'आमा हुनुहुन्छ, र त घर छ'

पम्फा भुसाल, प्रवक्ता, माओवादी केन्द्र
‘आमा, म स्कुल जान्नँ के !’, पाँच बर्षकी बच्चीको जिद्दी थियो ।
‘होइन छोरी, पढ्न त जानुपर्छ नि । पढेपछि पो ठूलो मान्छे बनिन्छ’, आमाले हात समाउँदै आँगनमा ल्याएर भनिन् ।
‘नाइँ, म जान्नँ’, बच्ची आँगनको डिलमा थुचुक्कै बसेर भनी ।
‘त्यसो भए मैले सिलाउन लगाएको लुगा पनि लगाउनु पर्दैन । फुकाल् ।’ आमाले रिस देखाइन् ।
‘लु त !’ बच्चीको झोंक पनि उस्तै थियो । लुगा फुकालिदिई ।
‘त्यो कानमा लगाएको गहना पनि फुकाल् ।’, आमाले अर्को डर देखाइन् ।
बच्चीले कानमा लगाएको रिङ फुकाल्न खोजी, तर सकिन ।
गुत्थिँदै भनी, ‘आफैं फुकाल्नू ।’
छोरीको कुरा सुनेर आमा गलिन् । उनको आँखा रसायो । आखिर छोराछोरीसँग सधैं आमा हार्छिन् ।
छोरीलाई अँगालेर लुगा लगाइदिँदै भनिन्, ‘होइन, छोरी तिमी के भयो भनेचाहिँ स्कुल जान्छ्यौ त ? अब त पढ्नुपर्छ । नपढ्ने मान्छेलाई त झोला बोकेर आएको जोगीले लैजान्छ ।’
छोरीलाई आमाको तर्साइले खासै छोएन, तर के भयो भने स्कुल जान्छ्यौ भन्ने प्रश्नले बढी तान्यो । बच्चीले ठानी, ‘यही हो मौका, आमालाई आफूले चाहेको माग्ने ।’
भनी, ‘मलाई दौरासुरुवाल कोट सिलाइदिनुपर्छ ।’ आखिर बच्चीलाई स्कुलै जान मन नभएको चाहिँ होइन । कतिपय साथीले स्कुल जान्नँ भनेर झगडा गरेको देखेकी थिई । त्यही मौकामा आफूलाई मन लागेको कुरा पनि माग्न पाइयो भनेर मनमनै दंग थिई । अनुहारमा घुर्कीको भाव ल्याउन पनि खुब गाह्रो परिरहेको थियो ।
आमाले भनिन्, ‘हुन्छ छोरी भोलिदेखि स्कुल जाऊ । म बुबालाई कपडा किन्न पठाउँछु । अनि सिलाउन लगाउँला । तर स्कुलचाहिँ जानुपर्छ है ।’
‘हुन्छ’, आमाको कुरा भुइँमा झर्नेबित्तिकै बच्चीको मुहारमा मुस्कान फैलिएको थियो । त्यो मुस्कान मेरो थियो । र, आमाले मेरो स्कुल नजाने जिद्दीको अगाडि हारेर फलाटिनको दौरासुरुवाल कोट सिलाउन लगाउनुभएको थियो । त्यसपछिका दिनमा मैले कहिल्यै पनि स्कुल नजाने जिद्दी गरिनँ । बरु ‘अब त स्कूल नजा’भन्दा पनि गइरहेँ । र, आफ्नो हरेक कदममा जिद्दी गरिरहें । किनकि मैले त्यसैदिन थाहा पाएकी थिएँ– सन्तानका अगाडि आमाले हार्छिन् ।

आमाको अठोट
अर्घाखाँचीको किमडाँडा–५, आँपखोलामा जन्में । सदरमुकामबाट गाउँ पुग्न एक घन्टा लाग्थ्यो । पछि सदरमुकाम सन्धीखर्कमै हाम्रो घर बन्यो । माध्यामिक तह मैले सदरमुकामकै घरमा बसेर पढ्न पाएँ ।
छोराको आशा गर्दागर्दै जन्मिएकी साइँली छोरी थिएँ म । त्यतिबेलाको समय र समाजमा छोराको निकै ठूलो महत्व थियो । छोराकै प्रतीक्षामा आमाले दस सन्तान जन्माउनुपर्यो । चार जना त बाँचेनन् । अहिले पाँच दिदीबहिनी छौं । र, भाइ सबैभन्दा कान्छो हो ।
समाजले छोराको जतिसुकै महत्व देखोस्, आमाको माया र स्नेहमा छोरा वा छोरीको अन्तर हुँदैन । तर समाजको दवाव त उत्तिकै हुन्थ्यो । एकातिर, समाजले दिने दवावको तनाव, अर्कातिर ममताका प्रतीक छोरीहरू हुँदाको खुशी । यस्तो तनाव र खुसीको घामपानीमा पर्नुहुन्थ्यो आमा । म बुझ्ने भएदेखि नै आमाले झेलिरहेको त्यो पीडा महसुस गरेँ ।
तर आमाहरू पीडालाई पचाएर अठोटमा बदल्छन् । मेरी आमाको अठोट थियो, ‘म छोरीहरूलाई पनि पढाउँछु ।’ आमाको अठोटमा बुबाको पनि विरोध थिएन । तीसको दशकको सुरुवातमा छोरीलाई पढाउनु दुर्लभ साहस थियो । तर मेरी आमामा त्यो साहस देखियो । उहाँले सबै छोरीलाई स्कुल पठाउनुभयो । जेठी र माइली दिदीले पनि पढ्ने मौकाचाहिँ पाउनुभयो । तर उहाँहरूको ८–९ बर्षमै विवाह भयो । त्यतिबेला छोरीको सानैमा विवाह गरिदिने चलन नै थियो, त्यसमाथि पनि लगातार छोरी जन्मिएपछि कसैले सुनाइदियो, ‘सानै उमेरमा कन्यादान गरिदियो भने छोरा जन्मन्छ ।’ त्यही अन्धविश्वासका परेर दिदीहरूको सानैमा विवाह भयो ।
जेठी दिदीको विवाह हुँदा त म केवल तीन बर्षकी थिएँ । त्यसैले थाहै भएन । तर माइली दिदी र मेरो उमेर दुई बर्षको मात्रै थियो । त्यसमाथि, हामी सँगै स्कुल जान थालेका थियौं । उस्तै फ्रक लगाएर साथीजस्तै हात समाउँदै, रमाउँदै स्कुल जान्थ्यौं । तर तीन कक्षा पनि पार नहुँदै दिदीको विवाहको कुरा छिनियो । त्यसले मलाई नराम्रो लाग्यो । धेरै कुरा त बुझ्ने उमेर नै भएको थिएन, तर त्यति छिटै दिदीको विवाह गरिदिने कुरामा म सहमत थिइनँ । त्यसैले कुरा छिनेर दही खुवाएको दिन नै मैले चिच्याएर विरोध गरेकी थिएँ । रुँदै भनेकी थिएँ, ‘माइली दिदीको बिहा गरिदिनु हुन्न ।’
विवाहको दिन पनि जन्ती आउँखा पनि म चिच्याएर रोइरहेकी थिएँ । त्यसैले मलाई कोठामा थुनेर राखियो र मेरो आवाज नसुनून् भनेर ठूलो स्वरमा रेडियो बजाइएको थियो । बाध्यताले त्यसो गरे पनि मेरो रुवाइले आमालाई झन् पीडा भएको हुनुपर्छ । उहाँलाई पनि छोरीलाई बच्चैमा अन्माएर पठाउन रहर पक्कै थिएन । त्यसैले पनि हुनुपर्छ, उहाँले मेरो विवाहको कुरा खासै निकाल्नुभएन । मैले पढाइमा राम्रो गरिरहेकी थिएँ । कक्षामा पहिलो–दोस्रो भइरहन्थेँ । त्यसले उहाँलाई पनि आँट दियोझैं लाग्छ । मेरोसम्मुख त भनेको सुनिनँ, तर छरछिमेकमा भनेको सुन्थें, ‘पढेकी छोरीहरू कहाँ हामीले भनेको समयमा विवाह गर्छन् र ?’ त्यो समयमा आमाले छोरी पढाउन जति संघर्ष गर्नुपरेको थियो, मेरो जीवनशैली र व्यवहारप्रति समाजको आलोचनाको पनि उत्तिकै सामना गर्नुभएको थियो । आमाको त्यस्ता व्यवहारले ममा अझ साहस भरिएर आउँथ्यो ।

आमाको ‘बोल्डनेस’
मेरी आमाका हरेक क्रियाकलाप ‘बोल्ड’ लाग्थे मलाई । जसले अप्रत्यक्ष नै भए पनि मलाई बल दिइरहन्थ्यो । बुबा पनि हरेक निर्णयमा आमाको मतमा निर्भर देखिनुहुन्थ्यो । त्यसैले कुनै पनि कारोबारमा ‘नानीका आमा’ भनिहाल्नुहुन्थ्यो । जेठी दिदीको बोलाउने नाम ‘नानी’ भएको कारण बुबाले आमालाई ‘नानीको आमा’ भनेर सम्बोधन गर्नुहुन्थ्यो । बुबालाई केही चाहियो भन्यो भने ‘आमालाई भन्’ भन्नुहुन्थ्यो । त्यसबाट परिवारमा आमाको नेतृत्वदायी भूमिका मैले महसुस गरेकी थिएँ ।
हाम्रा साइँलाबुबा एकदम रकमी हुनुहुन्थ्यो । हजुरबुबाले बुबाका सबै भाइलाई सम्पत्ति बराबर बाँडिदिनुभएको थियो । तर हाम्रो परिवारमा छोरा नभएको देखेपछि हाम्रो भाग पनि उहाँले दावी गरेर मुद्दा नै हाल्नुभयो । त्यो मुद्दा लड्ने क्रममा आमा कयौंपटक अदालत पुग्नुभयो । एकपटक पुनरावेदनका लागि पोखरा जाँदा मलाई पनि लिएर जानुभएको थियो । पछि, मुद्दा जित्नु पनि भयो । त्यसरी मुद्दा लड्न अग्रसर भएका अरू महिला मैले देखेकी थिइनँ । आमामा देखिएको नेतृत्वको त्यही क्षमता ममा प्रसार भएको थियोझैं लाग्छ ।

आमाको विश्वास
स्कुल पढ्दा सधैंजसो म प्रथम भएँ । आमाको व्यवहारले थाहा हुँदा उहाँ मप्रति वर्ग र विस्वास दुवै गर्नुहुन्थ्यो । तर समाजको दवाव पनि उत्तिकै थियो । त्यही दवावमा परेर ‘अब पुग्यो नि त, पढ्न छोडिदेऊ’ भन्नुहुन्थ्यो । तर मैले थाहा पाइसकेकी थिएँ, उहाँलाई पनि मैले पढिरहेको ठीक लागिरहेको छ भन्ने । त्यसैले म जिद्दी गर्थें । आमा फेरि हारिदिनुहुन्थ्यो । प्राथमिक तहबाट माथि गएपछि हरेक बर्ष आमाको र मेरो ‘तँ कुटेजस्तो गर्, म रोएजस्तो गर्’ चल्थ्यो झण्डै एक महिना । र, उहाँ छरछिमेकीलाई भन्नुहुन्थ्यो, ‘के गर्नु, भनेको फिटिक्कै मान्दिनँ ।’
त्यतिबेला छोरीलाई पढायो भने चिठी लेखेर प्रेम विवाह गर्छन् भन्ने डर फैलाइएको थियो समाजमा । छोरीले त्यसरी ‘नाक काटिदेली’ भन्ने पीर स्वभाविक रूपमा आमामा पनि देखिन्थ्यो । तर त्यो पीरलाई छोरीको माया र विश्वासले ढाकिदिन्थ्यो । म पनि बाचा गर्थें, ‘आमा, अरूले आशंका गरेजस्तो नराम्रो काम म कहिल्यै गर्दिनँ । ढुक्क हुनस् ।’ तब न आमा, उहाँ ढुक्क बनिदिनुहुन्थ्यो । उहाँ ढुक्क नभएको भए कसरी अघि बढ्न सक्थें र ?
०३६ सालमा एसएलसी पास गरें । त्यसपछि निर्णय सुनाएँ, ‘अब काठमाडौं गएर पढ्छु ।’

मेरो निर्णय सुनेर परिवार स्तब्ध भयो । सामाजिक दवावका कारण अब पढाइ रोकिदिए हुन्थ्यो मनस्थितिमा परिवार थियो । त्यसमा पनि छोरीलाई आफूभन्दा पर काठमाडौं पठाउनुपर्ने पीरले आमा छट्पटिनुभयो । तर मेरो जिद्दी थियो, ‘म अझ पढ्न चाहन्छु ।’ त्यसो त पढाइको कुरा एउटा थियो, मलाई राजनीतिमा रस बसिसकेको थियो । अनेरास्ववियूको सदस्यता लिइसकेको थिएँ । सानोमा आफूले जे गरे पनि ‘छोरा जस्तो’ भनिदिँदा किन छोरीले गरेको कामलाई छोरीकै रूपमा स्वीकार गर्न नसकेको होला भन्ने मनमा आउँथ्यो । घरमा काम गर्ने दलितलाई गरिने अछुतको व्यवहारले मन कुँडिन्थ्यो । उनीहरूको कमजोर आर्थिक अवस्थाले चिन्तित बनाउँथ्यो । रेडियोमा महिलाको नाम कहिले आउँछ भनेर सुनिरहन्थेँ । अल इन्डिया रेडियो वा बिबिसीमा महिलाको नाम सुन्दा गर्व लाग्थ्यो । त्यसैले राजनीति गर्नुपर्छ, जनताको शोषण गर्ने पञ्चायत ढाल्नुपर्छ र कम्युनिष्ट व्यवस्थाका निम्ति लड्नुपर्छ भन्ने चेतनामा पैदा भइसकेको थियो । विद्यार्थी संगठनको सदस्यता लिएपछि टंक भुसाल (जसको ०३७ सालमा राज्यले हत्या गर्यो), रामचन्द्र मैनालीलगायतले दिनुभएको पुस्तकले ममा त्यो चेतनालाई अझ बलियो बनाएको थियो ।
तर परिवारमा म राजनीतिमा लाग्छु भन्नसक्ने स्थिति थिएन । त्यतिबेला राजनीति निकै कठिन थियो । अझ व्यवस्थाविरोधी राजनीतिमा लाग्नु त धेरै खतरनाक थियो । त्यसैले मैले भनें, ‘म पढ्न जान्छु । पढिसकेपछि जागिर खाउँला । भाइको पनि रेखदेख गरूँला, तपाईंहरूको पनि हेरविचार गरुँला ।’
आमा चिन्तित देखिनुभयो । उहाँलाई पढ्ने कुराले त खुशी नै बनाएको हुनुपर्छ तर काठमाडौं जाने कुरामा बढी चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘पढ्न त पढ । तर यहीँ बुटवलमा पढ न । एड् पढ्यो भने जागिर पनि सजिलै पाइन्छ रे !’
तर म मान्नेवाला थिइनँ । अझ महिलाले पढ्ने त ‘एजुकेसन’ हो भनेर समाजको मान्यता सुनेपछि त्यसको पूरै विरोधी भएकी थिएँ । म स्कूलमै पनि यस्तो मान्यताको विरोधमा उभिएकी थिएँ । छात्राले नाच्ने गाउने भन्ने चलन थियो, तर म कहिल्यै त्यसमा सहभागी भइनँ । हाजिरजवाफमा भाग लिन्थें, जसमा छात्रमात्रै हुन्थे । रेडियो बढी सुन्ने भएर मेरो सामान्य ज्ञान राम्रो थियो । त्यसैले जिल्लास्तरीय हाजिरीजवाफ हुँदा त्यहाँ भाग लिन जाने एक्ली छात्रा हुन्थें म ।
कलेजमा पनि म इन्जिनियरिङ पढ्न चाहन्थें । ‘केटीले इन्जिनिरिङ पढ्ने !’ भनेर जिब्रो टोक्ने समय थियो त्यो । त्यतिबेला मभन्दा अघिदेखि नै राजनीतिमा सक्रिय सावित्रा भुसाल (जो, अहिले एमाले केन्द्रीय सदस्य हुनुहुन्छ) पनि पढ्नै भनेर काठमाडौं आइसक्नुभएको थियो । त्यही उदाहरण दिँदै मैले आमालाई भनें, ‘सावित्रा पनि त जानुभएको छ । म उहाँसँगै बस्छु । बेला–बेला आइहाल्छु । मलाई नरोक्नु न आमा !’ आमा त्यहाँ पनि हार्नुभयो सन्तानका अगाडि । उहाँले अनुमति दिनुभयो । नेतृत्वले अनुमति दिएपछि परिवार र समाजको असहमति उस्सै हावा खुस्केको बेलुन भइगयो । म काठमाडौं आएँ र पुल्चोक इन्जिनियरिङ कलेज पढ्न थालें ।
‘छोरी मान्छेले इन्जिनियरिङ पढ्न सक्दैनन् रे नि !’
समाजले ‘इन्जिनियरिङ पो पढ्न थालेको !’ भन्दै जिब्रो टोकेको देखेपछि आमाले भन्नुभयो । तर मैले भनें, ‘किन नसक्नु आमा । यो त सप्पै पुरुषहरूले मात्रै सबै काम गर्न सक्छन् सोचका कारण यस्तो भनेका हुन् ।’ मेरो कुरामा आमा फेरि ढुक्क हुनुभयो । म पनि उसैगरी ढुक्क भएँ ।

आफूलाई त राजनीतिक उद्देश्य र त्यसले पैदा गरेको जोशले केही फरक पर्दैनथ्यो । तर आमाको पीर बढ्थ्यो । छोरीलाई के होला भन्ने चिन्ता त हुन्थ्यो नै, समाजमा भनिदिन्थे, ‘कत्ति न छोरी पढ्न पठाएकी होइन ? अब जेल परी ।’

आमाको नियास्रो
काठमाडौं आएर केही समय सावित्रा भुसालसँग बसें । उहाँको विवाह भएपछि कोटेश्वरमा ‘धन दिदी’कहाँ बसें ‘पेइङ गेस्ट’ भएर । पछि बहिनी र भाइ पनि आएपछि फेरि परिवारिक वातावरण भयो ।
काठमाडौं आएपछि मैले आमालाई खुब ‘मिस’ गरेँ । बेलुका खाना खाँदा पनि आमाको सम्झना आउँथ्यो । आमाले पस्किदिएको खाना खानुको मज्जै अर्कै हुन्थ्यो नि त । आफूले पकाएको खाना मीठो हुँदैनथ्यो, अनि सम्झना आमाकै । बाटोमा सानो ठेस लागे पनि आमाकै सम्झना । खल्तीमा पैसा सकिए पनि आमाकै सम्झना । वास्तवमै आमाको काखमा हुँदा जति धेरै भोगेँ भने पनि जीवन भोगिएकै हुँदोरहेनछ । आमाको काखबाट टाढा भएपछि पो बोध हुँदोरहेछ । मलाई त्यस्तै बोध भयो । त्यसैले छुट्टी हुनेबित्तिकै हुर्दुराउँदै घर पुग्थेँ । घर पुग्न सजिलो थिएन । दुई दिन हिँडेर एक दिन गाडी चढ्नुपथ्र्यो । त्यसैले भरपर्दो साथी नभइ निस्कन सकिँदैनथ्यो । साथी खोज्दा कहिले केही दिन कलेज छुटाएर जानुपथ्र्यो त कहिले आउँदा कलेज छुटिसक्थ्यो । तर पनि आमाबुबाको सान्निध्य पाउनका लागि कलेज छोड्नु कुनै ठूलो कुरा लाग्दैनथ्यो ।
हुनुसम्मको तनाव त घरबाट फर्केपछि हुन्थ्यो । हामी त आइपुग्थ्यौं, तर कसरी पुगेहोलान् भन्ने चिन्ताले सताइएका आमाबुबा सम्झन्थ्यौं । त्यहाँमाथि आमा खुबै पीर गर्नुहुन्थ्यो ।
‘पुग्नेबित्तिकै आवा गर है !’ हिँड्ने बेला आमा गह्रुँगो आवाजले भन्नुहुन्थ्यो । त्यही आवाजले पछ्याइरहन्थ्यो । त्यसैले आएको भोलिपल्ट त्रिपुरेश्वर गएर आकासवाणीमा सकुशल आइपुगेको सन्देश छोड्थेँ । कहिले त आवा चल्दैनथ्यो । त्यसैले अक्षरका आधारमा पैसा तिरेर सन्देश छाडिदिन्थ्यौं । त्यहाँबाट सन्देश भनिदिन्थे । उताकाले टिपेर सन्देश पुर्याइदिन्थे । कहिलेकाहीं चिठी पनि लेख्थेँ, तर चिठी कहिले पुग्ने हो ठेगान नहुने हुनाले प्रभावकारी लाग्दैनथ्यो ।

आमाको सुख
काठमाडौं आएपछि केही समय त पढाइ रफ्तारमा भयो, त्यसपछि राजनीतिले ढपक्कै ढाक्यो । आन्दोलनका क्रममा गिरफ्तार हुन थालियो । आफूलाई त राजनीतिक उद्देश्य र त्यसले पैदा गरेको जोशले केही फरक पर्दैनथ्यो । तर आमाको पीर बढ्थ्यो । छोरीलाई के होला भन्ने चिन्ता त हुन्थ्यो नै, समाजमा भनिदिन्थे, ‘कत्ति न छोरी पढ्न पठाएकी होइन ? अब जेल परी ।’
त्यतिबेला आमाले के जवाफ दिनुभयो होला र समाजसँग लड्नुभयो होला भन्ने कल्पनाले पनि मलाई अहिले आमाप्रति गर्व लाग्छ । समाजको दवाव र मेरो व्यवहारले आमाले भोग्नुभएको पीडाको मनोविज्ञान निकै विशाल कथा होझैं लाग्छ । बिस्तारै आमाले मेरो व्यवहारलाई स्वीकार्दै जानुभयो । गर्व गर्न पनि थाल्नुभयो । म पनि कयौं घरायसी काममा सहयोग गर्थें । भाइ सानै थियो, त्यसैले अरूका छोराले जे काम गर्छन्, त्यो गर्थें । त्यसैले आमा र बुबा दुवैको मप्रति भरोसा बढोत्तरी भएको थियो । त्यसैले विवाहबारे खासै दवाव झेल्नुपरेन मैले ।

०४६ पछि खुल्ला राजनीति सुरु भएपछि साथीहरू घरमा जान थाले । ०३६ सालको जनमत संग्रह र ०४६ सालको परिवर्तन देखेपछि परिवर्तन सम्भव छ भन्ने चेतना पनि आमाबुबामा आउन थाल्यो । त्यसैले छोरीले रोजेको बाटो शक्तिशाली छ भन्ने आमाले स्वीकार्न थाल्नुभएको थियो । ०५० सालपछि बुबाआमा पनि काठमाडौं नै आउनुभयो । त्यहाँ प्रचण्ड, किरण, गौरवलगायतका नेता पनि आउनुहुन्थ्यो । देवबहादुर गुरुङ त समकालीन साथी नै हुनुहुन्थ्यो । यो सबै देखेपछि आमाले पनि म हिँडिरहेकी बाटोलाई स्वीकार्नुभयो र मेरै सुखदुःखमा आफ्नो सुखदुःख देख्न थाल्नुभयो । यहाँ पनि आमा सन्तानको अघि हार्नुभयो ।

आमाको आँसु
०५० सालबाट दुई वर्ष आमाबुबासँगै बस्न पाउँदा फेरि पारिवारिक माहोल फर्किएको थियो । तर हामी जनयुद्धको तयारी गरिरहेका थियौं । फागुन १ गतेबाट जनयुद्धमा जान्छौं भन्ने हामीलाई थाहा थियो । त्यसैले घरपरिवारमा गर्नुपर्ने कामहरू छिटा¬े–छिटो सकेर १ गतेअघि नै म हिँड्न चाहन्थें । तर आमाबुबालाई के भन्ने भनेर सोचिरहेकी थिएँ । त्यसैले पहिले दिदीबहिनीहरूलाई भनें, ‘हामी नयाँ आन्दोलनमा जाने भएका छौं । त्यसैले यहाँ गिरफ्तार हुनुभन्दा गाउँतिर बसेर सुरक्षित हुने सोच्दैछौं । आमाबुबालाई यो कुरा कसरी भन्नु, पछि तिमीहरूले नै भनिदेऊ न है ।’
तर पछि सोचें, त्यसो गर्दा त आमाबुबाले आफूलाई अविश्वास गरेको ठान्नुहोला । अनि आफैंले भन्ने निर्णय गरेँ र आमालाई भनें । जनयुद्धको कार्यदिशा बताउन त मिल्दैनथ्यो । तर रोल्पा, सिन्धुपाल्चोकलगायत विभिन्न ठाउँमा भएको घटना र गिरफ्तारीको उदाहरण दिँदै भनें, ‘प्रशासनले मलाई पनि खोज्नसक्छ । त्यसअघि नै गाउँतिर गएर सुरक्षित हुने सोचेका छौं ।’
आमालाई भनेपछि परिवारमा कुरा प्रसार भयो । मेरो कुराले घरमा बिदाइको जस्तो माहौल बन्यो । आमा, बुबा र दिदीबहिनी सबै भावुक हुनुभयो । आमा त रुनु नै भयो ।
आमाकै अगाडि त म रोइनँ । तर पनि घर छोडेर जान लागेकी थिएँ, फर्केर आउने÷नआउने निश्चित थिएन । आमालाई देख्ने÷भेट्ने त्यही नै अन्तिम मौका पनि हुन सक्थ्यो । त्यो कुराले भावुक बनाएको थियो । त्यसैले आमासँग बिदा भएपछि एक्लै रोएँ र आफूलाई हल्का पारेँ । म आफ्नो बाटोमा गर्वका साथ जाँदै थिएँ । नयाँ बाटो र नयाँ उद्देश्यले नेपालको भविष्य निर्माणमा लागि समर्पित हुने अठोटमा थिएँ । तर पनि आमाको आँसुमा व्यक्त भावनाले मलाई निकै भावुक बनाएको थियो । तर आमाले त्यतिबेला पनि ‘नजा’ भन्नुभएन । फेरि पनि आमा सन्तानसँग हार्नुभएको थियो ।

आमाको सम्झना
जनयुद्धमा सामेल भएपछि घर सम्झिने उत्ति फुर्सद हुँदैनथ्यो । तर जब घरको सम्झना आउँथ्यो र त्यो सम्झनामा आमाको तस्विर पहिले आउँथ्यो । कति ठाउँमा धेरै साथीको हत्या हुन्थ्यो । त्यस्तो बेला उहाँहरूको परिवारलाई कस्तो भयो होला भन्ने सम्झँदा पनि आमाको सम्झना आउँथ्यो ।
हामी गाउँठाउँ जान्थ्यौं, साथीहरूका घर पुग्थ्यौं । त्यहाँ बूढी आमा, बूढा बा देख्दा पनि आमाकै याद आउँथ्यो । सबैभन्दा बढी त बालबाल बाँचेका घटनापछि आमाको धेरै सम्झना आउँथ्यो । पछिल्लोचोटी ०६२ को फागुन ४ गते सेनाको घेरामा पसेर एक मिनेटले बाँचियो । त्यसपछि सोचें, ‘धन्न, बाँचियो । केही भएको आमा कति पीर मान्नुहुन्थ्यो होला ।’ यसरी युद्धको मैदानमा पनि आमाको छाया फैलिरहेको हुन्थ्यो ।
त्यसो त उता आमाबुबा पनि उत्तिकै छट्पटाउनुहुन्थ्यो । हरेक पल रेडियो सुनिरहनुहुन्थ्यो । रेडियोले छोरीको नाम उच्चारण गर्ला कि भन्ने ठूलो त्रास थियो उहाँहरूमा ।

निर्वाचनको नतिजा घोषणा हुनेबेलामा त निर्वाचन कार्यालयमै आइपुग्नुभएको थियो । त्यसमा पनि सचेततापूर्वक माला र टीका लिएर । नतिजा घोषणा भएपछि सबैभन्दा पहिले आमाले टिका र माला लगाइदिनुभयो । त्यसबेला आमा मलाई अँगालेर रुनुभयो । आमाको सबैभन्दा खुसीको क्षण थियो होला त्यो । । आमाको खुसीको आँसुले मलाई पनि भावुक बनाएको थियो । त्यो क्षण आमाको उच्चतम मूल्यबोध गरेँ मैले ।

दिदीबहिनीहरू नजिकै भएपनि काठमाडौंको घरमा आमाबुबामात्रै बस्नुहुन्थ्यो । माआवादीको घर भनेर चिनेको हुँदा समाजमा पनि ‘आइसोल्युटेड’ जस्तो थियो घर । भाइ पनि पढ्न विदेश गएको थियो । त्यसमाथि म जनयुद्धमा हिँडेको एक बर्ष पनि नहुँदै मोटरसाइकलले ठक्कर दिएर आमाको खुट्टा फ्याक्चर भयो । अप्रेसन नै गर्नुपर्यो । निको हुन २० महिना लाग्यो । पछि न्यूरोको समस्या देखियो । डा. उपेन्द्र देवकोटाले उपचार गर्नुभयो । झण्डै साँढे दुई बर्ष औषधी खानुपर्यो । जनयुद्धकै बेला उहाँको आँखाको अप्रेसन गर्नुपर्यो । त्यस्तै पत्थरी भएर मिर्गौलाको अप्रेसन गर्नुपर्यो । यसरी आमा बिरामी परिरहेको कारण पनि मलाई आमाको चिन्ता भइरहन्थ्यो । त्यसैले टेलिफोनको सुविधा पाउनेबित्तिकै उपयोग गर्थें । मेरो स्वर सुनेपछि घरमा आनन्दको सञ्चार हुन्थ्यो, घरको खबरले म निश्चिन्त हुन्थेँ । बुबाआमा काठमाडौं नै भएकाले अरू साथीहरूको तुलनामा मैले सञ्चार सुविधाको बढी उपयोग गर्ने मौका पाएँ । तर आमाले कतिलाई टेलिफोनबाट पाएको सूचनाको आधारमा पक्राउ गरेको सुन्नुभएको थियो । त्यसैले भन्नुहुन्थ्यो, ‘धेरै फोन नगर । तिमीहरू सुरक्षित रहे हुन्छ ।’ जब आमा गह्रुँगो आवाजमा त्यसो भन्नुहुन्थ्यो, तब आमाको हृदय सम्झेर नतमस्तक हुन्थेँ । खुसी त उहाँलाई पनि छोरीलाई भेट्दा र स्वर सुन्दा नै लाग्थ्यो, तर सन्तानको सुरक्षाको लागि आमाले आफ्नो खुसी सजिलै त्यागिदिनुहुन्थ्यो । त्यसैले मैले जनयुद्धको बीचमा केही पटक आमालाई बोलाएर भेटेकी छु । एकचोटी त हप्तादिन सँगै बस्यौं । पार्टीले ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ योजना तय गरेको थियो । मलाई गण्डकी, लुम्बिनी र धौलागिरीको जिम्मा थियो । त्यसैबेला मैले आमालाई पाल्पामा बोलाएँ र एक हप्ता सँगै बस्यौं । त्यसरी भेट्दा भौतिक हिसाबले बाँचेको देखेपछि आमा खुसी भइहाल्नुहुन्थ्यो ।
कोही साथी भेट्दा मलाई सजिलो लाग्ने जुत्ता, स्लिपिङ ब्याग, सजिला लाग्ने सजिला लाउने लुगा, मैले मन पराउने दूध, कफीजस्ता कुरा मिलाएर पठाउनुहुन्थ्यो । आमाको त्यो मायाले भावुक नबनाउने कुरै हुँदैनथ्यो । आमाको सान्निध्यताकै लागि म पहिलो वार्ताको बेलामा काठमाडौं आएँ र करिब १५ दिन घर बसें । त्यसबेला वार्ता टोलीबाहेक अरू खुलेर नहिँड्ने भन्ने पार्टी नीति थियो । त्यसैले घरमै बसें । बुबा, दिदीबहिनी सबैलाई भेटें । त्यो बडो सुखद क्षण थियो ।

आमाको खुसी र चिन्ता
०५२ सालमा आमालाई जुन घरमा छोडेको थिएँ, शान्ति प्रक्रियामा आइसकेपछि ०६३ मा त्यही घरमा आइपुगेँ । यो अवधिमा धेरैको घर भत्किएको थियो, परिवार भत्किएको थियो । तर म चाहिँ उस्तै घर र उस्तै परिवारमा बस्न आइपुगेँ । बीचमा पनि बेला–बेला घरको र आमाको सम्पर्कमै रहन पाएँ । यस अर्थमा म आफूलाई ‘भाग्यमानी’ सम्झन्छु । जनयुद्धको त्यत्रो आँधीबेहरीबाट बाँचेर आफ्नै घरमा, आफैँ सुतेको ओछ्यानमा, आफ्नै आमाले पकाएको खान पाउँदाको असीम आनन्द मैले भोगकी छु । त्यो आनन्दको क्षणमा जनयुद्धमा आमा गुमाएका छोराछोरी र सन्तान गुमाएका आमा सम्झेर भावुक पनि भएकी छु ।
म घरमा बस्न थालेपछि आमाको खुसीको सीमै रहेन । जनयुद्धको बेलामा त मेरो ख्याल राख्ने मान्छे, त्यसपछि त झनै धेरै ख्याल राख्न थाल्नुभयो । युद्धको बेलामा माओवादीले जित्यो भन्दा उहाँ असाध्यै खुसी देखिनुहुन्थ्यो । हारेको सुन्दा चिन्ता गर्नुहुन्थ्यो । मेरी बहिनी बुद्धिजिवी संगठनमा थिइन् । उनले भनिदिन्थन्, ‘आमा, त्यो त राज्यले प्रचार गरेको मात्रै हो । हारेको होइन ।’ अनि आमा खुसी हुनुहुन्थ्यो रे ! आमालाई जनयुद्धको हारजितमा सन्तानकै हारजितजत्तिकै सरोकार थियो । किनकि उहाँको सन्तान त्यसैसँगै जोडिएका थिए । यसरी नै हरेक आमाले सन्तानको खुसीमा आफ्नो खुसी देख्दा हुन् ।
शान्ति प्रक्रिया आएपछि माओवादी अन्तरिम सरकारमा गयो । म पनि सहभागी भएँ । त्यसबेला आमाको मुहारमा छुट्टै चमक थियो । हिजो टाउकाको मूल्य तोकिएकी, कतिचोटी मरेको भनेर प्रचार गरिएकी छोरी सरकारमा पुग्दा कुन आमा खुसी हुन्नथिन् होला र ?
संविधानसभाको पहिलो निर्वाचनमा म ललितपुरबाट उठेँ । मैले आमालाई यहाँबाट उठ्दै छु भनेर भनेकी थिइनँ । तर उहाँले थाहा पाइहाल्नुभएछ । चिन्ता व्यक्त गर्दै हुनुहुन्थ्यो रे । छरछिमेकीसँग भन्नुभएको रहेछ, ‘यसलाई यहाँ कसले चिनेको छ र ? किन उठेकी हो यहाँ, अर्घाखाँची नगएर !’
मैले चुनाव जितें । आमाले टिभिमा मत परिणाम हेरिरहनुभएको रहेछ क्यार । निर्वाचनको नतिजा घोषणा हुनेबेलामा त निर्वाचन कार्यालयमै आइपुग्नुभएको थियो । त्यसमा पनि सचेततापूर्वक माला र टीका लिएर । नतिजा घोषणा भएपछि सबैभन्दा पहिले आमाले टिका र माला लगाइदिनुभयो । त्यसबेला आमा मलाई अँगालेर रुनुभयो । आमाको सबैभन्दा खुसीको क्षण थियो होला त्यो । । आमाको खुसीको आँसुले मलाई पनि भावुक बनाएको थियो । त्यो क्षण आमाको उच्चतम मूल्यबोध गरेँ मैले ।
आमा चिन्ता पनि उत्तिकै गर्नुहुन्थ्यो मेरोबारे । मन्त्री हुँदा कसैले नराम्रो काम गराउला कि भनेर खुप चनाखो बन्नुहुन्थ्यो । म ढीलो घर पुग्दा त अहिले पनि पीर गर्नुहुन्छ । हाम्रो पार्टी एकीकृत हुँदै एउटा आचारसंहिता बनेको थियो–सचिवालयबाहेक अरूले गाडी नचढ्ने । मैले पार्टीको गाडी लगेर बुझाइदिएँ । त्यसबेला आमा निकै चिन्तित बन्नुभयो । ‘गाडी किन्’ भनेको भन्यै गर्नुभयो । त्यत्तिकै हिँड्दा सुरक्षा चिन्ताले उहाँलाई सताउँथ्यो । अन्त्यमा उहाँले रामकोटमा भएको जग्गा बेच्नुभयो र गाडी किनिदिनु भयो । उहाँले ‘पिएसओ’ लिएर हिँडेको छ कि छैन याद गरिरहनुहुन्थ्यो । सन्तानको उमेर र हैसियतसँग आमाको मायाको कुनै सरोकार हुँदैन भन्ने उदाहरण थियो त्यो । सन्तानप्रति आमाको चिन्ता कहिले पो घट्ला र !

आमा हुनुहुन्छ, र त घर छ
शान्ति प्रक्रियापछि मैले बुबाको सान्निध्य धेरै लामो समय पाउँन सकिनँ । एक बर्षपछि नै हृदयघात भएर बित्नुभयो । तर अहिलेसम्म आमाको सान्निध्यता टुटेको छैन । वास्तवमै आमा हरेकको ‘रोलमोडेल’ हो । एउटा सत्य के हो भने आमा नभएको भएँ म हुँदैनथेँ । एक त संसारमै हुँदैनथेँ, अर्को कुरा अहिले म जे छु, त्यो पनि हुँदैनथेँ । प्रतिकूल सामाजिक परिस्थितिबाट अहिले म जहाँ आइपुगेकी छु, त्यसमा राजनीतिक विचारधारा र संगठन त महत्वपूर्ण छँदैछ । आमाको साथ, सहयोग र उत्प्रेरणाबिना पनि सम्भव थिएन ।
आमा अहिले सतासी बर्षको हुनुहुन्छ । न्यूरोको समस्याका कारण साँढे तीन बर्षदेखि बोली बन्द छ । उपचारको धेरै कोशिस गर्यौं । नेपाल, भारत र चीनमा समेत लग्यौं । ‘डायग्नोसिस’ त भयो तर उमेरको कारणले उपचार सम्भव भएन ।
अहिले आमाले कुनै कुरा भावमा मात्रै व्यक्त गर्न सक्नुहुन्छ । उहाँले कसैलाई केही भन्नुपर्ने थियो होला, कसैलाई केही दिनुपर्ने होला, बोल्न नसक्दा पीडा हुँदो भन्ने भन्ने कुराले मनमा चिसो लागिरहन्छ । तर उहाँको सम्झनाशक्ति राम्रो छ । बाहिर गएको बेला पर्खेर बस्नुहुन्छ । युद्धकालमा रेडियो सुन्ने र टिभी हेर्ने बानी बसेको, अहिले पनि उस्तै छ । त्यसैले उहाँको कोठामा रेडियो वा टिभी खोलिदिएकै हुन्छौं । जानेबेला गएँ भनेर हिँड्दा खुशी हुनुहुन्छ । आफ्नो दिनभरी काम सकेर गयो, आमालाई देख्दा, आएँ है भनेर बोलाउँदा सम्पूर्ण तनाव दूर हुन्छ । आमा हुनुहुन्छ, र त घर छ ।
܀܀܀
✍ कला अनुरागी
साभार : राटोपाटी डटकम 

Comments