो । अर्कोचाहिं यसले संघर्ष र आशावादलाई किचेर निराशाको धुवाँ बढी उडाउँछ । त्यसबाट प्रदुषित हुन सक्ने सोचको प्रभावबारे निर्देशक सचेत हुनुपथ्र्यो कि ? सचेत भएरै त्यसो गरिएको हो भने त त्यो झनै ठूलो बहसको विषय हो । हुन त यस्ता विषय उठाउँदा सिनेमा सन्देश कि मनोरञ्जन भन्ने बहसतिर पनि मोडिन सक्छ । तर तेस्रो विश्वमा यो बहस आवश्यक छ । अझ त्यहाँ, जहाँ सिनेमालाई प्रभावकारी सञ्चारमाध्यम मानिन्छ । सञ्चारमाध्यमको उद्देश्य मनोरञ्जनमात्रै हुनै सक्दैन । यो सर्वस्वीकार्य तथ्य हो ।  
यी बहसभित्रैबाट भन्न सकिने कुराचाहिँ के हो भने दीपेन्द्रले ‘पशुपतिप्रसाद’मार्फत एक अब्बल निर्देशक प्रमाणित गरेका छन् । नेपाली सिनेमाबाट भड्किरहेको नयाँ पुस्ता र बौद्धिक वृत्तलाई नेपाली सिनेमा हेर्न र विमर्श गर्न आकर्षित गर्ने पछिल्ला केही सिनेमामध्ये ‘पशुपतिप्रसाद’ एक हो । सिनेमामा निर्देशकीय क्षमता पनि देखाउने र व्यावसायिक सफलतालाई पनि उत्तिकै ध्यान दिने रामबाबु गुरुङ, सुवर्ण थापालगायतका निर्देशकको ‘ट्रेन्ड’लाई दीपेन्द्रले अझ बलियो बनाएका छन् । यसो हुनु नेपाली सिनेमाको लागि निकै महत्वपूर्ण घटना हो । यसले नेपाली सिनेमाबारे नेपाली दर्शकले सोच्ने दृष्टिकोणमा परिवर्तन ल्याएको छ र हलसम्म तानील्याएको छ । जति नेपाली सिनेमाप्रति दर्शकको मनोविज्ञान सकारात्मक बन्छ, त्यति नै यसको क्यानभास बलियो बन्दै जान्छ । त्यसपछि निर्देशकले आफ्नो क्षमता पूर्ण देखाउन सक्ने फराकिलो मैदान पनि बन्छ । त्यसैले नेपाली सिनेमा क्षेत्रले दीपेन्द्र के खनाललाई भरोसा गर्नुपर्छ । ‘पशुपतिप्रसाद’भन्दा पनि बलिया सिनेमा यिनको मस्तिष्कमा खेलिरहेका छन् । ‘पशुपतिप्रसाद’ले पाएको ‘हेभी डोज’को सकारात्मक प्रतिक्रियाले त उनको काँधमा पनि बोझ बढेकै छ । अहिलेको लागि बधाई तथा भावी दिनको लागि शुभकामना दीपेन्द्र के खनाललाई  ।
܀܀܀
✍ कला अनुरागी
साभार : रातोपाटी

Comments